शिक्षापद्धति र श्रीपतिस्मृति विद्यापदक

गोपाल खनाल
असार ४, २०७६

रुचिको नभई बाध्यकारी भयो शिक्षा। केवल पूर्वीय र पाश्चात्यहरुको सिद्धान्त रटाइयो। विज्ञानका न्युटन, आइन्सटाइन, गणितका पाइथागोरस, समाज, साहित्य र राजनीतिका माक्र्स, एङ्गेल्स, अगस्ट कोंम्ट, माल्थस, शेक्सपियर, हेगल, पिकासो, जाँ पाल सात्र्र, लगायतका सूत्र र सिद्धान्त घोकाइयो तर सफलताका निम्ति यो काम यसरी गर्नुपर्छ भन्ने केही सिकाइएन।

असल शिक्षाले जीवनलाई पढ्न होइन बदल्न सिकाउँछ रुसोको यही भनाइ सम्झँदै हातमा उत्कृष्टताको पदक बोकेर म भविष्यको चिन्ता गरिरहेछु। खै जीवन गतिमा मोडहरु पार गर्दै सफलताको एउटा विन्दुमा आइपुग्दा पनि किन मन रमाउन सकेन? यही प्रश्नमा मन रुमल्लिइरहेको छ। जीवन सफलता र असफलता, जित र हार, मिलन र विछोड यस्तै यस्तै विपरीत स्थितिका बीच अगाडि बढ्ने डुङ्गा होला शायद। भूत, वर्तमान र भविष्य समयका तीन रुपमध्ये सबैभन्दा महत्वपूर्ण समय वर्तमान नै हो। वर्तमानलाई राम्रो बनाउन सके भविष्यको चिन्ता गर्न पर्दैन भन्नेहरु यसै भन्छन्। विगतका गल्ती सच्याउँदै वर्तमानमा सचेत भएर अघि बढे जीवन सफल पनि बन्ला शायद।

एक कक्षामै असफलताको स्वाद चाखिसकेको मैले अध्ययनका क्रममा पुनः कहिल्यै असफलता व्यहोर्नु परेन। पढाइ राम्रै थियो। उच्च शिक्षा विज्ञान विषय लिएर गर्ने सोच भएपनि विविध कारणले त्यो इच्छा पूरा भएन। त्यसपछि नेपाली विषय लिएर अध्ययनलाई अघि बढाएको मैले एस.एल.सी. पछि नै जागीरसँगै पढेको हुँ। घर परिवारदेखि टाढा रहेर शहरी परिवेशमा सबै व्यवस्था मिलाएर बाँच्न कति कठिन छ त्यो आफैँ अनुमान लगाउन सक्नुहुन्छ। मलाई स्नातकोत्तर तहमा सङ्कायमै सवोर्त्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्छु भन्ने लागेको थिएन। जे होस् कर्मका साथ निरन्तरको साधनाबाट यो सफलता हाँसिल गर्न सफल भएँ। असम्भव भन्ने केही हुँदो रहेनछ भन्ने राम्ररी बुझाएको छ।

सर्वप्रथम त यस सफलताका निम्ति आफू निरक्षर भएपनि मलाई पढाउन सधैँ दुःख र अभाव झेल्न तयार मेरा माता पितालाई स्मरण गर्न चाहन्छु। साथै ज्ञानामृत प्रदान गर्नुहुने आदरणीय गुरुहरु, सहयोगी आत्मीय साथीहरु, आफन्त शुभचिन्तक सबैप्रति कृतज्ञ छु। एकातिर सफलता अर्कोतिर भविष्यको चिन्ता छ म मा। शिक्षाकै लागि २७ वर्ष खर्चिएको मलाई अब कसरी आफूलाई समाजमा प्रस्तुत गर्ने भन्ने सोचले पिरोल्न थालेको छ। श्रीपतिस्मृति विद्यापदक धारण गर्दै गर्दा एकातिर हौसलासँगै जिम्मेवारी थपिएको महसुस भएको छ भने अर्को तिर भविष्यको चिन्ता पनि। मलाई मात्र होइन अध्ययनमा सवोर्त्कृष्ट अङ्क ल्याएर पदक धारण गर्ने म जस्तै अरु समकालीन साथीहरुको मुहारमा पनि त्यही चिन्ताका भावहरु झल्किरहेको थियो।

राजनीतिक अस्थिरता, अस्वस्थ प्रतिस्पर्धा, अव्यवहारिक शिक्षा, अस्पष्ट शिक्षा नीति लगायतकै कारण भविष्यको चिन्ताले सताउँछ अचेल सबै युवा पुस्तालाई। एकातिर जबर्जस्त लादिने शिक्षा, अर्कोतिर २ वर्षमा पूरा हुने कोर्ष/विषय पूरा गर्न ४ वर्ष लगाइदिने प्रणाली आदिले पनि समस्या सिर्जिएको छ। शिक्षा प्रदान गर्ने स्थान नै बेरोजगारी उत्पादन गर्ने केन्द्र बन्दै गएकोप्रति मनमा चिन्ता प्रकट हुन्छ। आजका कलिला बाबुनानीहरुको मुहार पढ्दा तिनको भविष्य कस्तो रहला? यो प्रश्नले पनि रिङ्गाउँछ कहिले काहीँ। जेष्ठ नागरिकका साथ विद्या पदक ग्रहण गरिरहँदा समाजप्रतिको आफ्नो कर्तव्य पूरा गर्न सकूँला कि नसकूँला सोच पनि पैदा हुन थालेको छ? रोजगारीका लागि राम्रालाई भन्दा अझै पनि हाम्रालाई छनोट गर्ने प्रवृत्ति अझै समाजमा प्रभावी छ। पहुँच हुनेहरुकै हालीमुहाली देखिन्छ अझै पनि समाजमा।

सुरुकै उल्लिखित भनाइलाई हेर्ने हो भने पनि हामीले पढेको शिक्षाले जीवन जिउन सिकाएन। रुचिको नभई बाध्यकारी भयो शिक्षा। केवल पूर्वीय र पाश्चात्यहरुको सिद्धान्त रटाइयो। विज्ञानका न्युटन, आइन्सटाइन, गणितका पाइथागोरस, समाज, साहित्य र राजनीतिका माक्र्स, एङ्गेल्स, अगस्ट कोंम्ट, माल्थस, शेक्सपियर, हेगल, पिकासो, जाँ पाल सात्र्र, लगायतका सूत्र र सिद्धान्त घोकाइयो तर सफलताका निम्ति यो काम यसरी गर्नुपर्छ भन्ने केही सिकाइएन। त्यसैले लाग्छ हामीलाई जीवनी पढाइयो। पढाइयो भूत र भोगिने वर्तमान् तर जीवन बदल्न, भविष्यका सम्भावना, चुनौती र समाधानका व्यवहारपयोगी शिक्षा नै पढाइएन।

अर्थात् रुसोले भने जस्तो असल शिक्षा दिइएन। त्यसैले त विद्या पदक हातमा लिएर अन्धकार भविष्यको चिन्ता गर्नु परिरहेको छ। शिक्षा सबै भन्दा ठूलो धन भनेर सिकाइयो। धनभन्दा विद्या ठूलो विषयमा तर्क वितर्क पनि गरियो। आफू शिक्षा ठूलो ठानेर पढ्नतिर लागियो। साथीहरु धनका पछि लागे। धन कमाए आज उनीहरु आरामको जिन्दगी जिइरहेछन् तिनका मनमा जे सुकै होस्। आदर्श र यथार्थता बीचको फरक म महसुस गरिरहेछु। समाजले उनीहरुलाई सुखी देख्छ। समाज पैसामुखी छ। समाज र परिवार त्यही खोज्छ अहिलेसम्म नभए नि अब मेरो अबको बाटो कता? म अन्योलमा छु।

यसको अर्थ धन सवोर्परी हो र शिक्षाको महत्व नरहेको भन्ने नलागोस्। मैले मात्र शिक्षा पद्धति कमजोर रहेकोप्रति मैले सङ्केत गर्न खोजेको हुँ। यतिञ्जेल त पढ्दैछु भनेर टारियो अब औपचारिक पढाइ सकियो तर सिपमूलक नहुँदा समस्या जटिल बन्ने स्थिति देखिँदै छ। किनकि यहाँ योग्यता अनुसारको रोजगारी र रोजगारी अनुसारको तलब भत्ता पाउन गाह्रो छ। यो मेरो मात्र होइन आजका धेरै डिग्री होल्डर साथीहरुको साझा समस्या हो भन्ने लाग्छ।

यस्तै अवस्था कायम रहे पढाइको अर्थ प्रमाण–पत्र विद्यार्थीको हातमा थमाउनु मात्र रहला। के राज्यले योग्यताको प्रमाण–पत्रसँगै रोजगारीको वातावरण सिर्जना गर्नु पर्दैन? नपढे पनि पास भइने विकसित परिपाटीले झन् भावी पुस्ताको हालत के होला? यसले नकारात्मक भावनाको विकास नहोला भन्न सकिँदैन। दोष हामीलाई सिद्धान्त रटाउने गुरुहरुको होइन यसमा शिक्षा नीति निर्माण गनेर्हरु, शैक्षिक प्रणाली र राज्य दोषी देख्छु म।

राज्यले केवल विश्वविद्यालयको स्थापना गरिदिएर, शिक्षामा सीमित बजेट छुट््याइदिएर मात्र हुँदैन पाठ्यक्रमलाई समयानुकूल परिवर्तन र व्यवस्थापन गर्नुपर्छ। पठनपाठनलाई प्रभावकारी बनाउन सम्बद्ध निकायले अनुगमन गर्न जरुरी छ। राजनीतिक दलको स्वार्थका लागि शैक्षिक संस्थालाई राजनीतिको अखडा बनाउनु हुँदैन। विद्यार्थीले लिएर आएका जिज्ञासालाई मेटाउन सधैँ तल्लीन हुनैपर्छ गुरुहरु। शैक्षिक प्रणालीमा सुधार नगरी अव्यवहारिक, अवैज्ञानिक र अनैतिक शिक्षा लादिरहने हो भने हामीले जीवन कहिल्यै बुझ्दैनौँ, शिक्षाले जीवनमा सकारात्मक होइन नकारात्मक परिवर्तन चाहीँ अवश्य ल्याउँछ। त्यही सङ्केत देख्दैछु म आजका स्कूले बालबालिकामा …………………।

Related News

सम्बन्धित समाचार

hero news full width