शब्द चर्चामा भैरव रिसाल

विमलश्री
चैत्र ६, २०७५

आज पोखरामा वरिष्ठ सञ्चारकर्मी भैरव रिसालको सम्मानमा स्वतन्त्रपत्रकार संघ नेपालले आफ्नो स्थापनादिवसको अवसरमा आयोजित विशेष समारोहमा सामाजिक पत्रकारिता पुरस्कार –२०७५ प्रदान गर्न गइरहेको छ। संघले सामाजिक पत्रकारिता पुरस्कार पहिलो पटक प्रदान गर्न गइरहेकाले यसको आफ्नै महत्व छ। पहिलो पुरस्कार सञ्चार क्षेत्रको सिंगो इतिहास बोकेको सञ्चारकर्मी रिसाललाई प्रदान गरी सम्मान गर्न पाउनु यसको अर्को महत्व छ।

सामाजिकपत्रकारिता पुरस्कार पोखराका वरिष्ठ समाजसेवी उदारमना लीलाभक्तआचार्यले केहीवर्ष पहिले नगद रु. ५ लाख अक्षयकोषमा राखी स्थापना गर्नु भएको हो। प्रत्येक वर्ष प्रदान गरिने यो सामाजिक पत्रकारिता पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ र यसको संचालनको जिम्मेवारी स्वतन्त्रपत्रकार संघ नेपालले लिएको छ।

भक्तपुर जिल्लाको दधिकोटमा जन्मिएका रिसालले २०१२ सालमा दैनिक हालखबर पत्रिकाको समाचारदाता भएर आफ्नो पत्रकारिता जीवनको प्रारम्भ गर्नुभएको थियो। उहाँले २०१९ सालमा नेपाल समाचार दैनिकको सम्पादक भएर काम गर्नुभयो। उहाँले राष्ट्रिय समाचार समितिमा बसेर लामो समय काम गर्नुभयो। आफ्नो लामो जीवनयात्रामा उहाँले अन्य क्षेत्रहरुमा पनि काम गर्नु भयो। तर उहाँको परिचय पत्रकारकै रुपमा गहिरिएर गयो।

पत्रकारिता गर्दागर्दै उहाँले काठमाडौंको वातावरण बिग्रँदै गएको देख्नु भयो। उहाँले वातावरणपत्रकार समूह गठन गर्नुभयो। उहाँ र उहाँका सहयोगीहरु मिलेर वातावरण बचाउँ आन्दोलन गर्नुभयो र २०४६ सालमा त्यस आन्दोलनको अध्यक्षता गर्नुभयो। बागमती बचाउँ अभियानमा पनि उहाँले एक अभियन्ताका रुपमा काम गर्नुभयो। सगरमाथाएफ.एम. स्थापना र संचालनमा पनि उहाँको ठूलो योगदान रहेको छ। उहाँले संचालन गर्नु भएको एफ.एम। कार्यक्रमहरु लोकप्रियहुने गरेको छ।

उहाँका किताबहरु पनि उत्तिकै आकर्षक मानिन्छन्। उहाँले जेल डायरीका रुपमा लेख्नु भएको साधुलाई शूली एकताका अत्यधिक रुचिका साथ हेर्ने गरिन्थ्यो। हात्ती, भैरव दाइको जीवनी ग्रन्थ, नेपालका मन्त्रीहरु र सांसदहरुको नामावली पढ्नै पर्ने पुस्तकमा गनिन्छन्। उहाँले आफ्ना सहयोगी घननाथओझासँग मिलेर त्यतिबेलाको पत्रकार भन्ने कृति पनि प्रकाशित गर्नु भएकोछ। एउटा नयाँ कुरा के छ भने अरुहरुकाभन्दा छुट्टै उहाँले आफ्नी धर्मपत्नी सुशीलासँग मिलेर “सुशीला–भैरव संयुक्तआत्मकथा–२०६६” प्रकाशित गर्नुभएको छ।

उहाँका सम्बन्धमा धेरै रोचक कुराहरु छन्। त्यसमध्ये एउटा सञ्चारकर्मीहरु माझ चर्चित हुने गर्दछ। त्यो के हो भने उहाँलाई अरुले बाजे, बा, काका भनेको मन पदैर्न। त्यस्तो साइनोले आफूलाई बूढोभएको अनुभूत गराउने भएकाले उहाँलाई सबैले “दाइ”भनोस् भन्ने चाहनु हुन्छ भन्ने सञ्चारकर्मीहरु माझ चर्चा हुने गर्दछ। उहाँको नातिले पनि उहाँलाई दाइ भन्छन् भनी उहाँले हसाउने गर्नु हुन्छ।

उहाँको लामो जीवनमा धेरै पुरस्कार र सम्मानहरु प्राप्त भएका छन्। तीमध्ये राष्ट्रियपत्रकारिता पुरस्कार, प्रजातन्त्र सेनानी पत्रकारिता सम्मान, ह्दयचन्द्र सिंह पत्रकारिता पुरस्कार, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कार उल्लेखनीय छन्। उहाँले वातावरणपत्रकारितामा योगदान गरेबापत डब्लु डब्लुएफले “अब्राहम कन्जभेर्सन अवार्ड” प्रदान गरेर सम्मान गरेको थियो।

उहाँले राजनीति पनि गर्नुभयो। नेपालमजदुर किसानपार्टीबाट प्रतिनिधि सभाको निर्वाचन लड्नु पनि भयो। उहाँले एकताका तथ्यांक विभागको हाकिमको रुपमा सुदुरपश्चिममा गएर जनगणना गराउनुभएको थियो। त्यसबेला लिपुललेक र महकाली पुगेका उहाँ लिपुलेक मात्रहोइन, पुरै कालापानी नेपालको हो भनी त्यसको जिउँदो साक्षी आफू रहेको बताउनु हुन्छ।

उहाँ वर्तमान राजनीतिप्रति असन्तुष्ट हुनुहुन्छ। तर भविष्यप्रति धेरै आशावादी हुनुहुन्छ। उहाँले सामाजिकपत्रकारिता पुरस्कार प्राप्त गर्नु भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु र उहाँको सुख सुस्वास्थ्य र दीर्घजीवनका लागि हार्दिक मंगलमय कामना गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width