विश्वकै सफा सहर बन्न सक्छ पोखरा

आदर्श समाज सम्वाददाता
असार ४, २०७०

प्राकृतिक सुन्दरताले सिँगारिएर भरिपूर्ण भई अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा गमक्क परी नतमस्तक यस सुन्दर नगरी पोखरा साँचो अर्थमा प्रकृतिको उपहार वा वरदान हो। विश्वका कुना काप्चाबाट आएका जुनसुकै पर्यटकको मनलाई जित्न सफल यस सुन्दर नगरी पोखरालाई विश्वकै पर्यटकीय केन्द्र बनाउनु पर्ने जिम्मा सम्पूर्ण पोखरेलीको हो। प्रकृतिको वरदानसँगै हालसम्मका परिश्रम र मेहनतले गर्दा नै हुनुपर्दछ। पोखरा विश्वकै गन्तव्य स्थलमध्ये आकर्षकको केन्द्रविन्दु बन्न लायकको छ। पोखरा उपमहानगपालिकको भु-बनावट जुन उत्तरबाट दक्षिणतर्फ केही भिरालो छ, जस्तोसुकै वर्षातको समयमा पनि यहाँ पानी जम्न पाउँदैन। त्यसैले पानी परेपछि फोहोरमैला बगाइ लैजाने हुनाले आफै सफा देखिन्छ। यस सहरभित्रका विभिन्न आकर्षक मानवनिर्मित स्थलबाहेक प्राकृतिक भु-बनोट पनि पोखरेली सम्पूर्ण जनताका लागि सहज वातावरणको उपज हो। त्यसैले नगरपालिकाको मेहनत, जनचेतना, फोहोरमैला व्यवस्थापन आदिका कारण यस नगरीको गरिमा उच्च रहेको छ।

जुन ५ अर्थात् विश्व वातावरण दिवस, यस वर्ष युनेस्कोद्वारा प्रतिपादित नारा त्जष्लप, भ्बत, क्बखभ अर्थात “सोचेर खाउँ, खाना खेर नफालौ, वातावरण जोगाऔँ” विभिन्न ठाउँमा विविध कार्यक्रम गरी मनाइयो। नेपाललगायत विश्वभरि नै निकै हर्ष र उल्लासका साथ मनाइएको विश्व वातावरण दिवसको अघिल्लो दिन नेपाल सरकारद्वारा पोखरा उपमहानगरपालिकालाई नेपालका नगरपालिकाहरुमध्ये सबैभन्दा उत्कृष्ट नगरपालिका घोषणा गरी सुन्दर नगरी पोखरालाई फेरि सुनमा सुगन्ध थपिदिएको छ। पोखरालाई सुन्दर, हराभरा, सफा बनाउन पक्कै पनि यहाँका टोल विकास संस्था, वडा र नगरपालिका आफैँको मेहनतको फल हो। यसले पोखरा उपमहानगरपालिकालगायत सम्पूर्ण पोखरेली जनतालाई खुशीयाली सँगसँगै अझ जिम्मेवारी थपिदिएको छ। यसरी पोखरा उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषित हुनु वास्तवमा नगरपालिकामात्र नभई सम्पूर्ण पोखरेलीको खुशीको कुरा हो। सुन्दर नगरीलाई जसरी नेपाल सरकारद्वारा पुरस्कृत गरियो। यसैगरी यसको गरिमालाई उच्च राख्न अब हामी सबैको दायित्व हो। विगत एक दुर्इ वर्षदेखि पोखरा उपमहानगरपालिकाभित्र जुन किसिमका सुधारका कार्यहरु भएका थिए र छन्, अझै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

पोखरालाई वास्तविकरुपमा नै देशी तथा विदेशी पर्यटकहरुका लागि प्रमुख गन्तव्य स्थल बनाउने हो भने वास्तवमा अहिले भइरहेका सुधारात्मक कार्यलाई निरन्तरता दिँदै अझ धेरै कार्यमा पोखरेली जनता, सरोकारवाला, संघसंस्था, जिल्ला प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र र स्वयम् नगरपालिकाको उत्साहजनक र रचनात्मक तवरबाट कार्यहरु गर्न आवश्यक देखिन्छ। पोखरा नगरभित्रका सडकमा भएका ठूला खाल्डा-खुल्डीहरु, ढल व्यवस्थापन, नाला, फोहोरमैला आदिको सुनियोजित एवं व्यवस्थित ढङ्गबाट समाधान गर्नुपर्दछ। न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, लेकसाइडमा मात्र सडक सफा राखेर हुँदैन। अन्य क्षेत्रहरु जस्तै विरौटादेखि अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयसम्म, अमरसिंहचोकदेखि विजयपुर पुलसम्म, भद्रकाली, मणिपाल सडकखण्ड, नदीपुर आदि ठाउँहरुमा पनि व्यवस्थित पार्किङ्ग सुविधासहित सडकको राम्रो व्यवस्था गरिनुपर्दछ। विशेषतः औद्योगिक क्षेत्र वरिपरि अव्यवस्थित रुपमा सञ्चालन भइरहेका ग्यारेजबाट निस्कने रसायनयुक्त फोहोर पानीको व्यवस्थालाई गम्भीररुपमा लिई यसबाट उत्पन्न प्रदुषणलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्दछ। बजारका मुख्य सडकमा भएका मोटरसाइकल वर्कसपलाई त्यहाँबाट हटाइ अन्त कतै व्यवस्था गरिनुपर्दछ। सहर क्षेत्रभित्र भइरहेका सवारी दुर्घटनालाई न्यूनीकरण गर्न छाडा छोडिएका पशु चौपायलाई हटाउनु पर्दछ। त्यतिमात्र नभइ खानेपानी संस्थान र सडक विभागसँग राम्रोसँग सहकार्य गरी सडकको व्यवस्था गरिनुपर्दछ किनकि खानेपानी संस्थानले पानीको धारा जडान गर्न बाटो भत्काउँछ अनि जथाभावी छोड्छ। फेरि सडक विभागले बाटो मर्मतको नाममा ढाकछोप गर्दै हिँड्छ। यो क्रम दोहोरिरहन्छ, जसले गर्दा सहरभित्रका सडकमा खासै सुधार हुन सकेको छैन।

पोखरा नगरलाई यदि आफैँमा गौरव गर्न लायक बनाउने हो भने समय समयमा नगरपालिकाले जिल्ला र क्षेत्रसँग समन्वयन गर्दै अन्तरक्रियात्मक कार्यक्रम गर्नुपर्दछ। प्रत्येक वडामा अनि टोल-टोलमा जनचेतना जगाउन प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ। प्रत्येक वडाका सुधारात्मक कार्यलाई मूल्याड्ढन गर्दै वाषिर्करुपमा उत्कृष्ट वडा घोषणा गर्नुपर्दछ, त्यसैगरी टोललाई पनि। टोल व्यवस्थापनको लागि टोल सुधार कार्यक्रम सञ्चालन गर्नुपर्दछ। सडकमा दुबैतर्फ फुटपाथ बनाउनुपर्दछ। जिल्ला ट्राफिक कार्यालसँग समन्वय गरी सडकमा ट्राफिक चिन्हहरु प्रस्टरुपमा बनाउनुपर्दछ। नगरपालिकाको स्वीकृतिबिना मनोमानी हिसाबले अव्यवस्थितरुपमा सञ्चालित विभिन्न व्यवसायहरु जस्तै किराना पसल, फेन्सी, होटल तथा रेष्टुरेन्टहरुलाई नगरपालिका कर योजना ल्याइ करको दायरामा ल्याइनुपर्दछ। सडकको दुबैतर्फ आकर्षकरुपमा वृक्षरोपण गरी न्चभभल द्यभति बनाइनुपर्दछ। जसले गर्दा सवारीसाधनबाट निस्किएको धूँवालाई हरिया विरुवाले लिई वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रालाई वृद्धि हुन नदिइ स्वच्छ हावा लिन सकिन्छ। सडकको छेउछाउमा गाडिएका बिजुलीका खम्बाहरुमा प्लाष्टिकका कन्टेनर झुन्डाइ “फोहोर मलाई” लेखी व्यवस्थित गरिनुपर्दछ। नगरपालिकाभित्र यदि पर्ती जग्गा भए नगरपालिकाले खरिद गरी पार्कहरुको निर्माण गर्नुपर्दछ। कम्तीमा पनि निम्नस्तरीय पर्यटकीय व्यवस्थापनका लागि दुर्इ तीन वटा धर्मशालाहरुको निर्माण गरिनुपर्दछ। बुटवल नगरपालिकाद्वारा सञ्चालित मुकुन्द सेन पार्क र बुटवल हिल पार्क जस्तै व्यवस्थितरुपमा विभिन्न जातका चराचुरुङ्गी र जनावरका प्रजातीहरु संकलन गरी मिनी चिडियाखानाको व्यवस्था गरेमा अझै सुन्दरता देखिन्छ। यसैगरी बालबालिकाहरुका लागि बालबगँैचाको निर्माण गर्नुपर्दछ। पोखरा नगरभित्र नै वनभोजका कार्यक्रमलाई सहज बनाउन यसको आवश्यकतालाई मध्यनजर गर्दै वनभोज पार्कहरुको निर्माण गर्नुपर्दछ। माथि उल्लेखित समस्याहरुको समाधान यदि वैज्ञानिक ढङ्गबाट गर्न सकियो र प्रस्तावित कार्यहरुलाई पूर्णता दिई नगरपालिकाको निगरानीमा राख्न सकियो भने नगरपालिकाको आर्थिक स्रोतमा पनि वृद्धि हुनेछ र वातावरणका दृष्टिकोणले सहर अझै सुन्दर र मजबुत देखिन्छ।

यसरी निष्कर्षमा भन्नुपर्दा पोखरा नगर आफैमा सफा र सुन्दर छ। यद्यपि यहाँ भइरहेको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्दै वातावरणमा भइरहेको प्रदुषणलाई पनि न्यूनीकरणको लागि दीर्घकालीनरुपमा दिगो विकासका कार्यक्रमहरु अगाडि बढाउनु पर्दछ। विश्व वातावरणको दिवसको अवसरमा जसरी नेपालकै उत्कृष्ट नगरपालिका घोषणा भयो, यसलाई अझ जिम्मेवारी थपिएको ठानी आगामी वर्षमा पनि पुरस्कृत हुने लक्ष्य राखी सम्पूर्ण पोखरेली जनता, जिल्लाबासी र क्षेत्रलगायत अन्य सरोकारवालाहरुसँग होस्टेमा हैसे गरी एकीकृतरुपमा सबैलाई समेट्दै अगाडि बढ्नु पर्दछ। नगरपालिका आफैँले नेतृत्व लिई सुन्दर नगरी पोखरालाई अझ व्यवस्थित बनाई पर्यटकीय थलोको रुपमा विकास गरी आकर्षणको केन्द्रविन्दु बनाउन हरेक किसिमका पहलहरु गर्न पछि पर्नु हुँदैन। यथार्थमा पोखरालाई सम्पूर्ण नेपालीहरुका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नै परिचय दिन सक्ने परिचयात्मक थलो बनाउनु पर्दछ। जसले गर्दा अन्तर्राष्ट्रियरुपमा पनि पोखरा सफा र सुन्दर नगरी भनेर उदाहरणीय बन्न सक्छ। अनि सही अर्थमा पोखरा विश्वकै सफा सहरहरुको सूचीमा सूचिकृत भई एक उत्कृष्ट सहर बन्न सक्छ।

Related News

सम्बन्धित समाचार

hero news full width