विकृत आवरणमा छिपेको होली

कमल कोइराला
फागुन २४, २०७९

पहाडमा हिजै सकिए पनि तराईमा भने यस वर्षको फागुपूर्णिमा (होली) को हर्षाेल्लासपूर्ण रौनक आज पनि बाँकी नै छ । होलीप्रति विशेष श्रद्धा र आस्था भएकाहरूले होली भित्रिनुभन्दा हप्तौंपूर्व ठाउँठाउँमा ‘होली आजै रहेछ कि ?’ भन्ने आभास हुने गरी गलत अभ्यासहरू प्रदर्शन गर्नु नेपाली समाजका लागि नौलो रहेन अब । पहिलेपहिले सहरी परिवेशमा मात्र यस किसिमका विकृत अभ्यासहरू बढी मौलाएको पाइन्थ्यो तर आजभोलि ग्रामीण क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । पछिल्ला केही वर्षयता सहरियाहरूको सिको गरेर गाउँका केटाकेटी र युवायुवतीहरूमा समेत यो कुप्रचलनले डेरा जमाइसकेको छ भन्दा अत्युक्ति होओइन । तथापि गाउँमा भन्दा सहरमा नै यसले आफ्नो प्रभुत्व स्थापित गरेको छ । होली मनाउने नाममा चलेका विकृत अभ्यासहरू सहरी क्षेत्रमा नै बढी दृष्टिगोचर हुन्छन् अचेल ।

आपसमा रङ खेलेर भ्रातृत्व, भगिनीत्व, ममत्व र मित्रता प्रगाढ बनाउन खेलिने पर्वका रूपमा सुपरिचित फागुपूर्णिमा हिन्दू संस्कृतिप्रति आस्थावान् मानिसहरूको एक प्रमुख उत्सव हो । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वको आफ्नै पौराणिक महत्त्व छ । पछिल्ला वर्षहरूमा संस्कृतिमा प्रशस्त विकृतिहरू भित्रिरहेका छन् । वास्तवमा यिनै विकृतिहरूले नै ‘घाँटी हेरी हाड निल्नू’ भन्ने नेपाली सूक्तिलाई धूलो चटाउने काममा अहम् भूमिका खेलिरहेका हुन्छन् । विशेषगरी नेपाली संस्कृति र हिन्दू संस्कारमा चाडपर्व मनाउने र परम्परा धान्ने नाममा केही प्राचीन महत्त्व बोकेका उत्सवहरू विकृत आवरणभित्र कैद भएका छन् । आजभोलि अनेक विकृति र विसंगतिहरूलाई प्रश्रय दिने पर्वहरूमध्येको त्यस्तै एउटा पर्व बनेको छ, फागुपूर्णिमा अर्थात् होली ।

पौराणिक कालमा हिरण्यकशिपुले विष्णुभक्त बनेका आफ्ना छोरा भक्तप्रह्लादलाई मार्नका लागि आफ्नी बहिनी होलिकासाथ दनदनी दन्किरहेको आगामा हाल्दा होलिका डढेर भस्म भएकी तर भक्तप्रह्लाद यथावत् रहेको प्रसंग पाइन्छ । यसरी आसुरी शक्ति हिरण्यकशिपु र होलिकामाथि दैवीशक्तिको कृपा रहेका भक्तप्रह्लादले विजय हासिल गरेको खुसीयालीमा यो पर्व मनाउन थालिएको पौराणिक मिथक पाइन्छ । त्यही विजयोत्सवको हर्षातिरेकमा फागुपर्व रङहरूको पर्व भएको हो । प्रारम्भमा यस दिन विजयको प्रतीकस्वरूप रातो रङको मात्र प्रयोग गर्ने प्रचलन थियो । समयक्रममा यो पर्व मनाउने सिलसिलामा रङप्रयोगमा पनि विविधता आयो । यसलाई सम्म पनि ठीकै मान्न सकिन्थ्यो । तर, पछिल्ला केही वर्षयता फागुपूर्णिमा मनाउने नाममा केही उच्छृङ्खल मानसिकता भएका व्यक्तिहरूले यस पर्वलाई विकृत अभ्यासको पर्वका रूपमा जबर्जस्ती घिसारिरहेछन् । पछिल्लो समय विशुद्ध रङ आदानप्रदान गरी खुसीयाली आदानप्रदान गर्ने उत्सवका रूपमा मानिने होली त्यस्तो दुष्प्रवृत्ति भएकाहरूको स्वेच्छाचारी निसाना बनिरहेको छ ।

आजभोलि प्रत्येक टोलटोल र गल्लीगल्लीमा होली लोलाहरूको गोलाप्रहार गर्ने उत्सवका रूपमा विकसित भइरहेको छ । अरूका शरीरमा जबर्जस्ती बाल्टीका बाल्टी पानी खन्याइदिने होडबाजीले स्थान पाएको छ । बाल्टी, बाँटा र ड्रमभरि पानी बोकेर छतबाट पानी बर्साउन पैदलयात्री ढुकेर बस्नेहरूको पनि उत्तिकै बिगबिगी छ सहरभरि । टाउकामा अन्डा फुटाल्नेदेखि सवारीसाधनको मोबिल निकालेर अनुहारभरि दलिदिनेसम्मका निकृष्ट क्रियाकलापहरू पनि उत्तिकै मात्रामा मौलाइरहेका देखिन्छन् । विशेषगरी प्रहरी प्रशासनको दृष्टि र पहुँच नपुग्ने स्थानमा यस्ता गलत हरकतहरूको निर्वाध रूपमा पटाक्षेप भइरहेको छ । विशेष गरी युवापिँढीका धेरै मानिसहरू यस्ता क्रियाकलापतर्फ बढी हौसिएका पाइन्छन् । ‘बडाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत’ भनेझैँ उनीहरूकै सिको गरेर ससाना चिचिला बालबालिकाहरू पनि होलीको पौराणिक महत्तालाई बदनाम गराउनेतिर रौसिँदै लागिरहेका देख्दा मन त्यसै कुँडिएर आउँछ । होलीको दिनभन्दा हप्तौँपूर्व उनीहरूको समय नै पानी भरिएको लोला बोकेर अरूमाथि प्रहार गर्ने कार्यमा बितिरहेको हुन्छ ।

होली आउनुभन्दा हप्तौँअघि विद्यालयमा पढ्ने ससाना विद्यार्थीहरूका झोलामा पुस्तकसँगै लोला बनाउने प्लास्टिक र बेलुन पनि भेटिन्छन् । घरबाट पढ्न भनी स्कुलबस चढी विद्यालय आउने विद्यार्थीहरू बसभित्रै एकापसमा रङ र लोला खेलेर रमाइरहेका हुन्छन् । शिक्षक र विद्यालय प्रशासनको आँखा छलेर कक्षाकोठालाई नै होली खेल्ने थलो बनाइएका दृश्यहरू पनि यदाकदा देखिन्छन् । कसले कसमाथि कति थरी रङ छर्किन सक्छ भन्ने अस्वस्थ प्रतिस्पर्धाको मनोविज्ञानले पनि यसमा काम गरिरहेको हुन्छ । यस सम्बन्धमा प्रायः अभिभावक, शिक्षक र विद्यालय प्रशासनलाई कमै मात्र जानकारी हुन्छ । यसबाहेक विशेष गरी घरका छतमा बसेर पैदलयात्रा गरिरहेका व्यक्ति तथा मोटरसाइकललगायत अन्य सवारीसाधनमा यात्रारत यात्रुहरू यस किसिमका गोलारूपी लोलाको सिकार भइरहेका छन् । प्लास्टिकमा पानी भरेर यात्रुहरूको बाटो ढुक्ने प्रवृत्ति यतिबेला सर्वत्र मौलाइरहेको छ ।

फागुपूर्णिमाको सांस्कृतिक महत्व नबुझेर जबर्जस्ती गर्ने प्रवृत्तिका कारण अनपेक्षित घटनामा बढोत्तरी

मूलतः होलीको पूर्वसन्ध्यामा युवापिँढीका विद्यार्थीहरूको जमघट हुने कलेज र क्याम्पसवरिपरिका क्षेत्रमा लोलाप्रहारका प्रशस्त दृश्यावलीहरूको दर्शन गर्न पाइन्छ । कतिपय क्याम्पसहरूमा त फागुपूर्णिमा आउनुभन्दा एक हप्ताअघिदेखि नै विद्यार्थीहरूको हात, गोजी र झोलाहरू पानी भरेर लोला बनाउने प्लास्टिकहरूले भरिइसकेको हुन्छ । क्याम्पसको प्रवेशद्वार र छतमा बसेर बाटामा हिँड्ने बटुवालाई निथ्रुक्कै भिजाइदिने अधिकांश लोलाधारी युवाहरूको गलत नियत रहेको पाइन्छ । पैदलयात्रा गरिरहेका युवती, स्कुटर तथा मोटरसाइकलका पछाडि बसेर यात्रा गरिरहेका युवतीहरू उनीहरूको लोलाप्रहारको प्रमुख निसाना बनिरहेका हुन्छन् ।

विशेषगरी युवतीहरूको संवेदनशील अंग ताकेर लोलावर्षण गराउने अभिप्रायले धेरै युवाहरू पोकाका पोका लोलाहरूमा पानी भरी राम्रा पोसाकमा चिरिच्याँट्ट सिँगारिएर आफ्नो गन्तव्य छिचोलिरहेका युवतीहरूको प्रतीक्षामा बसिरहेका हुन्छन् । पत्तै नपाइने गरी बाटामा यात्रा गरिरहेका वेला वर्षण हुने दर्जनौँ लोलाले उनीहरूको सिङ्गो शरीर पलभरमै निथ्रुक्क हुन्छ । कतिपय यात्रुहरूको त टाउकैमा लोला र अन्डा फुटाइदिनेसम्मका हरकत गरिन्छ । बाटामा यात्रा गरिरहेका यात्रुहरू राम्रा कपडामा सजिएर विशेष कार्यक्रम, उत्सवादिमा सहभागी हुन हिँडिरहेका वेला अचानक अज्ञात स्थलबाट बर्सने लोलाहरूले उनीहरूको गन्तव्य बीचैमा तुहिने अवस्थाको सिर्जना हुन सक्छ ।

लोला हानाहान गर्ने काम विशेषतः विपरीत लिङ्गीमा बढी चल्ने गर्दछ । वास्तवमा स्त्री देखे पुरुषले लोला बर्साइहाल्ने र पुरुष देखे स्त्रीले बाँकी नराख्ने होलीको विकृत विशेषता नै भइसकेको छ आजभोलि । एउटा औपचारिक कार्यक्रममा जाने सिलसिलामा सुकिला पोसाकमा सजिएर पैदलयात्रा गरिरहेको यो पङ्क्तिकारमाथि हिजोमात्र पोखराको नदीपुरस्थित कन्या क्याम्पसअगाडि बसेका युवतीहरूले लोलाप्रहार गरे । दर्जनौँ लोलाहरूको शृङ्खलाबद्ध सिकारले तत्क्षण साउने झरीमा भिजेको ओढाउविनाको बटुवाझैँ भइयो । शरीरमा लगाएका कपडा एकैछिनमा निथ्रुक्कै भिजेर हेर्नै नहुने भइहाल्यो । त्यस्तो अवस्थामा कोसँग कहाँ थप गलफती गर्न जानू ? ती युवतीहरूको लोलाप्रहारले आफ्नो योजनालाई बीचैमा स्थगित गरेर भिजेको बिरालो झैँ भएर यो पङ्क्तिकार बाटैबाट लुम्रुङलुम्रुङ घर फर्कन बाध्य भयो ।

सबै यात्रुहरू सामान्य कामका लागि बाटामा लर्खराइरहेका हुँदैनन् भन्ने कुरा होली मनाउन खोज्ने लोलाधारीले नबुझ्नु आफैँमा दुःखद विडम्बना हो । आफूले प्रहार गरेको लोलाले नराम्ररी लागेर यात्रुहरू निथ्रुक्क भएर भाग्दाको क्षण उनीहरूलाई विशेष आनन्ददायक हुन्छ । त्यसैमा उनीहरूले वाहवाही गर्दै खुसीयाली मनाउँछन् । क्षणिक आनन्दमा रमाउन खोज्नेहरूले पीडितको मर्म नबुझिदिँदा समस्या निम्तिन्छ । कोही अति जरुरी काम परेर यात्रा गरिरहेका हुन सक्छन् । कोही आफन्तजनको बरखीमा सेतो कपडा धारण गरिरहेका हुन सक्छन् । कोही शारीरिक रूपमा अक्षम र बिरामी पनि हुन सक्छन् ।

कसैको छाला अबिर र रङ पर्नै नहुने खालको एलर्जिक पनि हुन सक्छ । यस्तो अवस्थामा अचानक बर्सने रङ र लोलाले यात्रुहरूको सिङ्गो यात्रा, योजना सबै भताभुङ्ग हुने अवस्थाको सिर्जना हुन सक्छ ।

होली मनाउने नाममा जथाभावी रङ खेल्ने र लोला बर्साउने क्रममा बर्सेनि प्रशस्त अनपेक्षित घटनाहरू भइरहेका छन् । होलीपर्वको सांस्कृतिक महत्त्व नबुझेर यसलाई आफूखुसी मनाउने र रङ, लोला आदि प्रयोग गर्ने नाममा अर्कालाई जबर्जस्ती गर्न खोज्ने प्रवृत्तिका कारण यस्ता घटनामा बढोत्तरी आइरहेको छ । सवारीसाधनमा यात्रा गरिरहेका यात्रुहरूलाई लक्षित गरी प्रहार गरिने लोलाले सबैभन्दा जोखिमपूर्ण सवारी दुर्घटनाहरू भइरहेका पाइन्छन् । यसबाहेक मादकपदार्थ खाई ग्याङ बनाएर जथाभावी होली खेल्ने र जबर्जस्ती गर्ने कुसंस्कृति झाङ्गिँदै गएर झैझगडा, काटमार हुँदै व्यक्तिहत्याको तहसम्म पुगिरहेको तथ्य कसैका लागि सायदै नौलो होला । सद्भाव, आत्मीयता र भाइचारा साटासाट गर्ने सांस्कृतिक वैशिष्ट्य बोकेको पर्वमा नै मनोमालिन्य बढ्नु किमार्थ शोभनीय हुँदैन ।

होली खेल्ने क्रममा लोलाधारीहरूले प्रयोग गर्ने सबै लोलाभित्र पानीकै प्रयोग हुन्छ भन्ने छैन । पानीको अभाव भएका ठाउँमा फोहोर पानी, ढल, पिसाब आदिको प्रयोग गरी लोला भरेर प्रहार गर्ने गरिएका घटनाहरू सायद धेरैलाई थाहा नहुन सक्छ । त्यसै पनि पानीको हाहाकार हुने सहरमा त झनै लोलाभित्र प्रयोग हुने पानी सफा हुन्छ भनेर विश्वास गर्नै सकिन्न । यस्तो पानीले व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पुग्ने गर्दछ । संस्कार र संस्कृति मान्ने या नमान्ने भन्ने कुरा प्रत्येक व्यक्तिका लागि ऐच्छिक हुन्छ । व्यक्तिको आस्था, विश्वास र अभिरुचि छैन भने कुनै पनि पर्व उनीहरूका लागि बाध्यकारी हुनुहुँदैन । चाडपर्व मनाउने नाममा कसैले कोहीमाथि जबर्जस्ती गर्छ भन्ने त्यो निन्दनीय छ । जबर्जस्त संस्कृतिले आफ्नोपन जीवित रहँदैन । यस्तो संस्कृति सही अर्थमा संस्कृति नभएर विकृति हो । अतः होलीलाई विकृतिमा परिणत गराउने कार्य कतैबाट पनि गरिनुहुँदैन । होलीलाई विकृत आवरणबाट मुक्त पार्नु आजको आवश्यकता हो ।

Related News

सम्बन्धित समाचार

hero news full width