लयमा फर्कदै बारा, पर्सा

 नगेन्द्रराज पौडेल
चैत्र २५, २०७५

एक्कासी आएको हावा, हुरी, असिनापानी र बताससमेतका कारण प्रभावित बारा, पर्साको जनजीवन क्रमशः लयमा फर्कदै छ। गत चैत्र १७ गते राति ८ बजे एक्कासी तीव्र बेगमा आएको हावा, हुरी तथा आँधिसमेतले खासगरी बारा कलैया उपमहानगरपालिकाका १२, १३, १८ र १९ वडा, फेटा गाउँपालिकाको ६ र ७ वडा, परवानीपुरको ७, प्रसौनीको ४, देवतालको १ नम्बर वडा तथा सुवर्णपुरको केही भाग, महागढीमाइ नगरपालिकाको तेलगाइँ क्षेत्र, सहित पचरौता, बेनौली र बहिर्नियासमेतका विभिन्न स्थानमा ठूलो मात्रामा जनधनको विनाश गरेको थियो।

अझ फेटा गाउँपालिकाको पुरैनिया भन्ने गाउँमा त एकै परिवारका ४ जनासम्मको मृत्यु भएको थियो। बाराको फेटा गाउँपालिकाको पुरैनिया र भलुहियामा सबैभन्दाबढी क्षति पुर्याएको थियो। घटनामा मृत्यु हुने २९ जना पुगेका छन् भने पचासौ जना घाइतेहरु छन्। उनीहरुको बारास्थित कलैया अस्पताल र वीरगञ्जको नारायणी अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ। मृत्यु हुनेमा फेटा ६ पुरैनियाकी २ वर्षे वालिका अलिसा खातुनदेखि महागढीमाई नगरपालिका वडानम्बर ७ की ७५ वर्षीया वृद्धा कोइलीदेवी अहिरिनसम्मका छन्।

तीव्र गतिमा हुइँकिएको हावाका कारण बाटोका दर्जनौ विद्युतका पोलहरु ढलेर बाटोमा लम्पसार थिए। पार्किङ गरिएका दर्जनौ गाडी, टेम्पोहरु हावाले ढलाएर र उडाएर क्षतविक्षत बनाएको थियो। आरसिसिढलान घर समेत छानो (छत ) उडाएर छरपष्ट पारेको थियो। साना साना घरहरुको त गन्ति नै थिएन। टहराहरु त कहाँ थिए कहाँ पुगे कुनै लेखाजोखा नै थिएन। वस्तुभाऊ, अन्नपात सबै नष्ट भएको छ। मान्छेहरु हतास हतास परेका थिए।

बाराको कलैयास्थित स्थानीय ब्रह्मपुरीका प्रधानाध्यापक सत्यनारायण कुशवाह आफूले ५८ वर्षको उमेरमा पहिलोपल्ट मात्र प्रकृतिको यस्तो विभत्स रुप देखेको बताउँछन्। बेला बेलामा बारा, पसार्मा आँधी, हुरी आए पनि संभवतः इतिहासमै यसरी मानवीय क्षति पुग्ने गरी आएको हावा हुरी भने यो नै पहिलो हो भनी प्रत्यक्षदर्शीहरु बताउँछन्। यहाँसम्म कि बाँसका गाँजहरु, बर पिपलका रुखहरु डोजरले उधिनेजस्तो गरी जरैदेखि उधिनेर टुप्पो तल फेद माथि बनाएको थियो। जहाँघटना घट्यो, त्यहाँ जाँदा जो कसैको पनि आँखाबाट आँशु नचुहुने अवस्था नै थिएन। पीडितहरु जहान, बालबच्चा गुमाएको पीडामा त थिए नै खानका लागि न अन्नपात बाँकी थियो न बस्नका लागि छाप्रो नै रह्यो। सबैजना बाटोमा थोत्रा, झुत्रा कपडा टाँगेर रात काटनु पर्दाको दृश्य कम कारुणिक थिएन।

सरकार अनुगमन गर्दै

अघिल्लो साता आइतवार राति आएको हावा हुरीका कारण भौतिक तथा मानवीय क्षतिको अनुगमन गरी पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्न त्यसको भोलिपल्ट प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीसहितको टोली बारा, पर्सा पुगेर घटनाको अनुगमन गर्यो। लडेका रुखहरु र ढलेका घरहरुको हवाइ निरीक्षण गरी टोलीले बाराको कलैया अस्पताल तथा पर्साको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा पुगी घाइतेहरुलाई भेटी स्वास्थ्यलाभको कामना गर्यो। तत्काल राहतकालागि पहल गर्न र घाइतेहरुको उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रधानमन्त्रीले स्थानीय प्रशासनलाई निदेर्शनदिएको खबर आयो।

छिटो, छरितो उपचारका लागि चिकित्सकलाई भनियो। प्रदेश सरकार पनि बारा, पर्सामा विरामी, घाइते र मृतकका परिवारजनसँग रÞयो। राहतको घोषणा गर्यो। प्रदेश २ को घटना भएपनि प्रदेश ३ का मुख्यमन्त्री पनि घटनास्थलमा आई प्रदेश सरकारले राहतका लागि सक्दो सहयोग गर्ने बचनदिए। सत्तारुढदलका नेताप्रचण्ड, नेपालीकांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेतले पीडितलाई भेटेर शान्त्वना दिए। रेडक्रस सोसाइटीदेखि मारवाडी सेवा समाजलगायत् अनेकौं संघ, संस्थाहरुले तत्कालै पाल, खाद्य सामग्री लिएर आए। नेपालप्रहरी, सशस्त्रप्रहरी बल तथा नेपाली सेना उद्धारमा जुट्यो। सबैको एउटै उद्देश्य विपदव्यवस्थापन गर्नु नै थियो र यसैका लागि सबै जुटे। शीघ्र व्यवस्थापन हेतु त्यहाँको दृश्य नमूना लायक नै देखियो। एकको विपदमा अकोर्को समवेदना छताछुल्ल भएको पाइयो।

अस्तव्यस्तता पनि पाइयो

उद्धार तथा राहतमा कतिपय अस्तव्यस्तता पनि पाइयो। विपद व्यवस्थापनमा कतिपय आलोचना र गुनासाहरु पनि देखिए। केही सुकिला, मुकिला व्यक्तिहरु चिल्ला कारमा आउने राहतका नाममा १, २ कार्टुन विस्कुट र चाउचाउका प्याकहरु वितरण गरी सेल्फीलिने गरेको पनि देखियो। यसले गर्दा कतै पीडितहरुलाई जिस्काएको त होइन भन्ने पनि अवस्था देखियो। वितरणमाभन्दा प्रचारात्मक शैलीमा उनीहरु रमाए । तर यसैका कारण राहत भने प्रभावित भएन। यो खुसीको कुरा हो। राहतका लागि १८ गते नै स्थानीय पालिका र खासगरी घटना घटेका स्थानका वडाध्यक्षको संयोजकत्व र उनैको प्रत्यक्ष निगरानीमा राहत संकलन व्यवस्था मिलाइएको थियो।

राहतमा एकद्वार प्रणाली कायम गराउनका लागि खाद्यन्न भण्डारणको व्यवस्था छ। सामूहिक रुपमा खाना पकाएर प्रभावितलाई खुवाउने गरिएको छ। यसबाट राहतको व्यवस्थापनमा सहजता आएको देख्न सकिन्छ। १९ गते शिक्षा विकास तथा समन्वय एकाइ बाराको टोलीले खाद्यान्न लिएर वितरण गर्न जाँदा एकद्वार प्रणाली शुरु भइसकेको थियो। वडाध्यक्षको नेतृत्वमा सबै चिजहरुको व्यवस्थित भण्डारण देखिन्थ्यो। एकढोके प्रणालीका कारण पछिल्ला दिनहरुमा राहत व्यवस्थित भएको कुरा स्थानीयवासीहरु बताउँछन। पीडितहरु पनि राहतबाट सन्तुष्ट नै देखिएको पाइयो।

स्वार्थीहरु पनि भेटिए

हाम्रो समाजमा एउटाको विनाश पछि अकोर्को उत्थान हुने चलन छ। यसैले लाशमाथि समेत राजनीति गर्न हामी छाड्दैनौँ। यो हाम्रो नियति पनि हो। २०७२ सालको भूकम्पमा वितरण गर्न ल्याइएका जस्ता पाताहरु ठूलाबडा( मन्त्री सम्म) का घरमा भेटिए भन्ने समाचार उतिबेला छापामा आएकाथिए। अहिले बाराको अवस्था हेर्दा राहत दिने र राहतका लागि घोषणा गरिएका कुराले सबैलाई हौस्याएको छ। यतिबेला गलत तत्वहरु पनि राहत हातपार्न सकिन्छ कि भन्दै पिछा गरेका छन्। राहतलिएर आउने संस्थाका अघिपछि गर्न थालेका छन्।

सकेसम्म राहतको दुरुपयोग नहोस र गलत व्यक्ति वा परिवारमा राहत नपुगोस भनी जिल्लाप्रशासन कार्यालयले राहत समन्वय केन्द्र खडा गरेको छ। जतासुकैबाट आउने राहत यो केन्द्रमार्फत् संकलन गरी वितरण गरिने कुरा उक्त केन्द्रको संयोजन गरेका जिल्ला प्रशासनकार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्की बताउँछन्। कार्कीका अनुसार अहिलेसम्म उक्तघटनाको कारण मुत्यु हुनेको संख्या २९ भनिए पनि घटना हुने दिनमा बिरामी भई अस्पतालमा भर्ना गरिएको बच्चा अर्को कारणले मृत्यु भएको भए पनि उसलाई समेत यही घटनामा मरेको बनाउन खोजिएको छ। “ यसरी राहत पाइने नाममा वास्तविक पीडितभन्दा अन्यले पनि हात लम्काएका हुँदा हामीले गम्भीरतासाथ हेरेकाछौ” कार्कीले भनेका छन्। अहिलेसम्मको अवस्था हेर्दा राहत आवश्यकताभन्दा बढी नै थुप्रिएको छ। खाद्यन्न, लत्ताकपडाको ओइरो नै लागेको छ। संघ संस्थाहरुबीच राहतकालागि एककिसिमको प्रतिष्पर्धाजस्तो चलेको छ। पीडितहरुमा पनि एक किसिमको शान्त्वना छाएको छ।

यसअघि नेपाल सरकारले गरेको निर्णय अनुसार दैवी तथा प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेहरुका लागि प्रति परिवार १ लाख र व्यवस्थापनखर्च भनी १० हजार दिने प्रचलन छ। जिल्ला दैवीविपद समितिबाट यो राहत वितरण गरिन्छ। तर अहिले भने यहाँ ठूला, ठूला नामी संघ संस्थाको आगमन र राहतको घोषणाका कारण कुनै पनि पीडित परिवारको यो रकममा ध्यानै गएको छैन। एक लाख के माग्नु भन्न खोजेजस्तो देखिन्छ। पाउनुपर्ने नगद रकम भन्दा पाइन्छ कि भन्ने उधारो आशामा पीडितहरु बढी लोभिएको देखियो। उनीहरु आश्वासनमा बढी हौसिएकाछन। आइजाइ गर्ने व्यक्ति र संघ संस्था हेर्दा निकै ठूलो राहत पाइने कुरामा विश्वस्तछन्।

Related News

सम्बन्धित समाचार

hero news full width