राष्ट्र, राष्ट्रवाद र राष्ट्रियता

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७०

राष्ट्र, राष्ट्रवाद र राष्ट्रियता यी यस्ता फराकिला, गहकिला र बोझिला शब्दहरू हुन् जसको स्मरणले मात्र पनि व्यक्तित्वको गहिर्‍याइलाई आँकलन गर्न सकिन्छ। एउटा व्यक्ति कति सफल वा असफल भनेर मूल्याड्ढन गर्ने एउटा उत्तम कसी भनेको उसको राष्ट्र प्रेमको भावना हो। राष्ट्रप्रेम अर्थात राष्ट्रियताको महान यात्रामा हरदम लाग्ने मानिस सधैँ जिउँदा, सधैँ सन्मानित र सधैँ अमर रहन्छ। यसको ठीकविपरीत राष्ट्रलाई ठग्ने, राष्ट्रलाई घृणा गर्ने र राष्ट्रिय अस्मितालाई हरदम एउटा सामान्य खेलबाड सम्झने मानिस राष्ट्रद्रोही, राष्ट्रघाती र जिउँदा मुदासमान हुन्छन्।

राज्यका आम सर्वसाधारण नागरिक सधैँ राष्ट्रका बफादार, इमान्दार र नैतीकवान सिपाही हुन्छन्। उनीहरूको देशप्रतिको अटुट माया आफ्नो देशको माटोसँग गाँसिएको हुन्छ। जहाँ उनीहरू खाली खुट्टाले हिँड्छन्, खालि हातले काम गर्छन, ना·गो सरीरका साथ जमिनमा सुत्छन्। उनीहरूको देशप्रतिको माया एउटा दूधे बालक र आमाबीचको अगाध सम्बन्धको अटुट यात्रालाई एउटा सटिक दृष्टान्तको रूपमा लिन सकिन्छ। त्यहि माटो उनीहरूको जीवन हो, साथी हो, रक्षा हो र प्राण पनि।

आफ्नो देशको माटोलाई माया नगर्ने मानिसहरू राष्ट्रका बफादार सिपाही कदापि हुन सक्दैनन्। साँचो अर्थमा उनीहरू राष्ट्रका घिनौन जिउँदा मुदाहरू हुन्। उनीहरूलाई राष्ट्रको जिउँदा मुदाहरू पनि कसरी भन्ने जवकि उनीहरूको आत्मा विदेशीको साँठगाँठसँग आवद्ध हुन्छ भने। आफ्नो राष्ट्रको माटोलाई कुल्चेर विदेशीको बुर्इ चढ्ने कतिपय मानिसहरू अन्ततोगत्वा उनीहरूकै लाठीको सिकार भएका ताजा उदाहरणहरू हाम्रै सामु प्रशस्तमात्रामा छन्। आफ्नो राष्ट्रको सानातिना समस्यामा पनि विदेशीको मुख ताकेर आफ्नो पक्षमा सान देखाउने हाम्रा अधिकाँश नेताहरूलाई यस ब्राह्माण्डजत्रो कागज, महासागरहरूको पानीलाई मसी र ज·लका रूखहरूलाई कलम मानेर विश्वका मानिसहरूले नियमितरूपमा यिनका विरुद्धमा हजारौं हजार वर्ष लेखे पनि उनीहरूले थुपारेका कुकृत्यको डंगुरको वयान गरेर सकिने छैन।

नेपालमा राष्ट्रियताको खडेरी विगतका दिनमा भन्दा पछिल्ला दिनहरूमा बढी भएको स्पष्ट छ। तीस वर्षे पञ्चायतकालमा यति विध्न राष्ट्रियताको असजिलो परेको अवस्था कुनै हालतमा पनि थिएन। प्रतिशोधको आधारमा विना प्रमाण बक्ने छुट्टै कुरा हो। राजाको हातमा पूरै राष्ट्रको साँचो भएकोले राजाले देश बेचे बेच्न सक्ने अवस्था थियो त्यो किन भने नेपाल राज्यको सार्वभौमसत्ता राजामा निहित थियो तर नेपालका राजाहरूमा त्यस प्रकारको राष्ट्रिय अखण्डलाई बेच्ने, राष्ट्रको छविलाई आँच आउन दिने, राष्ट्रलाई अरुका  समक्ष निर्लज्ज प्रस्तुत गर्ने कार्य  कहिल्यै पनि भएन। एकपटक भारतका सर्वाधिक चर्चित प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतको सिमाना उत्तरमा हिमालसम्म हो भनेर बोल्दा सर्वत्र विरोध भइ हाउसमा माफि माग्नमा बाध्य पारिएको थियो रे। तर के अव भारत वा अन्य कतैका नेताले यस्तै प्रकारको अभिव्यक्ति दिए भने के हाम्रा नेता भनाउँदाहरूले विरोध गर्लान् –

पृथ्वीनारायण शाहले ‘चीनसँग राम्रो सम्बन्ध राख्नू’ भनेर दिव्य उपदेश दिनु।  २००७ सालको क्रान्ति सफल पार्न राजा त्रिभुवनले तत्कालीन स्वतन्त्र सेनानीहरूलाई लुकीलुकी पैसा दिनु, सन् १९७३ जुलाई २७ मा राजा वीरेन्द्रबाट विश्वमामिलाका लागि नेपाल परिषद्मा नेपालको शान्ति क्षेत्रको चाहना प्रष्ट पार्नु, २५ फेबु्रअरी १९७५ मा नेपाललाई  ६० मित्र राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्र मन्त्री एवं अन्य विशिष्ट अतिथि समक्ष शान्ति क्षेत्रको प्रस्ताव ल्याउनु राष्ट्रप्रतिको असीम माया होइन र ? के नेपाल र नेपालीहरूको अस्ितत्व युगौयुगसम्म बाँचिरहोस् भन्ने शुभेच्छा होइन ?

नेपालको संविधान २०१९ माथि २०३७ सालमा तेस्रो संशोधन हुँदा ‘नेपाललाई क्षेत्र बनाउने’ प्रयास गर्नु परराष्ट्र नीतिको लक्ष हो। त्यस्तै  ‘नेपाल अधिराज्यको संविधान २०४७’ को धारा २६ को उपधारा १६ मा पनि ‘नेपालमा शान्ति क्षेत्रलाई अन्तराष्ट्रिय मान्यताको आधारमा संस्थागत गर्दैजाने नीति राज्यले अवलम्वन गर्ने छ’ भन्ने उल्लेख गरिएको छ।(खगेन्द्र निरौला, नेपाल परिचय) यी र यस्ता थुप्रै लिखित उदाहरण हुन् राज संस्थाको छाहारीमा नेपालको राष्ट्रियतालाई सदासर्वदा जीवित राख्ने सबुत प्रमाणहरू। हो, हामीले छातीमा हात राखेर भन्नै पर्छ पछिल्ला समयमा राजा ज्ञानेन्द्र सन्केर नेपालको छातीमा कु गरेकै हुन्। तर अचम्म के भयो भने त्यो कु केवल आफ्नो लागि मात्र थियो। उनले सर्वसाधारण जनताको लागि कत्ति पनि केही गर्दै गरेनन्। तर त्यति हुँदाहुँदै पनि उनी अराष्ट्रियवादी राजा भने कदापि होइनन्। राष्ट्रियताको सवालमा उनी धेरै अगाडि छन् हाम्रा कतिपय नेताहरू भन्दा।

नेपालका विस्मार्क मनिने राष्ट्रय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिकलाई समेत देख्न नसक्ने कुनै दलका नाइकेहरूलाई कसरी हामीले विश्वास गर्ने यिनीहरूसमक्ष राष्ट्रियताको अलिकति पनि भावना छ भनेर – यसै सम्बन्धमा कनकमणी दीक्षित आफ्नो किताब ‘देखेको मुलुक’मा लेख्छन्-पृथ्वीनाराायण शाहबाट प्रतिपादित, भीमसेन र जंगबहादुरद्वारा पोषित, राणासत्तामा मलजल पाएको र महेन्द्रले आफ्नो पञ्चायती शासन टिकाउन उपयोग गरेको राष्ट्रवाद नै आखिरमा आएर नेकपा माओवादीको  सैद्धान्तिक खम्बा बन्न पुग्यो। एमाओवादीका नेता प्रचण्डको ढुलमुले बोलिले पनि देशको एउटा गतिलो राष्ट्रिय नीतिको अवलम्बन गर्नमा कठिन भइरहेको छ जस्तो लाग्छ। जस्तो कि २१ वैशाख २०६६ मा सरकारबाट राजीनामा दिँदाको सम्बोधनमा प्रचण्डले भारतको हस्तक्षेपतर्फ इ·ति गरे भने एक हप्तापछि ‘द हिन्दू’ लाई दिएको अन्तर्वार्तामा त्यही भारतबाट समस्या समाधानको बाटो आफूले खोजेको पनि बतााए। राटि्रयताको सवालमा सधैँ चनाखो रहने जन नायक विपिकोइरालाले फागुन २५,२०३८ को प्रेश वक्तव्यमा लेखेका थिए-‘साम्राज्यवादी नियत भएका उटा षड्यन्त्रकारी हातद्वारा सञ्चालित त्यस जाँतोभित्र प्रजातत्तन्त्रका आदर्शहरूका साथसाथै सम्पूर्ण राष्ट्र र राष्ट्रवादी शक्तिहरू पिसिँदै छन् ‘म एकपटक यस वक्तव्यदारा पुनः सम्पूर्ण देशवासीलाई देशमाथि आइपरेका यी खतराप्रति सचेत पार्न चाहन्छु। हामी जो जहाँ रहौं, प्रत्येकले आ-आफनो बुद्धि र क्षमताले भ्याएसम्म आजका यी धातक विदेशी षड्यन्त्रहरूलाई विफल तुल्याउनुपरेको छ।’ भोला चर्टर्जी, बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व) तर खै प्रजातन्त्रपश्चात् पनि नेताहरूको बचकनापनले गर्दा नेपाल आमाका सन्तानहरू आजसम्म पनि यो दुर्गति भोग्नमा बाध्य छन् राजनीतिकभित्रको अराजनीतिक चरित्रमा हुकेका नेपालका नेता भनाउँदाका कारणले गर्दा।

नेपालको राष्ट्रवाद र राष्ट्रियतालाई भारतकै हुबहु सल्लाह अनुसार चलाउन चाहने नेता डा. बाबुराम भट्टराईको त अच्चम्मको राष्ट्रियता छ २०६९ असार पहिलो साता उनी रियो दिजेनेरियो सम्मेलनमा सहभागी हुन ब्रजिल पुगे। भ्रमणको भित्री उद्देश्य थियो भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको भेट। ब्राजिल जानुअधि ‘सहमतिका लागि प्रधानभन्त्रीको पदलगायत सबै किसिमको त्याग गर्न तयार छु भनेका भट्टराईले फर्किएपछि २०६९ असार ११ गने अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि हालतमा पद नत्याग्ने उद्घोष गरे र पद त्यागे माघ १९ गने दोहोरिन दाबी गरे। एमालेका युवा नेता रवीन्द्र अधिकारी भन्छन्-‘ब्राजिलमा भारतीय प्रधानभन्त्रीसँगको भेट र उनको धाप पाएपछि यस्तो दम्भ देखाएको बुझ्न सकिन्छ। २०६९ असोज दोस्रो साता ओरिकामा भएको राष्ट्रसड्घीय महासभामा भने प्रधानमन्त्री भट्टराईले सहभागिता जनाएनन्। काठमान्डु पोस्टका अनुसार, भारतीय प्रधानमन्त्री मनमोहन सिंह सहभागी नहुने भएकोले पनि भट्टराईले अमेरिका नजाने निर्णय लिएका थिए -सरोज अधिकारी, चक्रव्यूहमा चन्द्रसूर्य)।’

जब नेपालका नेताहरूले बिनातयारी कसैको उकसाहट र भीडभाडमा सदियौंदेखि चलिआएको ‘हिन्दू राज्य’ को शानलाई एकाएक धुलो चटाउने काम गरे तत्पश्चात् नेपालको विश्वसामु भएको वास्तविक अस्मिता अपा· हुन थाल्यो। नेपालमा हिन्दूराज्यको अवधारणाको अनुपम संगम भनेको एक सयजना नेपालीमा एकासी जनाको पवित्र आत्मासँगको अगाध मिलन हो। यो अगाध मिलन केवल केटाकेटीको कच्चा प्रेम होइन। यो त युगौंयुग देखिको धार्मिक, दार्शनिक, ऐतिहासिक, परम्परागत, अनुवंशिक र सामाजिक व्यवहारको परिपक्व द्योतक हो जसमा समग्र मानवचक्र अत्यन्त्य सन्तुलित तरिकाले आफ्नो नियमानुसार चलायमान भइरहेको हुन्छ -नेहरू, डिस्कभरी अभ इन्डिया)। तत्कालीन समयमा नेपालका माओवादी भनिनेहरूलाई ज·लबाट सहर, सदन र सरकारसम्म पुग्न हदै हतार भइरहेको थियो। उनीहरूलाई पुराना हाम्रा विरासतहरूलाई कुच्याएर कुजो बनाउनु पनी थियो किनकि उनीहरूको संस्कार भनेकै पहिलेको सनातनलाई उखालेर फाल्नु हो। त्यही लहैलहैमा आँखा चिम्लेर पोइला गए अन्य दलहरू पनि। अनि त्यहीदेखि नेपाल आमाको विकासको उल्टो गन्ती सुरु भयो र त्यो उल्टो गन्ती झन चर्कोरूपमा अगाडि बढिरहेको छ। हिन्दुराज्यलाई भत्काएर आम जनताको आत्मामा लात् हान्ने नेताहरूले त्यो चोटमा मलम लगाउने काम कतापट्टबिाट गरे त – निर्धा जनावरहरूले उनीहरूमाथि भएको शोषण, दमन र अपराधीकरणको आवाज बुलन्द गर्न सक्दैनन् भनेर जसरी उनको छाती, घाँटी र टाउकामा खुकुरी, हसिया र घनजस्ता निर्दयी हतियारहरूको प्रयोग गरी उनीहरूको ज्यान लिइन्छ त्यसरी नै एकासी प्रतिशत जनताको अस्मितामाथि खेलवाड गरी समग्र राष्ट्र र राष्ट्रियतामाथि धावा बोलिएको छ। यसको बदला एक दिन नेपाली जनताले अवश्य लिनेछन् र धेरै दिनसम्म यो अविछिन्न आत्मा लुटिएको टुलुटुलु हेरेर बस्ने धैर्यता इश्वरले पनि प्रदान गर्न सक्ने छैनन्।

बामपन्थी विश्लेषक झलक सुवेदी मिति २०७०।०५।१३ गतेको कातिपुर टेलीभिजनमा विजय पाण्डेसँग अन्तर्वाता दिँदै भन्छन् ‘साच्चै तिनीहरूले राष्ट्र, राष्ट्रियता र देशको वास्तविकतालाई बचाउन चाहेकाहुन् भने भारतलगायत अन्य देशका प्रशिद्ध एवं ठूला सहरहरूका  कोठीमा हाम्रा चेलीबेटीलाई बेच्न बन्द गर, वर्षेनी हाम्रा लाखौ युवायुवतीहरू कामको खोजीको सिलसिलामा भौतारिंदै आफ्नो मातृभूमिलाई छोडेर मरुभूमिको असहज बातावरणमा जानुपर्ने बाध्यता बन्द गर, किसान, शिक्षक, विद्यार्थी एवं सम्पूर्ण कर्मचारीलाई स्वतन्त्रपूर्वक कामगर्न वातावरण बनाउन् ‘तब जनताले महसुस गर्लान् राष्ट्र र राष्ट्रियता उनीहरूमा पनि रहेछ भन्ने कुरा।

नेपाल राष्ट्र छ यसको राष्ट्रियता पनि अखण्ड छ भन्ने गर्विलो भावना नेपाली जनतामा पुर्‍याउनु हामी सबैको असिम कर्तव्य हो। चाहे राप्रपा नेपाल होस् वा नेपाली काङ्ग्रेस, चाहे नेकपा एमाले होस् वा एमाओवादी सबैलाई राष्ट्र चाहिन्छ त्यसैले यो माथि अनजानमा वा हुलमुलमा हानिएका प्रहारहरूलाई आत्मालोचना गरेर राष्ट्रियताको सवालमा सबै पार्टीको एउटा साझा एजेण्डा बनाउनु सर्वथा बुद्धिमानी हुने छ।

Related News

सम्बन्धित समाचार

hero news full width