रक्तसञ्चार सेवा एक चर्चा

सन्दर्भ : रक्तदान दिवस

कृष्ण तिमिल्सिना
श्रावण १२, २०७६

तपाईं हामीले दान दिएको रगत कसैका लागि जीवन बनिरहेको हुन्छ। आजका हामी स्वस्थ्य मानिसले रक्तदान गरेनौं भने अरुले पाउँदैनन् र अरुले रक्तदान गरेनन् भने हामीले पाउँदैनौं।

प्राणीहरूमा मानव सर्वश्रेष्ठ प्राणी हो। मानव जीवन र सभ्यताको प्रारम्भसँगै हाम्रा अग्रजहरूको लामो अनुभव अध्ययन, अनुसन्धानबाट जीवनका विभिन्नक्षेत्रहरूमा उल्लेखनीय उपलब्धिहरू हासिल गरी अहिले हामीलाई सहज र सफल हुन टेवा मिलेको छ। विज्ञानको चमत्कारिक प्रगतिसँगै स्वास्थ्यक्षेत्रमा भएका अकल्पनीय परिवर्तनले हाम्रो जीवनलाई दीर्घायू र सुरक्षित बनाएको छ।

आजभन्दा चार सय वर्ष भन्दा पहिले सन् १६१६ मा विलियम हाभेर्ले कुनै पनि प्राणीमा रक्तसञ्चार गर्न सकिने तथ्य पत्ता लगाए। सन् १८१८ मा वेलायती नागरिक डा. जेम्स ल्याण्डलले सर्वप्रथम एक मनिसबाट अर्को मानिसमा रक्तसञ्चार गराउन सकिने कुरा पत्ता लगाए। सन् १९१४ मा अष्ट्रेलियन नागरिक डा कार्ललेण्डरिटनरले मानिसमा ए, बी, ओ र एबी रक्तसमूह हुन्छ भन्ने कुरा पत्ता लगाए। सन् १९१४ मा वेल्जियम नागरिक डा हस्टिनले रगतलाई शरीर बाहिर रसियनको सहायताले नजम्ने गरी न्यून तापक्रममा राख्ने तरीका पत्ता लगाए। सन् १९३२ मा विश्वमा पहिलो पटक लेलिनगार्ड अस्पतालबाट रक्तसञ्चार सेवा शुरु गरियो। यसक्षेत्रमा धेरै अध्ययन अनुसन्धानहरूलाई आधुनिक प्रविधि र उपकरणहरूको प्रयोग गरी सेवालाई सहज र सरल बनाउनेतर्फ अगाडि बढेको छ। पछि हरेक समूहमा नेगेटीभ र पोजेटीभ रगत समूह हुने र पोजेटीभ रगत समूहमा ९९.४ प्रतिशत र नेगेटीभ रगत समूहमा ०.६ प्रतिशत मानिसहरू रहेको तथ्यको आधारमा नेगेटीभ रक्तसमूहलाई दूर्लभ मानिन्छ। कम पाइने र कम चाहिने भएकोले यसको पहिचान र संरक्षण आफैमा महत्वपूर्ण छ।

नेपालमा २०२३ श्रावण १२ गतेबाट लक्ष्मी ब्लड बैंकको नाउँमा वीर अस्पताल नजिकैको सानो घरमा नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तसञ्चार सेवाको सुरुआत गरियो। सोही दिन हरेक वर्ष श्रावण १२ लाई रक्तदान दिवसका रूपमा मनाउने परम्पराको थालनीसँगै रगत, रक्ततत्व र यसको दानको सन्दर्भमा चर्चा परिचर्चा गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमासमेत लिएका छौं। २०४८ साल चैत्र २४ गते नेपाल सरकारद्वारा नेपालमा रक्तसञ्चार सेवा सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटीलाई जिम्मेवारी सुम्पिएबाट रेडक्रसका दायित्व झनै बढेको छ। हाम्रो आवश्यकता, क्षमता र श्रोतका आधारमा रेडक्रसले हाल ७१ जिल्लाका १०० भन्दा बढी सेवा केन्द्रहरूबाट रक्तसञ्चार सेवा उपलब्ध गराई सवसाधारणको पहुँचमा पुर्याएको छ। भने कास्की जिल्लामा पनि २०३५ सालदेखि तत्कालिन गण्डकी अञ्चल अस्पतालको हाताभित्र रक्तसञ्चार सेवा केन्द्रको स्थापना गरियो। यस सेवा केन्द्रले समयानुकूल स्तरोन्नतिसँगै हाल क्षेत्रीय रूपमा गण्डकी प्रदेशको अगुवाई गदै पोखरा रामघाटमा केन्द्र, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा छुट्टाछुट्टै युनिट खडा गरी सबैको सहयोग र सहकार्यमा कास्की रेडक्रसले वार्षिक रूपमा लगभग २० हजार प्रिन्ट रगत संकलन, परीक्षण, भण्डारण र वितरण गर्दै आइरहेको छ।

रगत मानिसलाई नभई नहुने अत्यावश्यक एउटा रातो अर्थात तरल पदार्थ हो। यसका विभिन्न आरबीसी, डब्लुबीसी प्लाज्मा र प्लेटलेट्स आदि तत्वहरू मिलेर बनेको हुन्छ। यो हाम्रो बोनम्यारोमा पुग्दछ। रगत बनाउन आइरन, फोलिस एसिड र भिटामिन बी १२ को आवश्यकता पर्दछ। जुन हाम्रो नियमित खानाबाट हामीले प्राप्त गर्दछौं। एक स्वस्थ वयक्क मानिसको शरीरमा लगभग ५ लिटर रगत हुन्छ। यसले हाम्रो शरीरमा सुरक्षा, आपूर्ति र सरसफाइ गर्ने कार्य गर्दछ। मानव शरीरको भित्री मुख्य अंग फोक्सो, मुटु र मष्तिष्क बीचको सहकार्यमा रगतको ठूलो महत्व रहेको हुन्छ।

विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधिको विकास आधुनिक चिकित्सा प्रणालीमा भए तापनि मानिसको रगतको विकल्प आजसम्म पनि प्राप्त हुन सकेको छैन। मानिसको रगतको विकल्प मानिस आफै हो। विभिन्न कारणले रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्को व्यक्तिको शुद्ध र समूह मिल्ने रगत सुरक्षित रूपमा तत्काल उपलव्ध गराउनु आफैंमा चूनौतीपूर्ण छ। रगतको अभावमा एउटा मानिसले अर्को मानिसको जीवन रक्षा र स्वास्थ्य सुरक्षाका लागि गरिने रक्तदान नै यसको एक मात्र विकल्प हो। विश्वमा हरेक वर्ष करोडौं मानिसले रक्तदान दिएर वा पाएर आफ्नो जीवनलाई बचाउन वा सजिलो बनाउन पाएका छन्। हरेक १० जना व्यक्तिमा एक जना व्यक्ति रगतको आवश्यकतासहित अस्पतालमा भर्ना हुन्छन् भन्ने कुरा आकडाले देखाएको छ।

हामीले रक्तदान गर्नका लागि १८ वर्षदेखि ६५ वर्ष ननाधेका, ४५ केजी तौल भएका, १२ ग्राम होमोग्लोविन भएका र कुनै पनि औषधिको सेवन नगरेका जो कोही स्वास्थ्य महिला, पुरुषले तीन–तीन महिनामा रक्तदान गर्न सक्छौं।

हरेक व्यक्ति वा संस्थाले आआफ्नै तरिकाले असल कामका लागि आआफ्ना ठाउँबाट सहयोग पुर्याउन सक्छन् भन्ने हेतुले बहुजन हितका लागि समुदायसँग मिलेर उनीहरूकै आवश्यकता पूरा गर्न सहयोग र सहकार्य गर्नु मानवीय सेवा कहलाउछ। सेवामा त्याग, दान र कर्तत्व हुन्छ। स्वयंसेवामा कुनै पनि लाभको आसा गरिएको हुँदैन। बरु आवश्यकताका आधारमा हामीसँग भएका कुराहरू निःस्वार्थ रूपमा समर्पण गर्दछौं। तपाईं हामीले गर्ने रक्तदान पनि निःस्वार्थ रूपको समर्पण हो र हरेक रक्तदाताहरू आदरणीय स्वयसेवक हुन्। तपाईं हामीले दान दिएको रगत कसैका लागि जीवन बनिरहेको हुन्छ। आजका हामी स्वस्थ्य मानिसले रक्तदान गरेनौ भने अरुले पाउँदैनन् र अरुले रक्तदान गरेनन् भने हामीले पाउँदैनौ। रेडक्रस स्वयंसेवकको अभियान हो र मानवीय भावना हो। यसले मानव जीवनको रक्षा र स्वास्थ्य सुरक्षा गर्न आदरणीय स्वयंसेवकहरूलाई सधैं उत्प्रेरित गरिरहन्छ।

आजभोलि हामीले रक्तदान गर्नुपर्दछ। हाम्रो शरीरमा बन्ने रक्त कोषिका तीन–तीन महिनामा पुराना भई स्वतः काम नलाग्ने भएर बाहिरिन्छन् र नयाँ जन्मिन्छन् भन्ने कुराको ज्ञान हामी धेरैले पाएका छौं। मानव रगतको विकल्प मानव नै हो। यसका लागि रक्तदान नै एक मात्र अन्तिम विकल्प हो। त्यसैले पनि हामीले रक्तदान गर्नु पर्दछ। रक्तदान गर्नु भनेको स्वस्थ व्यक्तिको परिचायक पनि हो। रक्तदान गरेको केही पनि हुँदैन। बरु आत्मसन्तुष्टी प्राप्त हुन्छ, परोपकारिता बढ्छ। मानवीय सेवाको अभियानमा टेवा पुग्दछ। आपसमा भाइचारासँगै सहअस्तित्वको भावनामा अभिवृद्धि हुन्छ भन्नेलगायतका स्वयंसेवी भावना बढेकाले रक्तदान गर्ने रक्तदाताको संख्यामा पनि वृद्धि भएको छ। रेडक्रसका निकायहरू तथा आरदायूलगायत विभिन्न सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी संघसंस्थाहरूका साना ठूला कार्यक्रममासमेत रक्तदान कार्यक्रमलाई महत्वका साथ राख्ने गरेको पाइन्छ। त्यसैले रक्तदान गरौ, जीवन, बचाऔं भन्ने मूल भावनाबाट अभिप्रेरित भई रक्तदान गनेर्को संख्यामा वृद्धि हुँदै गए तापनि शुद्ध र समूह मिल्ने रगत सर्वसुलभ रूपमा उपलब्ध गराउनु आजको चुनौती बनेको छ।

मानव भएर जन्मनु आफैंमा सृष्टिको अपार वरदान हो। यसमा पनि मानवीय भावना बोकेर दुःखमा परेकाहरूको साथी बन्ने जस्ता असल भावना भएका व्यक्तिहरूको सहभागितात्मक अभियान र भावनात्मक समर्पण नै रेडक्रस हो। एउटा मानिसले दान दिएको रगत अर्को मानिसका लागि जीवन बनिरहेको हुन्छ। यही रगतलाई सर्वसुलभ रूपमा स्वयंसेवी रक्तदाता संघसंस्था सबैको सद्भावनाबाट मानव हितका लागि हातेमालो गर्ने वातावरण बनेको छ।

कास्की रेडक्रसद्वारा असहाय, ज्येष्ठ नागरिक र सुत्केरी महिलाका लागि सेवाशुल्क पनि नलिई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौं। चिकित्सा पद्धतिको विकासले गर्दा रगतको माग दिन प्रतिदिन बढ्दै गएको हुनाले रक्तदान जस्तो मानवीय कार्यलाई चिरकालसम्म कसरी प्रभावकारी र सहज बनाउन सकिन्छ र रक्तदान नै सबैभन्दा ठूलो महादान हो भन्ने भावना हामी सबैका मन मष्तिष्कमा जगाउनु परेको छ। मानवताका लागि मानवीय भावनबाट अभिप्रेरित भएर गरिने सेवा नै सबैभन्दा ठूलो मानव धर्म कहलाउँदछ भन्ने कुरा हाम्रा धर्मशास्त्रमासमेत लेखिएको छ।

लेखक नेपाल रेडक्रस सोसाइटी, कास्कीका उपसभापति हुन्। सं.

Related News

सम्बन्धित समाचार

hero news full width