मोतीरामको भानुप्रतिको योगदान

रविलाल अधिकारी
श्रावण १४, २०७६

रामलाई नचाउने भक्त भानुभक्तले अप्सरा नचाउने पद्य पनि लेखेको ठहरिदैन। तर भानुलाई समर्थवान कवि सावित गराउन भट्टले गरेको प्रयास प्रशंसनीय छ।

नाटककार बालकृष्ण समले आफ्ना ‘भक्त भानुभक्त’ भन्ने नाटकमा मोतीराम भट्टको भातखुवाइमा भानुभक्त आचार्य उहाँलाई भात खुवाउन गएको देखाउनुभएको छ। भानुभक्तको मोतीरामका परिवारसँग चिनारी र हेलमेल नरहेको तथा ६ महिनाका मोतीराम भट्ट पछि ठूलो मान्छे हुने कुनै संकेत नभएको जस्ता कारणले मोतीरामका पास्नीमा भानुभक्त भात खुवाउन पुगेको सन्दर्भ पत्यारयोग्य छैन र संयोग जुटाउने नाटककार समका कल्पनाशीलताको मात्र हामी सराहना गर्न सक्छौं; तर कुरो पत्याउन सक्तैनौं।

मोतीरामले भानुभक्तलाई चिन्ने सन्दर्भको कुरो गर्दा भानुभक्तीय रामायणका प्रभावकारी श्लोकहरूले नै भानुभक्तलाई मोतीरामले चिन्ने संयोग मिलेको हो। भनिन्छ मोतीराम भट्ट बनारसबाट काठमाडौं आएका बेला काठमाडौंमा एउटा विवाहको निम्ता मान्न परेको थियो र उहाँ निम्ता मान्न जानुभयो। तत्कालीन परम्परा बमोजिम जन्ती पक्षका र घरभेटी पक्षकाले पालैपालो श्लोक भनेर रात बिताए। मोतीराम भट्टले ती श्लोकहरू रातभर जाग्राम बसेर सुनेपछि जन्ती र घरभेटीले रातभर भनेका यी श्लोकहरू कहाँका हुन् र कसले लेखेको हो? भन्ने जिज्ञासा राखेर सोधखोज गर्नुभयो। यी श्लोकहरू रामायणका हुन् र भानुभक्त भन्ने कविले यी लेखेका हुन् भन्ने जानकारी पाएपछि भानुभक्तप्रति उहाँ आकर्षित हुनुभयो।

भानुभक्तप्रति आकर्षण बढेपछि मोतीरामले उहाँका जन्मस्थानका विषयमा चासो राख्नुभयो र घरवासको खोजी गरी कतिपय जानकारहरूसँग सोधखोज गरेर तनहुँको चुँदी भन्ने ठाउँमा आउनुभयो। भानुभक्तका सन्तानहरूसँग भानुभक्तबारे जानकारी लिएर नेपाली कागजमा बाँसका कलमले लेखेर पढ्ने गरिएका रामायणको १ प्रति सहित उहाँ बनारस जानुभयो। सबै रामायण एकै पटक छपाउँदा बिक्ला नबिक्ला भन्ने शंकाले विशालकाय रामायणलाई एकै चोटि नछपाई १९४१ सालमा रामायणको बालकाण्ड मात्र छपाउनुभयो। सबै रामायण छपाए पनि बिक्ने देखेर १९४४ सालमा सम्पूर्ण रामायण छपाउनुभयो। समग्र रामायण सबैले चाख मानेर पढ्ने र रामायणको पुस्तक प्रशस्त बिक्ने भए पनि भानुभक्तलाई रामायणका माध्यमले मात्र नेपाली पाठकले राम्ररी चिन्न सक्तैनन् भनी १९४८ सालमा भानुभक्तको जीवनी लेखेर पनि प्रकाशित गर्नुभयो।

भानुभक्तको यो जीवनी लेख्ता मोतीराम भट्टले आपूmले कविका जन्मस्थलमा पुगेर उहाँका सन्ततिहरूसँग सोधखोज गरी लिएका जानकारीलाई र तिथिमितिहरूलाई आधार बनाउनु भयो र कवि साहित्यकारहरूको जीवनी लेख्ने शैलीसँग परिचित भई कतिपय कुराहरू आफैले कल्पना गरेर पनि उहाँले जीवनी लेख्नुभयो। साहित्यकार मोतीराम भट्टले लेखेका भानुभक्तको यस जीवनीमा माथि संकेत गरिएका तीओटै पक्षहरू समाविष्ट छन्।

भानुभक्तका सन्ततिहरूसँग सोधखोज गरी जानकारी गरिएका आधार सामग्रीहरू जीवनीलाई प्रामाणिक गराउने आधार स्तम्भका रूपमा रहेका छन्। भानुभक्तका आनीबानी, फुटकर कविताहरू, तिथिमितिमा भएका कामहरू प्रामाणिक छन्। यिनीहरूमा कसैले शंका उब्जाउने ठाउँ छैन। यसका विपरीत कविसाहित्यकारको जीवनी लेख्ने शैली र कल्पनाका कुारहरूले भानुभक्तको जीवनी लेख्ता कविलाई कुनै प्रेरणा दिने शैली हुनुपर्छ। कालिदास, तुलसीदास जस्ता कविहरूका कवित्व जागरणमा श्रीमतीहरूको प्रेरणा देखाइएको छ भने भानुभक्तका कवित्व जागरणमा पनि घाँसीको प्रेरणा देखाउँछु भनेर भट्टले घाँसीको कथा ल्याएर जोड्नुभयो; तर हाम्रा यहाँको जनजीवनका स्थिति र परम्पराले घाँस बेच्ने कुरालाई अपत्यारिलो बनाइदियो। तनहुँमा आज त घास बेचिदैन भने उनताका कसरी बेचिनु? यसले गर्दा यो प्रसङ्ग जीवनीकारले जोडेको परम्पराको शैलीलाई पालन गर्ने मान्यता हो भन्ने कुरामा सबै पाठकहरू विश्वस्त बनेका छन्। केटाकेटीलाई प्रभाव पार्ने यो प्रेरणा उपयुक्त छ; तर बुझ्ने भैसकेकालाई यो पच्तैन।

भानुभक्तका कवित्वलाई प्रभावशाली देखाउन भट्टले कल्पना गरेका पक्षबारे अब बिचार गरौं। भट्ट श्रृङ्गारकालको साहित्यकार भएकाले उहाँका जमानामा रसराज भनेको शृङ्गार हो र शृङ्गारपरक चेतना नभई कवि हुँदैन भन्ने मान्यता थियो; तर भक्तिकालका भानुभक्तलाई शृङ्गार सित कुनै मतलब थिएन। भक्तिका भावनामा बहेर नै आफ्नो सामथ्र्य देखाउने चेतना भएका भानुभक्तलाई ‘सिताराम भज्न्या हो शिवशिव यसै आज झुलियो’ (भक्तमाला) भन्न पाए पुग्थ्यो।

यसरी भक्ति र आचरणका निष्ठामा बसेका नैष्ठिक भानुभक्तलाई पनि शृङ्गार रसतिर रमेको कवि नदेखाउने हो भने कविको कवित्व प्रभावशाली देखिदैन भनेर ‘विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर रहोस्, ताँहाको मनपिंजरा म मुनिया यैचाल् सदाकाल रहोस्। भन्ने २ पाउ भानुभक्तका नाममा आपूmले लेखिदिनुभयो। यो भानुभक्तको लेखाइ हो भनी नपत्याउलान् भनेर टिप्पणी रूपमा मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अन्त्यका २ अधारी बनाई यहाँ तल लेखिदिन्छु। कदाचित् मैले बनाएका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित काँच जोरेको झैँ होला (कवि भानुभक्त आचार्यको जीवनी) भन्ने संकेत पनि गरेको देखिन्छ; तर यी दुई पाउको शैली भानुभक्तको नभई मोतीरामको छ र यी २ पंक्ति भानुका हुन् भनेर कसैले भन्दैन। त्यसैले भानुभक्तलाई शृङ्गाररसका कवि देखाउन मोतीरामले यी पंक्ति लेखेको ठहर्छ।

त्यस्तै यति दिनपछि मैले आज बालजि देख्याँ भन्ने पद्यपछि अप्सरा नचाउने पद्य थपिदिएर भानुभक्तलाई शृङ्गारका कवि सावित गराउन खोज्नुभएको छ। रामलाई नचाउने भक्त भानुभक्तले यो अप्सरा नचाउने पद्य पनि लेखेको ठहरिदैन। तरपनि भानुलाई समर्थवान कवि सावित गराउन भट्टले गरेको यो प्रयास प्रशंसनीय छ।

साहित्यकार मोतीराम भट्टले लेखे जस्तै भानुभक्तको जीवनी आशुकवि शम्भु प्रसाद ढुंगेलले पनि लेख्नुभएको छ। भानुभक्तले काठमाडौं देख्ता रचना गरेका भनिएका मोतीरामले उल्लेख गरेका –‘चपला अबला आदि भन्ने पाँच पद्यबाहेक अरू पनि कतिपय पद्य ढुंगेलले थपेको देखिन्छ। मोतीरामले देखाएका यी पाँच पद्य भानुभक्तले नभै मोतीरामले कल्पना गरेका भन्ने जानकारी पाएर नै ढुङ्गेलले पनि अरू पद्य थप्नुभएको हो। यस आधारबाट चपला अबला ….’ भन्ने पाँच पद्य मोतीरामले नै भानुभक्तका नाउँमा रचना गरिदिएको जानकारी हुन्छ।

यस्ता कतिपय कविताहरू भानुभक्तका नाउँमा लेखिदिएर भानुभक्तको उच्च मूल्याङ्कन गरेर भानुभक्तको जीवनी लेखेको सन्दर्भ स्मरणीय छ। कतिपयले भानुभक्तप्रतिको भट्टको बढी निष्ठा र श्रद्धा देखेर मोतीराम नभएका भए भानुभक्त आचार्य साहित्य जगतमा नचिनिने कुराको परिकल्पना पनि गर्छन्; तर त्यो परिकल्पना चेतनाहीनहरूको हो। लिखित रामायणको पनि प्रचारप्रसारले भानुभक्त चिनिनै पर्ने थियो र भट्टले चिनेर भानुका कृति छपाउनुभयो र आदिकविको उपाधि पनि दिनुभयो। उहाँकै प्रयासलाई सार्थक पार्न नेपाली साहित्य सम्मेलन दार्जीलिङले सरकारबाट उपाधि आधिकारिक गराइछाड्यो।

भानुभक्त प्रतिको मोतिराम भट्टको योगदानलाई हेर्दा भट्टले हरतरहले भानुभक्तलाई प्रभावशाली कविका रूपमा प्रस्तुत गर्न प्रयास गरेको देखिन्छ। भट्ट भानुभक्तका भक्तमात्र नभएर आफै सिर्जना गर्ने कवि वा साहित्यकार पनि हुनुहुन्थ्यो। उहाँको योगदान उहाँका साहित्यिक रचनाले भन्दा पनि भानुभक्तप्रतिका भक्ति, श्रद्धा, त्याग र निष्ठाले बढी ओजिलो भएको देखिन्छ। यति भएर पनि उहाँका पत्रकारिता, कवि मण्डलीको स्थापना जस्ता कुराहरू भुल्न सकिने छैनन्।

Related News

सम्बन्धित समाचार

hero news full width