महिला हिंसा

दिनेश बस्नेत
श्रावण २२, २०७६

एउटा पीडित भइकन साहसी ती महिलाले ‘तपार्इं अर्का जन्म पाउनु भयो भने के बन्न चाहनु हुन्छ भन्ने पत्रकारको जवाफमा भनेकी छन्, बरु म गाई भैँसी बन्न तयार छु तर महिला बन्न तयार छैन। मेरो भगवानसँग पनि रोज प्रार्थना यही छ, म महिला भएर फेरि जन्मनु नपरोस्। ’

मानव इतिहासको सवैभन्दा विडम्बनाको पक्ष बनेको छ, लैङ्गिक विभेद एंव महिला हिंसा। नेपालमा मात्र होइन। कतिपय विकसित देशमा पनि महिला हिंसाले जिवन्तता पाएको छ। अविकसित र विकासशील देशको त के कुरा गर्नु !। भारतको एउटा मल्लाह परिवारमा सन् १९६३ मा फुलनदेवी महिला हिंसाको इतिहासकी एउटा यस्तो पात्र बनिन, जसको उल्लेख गर्नु, या महिला हिंसाको कुरा गर्दा उनलाई सम्झनु सान्दर्भिक होला। अनावश्यक र अतिरञ्जित नहोला।

नाऊ चलाउने र माछा मार्ने काम गरेर सामान्य जीवन बिताउने मल्लाह परिवारमा जन्मेकी उनको दोष एउटा छोरी भएर जन्मनुमा मै सिमित रहयो। अर्थात छोरी भएर धरतीमा जन्म लिनु उनको दोष साबित भयो।

थोरै जमिन, तल्लो जाति, गरीब परिवार। ऐनकेन फुलनदेवीले ११ वर्षसम्मको उमेरको यात्रा तय गरिन्। एक दिन उनका ठूलाबाको परिवारसँग उनको परिवारको झगडा भयो। हजुर बा बिते पछि उनका ठूलाबा नै परिवारका श्रेष्ठ थिए, निमको बोट काट्ने बिषयलाई लिएर भएको झगडामा उनले बाआमातर्फबाट साहास देखाइन्। उमेरले अलि बढी उनका ठुलाबाको छोरासँग हात हालाहाल र हानाहानसम्म गरिन्। उनको हक्की र जुझारु स्वभाव उनका लागि अफाप भयो। उनका बाबु आमाले उनलाई १२ वर्षको उमेरमा आफुभन्दा तीनगुना जेठो मल्लाह थरको पुप्तीलालसँग अनमेल विवाह गरि दिए।

लोग्नेको अत्याचार ती बालिका, फूलनदेवीले सहन सकिनन्। भागेर माईत आइन। उनलाई ठुला–बाले माइतमा पनि आनन्दसँग बस्न दिएनन्। सुनको औठी चोरेको आरोप लगाए र, चोरीको उजुरी पुलिसचौकीमा दर्ता गरे। अनि उनलाई ३ दिनसम्म प्रहरी चौकीमा राखियो। दुर्भाग्य भन्नु पर्छ रक्षक नै भक्षक भए। चौकीमा तीन दिनसम्म प्रहरीहरुको बलात्कारको शिकार हुनु पर्यो।

प्रहरी चौकीबाट कतै कुरा नचुहाउने शर्तमा उनलाई छोडियो। यसरी चौकीबाट छुटेपछि उनलाई फेरि ससुराल पठाईयो। जतिबेला उसका लोग्नेले अर्को विवाह गरिसकेका थिए। तर पनि उनलाई जवर्जस्ती गर्न लोग्नेले छोडेन। सन् १९७५ मा उनी दुईछाक रोटी र हिंसाको सामना गर्न डाँकुहरुको ग्याङ्गमा सामेल भइन्।

डाँकुको ग्याङ्गमा पनि उनको अस्मिता सुरक्षित रहेन। राजपुत र मल्लाह पक्षधर डाँकुहरु बीच भएको विवादमा मल्लाहका नाइके बिक्रम मल्लाहको मृत्यु भएपछि फुलनदेवीलाई श्रीराम र लाला नामधारी राजपुत डाँकुले अपहरण गरेर लगे र तीन हप्तासम्म राजपुतहरु बसोवास गर्ने एउटा गाउँमा बन्दीबनाए। त्यो तीन हप्तासम्म राजपुत डाँकुहरुले मात्र होइन, राजपुत अन्य युवाहरुले उनलाई सामूहिक रुपमा बलात्कार गरे।

पछि साथीहरुको माध्यमबाट उनी रिहा भईन्। जसको बदलामा फुलनदेवीले २२ जना राजपुतहरुलाई गोलीहानेर मारिन्। अनि उनको चर्चा चुलियो। इन्दिरा गान्धी प्र.म. भएको पालामा आत्मसमर्पण गरिन। ११ वर्षसम्म जेल जीवन बिताइन्। १९९४ मा मुलायमसिंह यादवको पालामा उनीमाथि लागेका हत्या, लुट र अपहरणका तमाम ४८ आपराधिक मुद्दा सरकारले हटाइदियो। पछि समाजवादी पार्टीको सदस्य भइन्। २ पटकसम्म सांसदको चुनाव जितिन्। सन् २००१ जुलाई २५ मा उनलाई गोलीहानेर मारियो।

उनको दुर्लभ र भयावह जीवन कहानीका फिल्महरु बने। २८ भाषामा आत्मकथाको पुस्तक छापियो। एउटा पीडित भइकन साहसी ती महिलाले ‘तपार्इं अर्को जन्म पाउनु भयो भने के बन्न चाहनु हुन्छ भन्ने पत्रकारको जवाफमा भनेकी छन्, बरु म गाई भैँसी बन्न तयार छु तर महिला बन्न तयार छैन। मेरो भगवानसँग पनि रोज प्रार्थना यही छ, म महिला भएर फेरि जन्मनु नपरोस्। ’

कति पीडामा आकण्ठ डुवेका छन् ती शब्द। महिला हिंसामा चुलिएका छन् ती वाक्य। वास्तवमा एउटी महिला हुनुको शरीरिक हैसियतले त्यस्ता खाले अनुभव र अनुभुतिको सामना गर्नु परेको थियो। समयले धेरै फड्को मारिसक्यो तर यो महिलाको अवस्था उस्तै छ। झन घट्दो मात्रामा छैन, महिला हिंसा। प्रतिदिन बढ्दो छ।

नेपालकै सन्दर्भमा कुरा गर्नु पर्दा महिला हिंसा कालपल्के जस्तो एक पछिअर्को, अर्को पछिअर्को घटना घटिरहेका छन्। अझ महिला हिंसाको अहम् पाटो बनेको यौन हिंसाको त समाजमा जर्जर अवस्था छ। एउटा तथ्याङ्कले निर्धारण गरेको छ, नेपालमा दिनहुँ ४ जना महिला बलात्कृत हुन्छन्। कति कानूनको दायरामा आएर कारवाहीमा पर्छन् भने कति दोषी, अपराधी उम्केका छन्।

निम्नवर्गिय व्यक्तिलाई मात्र समाउन सक्षम र सफल कानूनको हात कतिपय घटनामा काँपेको अनुभव हामी सामु छर्लङ्ग छ। जस्तै निर्मला बलात्कार र हत्याप्रकरणको एक वर्ष भईसक्दापनि अपराधी स्वतन्त्र छन्। उल्टो गृहमन्त्री भन्छन्, ‘बलात्कारको घटना हिजो पनि घटेका थिए, आजपनि घटेका छन र भोलि पनि घट्छन, यसलाई बाढीपहिरो जतिकै चासो दिएर आवाजउठाउनु सान्दर्भिक हुदैन। ’ प्रधानमन्त्रीकहिले भन्छन, ‘निर्मलाका हत्यारा १२ वर्ष पछि पनिपत्तानलाग्न सक्छन्। ’कहिले भन्छन, ‘निर्मलाबलत्कार र हत्या सरकारलाई बदनामबनाउने र असफलबनाउने एउटाप्रपञ्चहो। ’ कस्तो शर्मनाक कुरा।

यसर्थ सरकारको कमजोर कार्यशैली पनि महिला हिंसा जस्ता कतिपय आपराधिक घटना कारक तत्व हो भन्दा अत्युक्ति नहोला। ताकि सिद्धान्त र पहुँचका आधारमा अपराधीको वर्गीकरण गरिन्छ। कानूनका मौलिक मान्यतालाई जर्वजस्ती किनारा लगाइन्छ। सरकार प्रमुख र सत्तासीन पार्टीका नेताहरुको चलखेलमा अपराधी सहजै छुट्छन्। उक्त निन्दनीय अवस्थाका अतिरिक्त महिला हिंसा र अपराध एउटा सामाजिक चुनौतीको रुपमा खडा भएको छ। एउटा विडम्बना लाग्दो घटनाको रुपमा बढोत्तरी हुँदै गएको छ। जुन अवस्था जो कोही सचेत नागरिकको लागि दुःखदायी र पीडादायक बनेको छ भने पीडीतले लैङ्गिक आधारमा भोग्नु पर्ने प्रताडना अवर्णनीय छ।

अझप्रतिदिन सामाजिक सञ्जालमा ओइरो लाग्ने त्यस्ता घटनाले पुरुष र महिलामा जुनप्रकारको आत्मीयता छ, त्यो धराशायी बनाएको छ। स्थायी विश्वास र सम्मानमा पनि आँच ल्याएको छ। किन कि हजुर बाले आफ्ना नातिनीलाई, बाबुले छोरीलाई, दाजु भाइले दिदीबहिनीलाई बलात्कार गरेको घटना बारम्बार सुन्न र पढ्न पाइन्छ। जसले गर्दा आज यो समाज कुन सभ्यतातर्फ उन्मुख हुँदै छ। मानवीय चेतना र संवेदना मान्छेको मन मस्तिष्कबाट किन विस्थापित भइरहेको छ। जुन सन्दर्भ आजको समाजमा एउटा वहसको विषय बनेको छ। एउटा चिन्तनशील विषय बनेको छ।

एउटा आमाको दर्जा पाउनु पर्ने महिला एउटा सृष्टिकर्ता नारी बलात्कृत हुनु, पुरुषबाट प्रताडित हुन, यौन साधनको रुपमा उपयोग हुनु निश्चय पनि मानवीय चेतनाको दुर्वल पक्ष हो। एक प्रकारको मानसिक विकृति हो। समाजमा मानसिक विकास हुन नसक्नुको परिणाम पनि हो। निश्चित रुपमा नारी असुरक्षित हुनु, शारीरिक स्वरुपका आधारमा उनले हिंसा एवं बलात्कारका घटनाको सामना गर्नु कानूनको अवज्ञा मात्रहोइन, पुरुष भित्रको मानवतामा प्रश्नचिन्ह्खडा गर्ने खालको निन्दनीय कार्य हो।

उसो त महिला हिंसाका कारण कतिपय अवस्था र घटनामा महिला पनि बनेका छन्। यौन र अर्थ आर्जनमा महिलाहरु आफ्नो अस्तित्वबाट चुकेका छन् र आफ्नो नातेदारमा अनेकौं प्रकारका घटना घटाउन महिलाहरु स्वयं मतियार बनेका छन्। स्वार्थपूर्तिका हिसाबले त्यस्ता घटनाका योजनाकार नै बनेका छन्। जुन प्रकारका घटना छयाप्छयाप्ती देख्न, सुन्न र पढ्न पाइन्छ। अझ प्रकाशमा नआएर गुम्सिएका, पिल्सिएका सन्दर्भहरु अनगिन्ती होलान। त्यसरी एउटी महिलाले अर्को महिलालाई धरापमा पार्न सक्छन् भने महिला हिंसा कारक पुरषलाई मात्र ठान्नु मनासिव नहोला। यदि यौन हिंसालाई अलग्याएर हेर्ने हो भने महिला हिंसामा महिलाको कुनै नैकुनै भूमिका रहेका कतिपय घटनामा पाउँछौ।

यद्यपि जुन सुकै तह, स्तर र व्यक्तिबाट महिला हिंसा हुनु मानवीय पक्ष हो। को अधोगति हो। चाहे महिला हुन्, चाहे पुरुष दुवैले प्राकृतिक रुपमा बाँच्न र सघंर्ष अनुरुपका उपलब्धिमूलक जीवन बाँच्न पाउनु पर्छ। कर्म अनुरुपको हाँसीखुसी जीवन बाँच्न पाउनु पर्छ। महिलालाई सम्मान गर्नु, तिनी हरुको क्षमताको कदर गर्नु भनेको मानव जीवनलाई सार्थकता र सफलतार्पूक अगाडि बढाउनु हो। जुन समाजमा र राष्ट्रमा महिलालाई दोस्रो दर्जाको स्तरमा व्यवहार गरिन्छ त्यो समाज र राष्ट्रको परिकल्पना गर्न सकिँदैन।

Related News

सम्बन्धित समाचार

hero news full width