महिला उद्यमीका समस्याहरु

इन्द्रकमल मानन्धर
फागुन १, २०७९

महिला उद्यमीले व्यवसायको प्रारम्भदेखि नै प्रतिस्पर्धाको सामना गर्नुपर्छ । धेरैजसो महिला उद्यमीसँग बजारको पर्याप्त जानकारी र पहुँच हुँदैन
इन्द्रकमल मानन्धर

महिला उद्यमशीलताको संलग्नताले देशको आर्थिक विकासमा बलियो आधारको रुपमा काम गर्दछ । धेरैभन्दा धेरै महिलाहरको आर्थिक क्रियाकलापमा संलग्नताले उनीहरुको आफ्नो तथा परिवारको समेत जीवनस्तरमा वृद्धि ल्याउँछ । यसबाट देशमा छरिएर रहेको स्रोत र साधनको पनि उपयुक्त तरिकाले सदुपयोग हुन गई देशको अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्न जान्छ ।

महिला उद्यमीहरुले खासगरी सामान्य र विशिष्ट गरी २ प्रकारको समस्याहरु भोग्नु परेको छ । सामान्य समस्यामा अन्य पुरुष उद्यमीहरुले पनि भोगेका समस्याहरु पर्दछ भने विशिष्ट समस्याहरु केवल महिला उद्यमीले मात्र भोग्ने गरेको पाइन्छ । मुख्यतया महिला उद्यमीहरुले भोग्नु परेका समस्याहरु निम्नअनुसार छन् ः

१. वित्तीय समस्याः

वित्त वा पुँजी उद्यम सञ्चालन गर्न आवश्यक महत्वपूर्ण तत्व हो । वित्तले व्यवसायमा अन्य भौतिक साधनहरुलाई परिचालन गर्दछ । व्यावसायिक क्रियाकलापलाई प्रभावकारीरुपमा सञ्चालन गर्न पर्याप्त मात्रामा स्थिर र चालु पुँजीको आवश्यकता पर्दछ । तर धेरैजसो महिला उद्यमीहरुले पर्याप्त पुँजीको अभावको सामना गर्नुपर्ने हुन्छ । सामान्यतया उनीहरुसँग आफ्नै अन्य आयको स्रोत पनि हुँदैन र आफ्नै नाममा कुनै सम्पत्ती पनि हुंदैन जसलाई धितोमा राखेर बैक तथा वित्तिय संस्थाहरुबाट सजिलै ऋण प्राप्त गर्न सकोस् । उनीहरुले पर्र्याप्त स्थिर र चालु पुँजीको व्यवस्था गर्न नसक्दा ठूलो आकारको व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्न सक्दैनन् ।

२. सीप र अनुभवको अभावः

सामान्यतया महिला उद्यमीहरुमा उत्पादन, निर्माण तथा प्राविधिक क्षेत्रमा आवश्यक सीप र अनुभवको अभाव देखिन्छ । यसको कारणले महिला उद्यमशीलता सेवाउन्मुख व्यवसाय जस्तै सौन्दर्य, बुटिक, फूल नर्सरी, शिक्षण, परामर्श तथा जनसम्पर्क आदिमा सीमित रहेको पाइन्छ । प्राविधिक र व्यवस्थापन शिक्षाको अभाव महिला उद्यमशीलतामा देखिएको ठूलो समस्या हो । उनीहरुमा व्यवसाय, बजारीकरण, व्यवस्थापकीय अनुभवको कमीले जोखिम बहन गर्ने क्षमतामा नकारात्मक असर पारेको छ ।

३. व्यावसायिक सम्बन्धः

म्हिला उद्यमीहरुले व्यावसायिक सम्बन्ध स्थापित गर्ने कम अवसरहरु पाउँछन् । उनीहरुसँग समयको अभाव हुने र पुरुष प्रधान समाजमा महिलाहरुको सम्बन्ध स्वीकार गर्न पनि चाहँदैन । उनीहरुले कार्यक्षेत्रमा समेत विभेदको सामना गर्नुपर्ने हुन्छ ।

४. पारिवारिक बन्धनः

समाजमा महिलालाई घरेलु कार्य तथा बच्चा हुर्काउने भूमिकामा मात्र सीमित राखेको पाइन्छ । यो भूमिका पूरा गर्न महिलालाइ धेरै समय र प्रयास गर्नुपर्ने हुँदा व्यवसायमा समय दिन उनीहरुलाइ गाह्रो हुनजान्छ ।

५. कम गतिशीलताः

विभिन्न कारणहरुले गर्दा पुरुषको तुलतामा महिलाको गतिशीलता कम हुन्छ । महिलाहरु एक्लै घरबाट धेरै समय टाढा रहँदा शंकालु दृष्टिकोणबाट हेरिन्छ । यही कारणले गर्दा महिला उद्यमीहरुको सीमित गतिशीलता हुन्छ । यसले व्यवसायमा नकारात्मक असर पर्न जान्छ ।

६. कडा प्रतिस्पर्धाः

खुला बजार अर्थतन्त्रमा व्यवसायको हरेक क्षेत्रमा कडा प्रतिस्पर्धा हुन्छ । महिला उद्यमीहरुले व्यवसायको प्रारम्भदेखि नै प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ । धेरैजसो महिला उद्यमीहरुसँग पर्याप्त बजारको जानकारी र पहुँच पनि हुँदैन । लक्षित बजारमा प्रवेश गर्न उनीहरुले विशेषज्ञहरुको सहयोग लिनुपर्ने हुन्छ । नयाँ रणनीति र नीति निर्माण गर्न नसकेमा बजार सूचना प्राप्त गर्न नसक्ने हुन्छ जसले गर्दा व्यवसायलाई दिगो रुपमा सञ्चालन गर्न गाह्रो हुन्छ । यी कारणहरुले गर्दा महिला उद्यमीहरुले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ ।

७. पारिवारिक अवरोध :

नेपाल पुरुष प्रधान समाज भएकोले महिलाहरुले उनीहरुको हरेका क्रियाकलापमा अवरोधको सामना गर्नुपर्ने हुन्छ । नेपालको संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको छ । महिलालाई शिक्षा, स्वास्थ, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर दिएको भए तापनि व्यवहारमा महिलाहरुले विभिन्न अवरोधको सामना गर्नुपरेको छ । नेपाली समाजमा महिलाहरुको कुशलता, सीप, सिर्जनशीलता, दक्षता तथा भूमिकामा केही हदसम्म पुरुषहरुबाट नियन्त्रित हुन्छ । उनीहरुले व्यावसायिक निर्णयहरु पनि स्वतन्त्रपूर्वक गर्न सक्दैनन् ।

८.शिक्षा र तालिमको अभावः

नेपालमा हालसम्म पनि महिलालाई पेसागत शिक्षा र तालिम सुविधाको अभाव छ । कतिपय बालिकाहरु स्कुल तहबाट नै औपचारिक शिक्षालाई छाडेर जाने गर्दछ । सीमित संख्यामा मात्र महिलाहरु कलेज तथा विश्वविद्यालय तहको शिक्षामा पुग्न सफल भएका छन् । व्यावसायिक तथा पेसागत तालिममा महिलाहरुको पहुँच पुग्न सकेको छैन । यही कारणहरुले गर्दा महिलाहरुमा व्यावसायिक, प्राविधिक र धारणात्मक ज्ञानको अभाव भएको छ । उनीहरुलाई बजार र बजारशास्त्रको बारेमा पनि पूर्ण जानकारी छैन । यसले महिलालाई व्यवसाय स्थापना र सञ्चालनमा समस्या देखा परेकोछ ।

९. कम जोखिम बहन गर्ने क्षमताः

एक सफल उद्यमीको लागि जोखिम बहन गर्ने क्षमता हुनु आवश्यक हुन्छ । नेपाली महिला उद्यमीहरु पारिवारिक संरक्षण र घेराभित्र काम गर्दछन् । कम शिक्षा र तालिमको कारणले उनीहरुमा व्यवसायको ज्ञान पनि कम हुन्छ । तिनीहरु आर्थिक रुपमा पनि आत्मनिर्भर छैनन । यी सबै तत्वहरुले महिलालाई व्यवसायमा संलग्न भई जोखिम बहन गर्ने क्षमता न्यून हुन्छ । उनीहरुले उच्च जाखिम भएको विषयहरुमा निर्णय लिन पनि सक्दैनन् ।

१०. आत्मविश्वासको कमीः

आत्मविश्वासको कमी पनि महिला उद्यमीको लागि एउटा समस्या हो । परिवारमा समेत परिवारका सदस्यहरुले महिलाको निर्णय कार्यमा त्यती विश्वास गर्दैन । आत्वविश्वास, बलियो मानसिकता र आशावादी दृष्ट्रिकोण आदिको कमीले गर्दा महिलाले आफ्नो कार्यहरु गर्दा गल्ती हुने डर देखाउँछ । नेपाली महिला उद्यमीहरु गुणात्मक र कुशल कार्य गर्न सक्दछ तर पुरुषको तुलनामा महिलाहरुमा आत्मविश्वासको कमी देखिन्छ ।

११. अनुपयुक्त वातावरणः

म्हिला उद्यमीहरुले परिवारबाट उपयुक्त सहयोग प्राप्त गर्न सकेको छैन । उनीहरुले परिवार र पतिबाट आर्थिक, मानसिक तथा तर्कसंगत सहयोग पाएको छैन । उनीहरु व्यवसायको तुलनामा आफ्नो धेरै समय र प्रयास पारिवारिक सम्बन्ध बनाउनमा खर्चिने गर्दछ । जुन महिलाको पारिवारिक पृष्ठभूमि व्यावसायिक रहेको छ त्यस्तो महिलालाई केही मात्रामा पारिवारिक सहयोग प्राप्त हुन्छ । तिनीहरुलाई उद्यमशीलताको लागि केही सकारात्मक वातावरण प्राप्त हुने गर्दछ ।

१२. अपर्याप्त साधन :

धेरैजसो महिला उद्यमीहरु विभिन्न प्रकारको स्रोत र साधन जस्तै कच्चा पदार्थ, मानव साधन, सूचना, भौतिक सुविधा आदिको अभावबाट ग्रस्त भएको छ । जब यी साधनहरुको अभाव हुन्छ तब उनीहरुले व्यवसायलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्दैन । स्रोत साधनको अभावमा उनीहरुले बढी मूल्य तिरेर कच्चा पदार्थ खरिद गर्नुपर्ने हुन्छ । कामदारलाई बढी ज्याला र तलब दिनुपर्ने हुन्छ । यसले वस्तु तथा सेवामा खर्च वृद्धि गर्दछ । यस्तो अवस्थामा बजारको प्रतिस्पर्धालाई सामना गर्न उनीहरुलाई गाह्रो हुन जान्छ ।

महिला उद्यमीका सफलताका तत्वहरु

उद्यमशीलताको सफलताको कुनै निश्चित नियम र विधिको विकास नभए तापनि केही खास तत्वहरुले महिला उद्यमीहरुलाई व्यवसायबाट सफलता पाउन सहयोग पु¥याएको हुन्छ । विभिन्न विद्वानहरुको अनुसन्धानको आधारमा महिला उद्यमीहरुलाई निम्न तत्वहरुले व्यवसायमा सफल बनाउँछ ः

१. दूरदृष्टि :

महिला उद्यमीलाई व्यवसायमा सफलता पाउन दूरदृष्टिको गुणको आवश्यकता पर्दछ । उनीहरुसँग संगठनको स्पष्ट लक्ष्य र उद्देश्य हुनाको साथै त्यस उद्देश्यलाई कसरी प्राप्त गर्ने भन्ने स्पष्ट धारणा पनि हुनुपर्दछ । उनीहरुले भविष्यको वारेमा दूरदृष्टि राख्नुपर्दछ । भविष्यमा आउन सक्ने सम्भाव्य वातावरणीय परिवर्तन तथा त्यसबाट पर्ने प्रभावबारे पूर्वानुमान गर्नसक्ने हुनुपर्दछ । पूर्वानुमानकै आधारमा नयाँ रणनीतिको विकास र कार्ययोजना बनाएर परिवर्तित वातावरणअनुसार व्यवसायको विकास गर्न सक्नुपर्दछ ।

२. सिर्जनात्मक तथा नयाँ शैलीः

महिला उद्यमीको सफलताको लागि सिर्जनात्मक तथा नयाँ शैलीको गुण पनि हुनु पर्दछ । उनीहरुमा नयाँ विचार, तरिका र ज्ञानको सिर्जना गर्ने गुण हुनुपर्दछ, जुन समाजको लागि उपयोगी होस् । व्यवसाय स्थापना गरी नयाँ विचार र धारणालाई वस्तु तथा सेवा उत्पादन कार्यमा लगाउनु पर्दछ । नयाँ रणनीति, नीति, योजना, कार्यक्रम आदि विकास गर्न पनि सिर्जनात्मक गुणको आवश्यकता पर्दछ ।

३. साहसी र सक्षम :

महिला उद्यमीमा प्रभावकारी तरिकाबाट व्यवसाय सञ्चालन गर्ने योग्यता र साहस हुनुपर्दछ । उनीहरुसँग व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्ने धारणात्मक ज्ञान पनि हुनुपर्दछ । दैनिक व्यावसायिक क्रियाकलापको सञ्चालनको क्रममा विभिन्न समस्या र जटिलताहरुको सामना गर्नुपर्ने हुन्छ । र ती समस्याहरुलाई पूरा साहसी र आत्मविश्वासका साथ समाधान गर्नुपर्ने हुन्छ । समस्या आउँदा आवेगमा नआइकन धैर्यतापूर्वक समाधान गर्न सक्ने क्षमता महिला उद्यमीमा हुनुपर्दछ ।

४. आवेग र उत्तेजना :

महिला उद्यमीको सफलताको लागि उनीहरुमा व्यवसाय सफल पार्ने आवेग र उत्तेजनाको गुण हुनुपर्दछ । उनीहरुमा व्यवसायको परिणामको अनुमान गर्न सक्ने र सोहीअनुसार आफ्नो क्षमता र ज्ञानको प्रयोग गरी काम गर्नुपर्दछ ।

५. स्वतन्त्र र जिज्ञासु :

सफल महिला उद्यमी हुनको लागि स्वतन्त्र पूर्वक निर्णय गर्न सक्ने, नयाँ विचार र ज्ञान सिर्जना गर्ने उत्साह हुनुपर्दछ । उनीहरु व्यवसाय स्थापना तथा सञ्चालनमा सक्रियरुपमा सहभागी हुनुपर्दछ । आफ्नो कार्य गर्न अरुमा भरपर्ने हुुनुहुँदैन । व्यवसायको सफलताको लागि उत्साही भई काम गर्नुपर्दछ ।

६. कार्यजीवनमा सन्तुलन :

सफल महिला उद्यमीको हुनका लागि आफ्नो पारिवारिक तथा कार्यजीवनको विचमा सन्तुलन राख्न सक्नुपर्दछ । एक उद्यमीको हैसियतले उनीहरुले व्यवसायको लागि धेरै समय र प्रयास लगाउनुपर्दछ । व्यावसायिक क्रियाकलापको दौरानमा आउने विभिन्न समस्या र कठिनाइलाई पर्याप्त समय दिएर समाधान गर्नुपर्ने हुन्छ । त्यस्तैगरी पारिवारिक सम्बन्धलाई राम्रो र सुमधुर बनाउन पर्याप्त समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लागि महिला उद्यमीले कार्यजीवनको सन्तुलन राख्न सक्ने क्षमता हुनुपर्दछ ।

७. पेशामा विशेषज्ञता :

महिला उद्यमीहरुमा आफ्नो व्यावसायिक क्षेत्रमा पेसागत विशेषज्ञता हुनुपर्दछ । आफ्नो कार्यलाई प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक धारणात्मक तथा प्राविधिक ज्ञानको आफूमा विकास गर्नुपर्दछ । यदि उद्यमी आफैं प्राविधिक रुपमा सम्पन्न हुन्छ भने उसले आफ्नो सहयोगी कर्मचारीहरुलाई समेत राम्ररी मार्गदर्शन गर्न सक्दछ । त्यसैले जब उद्यमी आफ्नो काममा दक्षता हासिल गरेको हुन्छ तब उस्ले स्वतन्त्रतापूर्वक अरुको सहयोग विना कार्य सम्पन्न गर्न सक्दछ ।

८. सकरात्मक सोचाइ :

महिला उद्यमी जहिले पनि परिस्थिति र सरोकारवालाहरु प्रति सकारात्मक हुनु पर्दछ । कारोबारको सिलसिलामा उनीहरुको विभिन्न ज्ञान, मूल्य, स्तर, दृष्टिकोण भएका व्यक्तिहरुसँग सम्पर्क हुन सक्दछ । त्यसको साथै विभिन्न परिस्थितिमा नसोचिएका समस्याको सामना गर्नुपर्ने हुन्छ । जब सबै परिस्थिति र मानिसप्रति सकारात्मक तरिकाबाट सोचिन्छ तब समस्यालाई कुशलतापूर्वक समाधान गर्न सकिन्छ ।

९. शिक्षा र तालिम :

महिला उद्यमीको सफलताको लागि पेसागत र व्यावसायिक तालिमहरु पनि आवश्यक पर्दछ । शैक्षिक संस्थाहरुबाट सैद्धान्तिक ज्ञानहरु प्राप्त गर्न सकिन्छ । यसका साथै व्यावसायिक र व्यावहारिक ज्ञान, तालिम, सेमीनार, कार्यशाला गोष्ठीहरुबाट प्राप्त गरी व्यवसायमा प्रयोग गर्न सकिन्छ । यी तालिमहरुबाट विभिन्न जानकारीहरु प्राप्त गरीन्छ जसबाट कसरी बजार सञ्जालको विकास गरी आफ्नो वस्तु तथा सेवाहरुलाई बिक्री गर्न सकिन्छ ।

१०. जोखिम वहन गर्ने क्षमता :

एक सफल उद्यमी हुन व्यवसायमा आउने जोखिम बहन गर्ने क्षमता हुनु अति जरुरी हुन्छ । हरेक उद्यममा जोखिम तथा अनिश्चितताको तत्व विद्यमान रहेको हुन्छ । धेरै मुनाफा आर्जन हुने व्यवसायमा जोखिमको मात्रा पनि बढी नै हुने गर्दछ । त्यसैले व्यवसायमा सफलता पाउन महिला उद्यमीहरुले जोखिम उठाउन सक्ने गुण हुनु आवश्यक हुन्छ ।

सारांश

आधा आकाश ढाकेको महिला जगतको आर्थिक क्रियाकलापमा सहभागिताले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कुरालाई नकार्न सकिँदैन । महिलाहरु आर्थिक क्रियाकलापमा संलग्न रहँदा व्यक्तिगत रुपमा फाइदा हुनुको साथै पारिवारिक जीवनस्तरमा अभिवृद्धि, देशमा रोजगारी वृद्धि आदि फाइदा पुग्न जाने देखिन्छ ।

महिलाहरु आर्थिक क्रियाकलापमा संलग्न हुँदा विभिन्न समस्या भोग्न परेको वर्तमान अवस्थामा विभिन्न वित्तीय संस्था तथा सहकारीहरुबाट वित्तीय सहयोग प्राप्त गरी आर्थिक समस्याको समाधान गरी व्यावसायिक बढाउँदै गएको पाइन्छ ।

सरकारको महिला उद्यमशीलतामा लगानी गर्ने नीति तथा महिलाबाट सञ्चालित व्यवसायलाई प्राथमिकता क्षेत्रको रुपमा लिएको कारणले पनि महिलाहरु व्यावसायिक क्रियाकलापमा आकर्षित भएको पाइन्छ ।

हल महिलाहरु यी वित्तीय संस्थाको आर्थिक सहयोग पाएर विभिन्न व्यावसायिक कार्यहरुमा जस्तै घरेलु उद्योग, होटल, रेस्टुरेन्ट, गार्मेट, नर्सरी, पशुपालन, ब्युटी पार्लर, उपहार ब्क्रिी केन्द्र, सेवा व्यवसाय आदिमा लागेर उद्यमशीलताको विकासमा अगाडि बढेको पाइन्छ ।

यी महिला उद्यमीहरुले तयार पारेका उपहार तथा गार्मेनटबाट उत्पादित वस्तुहरु नेपालमा मात्र सीमित नभई अन्र्राष्ट्रिय बजारमा समेत बिक्री वितरण हुने गर्दा विदेशी मुद्रा कमाउने बलियो माध्यम बनेको छ ।

यस्तो अवस्थामा सबै क्षेत्रहरुबाट महिलालाई आर्थिक कार्यमा लाग्न प्रोत्साहन र सहयोग गर्नुपर्ने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width