मदहोस ‘मिरिक’

आदर्श समाज सम्वाददाता
फागुन १८, २०६९

नेपालको सीमा क्षेत्र पशुपतिनगर पुगेपछि भारतीय भू-भागमा प्रवेशसँगै दुर्इ गन्तव्य छुइन्छ, एउटा दार्जलिङ जाने अर्को दार्जलिङ जिल्लामा पर्ने मिरिक जाने। मिरिक पशुपतिनगरबाट करिव १५ किमीको दूरीमा छ। यात्राको लागि गाडीको पर्याप्त सुविधा छ। धेरै जसो भाडाको जिप चल्ने रहेछ। आकर्षक रूपमा सजाइएका वेष्ट बंगालको नम्बर प्लेट टाँगिएका जिप र त्यसमा बजाइने नेपाली विभिन्न गीतले यात्रालाई रोमाञ्चक बनाउँदछ।

भाषा एउटै, लवाइ खवाइ सवै एउटै लाग्ने दार्जलिङमा भारतीय प्रहरी र एसएसविका सेना देखेपछि अर्कै देशमा प्रवेश गरेको वास्तविक अनुभूति भयो। पहाडको घुमाउरो बाटो हुँदै मिरिक पुगियो। मिरिक बजार खासै ठूलो रहेनछ। तथापि सुविधा सम्पन्न होटलहरू, पुरानो शैलीमा रहेको बजार क्षेत्र मिरिकको आकर्षण रहेछ। स्वास्थ्य उपचारको लागि हस्िपटलको राम्रै सुविधा रहेछ। हिन्दीका साथै त्यतैबाट नेपाली भाषामा प्रकाशित हुने नेपाली पत्रिकाहरू पनि पढ्ने अवसर मिल्यो।

मिरिक बजार सानो भए पनि सुन्दर रहेछ। चक्रपथ जस्तो बजार क्षेत्र रहेछ। भारतीय भूमि, नेपालको सीमा क्षेत्रबाट नजिकैको बजार भए पनि पसलहरूमा भारतीय भन्दा बढी चिनियाँ सामानकै बाहुल्यता रहेछ। खासा तातोपानी, बाह्रबबीसेमा जस्तै पसलमा चाइनिज सामान मिलाएर सजाएर राखेको देखियो। नेपालको बजारभन्दा फरक विशेषता भनेको जुनसुकै सामान खरिद गर्नुस् पत्रिकामा प्याकिङ गरेर दिने चलन रहेछ, प्लाष्टिकको झोला प्रयोगमा निषेध गरिएको रहेछ। पाइलैपिच्छे प्लाष्टिकको झोला प्रयोग गरिरहेको हाम्रो बानीलाई त्यहाँ अप्ठारो लाग्दो रहेछ। मुद्रा भारतीय क्षेत्र परेकोले भारतीय मुद्रा प्रचलनमा हुनु स्वभाविक नै भयो, नेपाली रुपैयाँ चलाउनुपर्‍यो भने सटही कमिसन भनेर केही थप लिइँदोरहेछ।

भाषिक ज्ञान नभएर पनि बुझाइमा फरक पर्ने रहेछ। ‘मिरिक झिल’ त्यहाँको प्रमुख पर्यटकीय क्षेत्र रहेछ। ‘झिल’ भनेको ताल भन्ने हेक्कै रहेन। झिलको अर्थ ताल हुँदो रहेछ। पोखराको फेवाताल देखिरहेको हुनाले मिरिक झिल अचम्मको र अद्भूत भने लागेन। तर केही फरक भने अवश्य नै देखियो। पोखराको फेवाताल, बेगनास तालको व्यवस्थापन, भौतिक संरचनाको अवस्था देखेर सिकायत गर्थे। मिरिक झिलको अवस्था पनि उस्तै उस्तै लाग्यो। झिलको किनारमा कुनै मापदण्ड नै नभएजस्तो गरी बनाइएका घरहरूले झिलको सौर्न्दर्यलाई बढाएको देखिएन। झिलको पानी पनि सफा छैन। हेर्दै धमिलो देखिने पानीमा दिउँसो पर्ने घामको किरणले देखिने एक किसिमको मनोरम दृष्यले भने लोभ्याउँछ नै।

‘मिरिक झिल’ को सफाइका लागि भने ध्यान दिइएको रहेछ। तालमा रहेको यन्त्र जडित डुङ्गाले तालको पानीको नियमित सफाइ गर्ने व्यवस्था मिलाइएको रहेछ। डुङ्गाबाट फोहोर फ्याँक्ने पाइप जडान गरी अर्को सानो पोखरीमा पोहर फाल्ने रहेछ। फोहोर फाल्ने पोखरी क्षेत्र बाटोमै पर्ने भएकोले सुरक्षामा ध्यान दिइएको पाइएन। मात्र दलदले माटो छ सावधान लेखिएको छ, न त कुनै पर्खाल छ त न त कुनै तारवार नै। तालमा जलकुम्भी देखिएन, तर मुहानमा फोहोरको भने कमि थिएन।

तालको एक किनारबाट अर्को किनारमा पुग्न पक्की पुल बनाइएको रहेछ। घोड सवारको पनि व्यवस्था रहेछ। मूल्य अनुसारको प्याकेजको व्यवस्था रहेछ। डु·ा सयर गर्न आधा घण्टाको भारु ८० लाग्दो रहेछ। यस्तो कहलिएको पर्यटकीय गन्तव्य मिरिक झिल पनि पूर्वाधार निर्माण र विकासमा पछि नै रहेछ। ताल किनारमा पर्यटक बस्न न त कुनै ठाउँ बनाइएको थियो न त अन्य व्यवस्था नै। ताल किनारका फुटपाथमा व्यापार गर्नेहरूको चर्को आवाज भने कम थिएन।

आकर्षक बजार क्षेत्र संगै मिरिक झिलसँगै सजिएको मिरिक आफ्नै रुममा मदहोस लाग्छ। उच्च सङ्ख्यामा पर्यटक मिरिक घुम्न आउने गर्दछन्। होटलका साइनबोर्डका साथै विभिन्न ठाउँमा बंगाली भाषाको पनि प्रयोग गरिएको छ। बंगाली भाषामा ‘गिताञ्जली’ लेखेर साहित्यमा नोवेल पुरस्कार कवि रविन्द्रनाथ टेगोरले पाएबाट पनि बंगाली भाषाको वैभव बढेको छ। चियाको बगानबाहेक मिरिकको प्रमुख आयस्रोत पर्यटन नै हो।

(लेखक अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width