मगर जातिका संस्कार र संस्कृतिहरु

रुद्र सन्देश मगर
असाेज १५, २०७६

मगर जातिका यी संस्कार र संस्कृति समय क्रम अनुसार सकारात्मक सुधार सहित अवलम्बन गर्नु पर्ने देखिन्छ। संस्कार धान्ने नाममा समुदायका लागि हानी हुने खालका कार्यहरु गर्नु हुंदैन।

नेपालमा बसोबास गर्ने जात जातिहरु मध्ये तेस्रो स्थानमा र आदिवासी जनजातिहरु मध्ये सबै भन्दा बढी जनसंख्यामा रहेको जाति मगर हो। राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार मगर जातिको जनसंख्या १८ लाख ८७ हजार ७३३ रहेकोछ। मगर जातिले बोल्ने मातृभाषाका आधारमा अठार मगरांत र बाह्र मगरांत गरी दुई ओटा समूहमा आफनो अस्तित्वमा रहेको देखिन्छ। नेपालका पश्चिमी भेकहरु जस्तै : रुकुम, रोल्पा, डोल्पा, बाग्लुङ्ग आदि जिल्लाहरुमा बसोबास गर्ने मगरहरु खाम र काईके मगर भाषा बोल्दछन। जसलाई अठार मगरांत भनेर भनिन्छ।

त्यस्तै गरी नवलपरासी, चितवन, तनहुं, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी आदि जिल्लाहरुमा बसोबास गर्ने मगरहरु ढुट भाषा बोल्दछन। जसलाई बाह्र मगरांत भनेर भनिन्छ। यस आलेखमा विशेषत : बाह्र मगरांत क्षेत्रमा बसोबास गर्ने मगरहरुले अबलम्बन गर्दै आईरहेका मगर जातिका संस्कार र संस्कृतिहरु क्रमश : विलय हुने अवस्थामा पुगेको कुरालाई औल्याउन खोजिएकोछ।

नवलपरासी, चितवन, तनहुं, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी आदि जिल्लाहरुमा बसोबास गर्ने मगरहरुले अबलम्बन गर्ने गरेका केही संस्कार, संस्कृतिहरुलाई यहां निम्न अनुसार उल्लेख गर्ने प्रयास गरिएकोछ।

१. विवाह संस्कार :

मगर जातिमा दुई प्रकारको विवाह संस्कार प्रचलनमा रहेको देखिन्छ। ति हुन : मागी विवाह र भागी विवाह।

क) मागी विवाह : मगर जातिमा मामाको छोरी र फुपुको छोरा बिच विवाह हुने प्रचलन रहेको छ। “गुन्द्रुकलाई पकाउनु पदैर्न, सालीलाई फकाउनु पर्दैन भनेझैं मामाको छोरीलाई फुपुको छोराले विवाह गर्न पाउने पहिलो हक लाग्दछ। मगर जातिमा मातृसत्तात्मक पारिवारिक व्यवस्था रहेकोले केटाले विवाह गर्नका लागी केटीको घरमा माग्न जानु पर्दछ।

ख) भागी विवाह : मगर जातिमा केटाले आफुलाई मन पर्ने केटीलाई घरमा माग्न नगई भगाएर लैजाने प्रचलन रहेकोछ। केटाले केटीलाई भगाएर घरमा लगेपछि दुलहीलाई घरभित्र भित्र्याउने गरिन्छ। यस क्रममा दुलाहाको घरमा कुटुम्बले घरको दैलो लिपपोत गरी कुखुराको भाले काटेर दुलही भित्र्याउने गरिन्छ। उक्त दिन ईष्टमित्र बोलाई दुलाहा दुलहीलाई टीका लगाई आशिर्वाद दिने र भोज खाने गरिन्छ। यसरी भगाएर लगेको ३ दिन भित्र केटाको घरबाट रोटी, रक्सी, भातीको जांड र दही सहितको सगुन लिएर केटीको घरमा सोधनी (गीनक्हे) जानु पर्ने हुन्छ।

यदि ३ दिन भित्र केटीको घरमा सोध्नी (गीनक्हे) नगएको खण्डमा केटीको माईती पक्षले आफनो छोरी हराएको आरोपमा संबन्धित निकायमा उजुरी समेत दायर गर्न सक्ने संभावना रहेको हुन्छ। सोधनी (गीनक्हे) जाने दिनमा केटा पक्षका अनुभवी, चलाख र बोल्न सक्ने ब्यक्तिहरु केटीको घरमा गएर केटी पक्षसंग केटीमा आफुहरुले बुहारी बनाउन लगेको ब्यहोरा अति नै नम्र भएर जाहेर गर्नु पर्ने हुन्छ। केटा पक्षले आफना कुराहरु राखी सकेपछी केटी पक्षका राजी खुशी भएको खण्डमा केटा पक्षकाले लगेको रोटी, रक्सी, भातीको जांड र दहि उनीहरुले स्वीकार गर्दछन। यसरी कोशेली स्वीकार गरी सकेपछी विवाह पक्को भएको मानिन्छ।

ग) विवाहमा मातृसत्तात्मक प्रभाव : मगर जातिको पारिवारिक ब्यवस्थापनमा महिलाहरुको स्थान महत्वपूर्ण रहेको हुन्छ। घरायसी कार्य विभाजन तथा निर्णय प्रकृयामा महिलाहरुको भूमिका अपरिहार्य रहेको हुन्छ। त्यस्तै गरी विवाह संस्कारमा पनि महिलाहरुको स्थानलाई सवोर्परि रुपमा लिईएको हुन्छ। केटा पक्ष र केटी पक्ष बिच विवाह गर्ने दिन निश्चित भएपछि उक्त दिनमा जन्ती तथा निम्तालुहरुलाई भोज खुवाउनका लागी विवाहको अघिल्लो दिन केटी पक्षले मागे अनुसार चामल, मासु, रोटी, रक्सी तथा आवश्यक सरसामानहरु केटाको घरबाट पुर्याउनु पर्ने हुन्छ। विवाहको दिन केटीको घरमा संपूर्ण वैवाहिक कार्यक्रमहरु सम्पन्न गर्ने गरिन्छ। अरु जातिमा झैं मगर जातिमा केटीको घरबाट दाईजो दिनु पर्ने कुरा अनिवार्य रहंदैन।

घ) मावलीहरुको महत्वपर्ण स्थान : विवाहको दिन दुलहीको घरमा केटीको मामा मावलीहरुको स्थान अत्यन्त महत्वपुर्ण रहेको हुन्छ। दुलाहा सहितको जन्ती केटीको घरमा पुग्ने बेलामा स्वागत द्धारमा माईती पक्षले चिरागले स्वागत गरी सकेपछि मावली खलकले अक्षताले जन्ती पर्सिए पछि मात्र जन्तीहरुले विवाह घरमा प्रवेश पाउंदछन। उक्त दिन दुलहीको घरमा पाक्ने खानाका परिकारहरु मध्ये मावली खलकका लागी विशेष प्रकारले तयारी गरी खुवाउनु पर्ने हुन्छ, यसलाई मावली खुवाउने भनिन्छ। दुलाहाको घरबाट पनि मावलीहरुका लागी खशी, रोटी, रक्सी, भातीको जांड र दही आदि कोशेलीको रुपमा लैजानु पर्ने हुन्छ।

ङ) वर्नौली दिने चलन : विवाहको दिन जन्तीहरुलाई खाना सत्कारका लागी व्यवस्थित ढंगले बस्ने व्यवस्था गरिन्छ। यस कक्रममा माईती पक्षका केटीहरुले जन्तीहरुलाई हात धुलाई दिने गर्दछन। त्यस पछि सगुनका रुपमा रोटी, मासु भातीको जांड र रक्सीले स्वागत गरि सकेपछि खाना खान दिईन्छ। खाना खाई सकेपछि माईती पक्षले सालको पातबाट तयार पारेको आकर्षक टपरी वर्नौली, नाच गान र हाउभाउ सहित जन्ती पक्षलाई हस्तान्तरण गरिन्छ। त्यस्तै गरी दुलाहाको बाबा, दुलाहा र लोकन्तेलाई मूल्य अंकित सालको पातको झोला हस्तान्तरण गरिन्छ। त्यस पछि उनीहरुले नाच गान र हाउ भाउ सहित उक्त झोलामा अंकित मूल्य सहितको पैसा सोही झोला राखेर माईती पक्षलाई फिर्ता गर्नु पर्ने हुन्छ।

त्यस पछी लोकन्ते वा जन्ती पक्षले तोकेको कुनै व्यक्तिले वर्नौलीमा राखिएको संगुरको दाह्रा मुखमा च्यापेर बाघको अभिनय गर्दै भान्सामा गई त्यहां यही प्रयोजनका लागी राखिएको विशेष प्रकारको खाना खोजेर खाने प्रयत्न गर्नु पर्दछ भने माईती पक्षबाट एक जनाले कुकुरको अभिनय गर्दै उक्त बाघलाई भान्सा भित्र छिर्न दिनु हुंदैन। यस प्रकारको अभिनय र नाच गान सहित वैवाहिक कार्यक्रम सकिए पछि माईती पक्षबाट बिदा पाए पछि दुलही लिएर जन्ती दुलाहाको घर फर्किने गरिन्छ।

२) जन्म संस्कार

मगर समुदायमा घरमा बच्चाहरु जन्मिदा हर्ष बढाई गर्ने गरिन्छ। बच्चा जन्मि सकेपछि कतै ७ दिन त कतै ११ दिन सुत्केरो बार्ने चलन रहेकोछ। न्वारनका दिन कोहीले बाहुन पण्डित त कोहीले वापा वा भूषाल मगर पण्डित राखेर चोखिने गरिन्छ। यस क्रममा जुन सुकै पण्डित राखेर चोखिने गरिए पनि कुटुम्बको महत्वपर्ण भूमिका रहेको हुन्छ।

३) मृत्यु संस्कार

मगर समुदायमा कुनै व्यक्तिको मृत्यु भयो भने मृतकको दाह संस्कार गरिन्छ र ७ वा १३ दिन सम्म मृतकको छोरा, बुहारी र छोरीहरु किरिया बसी मृतकको आत्माको चिर शान्तिका लागी धुप, दियो बालेर दिनमा एक पटक मात्र अलिनो खाना खाएर बस्ने गर्दछन। १३औं दिनका दिन चोखिने क्रममा बाहुन पण्डित वा वापा वा भुषाल राखेर पुजा गरी चोखिने गरिन्छ।

४) चाड पर्वहरु

मगर जातिले आफनो मुख्य चांडको रुपमा माघे संक्रान्तिलाई मान्दै आई रहेकोछ। माघे संक्रान्तिका दिन आफना पितृहरुको पूजा गर्ने गरिन्छ। उक्त दिन विहान बाबा आमा नभएका व्यक्तिहरु खोला, पंधेरो, नदी आदि पानी भएका स्थानहरुमा गई पितृहरुको नाममा पूजा गर्ने गरिन्छ। यसलाई डी डाके भनिन्छ। उक्त दिन खोला, पंधेरामा गई नुहाई धुवाई गरी मास, चामल, बेसार, अदुवा र फलफूल पितृहरुलाई चढाईन्छ। त्यस पछि आफना कुटुम्बहरुलाई घरमा बोलाई टीका लगाई दिने र खाना खुवाउने गरिन्छ। त्यस्तै गरी मगरहरुले पन्ध्र पुष, फागु पूर्णिमा, दशैं र तिहार आदि चाड पर्वहरु पनि स्थान विशेष अनुसार फरक फरक ढंगले मनाउंदछन।

५) फर फरक धार्मिक आस्था

प्रकृति पूजक मगर जातिमा हिन्दु धर्मको प्रभाव पर्दै गएपछि अधिकांश मगरहरु हिन्दु धर्मका अनुयायी भए। परापूर्व कालमा रुख, ढुंगा, खोलानाला तथा हावालाई आफनो देवता मानेर पूजा गर्ने मगर जाति पछि मूर्ति पूजा गर्ने र मन्दिर जाने भए। अर्थात प्रकृति पूजक मगर समुदाय माथि हिन्दु धर्मको प्रभाव पर्यो। यति बेला मगरहरु कोही प्रकृति पूजक, कोही बौद्ध धर्म, कोही हिन्दु त कोही क्रिश्चियन धर्ममा आस्था राख्ने भएका छन। यसरी मगर समुदायमा धार्मिक विचलन अत्यन्त जल्दो बल्दो रुपमा देखिन थालेकोछ। यी माथि उल्लिखित कारणहरुले गर्दा एउटै मगर गाउंमा पनि मर्दा पर्दा गाउंलेहरुको उपस्थितिलाई फरक फरक ढंगले बुझने र व्याख्या गर्ने गरिएकोछ।

६) ढोगभेट स्वागत गर्ने संस्कार

मगर समुदायमा ढोग भेट र स्वागत गर्ने संस्कार अति नै महत्वपूर्ण रहेको छ। मगर समुदायमा सगोलमा खाना खाने बेलामा लौ, खांउं है ! भनेर खाने चलन रहेकोछ। आपसमा केही लिंदा र दिंदा सम्मान साथ हातमा लिएर दिएर आफनो हत्केला निधारतिर लगेर सम्मान गर्ने चलन रहेकोछ। आपसमा भेट हुंदा महिलाहरुले आफनो पछ्यौराको मध्य भाग शिरमा राखेर दुबै हातले पछ्यौराको छेउ समाएर टाउको र शरीर आधा झुकाएर टाढैबाट ढोग गर्ने चलन रहेकोछ। त्यस्तै पुरुषहरुले पनि दुबै हत्केला आपसमा जोडेर टाढैबाट ढोग्ने वा स्वागत गर्ने प्रचलन रहेकोछ।

७) मगर भाषामाहेका स्थान नामहरु

नेपालका विभिन्न ठाउंहरु, खोला, पहाड, धार्मिक स्थलहरु तथा पर्यटकीय स्थानहरुको नाम मगर भाषाबाट नामाकरण भएको प्रशस्त भेटिन्छ। तर ती सक्कली नामहरु समय क्रम संगै अपभ्रंश भई मेटिने क्रममा रहेकाछन। स्याङ्जा जिल्ला स्थित गल्याङ आसपासका मगर भाषामा नामाकरण भएका र पछी अपभ्रंश भई परिवर्तन भएका स्थानका नामहरु : मुल्दी (मूलको पानी) – मतिचौर, डुंडी (डुनच्ह डी) – दुधेचौर, पनाका – पडकाङ, राम्दी (राम्हो डी) – राम नदी, छाङ्गछाङ्गदी (छङ्गङ्गछ झाल्च डी) – छायांक्षेत्र, ढोलडी – पाखापानी, बोगाङ्ग – बम भञ्ज्याङ्ग, आरल्हाम डांडा – बरन डांडा, ल्हा डांडा – लोक डांडा, गडाम डी – हिले पानी, ग्वैराक्च डांडा – कुखुरा बास्ने डांडा, मटाहा खोला – मान्के खोला, आङदी खोला – आंधीखोला, रिडी – रुरु क्षेत्रर वालिमटै – वालिङ्ग, आदि उदाहरणका रुपमा रहेका छन्।

८) संस्कार तथा कर्म काण्ड गर्ने संबन्धमा बनेका धारहरु

मगर समुदायमा गरिने जन्म, विवाह, मृत्यु लगायतका अन्य संस्कारहरु गर्नका लागि अरुको मुख ताक्न नपरोस भनी आफनै समुदायमा कर्म काण्ड तथा संस्कार गर्ने मानवीय श्रोत उत्पादन गरी आफै कर्म काण्ड तथा संस्काहरु गर्ने क्रम भयो र क्रमशः हिन्दु धार्मिक विधि अनुसार गरिने संस्कार तथा कर्म काण्डलाई परित्याग गर्दै गएको देखियो। पछि यसमा पनि प्रकृति पूजक विधि र बौद्ध धर्म विधि गरी दुई ओटा धारका संस्कार तथा कर्मकाण्डीय धारहरुको विकाश भईरहेकोछ। जसले गर्दा मगर समुदायमा अन्यौलको अवस्था रहेको देखिन्छ। यसर्थ, फरक फरक अस्तित्वमा रहेका नेपाल भूषाल संघ र मगर बौद्ध सेवा समाज बीच कर्म काण्ड विधिमा एकरुपता कायम गर्नका लागि छलफल हुनु आवश्यक छ।

९) मगर समुदायको कौह्रा नृत्य

मगर समुदायमा थुप्रै सांस्कृतिक अवयवहरु जीवन्त रहेका छन्। मगर गाउंहरुमा विशेष गरी सोरठी, नचरी, झोरा, सुनिमायां, यानिमायां, मुच भाखा, ठाडो भाखा, झयाउरे, सालैजो, जीउ मामै र कौह्रा आदि नृत्यहरु नचाउने गरिन्छ। यी नृत्यहरु मध्ये कौह्रालाई मगर जातिको मौलिक नृत्यको रुपमा लिने गरिएकोछ। कौह्रा शब्द, मगर भाषामा कान राहा (हामी आयौं) शव्दबाट कौह्रा भएको भनिएको छ। यस नृत्यमा पुरुषहरु एउटै समूहमा बसी खैंजडी र झयाली बजाउंदै गीत गाउंदछन भने केटीहरु लस्करै खैंजडीको तालमा नाच्ने गर्दछन।

१०) भेजा, गुठी : मगर जातिको बसोबास रहेको गाउंहरुमा समुदायको आर्थिक गतिविधिमा एकरुपता ल्याउनका लागि गाउं पिच्छे आर्थिक गतिविधि सञ्चालन गर्ने आआफनै नीति नियमहरु तय गरिएको हुन्छ, त्यसलाई भेजा वा गुठी भनिन्छ। यस अन्तर्गत गाउंमा मासुको मूल्य निर्धारण, कामको ज्याला तथा पारिश्रमिक निर्धारण, बनमा दाउरा काट्नका लागी मूल्य तोक्ने तथा सामूहिक बचत संकल गर्न र लगानी आदिको लागि भेजा, गुठीहरु सञ्चालन गरिएको हुन्छ।

११) मगर जातिको पोशाक : मगर जातिको पहिचानको रुपमा आफनै पोशाक रहेकोछ। परापूर्व कालदेखि आफना पुर्खाहरुले पहिरिँदै आएको पोशाकलाई केही सकारात्मक परिमार्जन सहित मगर समुदायका मानिसहरुले आफनै पोशाक लगाउने गर्दछन। पुरुषहरुले लगाउने पोशाकका रुपमा भोटो, इस्टकोट, कछाड, पेटी, भाङग्रा, टोपी र खुपेर्टो आदि रहेकोछ भने महिलाहरुले लगाउने पोशाकमा मखमलको चोली, छिटको गुन्यु, पंहेलो पटुकी, घलेक, टिकीस, पछ्यौरी र खुपेर्टो आदि रहेकाछन।

मगर जातिका यी संस्कार र संस्कृति समय क्रम अनुसार सकारात्मक सुधार सहित अवलम्बन गर्नु पर्ने देखिन्छ। संस्कार धान्ने नाममा समुदायका लागि हानी हुने खालका कार्यहरु गर्नु हुंदैन। वर्तमान समयमा मगर समुदायमा जीवन्त संस्कार र संस्कृतिहरुलाई समुदायको उन्नति र प्रगतिका लागि अनुसरण गर्नु आवश्यक छ। न कि संस्कार र संस्कृति अबलम्बन गर्ने नाउंमा सिंगो समुदायलाई उंधो गति तर्फ डोर्याउने गल्ती भने गर्नु हुंदैन।

Related News

सम्बन्धित समाचार

hero news full width