भूतको प्रायोजित भ्रम र हामी

जे.अस्मिता
वैशाख १५, २०७६

हामीले संयमपूर्वक, पूर्वाग्रह रहित, विवेकपूर्ण र आलोचनात्मक भएर कुनै पनि विचार, मुद्दा र वस्तुका बारेमा सोच्नुपर्ने हुन्छ कि हाम्रा अगाडि प्रस्तुत गरिएका सत्य, तथ्य, विचार, अवधारणा, सोँच, सूचना, समाचार र भनाइहरू के साँच्चै नै विश्वास योग्य हुन् वा ती केवल प्रोपोगाण्डा मात्र हुन्।

भूतहरूको ठूलो सफलता के हो भने तिनीहरूले मानव सभ्यताको पूर्वाद्र्धदेखि हालसम्म पनि मानव मस्तिष्कमा आफ्नो उपस्थिति र भय छ भन्ने भ्रमलाई जीवन्त राख्न सक्षम भएका छन्। भूतहरू यथार्थमा छैनन् तर हामीले तिनीहरू छन् भनेर मानेको हुनाले तिनीहरू आजसम्म पनि जीवित छन् र हामीलाई भयभीत बनाइरहेका छन्।

हाम्रो देशका सम्पूर्ण संयन्त्रहरू आफ्नो पक्षको वकालत गर्ने कक्रममा भम्रलाई हाम्रो मस्तिष्कमा आरोपित गर्ने बारम्बार प्रयास गरिरहेका छन्।

समान्यतः यो भ्रमको प्रक्षेपण समाजमा प्रत्येक अङ्गमा भूतको रुपमा स्थापित हुँदैछ र एउटा भयावह स्थितिको सिर्जना गरिरहेको छ। उनीहरू भ्रम फैलाइरहेकाछन् अर्थात् प्रोपोगाण्डा मच्चाइरहेकाछन् र हामी नासमझहरू त्यसैलाई विश्वास गरिरहेका छौँ। (प्रोपोगाण्डालाई शब्द कोषले कसैलाई निरुत्साहित गर्ने, आक्रमण गर्ने बदनाम गर्ने, धराशायी बनाउने वा आफ्नो पक्षको वकालत भनेर अथ्र्याएको छ )

प्रोपोगाण्डाको उद्देश्य हो, मान्छेका विचार र स्वभावलाई मनोवैज्ञानिक विधिमार्फत आफ्नो अनुकूल हुने गरी नियन्त्रणमा लिनु, जसबाट उनीहरूको स्वतन्त्र र तर्क संगत चिन्तन गर्ने क्षमतालाई नष्ट गरी नयाँ विचार, तथ्य, तर्क वा अवधारणा उनीहरूको मस्तिष्कमा आरोपित र प्रतिस्थापन गरी उनीहरूको सोचाइ, स्वभाव, विश्वास, मूल्य र मान्यतालाई आफ्नो अनुकूल बनाउनु र त्यसलाई सामूहिक मनोविज्ञान (मनोदशा) को रुपमा विकास गर्नु।

विश्वका प्राय सरकारहरू, राजनीतिज्ञहरू, व्यापारीहरू प्रोपोगाण्डालाई हतियार बनाउँदै आफ्ना मुद्दाहरू विचारहरू, वस्तुहरू र पक्षहरूको वकालत गरिरहेका छन् र त्यसलाई सर्वसाधारणको मस्तिष्कमाथि प्रत्यारोपण गरिरहेका छन्।

दोस्रो विश्वयुद्धताका संसारका अधिकांश देशहरूमा विभिन्न नाममा सूचना मन्त्रालयको पर्यायवाचीका रुपमा ministry of propaganda स्थापित थिए।

Ministry of Public Enlightment and Propaganda जर्मन, Department of Agitation and Propaganda (सोभियतयूनियन, Department of press and Propaganda ब्राजिल Committee on Public Information अमेरिका, Central Publicity Department चीन, Propaganda and Agitation Department उत्तर कोरिया, यसका केही उदाहरणहरू हुन्।

सामान्यतः प्रोपोगाण्डा सात प्रकारका हुन्छन् भनिएको छ।

१.  Transfer: कुनै विशिष्ट वा प्रतिष्ठित व्यक्तिलाई कुनै वस्तु वा लोकप्रिय विषय वा मुद्दासँग सम्बन्धित गरेर त्यस वस्तु विषय र मुद्दाको महत्त्व अभिवृद्धि गर्नु।

२.  Testimonial: विशिष्ट र प्रतिष्ठित व्यक्तिलाई कुनै निश्चित उत्पादन, विषय वा मुद्दाको पक्षमा उभिन वक्तव्य दिन र वकालत गर्न लगाउनु।

३. Glittering: कुनै वस्तु, विषय र मुद्दा वा विचारलाई बढाइँचढाइँ गरेर प्रस्तुत गरी त्यसप्रति सकारात्मक प्रतिक्रिया, समर्थन वा स्वीकृति प्राप्त गर्ने कोशिश गर्नु।

४. Plain Folks: लोकप्रिय र परिचित व्यक्तिहरू राखेर समूह बनाई सर्वसाधारणलाई उनीहरूले समर्थन गरेको विषय र मुद्दा नै सही भनी मनाउने कोशिश गर्नु।

५. Band Wagon: लक्षित व्यक्तिहरूलाई फकाइ फुल्याइ गरी, प्रलोभनमा पारी, दवाब सिर्जना गरी कुनै निश्चित विचार, मुद्दा वा मतको पक्षमा समर्थन गर्न लगाउनु।

६. Name Calling: कुनै व्यक्ति, विचार वा मतको पक्षको नाम लिएर सो व्यक्ति विचार र पक्षको विरुद्धमा नकारात्मक भावना, घृणा, डर र तिरस्कारको भावना उत्पन्न गराउनु।

७. Card Stacking: कुनै वस्तु, विचार र पक्षका समृद्ध सकारात्मक कुराहरूको प्रचार गरी त्यसका नकारात्मकपक्ष र प्रभावहरूलाई छोड्नु वा न्यूनीकरण गर्नु।

नाजी सरकारका सूचना मन्त्री जोसेफ गोयबल्सले प्रोपोगाण्डाका सम्बन्धमा दिएको वक्तव्यले प्रोपोगाण्डा के हो भन्ने कुरालाई स्पष्ट पार्न धेरै नै सघाउँछ। उनी भन्थे “कुनै झूटलाई सय पटक दोहोर्याइदिने हो भने त्यो सत्य सावित हुन्छ।

हामीले संयमपूर्वक, पूर्वाग्रह रहित, विवेकपूर्ण र आलोचनात्मक भएर कुनै पनि विचार, मुद्दा र वस्तुका बारेमा सोच्नुपर्ने हुन्छ कि हाम्रा अगाडि प्रस्तुत गरिएका सत्य, तथ्य, विचार, अवधारणा, सोँच, सूचना, समाचार र भनाइहरू के साँच्चै नै विश्वास योग्य हुन् वा ती केवल प्रोपोगाण्डा मात्र हुन्।

संसारका थोरै मात्र मान्छेहरू विचारशील, तर्कशील र स्वतन्त्र चिन्तन गर्न सक्ने तथा आलोचनात्मक विश्लेषणगर्न सक्ने अनि भ्रम रहित र पूर्वाग्रह रहित छन् भनेर अनुसन्धानले भनेको छ। यदि कुरा यसै हो भने हामीले आफू स्वयम्को बारेमा पनि सोच्नु पर्ने हुन्छ र सँगै “संसार एउटा भ्रम हो” भन्ने भनाइलाई मनन गर्नुपर्ने हुन्छ। हामी कतै प्रायोजित सत्य तथ्य(जो एउटा भ्रम वा प्रोपोगाण्डा मात्रहो) लाई नै सत्य साँचो भनेर विश्वासमा बाँचिरहेका त छैनौ?

हाम्रो समाजको अभिशप्तता जो होइन, त्यसलाई हो भनेर स्थापित गर्ने प्रयास गर्नु र ग्रहण गनेर्ले पनि जे प्रायोजित सत्य छ त्यसैलाई वास्तविक सत्य तथ्य हो भनी बुझ्नु हो। जसले प्रायोजित सत्यलाई स्थापित गर्ने प्रयास गरिरहेका छन् तिनले भ्रम, भय र प्रतिशोधका भूतहरू पनि सँगसँगै अवचेतन रुपमा हाम्रो मस्तिष्कमा प्रतिस्थापित गरिरहेका छन्। यसर्थ हामी सत्यको स्पर्शभन्दा टाढा, तथ्यको आवाजभन्दा पर र न्याय र स्वतन्त्रताका क्षितिजभन्दा पछिल्तिर भ्रमित, पूर्वाग्रह र प्रतिशोधपूर्ण भएर बाँची रहेका छौँ।

यसै प्रसङ्गमा एउटा कथाको उठान गरेर यो लेखको बिट मार्नु उपयुक्तहोला।

एक जना पिताले आफ्नो छोरालाई सम्झाउँदै भने, “छोरा हामी भित्र दुई कुराको संघर्ष चलिरहेको हुन्छ। एउटा हो खराब वा नकारात्मक पक्ष। त्यो भनेको रिस, राग, लोभ, मोह, असुरक्षा, लघुताभास, झूट, घमण्ड र प्रतिशोध हो भने अर्को हो असल वा सकारात्मक पक्ष। त्यो भनेको खुसी, शान्ति, माया, आशा, विश्वास, मानवता, दया, करुणा र सहानुभूति हुन्। ” छोरो एकछिन विचारमग्न भयो र त्यस पछि पितालाई सोध्यो, “बुबा ती दुईमध्ये कसले जित्छ? ” पिताले शान्त र सौम्य भएर भने, “तिमी जसलाई खुलाउँछौ र आफूभित्र जसलाई हुर्काउँछौ त्यसैले जित्छ। ” अन्ततः हामीले आफू स्वयम्लाई सोध्नु पर्ने एउटा प्रश्न : हामी हाम्रो अन्तस्करणलाई के खुलाइरहेका छौँ र हामी भित्र कसलाई हुर्काई रहेका छौँ?

Related News

सम्बन्धित समाचार

hero news full width