भगवान् श्रीकृष्ण सबैका साथी

शिवप्रसाद गौतम
जेठ ३१, २०७६

परिआएको बेलामा मद्दत गर्ने अर्थात् दुःखमा सुखमा दुवै अवस्थामा साथ दिने व्यक्ति नै सच्चा साथी हो। साथीको पर्यायवाची शब्द मित्र पनि हो। दुई व्यक्ति बीचमा विशेष औपचारिक विधि अनुसार पारस्परिक बन्धुभाव गाँसिएको हितैषी अवस्थालाई मित भनिन्छ। ईश्वर वा देवताको भक्ति गर्ने भक्तालुलाई भक्त भनिन्छ। संसारमा साथीहरु त जति पनि पाइन्छन् तर दुःख परिआएका बखत सहयोग गर्ने सच्चा साथी पाउन कठिन छ।

साथी मानिसका मात्र होइन भगवान्का पनि हुन्छन्। संसारमा रमाइलो गर्न मानिस पशुपन्छी मात्र होइन भगवान्लाई पनि चाहिन्छन्। ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विराग जस्ता ६ वटा तत्वले पूर्ण भएको अलौकिक पुरुष, ईश्वर, परमात्मा, ब्रह्मा विष्णु महेश्वर, बुद्ध ऐश्वर्ययुक्त, सम्पन्न, पूज्य, मान्य सबै भगवान् हुन्। साथी बचपनदेखि बयोवृद्ध अवस्थासम्मका हुन्छन्। साथीको अर्को स्वरूप छ जसलाई जीवन साथी भनिन्छ।

प्राणीको जन्मदेखि मृत्युसम्मको समय, जिन्दगी, शरीरमा प्राण रहेसम्मको अवस्था, प्राणीको जीवित अवस्था, प्राणवान, अवस्था, बाँच्ने ढ· वा बचाउने शक्ति (प्राणतत्व), जिउँदोपन आदि जीवन हो। भगवान्का पनि दिन उमेर वृद्धिसँगै जीवन साथीको चाहना भएको दृष्टान्तहरु प्रशस्त छन्। जस्तै भगवान् शिवकी जीवनसंगिनी पार्वती, कृष्णकी रुक्मीणी, रामकी सीता, तथा नारायणकी लक्ष्मी हुन्।

विष्णु भगवान्का दश अवतारमध्ये, आठौँ अवतार लिएर वसुदेव र देवकीका पुत्र रत्न भई गोकुलमा जन्मेका द्वापर युगको प्रसिद्ध महापुरुष, गाई बाच्छाका सेवक वा नेता भगवान् श्रीकृष्ण हुन्। आफ्नै मामा कंसको कारागारमा अष्टमी तिथिका दिन मध्यरातमा जन्मनु भएका भगवान् श्रीकृष्णको जन्म दिन भएकोले यस दिनलाई हामीले श्रीकृष्णजन्माष्टमीको रूपमा धार्मिक पर्व मनाइरहेका छौँ। भगवान् श्रीकृष्णले आफूले जन्म लिनाको मूल कारण भगवद्गीताको अध्याय ४ मा कुरुक्षेत्रको लडाइँबाट विमुख हुन खोजेका अर्जुनलाई सम्झाउँदै भन्नु भएको छ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।

अभ्युत्थानमर्धमस्य तदात्मानं सृजाम्यहम्। । ………… (६)

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।

धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। । …………. (७)

भावार्थ : अधर्म हावी भई पार्थ (अर्जुन) धर्ममा आउँदा क्षय।

अवतार लिने गर्छु पृथ्वीतल निश्चय। ।

संहार (नाश) दुष्टको गर्दै भक्त उद्धार खातिर।

स्वयम् जन्म लिने गर्छु पर्दिनँ अरुको भर। ।

सर्वव्यापक सर्वशक्तिमान् श्रीकृष्ण भगवान्का पनि प्रशस्त बालसखा सखी साथी सहेलीहरु भए। सोह्र सय गोल्यानी गोपिनीहरु भगवान् श्रीकृष्णका प्रेमिकाहरु थिए। महाभारतकालमा वृषभानुकी छोरी राधा राधिका भगवान् श्रीकृष्णकी प्रियतमा थिइन्। यी त भगवान् कृष्णका नारी साथीहरु थिए। पुरुष साथीहरु त अनगिन्ती नै थिए।

एकदिन भगवान् श्रीकृष्णका साथीहरुले उनलाई भेट्न जाने सल्लाह गरेछन्। दिन तय भएछ। सुदामा पनि साथीहरुका साथ लागेर भगवान् श्रीकृष्णलाई भेट्न गए। भगवान् धेरै दिनको अन्तरालपछि साथीहरु आफूलाई भेट्न खाली हात होइन कोसेली सहित आएको देखेर अति प्रसन्न हुनु भयो। कुन साथीले के कोसेली ल्याएको छ भन्ने कुरा भगवान्लाई थाहा नहुने कुरै भएन। सबै साथीले कृष्णलाई भेट्न ल्याएको सगुन एक–एक गरेर कृष्णजीलाई दिए। मनमनै श्रीकृष्णले अत्यन्त खुसी हुँदै सबै साथीहरुलाई अंकमाल गरेर कोसेली ग्रहण गर्नुभयो।

अन्तमा सुदामाको पालो आयो उनले पनि कोसेलीको पोको सखा श्रीकृष्णका हातमा थमाए। श्रीकृष्ण भगवान्ले कोसेलीको पोको खोलेर एक मुठ्ठी कनिका आफ्नो मुखमा हालेर अति मीठो मान्दै चपाउन थाल्नु भयो। सुदामा अचम्म भए। अरु साथीहरु पनि अचम्ममा परे। अरु साथीले ल्याएको खाने कुरा पनि अलिअलि सबैको खोल्दै जानुभयो। यसबाट प्रष्ट हुन्छ भगवान् सबै भक्तलाई समान व्यवहार गर्नुहुन्छ। भगवान्ले धनी गरीब भनेर पक्षपात गर्नुहुन्न। सबैप्रति सम व्यवहार राख्नु हुन्छ। भगवान् वास्तविकता प्रिय हुनुहुन्छ। अवास्तविक र काल्पनिककुरामा भगवान्ले आस्था राख्ने विषय होइनन्।

भेट्न जाने साथी सबै पहिले भन्दा अति फुर्तिलो र तेजोमय भए। सबै श्रीकृष्णसँग फेरि फेरि भेटिरहने शर्तमा आआफ्ना घरतर्फ लागे। उनीहरुले आफ्नो घरमा सकारात्मक परिवर्तन पाए। सुदामाले आफ्नो खरको झुपडी पत्ता लगाउन सकेनन्। उनको घर भगवान् श्रीकृष्णका कृपाले स्वर्णमय भएको थियो।

भगवान् श्रीकृष्ण भक्तवत्सल हुनुहुन्छ। महाभारतमा दुयोर्धनले दुःशासनलाई लगाएर द्रौपदीको चीर हरण गर्दै गर्दा द्रौपदीले भगवान कृष्णलाई पुकारेपछि भगवान श्रीकृष्णले द्रौपदीको सारी नै घनश्याममय बनाई दिनुभयो। दुःशासन साडी तान्दा तान्दै यति थकित भयो कि उसले द्रौपदीको सबै साडी खिच्न सकेन र त्यही लडेर मूच्र्छित् भयो। भगवान्ले आफ्ना सच्चा भक्तलाई सदैव यसरी नै कल्याण गर्नुहुन्छ।

श्री कृष्णाय वासु देवाय परमात्मेन नमः

Related News

सम्बन्धित समाचार

hero news full width