बलेनीमा बाँचेको लोकरामायण

प्रा.डा.कुसुमाकर न्यौपाने
चैत्र २८, २०७५

१. लोकरामायण

आँगनका विभिन्न ठाउँमध्ये बलेनी एउटा ठाउँ। बलेनी भन्ने ठाउँ घरको अगाडिको पिँडी र ढोकाभन्दा अगाडिको भाग हो जहाँ छानोको पानी बगेर झर्छ। त्यही बलेनीमा बस्ने वा उभिने मान्छेले त्यस घरभित्रको पिँडी, खँड्करी र मझेरी मात्र देख्न सक्छ। चुल्हो पनि देख्न सक्दैन, अँगेनो पनि देख्न अनि मूल ओछेन पनि देख्न सक्दैन। हो त्यही बलेनीमा टुक्रुक्क बसेर घरको ढोकाबाट भित्र हेर्दै अनि सारङ्गी बजाउँदै गन्धर्वले बचाएको रम्मायण लोकरामायण हो। हुन त नेपालमा अन्य जातिले पनि लोकरामायण गाउँछन्। ती जातिले घरका विभिन्न ठाउँमा बसेर गाउने गर्दछन् तर गन्धर्वले अहिले पनि घरको बलेनीमा नै बसेर रामायण गाउने गरेको पाइएको छ। त्यसैले यहाँ यस्तो लोकरामायणलाई बलेनीमा बाँचेको लोकरामयण नाम दिएर चर्चा गरिँदै छ।

२. बलेनीमा लोकरामायण

पहिले पहिले त गन्धर्वले बलेनीमा बसेर बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्ड गरी सातओटै काण्ड गाउँथे रे। अहिले त नेपालको गण्डकी प्रदेशका केही गन्धर्वले चारओटा काण्ड लोकरामायण गाएको सुन्न पाइन्छ। ती चारओटा काण्ड यस प्रकारका छन् : १ बालकाण्ड २ अयोध्याकाण्ड ३ अरण्यकाण्ड ४ किष्किन्धा काण्ड। यहाँ गन्धर्वले गाएको लोकरामायणका उक्त विभिन्न काण्डका कथासार मात्र यहाँ उल्लेख गरिएको छ।

२.१ बलकाण्ड

गन्धर्वले गाउने गरेको लोकरामायणको पहिलो काण्ड बालकाण्ड हो। गन्धर्वले गाउने यस बालकाण्डमा रामको जीवनकथा यसरी बगेको छ : पापीहरूको पापको भार थाम्न नसकेर पृथ्वी भगवान् विष्णुसँग रोइन्। त्यो पाप हरण गर्न म आफै (भगवान् विष्णु) दशरथको छोरो भएर जन्मनेछु अनि लक्ष्मी जनककी छोरी भएर जन्मनेछिन् भनेर विष्णुले भने। यति वचन पाएपछि पृथ्वी आफ्नै ठाउँमा आएर बसिन्। केही समय पछि अयोध्याका राजा दशरथका दर्बारमा गुरु वशिष्ठले यज्ञ गराए। यज्ञकै प्रभावस्वरुप कौशल्याबाट राम, कैकयीबाट भरत, सुमित्राबाट लक्ष्मण र शत्रुघ्न नामका सन्तान उत्पन्न भए। गुरु वशिष्ठले जन्मदेखिका संस्कार गराउनुका साथै शिक्षादीक्षा दिने काम गरे।

शिक्षादीक्षाबाट पूर्ण भएका रामले वनमा गएर शिकार गरे साथै राक्षसहरूलाई पनि मारे। अर्कातिर गौतम ऋषिले आफ्नी पत्नी अहिल्यालाई इन्द्रले भोग गरेको हुँदा इन्द्रका शरीरमा हजार योनी हऊन् अनि पत्नी अहिल्यालाई“पत्थर भएस्” भनी सराप दिए। कालान्तरमा रामको पाउले छोइदिए पछि अहिल्या पत्थरबाट मुक्त भई स्वर्गमा गइन्। अर्को सन्दर्भगुरु विश्वामित्रको आज्ञाअनुसार राम, लक्ष्मण, भरत र शत्रुघ्न जनकपुर जान भनी हिँडे। गङ्गाका किनारमा आफ्नो कल्याणका निम्ति माझीले रामको पाउ पखालेर आफ्नो शिरमा राखे। गङ्गा तरेपछि राजा जनकले रामलक्ष्मणलगायत सबैलाई आफ्नो राज्यतिर लगे। जनकको विशाल सभामा संसारका वीरहरूले उचाल्न नसकेको शिवधनु रामले उचालेर भाँचे। खुसी हुँदै सीताले रामका गलामा वरमाला लगाइदिइन्। त्यसै क्रममा लक्ष्मणसित उर्मिला, भरतसित माण्डवी र शत्रुघ्नसित कृतिकाको विवाह पनि भयो। यसरी विवाह गरेर अयोध्यातिर जान लागेको देखेर परशुरामले रामलाई थर्काए। रामले पनि परशुरामको सेखी तोडे र रामको जन्ती अयोध्यातिर लाग्यो। गन्धर्वले गाउने गरेको लोकरामायणको बालकाण्डको कथा यसरी आदिअन्त्य हुन्छ।

२.२ अयोध्या काण्ड

गन्धर्वले गाउने गरेको लोकरामायणको दोस्रो काण्ड अयोध्याकाण्ड हो। यस अयोध्या काण्डमा रामको जीवनकथा यसरी बगेको छ : राजा दशरथले रामलाई राज्य दिन ठिक्क पारेका थिए। कैकेयीका षडयन्त्रका कारण रामले राज्य पाएनन् उल्टो चौध वर्षसम्म रामलाई वनवास जान पर्ने भयो। राजकुमारले लगाउने वस्त्र फालेर राम बन जान तयार भए। यो खवर सुनेर रामकी आमा कौशल्या रुँदै विलाप गर्न लागिन्। रामले आमालाई सम्झाए। सीताको जिद्दीअनुसार रामले सीतालाई सँगै लाने निर्णय गरे। त्यस पछि रथमा चढेर फउजका साथ राम वनतिर गए। पहिलो दिन अयोध्या छाडे। दोस्रो दिनको बास भारद्वाजको आश्रममा भयो। यसरी क्रमशः पाँचौं वास चित्रकुट बाल्मीकि आश्रममा भयो। यसरी क्रमशः राम धेरै टाढा पुगे। यसरी टाढा पुगेको सुनेपछि त्यही पीडाले राजा दशरथको मृत्यु भयो। राजकाज गरेका भरतले पिता दशरथको काजक्रिया गरेर सके त्यस पछि भरत रामलाई फिर्ता गराउन वनतिर गए। रामलाई भरतले पिताको देहावसान भएको खबर सुनाए। यो सुनेर राम विह्वल हुँदा पितालाई तर्पण दिए। तर्पणपछि भरतले रामलाई अयोध्या फर्कन अनुनयविनय गरे। रामले १४ वर्षको वनबास सिद्ध्याएर फर्कन्छु भनी भरतलाई सम्झाए। कुरो बुझेपछि भरतले रामका खराउ राजगद्दीमा राखेर राज्य सञ्चालन गर्न अठोट गरे। त्यही अठोटअनुसार रामका खराउ लिएर भरत अयोध्या राज्यतिर फर्के। गन्धर्वले गाउने गरेको अयोध्या काण्डको कथा यसरी आदिअन्त्य हुन्छ।

२.३ अरण्य काण्ड

गन्धर्वले गाउने गरेको लोकरामायणको तेस्रो काण्ड अरण्य काण्ड हो। यस अरण्यकाण्डमा रामको जीवनकथा यसरी बगेको छ : भगवान् राम पञ्चवटी वनमा बसेका थिए। त्यहाँ रावणकी बहिनी शुपर्णखाले रामको सेवा गर्छु भनेर प्रस्ताव राखी। आफ्नो सेवा गर्ने सीता भएकाले रामले शुपर्णखालाई लक्ष्मणसँग कुरा गर्न भनी अह्राए। त्यो कुरा सुनेर शुपर्णखाले लक्ष्मणसँग आफूलाई बिहे गर भनी प्रस्ताव राखी। लक्ष्मणले त्यो प्रस्तावको तिरस्कार गरे। शुपर्णखाले रिसाएर उपद्रो मच्चाई। त्यसपछि लक्ष्मणले त्यसको नाककान काटिदिए। शुपर्णखाले लड्ढामा गएर आफ्ना सबै घटना रुँदै रावणलाई सुनाई। रावणले लक्ष्मणलाई मार्छु अनि सुन्दरी सीता पनि हरण गर्छु भन्यो। रावणले मारिचलाई बोलाएर साथ दिन भन्यो।

सीता हरणका निम्ति मारिचले आफू सुनको मृग बनेर पञ्चवोटी वनमा गयो। सीताले त्यस सुनको मृगको छालाको चोलो बनाएर लाउँछु भनेकाले राम बाण हान्दै मृगका पछिपछि गए। मारिचले रामको आवाजमा “लक्ष्मण” भनेर चिच्यायो। लक्ष्मणले यो राक्षसको चालबाजी हो भन्दा पनि सीताले लक्ष्मणलाई राम खोज्न जाउ भनी जिद्दी गरिन्। लक्ष्मणले रेखा बाहिर ननिक्लन सीतालाई अनुरोध गरे अनि आफू रामलाई खोज्न वनतिर गए। रावणले सन्यासीको भेसमा आई भिक्षा माग्ने निहुँमा सीताहरण गर्यो। सीताहरण गरेको देखेर जटायुले रावणलाई आक्रमण गर्यो। रावणले जटायुका पखेटा काटिदियो। जटायु भुईमा खस्यो। त्यस ठाउँमा विलाप गर्दै राम आए। त्यहाँ पल्टिरहेको जटायुले यी सबै घटना रामलाई सुनायो। गन्धर्वले गाउने गरेको अरण्य काण्डको कथा यसरी आदिअन्त्य हुन्छ।

२.४ किष्किन्धा काण्ड

गन्धर्वले गाउने गरेको लोकरामायणको चौथो काण्ड किष्किन्धा काण्ड हो। यस किष्किन्धा काण्डमा रामको जीवनकथा यसरी बगेको छ :रावणले सीता हरण गर्यो। रामलक्ष्मण व्याकुल बने। अर्कातिर बालीले सुग्रिवलाई सतायो। सुग्रीव व्याकुल बने। यी दुबै समस्याबाट मुक्ति पाउन रामले बाली मार्ने र सुग्रीवले सीता खोजेर ल्याउने सल्लाह भयो। त्यही सल्लाहलाई विश्वसनीय अनि परिणाममुखी बनाउन राम र सुग्रीवले अँगेनाको छेउँमा बसेर अग्निलाई साँची राखी मित लगाए। यसपछि सुग्रीव र बालिबीच युद्ध भयो। बालिले सुग्रीवलाई मार्नै आँट्यो। त्यसै बेला सुग्रीवले रामलाई वाचा स्मरण गराए। रामले वाणले बाली मार्छु भनी तयारी गरेर हेर्दा बाली र सुग्रीवलाई टाढाबाट चिन्न सकेनन्। त्यो कुरा थाहा पाएर चिन्न सजिलो हवोस् भनी लक्ष्मणले सुग्रीवलाई माला लगाइदिए।

त्यस पछि माला लगाएका सुग्रीवलाई जोगाएर मालाविहीन बालिलाई रामले वाणप्रहार गरे। रामको वाण लागेर बाली मर्यो। सुग्रीव र उनका दल खुसी भए। सुग्रीवले काजक्रिया गरेर सकेपछि सुग्रीव एवम् हनुमान र बाँदरहरू मिलेर सीताखोज्न गए। हनुमानले सीतालाई अशोक वाटिकामा भेटे। रामले सीताका निम्ति पठाएको औंठी हनुमानले सीतालाई दिए। सीता हर्षले गदगद भइन्। हनुमानले राम र लक्ष्मणले दुख गरेको समग्र वृत्तान्त सुनाए। सीता पुनः हर्षित भइन्। सीतालाई आफू लिन आएको जानकारी दिए। गन्धर्वले गाउने गरेको किष्किन्धा काण्डको कथा यसरी आदिअन्त्य हुन्छ।

३ निष्कर्ष

नेपालमा विभिन्न ठाउँमा बसेर रामायण गाउने चलन छ। त्यस्ता रामायणमध्ये गन्धर्वले घरको बलेनीमा बसेर लोकरामायणका सातवटै काण्ड गाउँथे। यस्तै जोगीले बलेनीमा उभिएर लोकरामायणका सातओटै काण्ड गाउँथे। त्यस्ता जोगीहरू अहिले भेटिँदैनन् भने केही गन्धर्वहरू भेटिँदै छन् जुन गन्धर्वले लोकरामायणका चारओटा काण्ड मात्र गाउने गरेका छन्। श्रोताको अरुचि र आफूलाई प्रोत्साहनका अभावका कारण अहिले गन्धर्वले गाउँवस्तीमा लोकरामायणका ती विभिन्न काण्ड गाउन छाडेका छन्। बलेनीमा बाँचेको लोकरामायण पनि राष्ट्रको सम्पत्ति हो जुन हराउने स्थितिमा छ।

Related News

सम्बन्धित समाचार

hero news full width