प्रस्तावित बधशाला निर्माणमा सम्बन्धितलाई ध्यानाकर्षण

विनोद रायमाझी
असार १९, २०७६

पोखरा भनेको यो वडा नं. २१ पनि हो जहाँ रमणीय हरियो बन जगंल साथै फुस्रेखोला तथा सेती नदी मिसिएको पवित्र संगम स्थल रहेको छ।

मिति २०७६ जेठ २६ गते को आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित “दाहसंस्कार गर्ने घाटमा बधशाला” शीर्षकको समाचार पढेपछि दुई चार शब्द नलेखी यो मन मानेन।

विषेश गरी यो समाचार पढेपछि ममा केही जिज्ञासा तथा प्रश्नहरु उत्पन्न भएका छन् जुन सम्बन्धित वडाका वडाअध्यक्ष र महानगरका मेयरप्रति अपेक्षितछन्। तपाँईहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न जनताले चुनेर पठाएको जनप्रतिनिधि हुनुहुन्छ र तपाँईहरुले गरेका हरेक किसिमका सकारात्मक तथा विकासका कार्यहरुमा मेरो सदैव समर्थन र सद्भाव रहेको छ र आगामी दिनहरुमा पनि रहिरहने छ। तसर्थ यस विषयमा यँहाहरुबाट उत्तरदायी भावनाले मेरा यी जिज्ञासाहरुको सर्वमान्य उत्तर पाँउछु भन्ने अपेक्षा राखेको छु।

१. प्रस्तावित पशु बधशाला निर्माण गर्ने भनिएको स्थलमा वरिपरिको वस्तीबाट मात्र नभएर पोखरा, निर्मलपोखरी, कृस्ती, चिलाउनेखर्क, हलेदे हुँदै स्याङ्गजाको टक्सार देखि दाहसंस्कारको लागि मानव शव ल्याउने घाट तथा फुस्रेखोला र सेती नदी मिसिएको पवित्र संगम स्थल रहेको छ। के यस्तो स्थानमा बधशाला बनाउन उपयुक्त होला?

२. मेयरकै शब्दलाई बुझ्दा उक्त स्थलमा प्रदेशकै आधुनिक बधशाला निर्माण गरी प्रदेशकै नमूना बनाउने भन्ने छ। समाचारकै तथ्यांकलाई हेर्ने हो भने कुखुरा, खसीबोका तथा अन्य गरी दैनिक ४० हजार के.जी. (३० हजार के.जी. कुखुरा र १० हजार के.जी. खसी बोका तथा अन्य) भन्दा बढी मासु हाल पोखरामा खपत भैरहेको छ र यदि त्यसको लागि आवश्यक पर्ने जीवित कुखुरा, खसीबोका र राँगा उक्त बधशालामार्फत प्रोसेसिङ्ग हुँदा दैनिक ४० हजार के.जी. तयारी मासु को लागि चाहिने लगभग ५३ हजार के.जी. (२५% वेस्टेज जाने अनुमान) बराबरका जीवित पशु पक्षीरुको बध हुन्छ र जसका लागि ४० हजार के.जी. बराबरका कुखुरा, ८ हजार के.जी. बराबरका खसीबोका र ५ हजार के.जी. बराबरका राँगा दैनिक रुपमा उक्त बधशालामा बधको लागि ल्याईन्छ (अझैपोखरा नजिकका अन्य क्षेत्रहरुबाट ल्याईने पशुपँक्षीहरुको गणना यसमा गरिएको छैन )

एउटा जीवित कुखुराको औसत तौल ३ के.जी., जीवित खसी बोकाको औसत तौल ३० के.जी. तथा जीवित राँगाको औसत तौल २०० के.जी. मान्दा करीब १३ हजार ३३३ ओटा कुखुरा, २६६ ओटा खसीबोका तथा २५ ओटा राँगा दैनिक रुपमा उक्त बधशालामा काटिन्छन् अनि प्रोसेसिङ्ग गरी अन्तिम उपभोक्ताका लागि तयार पारिन्छन्।

दैनिक रुपमा यस्तो किसिमको कार्य प्रक्रिया वर्षभरी चलिरहन्छ अनि त्यसको लागि आवश्यक ढुवानीका साधनहरु पशुपक्षी बोकेर बिहान र बेलुकाको समयमा पश्चिमतर्फबाट विरौटा देखि महतगौंडा लामातरा हुँदै र पूर्वतर्फबाट तालचोक आदर्शचोक कालिकास्थान दुवार हुँदै दोबिल्ला स्थित उक्त बधशालामा अत्यधिक रुपमा ओहोर दोहोर गर्ने गर्दछन् जसले गर्दा स्कुल, कलेज तथा अफिस जाने आउने समयमा बच्चा, युवा तथा कर्मचारीहरुमा साथै बाटो दायाँबायाँमा रहेका बस्तीहरुमा दुर्गन्ध तथा सडकजाम जस्ता असरहरु पर्दछन। वडा अध्यक्ष तथा मेयर यो सम्बन्धमा के भन्नु हुन्छ?

३. यसरी दैनिक रुपमा ५ हजार ३३३ ओटा कुखुरा, २०० ओटा खसीबोका तथा २० ओटा राँगाहरु काँटिदा (२६ हजार के.जी. बराबरका जीवित पशुपक्षँी) लगभग २५% वेस्टेज जाने हाडखोर, रगत, रियाल, रौ तथा मल भनेको करीब ६ हजार ५ सय के.जी वेस्टेजबाट उत्पन्न हुने फोहर, दुर्गन्ध तथा वेस्टेज थुप्रिदै जाँदा उक्त स्थानको लगभग ५ कि.मि. रेडियस भित्र जमिन अवमूल्यन, जलप्रदूषण तथा वायु प्रदूषण भई त्यहाँका जग्गा जमीन र मानव वस्तीमा प्रत्यक्ष असर पर्दछ। वडा अध्यक्ष तथा मेयर सँग यसको के उत्तर छ?

४. बधशाला सम्बन्धमा विगतमा भएका विभिन्न अनुसन्धानहरु बाट पनि के देखिन्छ भने, बधशाला वरिपरिका क्षेत्रहरुमा जलप्रदूषण र वायु प्रदूषण हुनजाने र पशुबधबाट खेरजाने हाडखोर, रगत, रियाल, रौ तथा मलबाट लामखुट्टे र अन्य घातक किरा तथा व्याक्टेरियाहरु उत्पन्नभई वरिपरिका वस्तीहरुमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन्छ। विशेष गरी ३ कि.मि. रेडियसमा पर्ने क्षेत्र भित्रका मानिसहरुमा टाउको दुख्ने, शरीर दुख्ने, कमजोरी हुने, रुघाखोकी लाग्ने, श्वास प्रश्वासमा समस्या हुने तथा अन्य गम्भीर प्रकारका बिमारीहरु जस्तै टाईफाईड, जण्डीस, मलेरिया, कोलेरा तथा डायरिया भई मानिसहरुको ज्यानै जाने खतरा उत्पन्न हुन्छ। यसबाट विशेष रुपमा बालक तथा बृद्धहरुमा तुरुन्त समस्या देखापर्ने अनुसन्धानले देखाएको छ। भारतको उत्तरप्रदेश स्थित मथुरा बाईपास रोडमा सन २०१२ मा भएको एक अनुसन्धानबाट उक्त तथ्य बाहिर आएको हो। अब भन्नुस, नेपालको संविधानको भाग—३ को मौलिकहक र कर्तब्य को बुँदा नं.३० मा उल्लेख भए अनुसार प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक तथा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिपूर्ति को हक (वातावरण र विकासबीच समुचित सन्तुलन नभएको भन्ने मेरो ठम्याई हो) सुनिश्चित गर्ने तपाईं जनप्रतिनिधिहरुबाट हामीले अरु के अपेक्षा गर्ने?

५. म आफु विकासको बाधक भने पक्कै होईन, पशुबधलाई व्यवस्थित गरी पोखरालाई स्मार्ट सिटी बनाउनको निम्ति महानगरले लिएको लक्ष्यप्रति मेरो पनिएक्य बद्धता रहेको छ। अनि पोखरा भनेको यो वडा नं. २१ पनि हो जहाँ रमणीय हरियो बन जगंल साथै फुस्रेखोला तथा सेती नदी मिसिएको पवित्र संगम स्थल रहेको छ। जुनठाँउलाई सम्भावनाको हिसाबले पनि पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्दछ भन्ने लाग्दछ। पोखरा १५ मा बधशाला बनाउन धेरै पटक शिफारिश गरिएता पनि सो योजना पूरा गर्न महानगरले नसकेपछि यस २१ नं. वडाका वडा अध्यक्षबाट एकपटक पनि स्थानीय समुदायसँग अन्तरक्रिया तथा सरसल्लाह नै नगरी यस ठाँउमा बधशाला बनाउनको लागि बजेट नै विनियोजन भैसकेको र डिपिआर को पूर्व अध्ययनको लागि कर्मचारीनै आउनु लाई हामी यस क्षेत्रका जनताले कसरी विश्लेषण गर्ने वडा अध्यक्षज्यू?

Related News

सम्बन्धित समाचार

hero news full width