प्रदेश दुईको एसइई प्रकरण

 नगेन्द्रराज पौडेल
चैत्र १८, २०७५

यतिबेला मुलुकका ७७ जिल्लामा १९६९ परीक्षा केन्द्रबाट ४ लाख ७५ हजारभन्दा बढी विद्यार्थीहरू एस्इईपरीक्षामा सम्मितिल छन्। यसैबीच प्रदेश नम्बर २ मा भने चोथौ दिनको परीक्षा रद्द गरिएको छ भने बाँकी २१ गतेसम्मका अन्य सबै परीक्षाहरू पनि प्रश्नपत्र बाहिरिएको कारण स्थगन गरिएको छ। यो प्रदेशमा ८ जिल्ला छन। २६३ परीक्षा केन्द्र छन् र ७० हजार ५ सय विद्यार्थीहरू छन्।

सरकारले मुलुक संघीय अभ्यासमा गएसँगै प्रश्नपत्र पनि प्रदेशैपिच्छे अलग अलग सेटमा तयार गर्ने गरेको छ। ७ प्रदेशमा ७ सेटमा प्रश्नपत्रहरू जान्छन्। प्रदेश नम्बर २ मा प्रश्नपत्र बाहिरिएको घटना यतिबेला बहसको विषय बनेर आएको छ। परीक्षाको विश्वसनीयतामाथि यो घटनाले प्रशस्त आशंका उब्जाएको छ। माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय सरकारमा गैसकेको अवस्थामा अझै पनि संघीय प्रणालीबमोजिम नै प्रश्नपत्र तयारी र वितरण गर्दा यो समस्या आएको त होइन? स्थानीय सरकार मातहत एसइई ल्याउन जरुरी त छैन? भन्ने सन्देश पनि यो घटनाले दिएको छ।

घटना जादूमय शैलीमा

१४ गतेको अनिवार्य विज्ञानको परीक्षा सकेर घर फर्कदै गर्दा परीक्षा रद्द हुने हल्ला चल्यो। प्रदेश २ का कुनै जिल्लाको कुनै एक केन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला भयो। परीक्षा केन्द्रमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भनी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जानकारी दिँदै उक्त परीक्षा पुनः २२ गते हुने सूचना जारी गर्यो। परीक्षार्थीहरू अन्यमनस्क हुन पुगे। प्रश्नपत्र प्रदेश २ का कुनै १ केन्द्रमा बाहिरिएको हल्ला थियो। प्राविधिक कारणले होला परीक्षा रद्द भने २६३ केन्द्रकै गरियो। परीक्षामा प्रश्नपत्रहरू कहाँबाट बाहिरिए खोजको विषय बन्यो। यसको प्रकृति हेर्दा जादूमय शैलीमा प्रश्नपत्रहरू बाहिरिएका छन्।

१५ गतेको परीक्षाका प्रश्नपत्रहरू पनि अघिल्लो दिन राति विभिन्न सामाजिक सञ्जालमार्फत् देखापरे। परीक्षा बोर्डले बिहान ७ बजे बैठक गरेर उक्त दिनको परीक्षा पनि स्थगन गर्न सर्कुलर गर्यो। यसको सर्कुलर प्रदेश २ का ८ जिल्लाका २६३ केन्द्रमा तत्काल पुग्न सकेन। कति ठाउँमा त परीक्षाका लागि सिटमा बसेर उत्तरपुस्तिका समेत पाई सिम्बल नम्बर लेख्दै गरेका परीक्षार्थीको हातबाट आजको परीक्षा नहुने भयो भनी कपी फिर्ता माग्नु पर्यो। प्रश्नपत्र बाहिरिने क्रम नरोकिएपछि अन्तत बोर्डले २१ गतेसम्मका सबै परीक्षाहरू स्थगन गरेको सूचना जारी गर्यो। विद्यार्थीहरूको १० वर्षको मिहिनेतमा ब्रेक लाग्यो। २०६६ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरू नै यो वर्षको एसइईमा सम्मिलित हुने पालोमा थिए।

गल्ती कोबाट भयो? छानबीनको विषय हो तर विद्यार्थीले भने निकै दुख पाए। छानबीन गर्न गृह मन्त्रालयको निर्देशन बमोजिम केन्द्रीय अनुसन्धान व्युरोबाट अनुसन्धान टोली खटाइसकिएको छ। परीक्षा बोर्डले अलगै छानबीन समिति बनाएको जनाएको छ। यसरी छानबीन भैरहेको अवस्थामा यो मुद्दालाई प्रदेश २ को क्षमतासँग दाँजेर पनि हेरिएको छ। यस्तो हेराइ भने संघीयता विरोधी मानसिकताको उपज मात्र हो। किनभने प्रश्नपत्र बाहिरिनुसँग यो प्रदेशको प्रत्यक्ष परोक्ष संलग्नता अहिलेसम्म देखिएको छैन। त्रुटी जादूमय पारामै भएको छ।

बढने भो खर्च

यो परीक्षा थप खर्चिलो पनि छ। एउटा जिल्लाको एउटा केन्द्रमा प्रश्नपत्र बाहिरिएको भरमा ८ ओटै जिल्लाको सबै केन्द्रमा सम्पन्न परीक्षा रद्द गरियो। यसबाट विद्यार्थीहरू मर्कामा त परे नै। राज्यका लागि पनि थप व्ययभार पर्न जाने निश्चित छ। किनभने उक्त दिनको काम गरेवापत केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी र अनुगमनकर्ताले खर्च लिनै नै भए। अर्को दिन पुनः उही काम गर्नुपर्दा पारिश्रमिक दिनै पर्ने हुन्छ।

सालाखाला रूपमा हेर्दा प्रतिदिन एउटा केन्द्रमा १० हजार २११ रूपैयाको हाराहारीमा खर्च हुने देखिन्छ। विद्यार्थी संख्याका आधारमा या रकम तल माथि पर्नसक्ला तर औषत यही हो। यसरी हेर्दा सम्पन्न भैसकेको विज्ञान विषयको परीक्षा अर्को दिन सञ्चालन गर्दा प्रदेश २ का ८ जिल्लाका २६३ केन्द्रका लागि २६ लाख ८५ हजार ४९३ रूपैया राज्यलाई थप व्ययभार बढन जान्छ।

अपराधको रहस्य

इतिहासमा कहिल्यै नदेखिएको प्रकृतिको यो घटना यतिबेला निकै चर्चामा छ। अपराधको प्रकृति हेर्दा प्रश्नपत्र बेचेर पैसा कमाउनु वा आफन्तलाई प्रश्न पहिल्यै देखाएर बढी अंक ल्याउने बनाउनुजस्ता स्वार्थ यहाँ देखिँदैनन्। प्रश्नहरू सामाजिक सञ्जालमार्फत् बाहिरिएका छन्। अथवा हाम्रो समग्र शिक्षा प्रणाली नै फेलियर छ भन्ने देखाउन पनि यसप्रकारको हर्कत गर्न खोजेको देखिन्छ। अकोर्तिर प्रदेशलाई बदनाम गराउन खोजेकोजस्तो पनि देखिन्छ। प्रदेशका २६३ केन्द्रमध्ये कुनै पनि केन्द्रबाट बाहिरिएको कुरा पुष्टि हुन सकेको छैन।

उच्च्तम सुरक्षा

प्रश्नपत्र छपाइका लागि परीक्षा नियन्त्रकको नेतृत्वमा उनैले विश्वास गरेको व्यक्तिसहितको एउटा टिम प्रेसभित्र जान्छ। त्यहाँ सीसी क्यामराको निगरानीमा ३ तहको सुरक्षा भन्दा पर त्यो टिम रहन्छ। मोवाइलसमेत लान पाइँदैन। जिल्लाका सबै केन्द्रमा लैजाने गरी शिलबन्दी रूपमा विषयगत पोका तयार गरिन्छ। हामीकहाँ अहिले ७७ जिल्लामा १९६९ परीक्षा केन्द्रहरू छन्। ती सबै केन्द्रमा पुर्याउन मिल्ने गरी काम सकेर बाहिरिन उक्त टिमलाइ २५ दिनभन्दा बढी लाग्छ। प्रश्नपत्रको पोका तयारी पछि कर्मचारीमार्फत् ७७ जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र बुझाइन्छ। त्यहाँबाट सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइ( साविकको शिक्षा कार्यालय) का प्रतिनिधि र सुरक्षाकर्मीसहित सम्बन्धित परीक्षा केन्द्र रहेको नजिकको प्रहरी चौकीमा प्रश्नपत्र बुझाएर केन्द्राध्यक्षलाई रुजु गर्न लगाइन्छ।

प्रश्नपत्र कम, धेरै वा दिनअनुसार विषय फरक परेको कुरा पोकाको बाहिरी लेखाइबाट देखिएमा तुरुन्त खबर गरिन्छ, अन्यथा परीक्षाको दिन एकघण्टा अघि केन्द्राध्यक्ष र सुरक्षाकर्मीको साथमा चौकीबाट प्रश्नपत्र बुझेर केन्द्रमा पुर्याइन्छ। सुरक्षाकर्मीकै रोहबरमा सनाखत गरी सिल प्रश्नपत्र वितरण गर्ने चलन छ। यसरी यसको छपाइदेखि वितरणका प्रक्रियासम्म उच्च सुरक्षा व्यवस्था हुने हुँदा र चौकीमा पनि प्रश्नहरू प्रहरीसँगै रहने हुँदा त्यहाँबाट सानोतिनो मान्छेले र सानोतिनो प्रयासले प्रश्न बाहिरिने संभावना हुँदैन। तैपनि प्रत्येक दिन जसरी सामाजिक सञ्जालमा प्रश्नको फोटो राखिएको पाइन्छ, यसबाट सुरक्षा चुनौती बढेको देखिन्छ। यस प्रकारको हर्कतलाई बेलैमा नियन्त्रणमा नलिने हो भने स्थिति जटिल बन्ने निश्चित छ।

(लेखक प्रदेश २ अन्तर्गत शिक्षा विकास तथा समन्वय एकाइ बाराका प्रमुख हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width