पोलियो रोग उन्मुलन अभियानमा रोटरी क्लवको योगदान

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७०

स्वार्थरहित सेवाको उद्देश्यले सन् १९०५ फ्रेबु्रअरी २३ मा संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा पावल पर्सिनल हेरिससहितको नेतृत्वमा रोटरी क्लब स्थापना भएको थियो। यसको शुरुको स्थापनाकालीन उद्देश्य साथीहरू बीच नियमित भेटघाट गरी आपसी सम्बन्ध प्रगाढ गर्ने तथा सुख दुःखका कुरा गर्ने माध्यमको रूपमा सीमित थियो। सदस्य साथीहरूको घर तथा अफिसमा आलोपालो गरी रोटेशनको आधारमा बैठक गर्ने प्रचलनबाट क्लब शुरुवात भएकोले यस क्लबको नाम “रोटरी” रहन गएको थियो। शुरुका दिनमा सदस्य साथीहरूबीच आत्मीय अभिवृद्धि गर्ने क्लबको एकमात्र लक्ष्य रहेता पनि क्लबका सदस्यहरूमा निहित सिप र साधनलाई समाजसेवामा प्रयोग गर्ने उद्देश्यसहित सिकागो शहर, अमेरिकामा पहिलो रोटरी क्लबको बिधिवत स्थापना भएको थियो।

क्रमशः रोटरीको लोकप्रियता यसरी बढ्दै गयो कि थोरै समयको अन्तरालमै अमेरिकामा धेरै रोटरी क्लबहरूको स्थापना हुन पुग्यो। रोटरी क्लब विश्व व्यापी हुदै नेपाल लगायत विश्वभरीका ३४ हजार रोटरी क्लबमा करिब  १३ लाख रोटरीयन सदस्यहरू सामाजिक, मानवीय र व्यवसायिक सेवाको क्षेत्रमा समर्पित रहेका छन्।

नेपालमा रोटरीको प्रवेश अन्तराष्ट्रिय रोटरीको स्थापनाको झण्डै ५० वर्षपछि विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको पहल र नेतृत्वमा नेपालमा रोटरी अभियानको शुरुवात भएको थियो। सन् १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाण्डौको विधिवत गठन भएको थियो। उक्त रोटरी क्लब स्थापना  भएको १८ वर्ष पछि रोटरी क्लब अफ विराटनगरको गठन भयो। हाल नेपाल अधिराज्यको विभिन्न स्थानमा ८७ वटा रोटरी क्लबहरू सामाजिक, स्वास्थ्य, शैक्षिक र मानवीय सेवामा सेवारत रहेको पाईन्छ।

रोटरी क्लबका कार्यहरू :

रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानवीय हितका लागि सेवामूलक कार्यहरू संञ्चालन गर्दै आइरहेका छन्। समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा रोटरी क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको छ।

त्यस्तै स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ गर्दै पोलियो रोग उन्मुलन कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधी तथा उपकरण वितरण आदि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आफ्नो क्रियाकलापमा विस्तार गरेको छ।

रोटरी क्लबले विभिन्न सामाजिक संघ संस्था र असहायहरूलाई सहयोग र राहत प्रदान गर्दै आएको छ भने दृष्टिविहीन, अपा· र ज्येष्ठ नागरिक वृद्धवृद्धाहरूलाई समय अनुकुल आर्थिक र भौतिक सहयोग समेत गर्दै आएको छ। मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोगी हातहरू अगाडी बढाउने सर्न्दर्भमा आफ्नो सीमित साधन र स्रोतको अधिकतम परिचालन तथा रोटरी अन्तर्राष्ट्रियको सहयोगमा खानेपानी आयोजना, व्यवसायिक प्रशिक्षण केन्द्र सार्वजनिक सडक संरक्षण, वृक्षारोपण र स्वास्थ्य केन्द्र निर्माण आदि विभिन्न सामुदायिक क्षेत्रमा कार्यहरू विस्तार गर्दै आइरहेको छ।

पोलियो रोग र खोप सम्बन्धमाः

पोलियो नामको जिवाणु (भाइरस) बाट लाग्ने सरुवा रोगलाई पोलियो रोग भनिन्छ। पोलियो रोग लाग्दा स्नायुमा आक्रमण हुन्छ र शुरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, थकाइ लाग्ने र केही दिनपछि हातखुट्टा लुलो ल·डो भई पक्षघात हुने गर्दछ र कहिलेकाँही पोलियो रोगको कारण बालबालिकाहरूको मृत्यु पनि हुन सक्छ।

पोलियो रोग धेरै जसो ५ वर्ष मुनिका बालबालिकाहरूलाई लाग्छ तर यो जुनसुकै उमेरका मानिसहरूलाई देखिन सक्छ। त्यसैले १ वर्ष मुनिका बालिबालिकाहरूलाई नियमित खोप कार्यक्रम मार्फत ३ पटक पोलियो थोपा खुवाएर पोलियो रोग लाग्नबाट बालबालिकाहरूलाई बचाउन सकिन्छ।

पोलियो रोग उन्मुलन अभियान :

देशको सुन्दर पर्यटकीय नगरी पोखरा र लेखनाथ नगरपालिकामा रोटरी क्लब अफ पोखरा, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ र न्युरोड गरी ६ वटा क्लबहरू सक्रिय रहेको पाइन्छ। रोटरी क्लबले मानवीय हितका लागि सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। विश्वभरी फैलिएको रोटरी क्लबले सन् १९८५ मा पोलियो उन्मुलन को लागि ऐतिहासिक प्रतिवद्धता गरी विश्वभरीमा सम्पूर्ण बालबालिकाहरूको लागि पोलियो रोगको उन्मुलनसम्बन्धी खोप खुवाउने र विश्वबाटै पोलियो रोगको निराकरण गर्ने महान कार्यमा सक्रियतामा साथ लागि परेको छ। विश्वबाट पोलियो रोगको उन्मुलन गर्न रोटरी अन्तर्राष्ट्रियले ६ अर्ब डलरभन्दा बढि रकम यस क्षेत्रको कार्यक्रममा खर्च गरिसकेको छ।

विश्व स्वास्थ्य संगठनको प्राविधिक सहायता र सल्लाह, नेपाल सरकारको प्राविधिक सहयोगमा युनिसेफबाट प्राप्त खोप र प्रयासमा देशभर कार्यरत रोटरी क्लबहरूले खोप अभियानलाई समन्वय गर्दै आइरहेका छन्। नेपालमा  पोलियो उन्मुलन भएता पनि सन् १९९९ को शुरुदेखि सन् २०१० को नोभेम्वरसम्ममा ३२ जना पोलियो रोगीहरू भेटिएका थिए। उक्त पोलियो उन्मुलन अभियानलाई अरु प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन विविध रूपमा थप कार्यक्रम सञ्चालन गर्ने भविष्यको योजना रहेको छ।

विश्व स्वास्थ्य  संगठनले  विश्वबाट  पोलियो रोगकेा उन्मुलन गर्ने निर्णय गरेको दुर्इ दशक बितिसकेको छ। त्यसबेला विश्वमा १२५ देशहरू पोलियो रोग संक्रमणबाट प्रभावित भएका थिए। रोटरी अन्तर्राष्ट्रियको विशेष पहल र सहयोग पछि हाल उक्त संख्या घटेर तीन वटा देशमा सीमित हुन पुगेको छ।  पाकिस्तान, नाईजेरिया र अफगानिस्तानमा अहिले पनि पोलियो रोग उन्मुलन भइरहेको छैन। पछिल्लो तथ्याड्ढ अनुसार यस वर्ष २९६ जना पोलियो रोगबाट प्रभावित भएको देखिन्छ। त्यसैले रोटरी अन्तर्राष्ट्रियले पोलियो रोग न्युनिकरणको लागि सक्रियताका साथ मन वचन र कर्मले लागि परेको छ।

विश्व स्वास्थ्य  संगठनले पोलियो रोग निवारणको लागि २४ अक्टोवरलाई विश्व पोलियो दिवसको रूपमा मनाउने घोषणा गरेको छ। यो लोककल्याणकारी कार्यमा सर्वसाधारणलाई जनचेतना जगाउने उद्देश्यले पोखरा तथा लेखनाथमा रहेका रोटरी र रोटार्‍याक्ट क्लब लगायतको संयुक्त आयोजनामा पोखरादेखि लेखनाथ हुँदै पोखरासम्म पोलियो जनचेतना र्‍याली समेत सम्पन्न गर्दैछ। नेपालमा डिसेम्बर २१ -पौष ६) र जनवरी २५ -माघ ११) गरी २ दिन बालबालिकालाई पोलियो खोप खुवाउने कार्यक्रम रहेकोे छ। “पूर्ण खोप सुरक्षित भविष्य नेपाल” को अभियानमा सहयोग गर्नु सबैको दायित्व रहेको छ। अतः मानवीय  तथा समाजसेवामा “सेवा हि परम् धर्म” भन्ने मूलमन्त्रलाई सहि अर्थमा सार्थक गराउने क्रममा रोटरियनहरूले समाजमा विभिन्न क्षेत्रमा उल्लेखनीय समाज सेवाका कार्यहरू गर्दै आइरहेका छन् ।

(लेखक,  रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width