पोखरा उपत्यकाव्यापी सफाइ अभियानको सय हप्ता

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७५

पोखरा उपत्यकामा गत २ वर्ष जति पहिले  (सन २०१६ मे ५ वातावरण दिवस को अवसर पारेर ) पोखरा उपत्यकाव्यापीं सरसफाइ अभियान नागरिक समाज कास्कीकेा अगुवाइमा शुरु भएको थियो। यसमा व्यापक जनसहभागिता भएको देखिएको छ भने धेरै संघ संस्थाहरुले ऐक्यबद्धता प्रकट गर्दै सक्रिय संलग्नाता देखाएका थिए।  यसमा पोखरा लेखनाथ महानगरपालिकाले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ।

यसमा धेरै सरकारी, गैरसरकारी निकाय, आमा समूहहरु लगायत धेरै संघ संस्थाहरुले यस अभियानमा आफूलाइ समाहित गरेका छन्। यसमा नागरिक समाजका पूर्व संयोजक रामबहादुर पौडेलको अगुवाइ वा नेतृत्व  प्रशंसनीय छ। म आफै पनि संभव भएसम्म यस अभियानमा एउटा पत्रकारको रुपमा सहभागी भएँ। २०७५ वैशाख ५ गते शनिवार यस अभियानको १०० हप्ता पुग्दा पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा एकै पटक वहिान ७.३० बजे बाट करिब एक घण्टा ठूलो जनसमुदाय एकै पटक सरसफाइ अभियानमा जुटेका थिए। यो पोखराकै लागि एक ऐतिहासिक घटना सिद्ध भएको छ।

तर यति हुँदाहुँदै पनि पोखरामा सरसफाइमा कमी भएको देखिन्छ। कहिले काहिं एउटा कुना बाट सफा गर्दै गयो सफाइ अभियान अर्को ठाउँमा पुग्दा पहिलको ठाउमा पहिले जस्तै फोहर पनि जम्मा भइसकेको देखिन्छ। कुनै एक वडा को अमुक ठाउँमा अब यहाँ फोहर गर्नेलाई कारवाही हुन्छ भनेर कुनै जनप्रतिनिधिले भाषण गरेको भोलिपल्ट त्यहींनेर हेर्न जाँदा डंगुर का डंगुर फोहर थुपारिसकेको हुन्छ। यस्तो व्यवहार देख्दा तिमीहरु जतिसुकै कराउ हामी फोहर गर्न छाड्दैनौ, हामीलाई के गर्नसक्छौ भनेर अभियान कर्ताहरुलाई चुनौती दिएको भान हुन्छ।

यसै  सर्न्दर्भमा हामीले पोखरालाई स्वच्छ सुन्दर सफागर्न अरु थप के के गर्न सक्छौं भनेर सम्बन्धित सबै निकायले गम्भीर भई सोच्ने, चुस्त नीति नियम कानूनहरु तर्जुमा गरी कार्यान्वयन गर्ने, अन्य संभव भएका सबै उपायहरुको खोजी गरी व्यवहारमा उतार्नु आवश्यक परेको देखिन्छ। यही आवश्यकतालाई महसुस गरेर केही प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर्न चाहन्छु।

१.     जबसम्म समुदायमै सफा गरी बस्ने संस्कारको विकास हुँदैन, र जबसम्म कुनै पनि अभियानले हाम्रो मन भित्र हाम्रो आत्मालाई छोएको हुँदैन तबसम्म कुनै पनि सकारात्मक अभियानको फल हामीले पाउँन सक्दैनौ.। पोखराको हेरक क्षेत्रमा यस्ता यस्ता आलिशान भवन बनेका छन् कि त्यहाँ भित्र पस्नु अगावै जुत्ता चप्पल खोलेर छुट्टै चप्पल लाएर घर भित्र पस्नु पर्ने व्यवस्था भएको देखिन्छ। तर त्यस्तै घरको केही पर फोहरको डंगुर त्यसै थुप्रिरहेको धैरै उदाहरणहरु दिन सकिन्छ। हामीलाई स्वस्थ भएर रहन, सभ्य भनेर चिनाउन आफ्नो घरमा मात्र सफा सुग्धर भएर हुँदैन घर वरिपरि कमसेकम आधा कि.मी व्यास भित्र सफा सुग्घर हुनु पर्दछ। त्यसको लागि समुदायकै सरसफाइप्रति समान धारणा र एकता हुनु पर्दछ। अर्थात हामीले सरसफाइ गर्नु पर्दछ भन्ने संस्कार विकास गर्न सकेमा अहिलेको जस्तो अभियान पनि शायद आवश्यक पर्दैन होला।

२.     हामीले कुनै सकारात्मक परिवर्तन ल्याउने हो भने हामीले साना साना बाबुनानीहरुलाई सफा सुग्घर कसरी गर्ने,वातावरण प्रदूषण किन हुन्छ, के गरी रोक्न सकिन्छ भन्ने नर्सरी स्कूल देखि वा प्राइमरी स्कूल देखिनै सम्झाउन सक्यौँ र यस्तो कुरा उनीहरुलाई व्यवहारमा कसरी उतार्ने भन्ने सिकायौं भने बल्ल हाम्रा यस्ता अभियानहरु सफल हुनेछन्। यसमा सबै शिक्षण संस्थाहरु चाहे प्रा.वि होस् चाहे मा .वि होस् चाहे क्याम्पस होस् वा विश्वविद्यालय होस् सबैको पाठ्य सामग्रीमै समावेश गर्नु पर्दछ।

३.     सरसफाइको लागि सबभन्दा तल्लो निकायमा जनशक्ति, स्रोत साधन परिचालन गर्नु पर्दछ। हाम्रो हरेक निकाय, वडा, क्षेत्र, टोल, गाउँ सफा सुग्घर राख्न केही निश्चित जनशक्ति, र निश्चित स्रोत साधन छुट्याएर परिचालन गर्नु पर्दछ। यसको लागि हरेक एकाइ, निकायमा बराबर अन्तक्रिर्या गर्दै स्थानीय स्तरमै पनि नियमहरु लागु गरेर कार्यन्वयन गर्नु पर्दछ। जनशक्ति छुट्याउने बेलामा सकेसम्म पालैपालो भोलिण्टीयरी गराउनु राम्रो हुनेछ।

यसमा इजरायलमा पढ्न जाँदाको अनुभव केही राख्नु चाहन्छु। इजरायलमा मैले तेलअभिभको एक नाम चलेका इन्सटीच्युटमा सहकारी सम्बन्धी तालिम लिन जाँदा भोलिपल्ट देखिनै दुर्इदुर्इ जनाको पालो लाएर पूर्ण अध्ययन केन्द्रको सफाइ सुग्घरमा ध्यान दिनु पर्ने नियम नै सुनाएको थियो। सानो तिनो फोहर देखिएमा आफैले सफा गर्ने सो सम्भव नभएमा तुरुन्तै जानकारी दिनु पर्ने कुरा सम्झाएका थिए।

४      नेपालमा सरसफाइ  गरेर बस्ने संस्कार नबसिसकेको हुनाले हामीसंग भएको यावत संचार साधन र माध्यमहरुले केही प्रतिशत समय सरसफाइ सम्बन्धी चेतना फैलाउने उपयुक्त सामग्रीहरु प्रचारप्रसार गर्नु पर्दछ। यस सम्बन्धमा हरेक र्सार्वजनिक स्थलहरुमा सरसफाइ सम्बन्धी चेतना फैलाउने बोर्ड, सूचनाहरु टाँगेर राख्नृु पर्दछ।

५      धरै जस्तो समस्याहरु हाम्रो व्यवस्थापकीय क्षमताको कमी कमजोरी ले पनि भएको हुन सक्दछ। त्यसैले फोहरमैला, दुर्गन्धयुक्त वस्तु, दृश्य प्रदूषण गर्ने वस्तुहरुको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवस्थापकीय सीप कला र ज्ञान हुनु पर्दछ। जस्तै हरेक ५/५ फिटमा ठूलो सानो फोहर फाल्ने कन्टेनर राख्ने र समय समयमा फोहर उठाउने व्यवस्था भएमा पोखरा केही समय पछि नै अत्यन्त सफा र सुन्दर देखिन्छ।

६      दण्ड जरिवानाको व्यवस्था पनि अत्यन्त आवश्यक देखिन्छ। हामी यति कागजको टुक्रा वा सुन्तलाको बोक्रा,केराको बोक्रा यस्सो बाटोमा फाल्दा के नै हुन्छ भनी सोच्दछौं। त्यस्तै गुड्दै गरेको बसबाट आफूलाई नचाहिने केही कुरा फ्याकेर के नै हुन्छ भनेर सोच्दछौँ। यस्तो प्रवृत्तिलाई हटाउन केही दण्ड, सजाय वा जरिवाना गराउनेै पर्दछ। उदाहरणको लागि म चीनको बेइजिङको चाइनिज भाषा इन्सिटीच्यूटमा अध्ययन गर्दाको एक घटना सम्झन्छु।  म झ्याल निरको वेन्चमा बसेको थिएँ। त्यहाँ मैले आफ्नो वेन्चमा अलिधुलो लागेको देखेर एउटा कापीको पन्ना च्याती पुुछेर त्यो कागजको टुक्रा झ्यालबाट फुत्त बाहिर फालें। मलाई पढाउने गुरुमाले शुरुमा त केही भन्नु भएन तर जब क्लास सिध्याएर सबै विद्यार्थीहरु बाहिर जान लागे पछि मलाई संकेत गरेर तिमी एकछिन यहीं बस भनेर मलाई रोक्नुभयोे।

सबै विद्यार्थी गए पछि मलाई गुरुआमाले -शिक्षिकाले)  करिब एक घण्टा रोकेर लामो भाषण र तर्क सुनाउनुभयो। तिमी हाम्रो क्याम्पस हाता बाहिर गएर हेर्र्नु त कहिं कतै एक टुक्रा नचाहिने कागज फ्यांकेको हँुदैन। हो, पुरानो चीनमा यस्तो फोहर धेरै हुन्थ्यो अब त हामीहरुको देश समाजवादमा गएको छ। यहाँ त हरेक सानो सानो कुरामा पनि हामी धेरै ध्यान दिन्छौं, फोहर गरेमा सख्त कारवाही हुन्छ।

यहाँ कोठा भित्रै कुनै कागज फ्याक्नु परेमा डस्टबिन राखेको हुन्छ। तिमीले कक्षा सिध्याएर सो कागज डस्टबिनमा फ्याकेमा मैले केही भन्ने थिइनँ आदि आदि भनेर मलाई सम्झाउनु भयो र आफूले फ्रयाकेको कागज फेरि तल गएर डस्टबिनमा राख्न भन्नु भयो। यसरी वहाँले मलाई सफा सुग्धर कसरी रहनु पर्दछ भनेर ठूलो पाठ सिकाउनु भयो।

७. सफा सुग्घर भएर बस्नु र वरिपरि सफा सुग्घर स्वच्छ बनाएर रहने प्रोत्साहन दिन कहिलेकाहीं उचित मूल्यांकन गरेर केही  भौतिक वा नगद उपहार दिन सक्दछौं। जस्तै कुर्नै वडा वा टोल वा क्षेत्र सफा राखिएको देखिएमा सो वडालाइ केही न केही कार्यक्रम गर्ने अवसर दिने त्यही ठाउँमा भ्रमण गराएर राम्रो काम को प्रचार प्रसार गरिदिने आदि गर्न सकेमा पनि सफा सुग्घर भएर बस्ने बानीको विकास हुन्छ।

उपरोक्त तर्कहरु मेरा केही विचारहरु मात्र हुन्। पोखरा उपत्यका वृहत सरसफाइ कार्यक्रम नागरिक स्तरबाट गरिएको कार्यक्रम मध्ये अत्यन्त सकारात्मक फलदायक कार्यक्रम हो। तर कुनै पनि सकारात्मक कार्यक्रम सफल हुन वा गराउनु सबै तप्का का जनताको आत्मीय सहभागिता हुनु पर्दछ। यस्तो कार्यक्रम वा अभियानमा प्रत्येक ब्यक्तिले आत्मसात गर्न र गराउनु सक्नु पर्दछ। भविष्यमा यस अभियानले अझ उच्चस्तरको सफलता हासिल गरोस भन्ने शुभकामना यही लेखमार्फत व्यक्त गर्न चाहन्छु।

Related News

सम्बन्धित समाचार

hero news full width