पोखरामा बुद्ध बाल घुम्ती पुस्तकालय

आदर्श समाज सम्वाददाता
पौष १९, २०६९

सबै जाति, वर्ग, सम्प्रदाय र लिङ्गका मानिसहरूको कल्याणले मात्र समाज, राष्ट्र र विश्वमा नै एकता र शान्ति कायम हुन सक्छ। वसुधैव कुटुम्वकम् (विश्व एक परिवार) को फराकिलो दर्शनलाई पछ्याउने सभ्य र सुसंस्कृत सामाजिक उत्तरदायित्वप्रति सचेत हामामात्चु नगरका जापानी नागरिकहरूको पहलमा सन् २००१ मा बुद्ध फाउन्डेशन जापान स्थापना भएको हो। यस संस्थाका सम्पूर्ण संस्थापक सदस्यहरू आ-आफ्ना पेशा र व्यवसायका क्षेत्रमा विशिष्टरूपले सफल हुनुका साथै समाज रूपान्तरणका लागि इमान्दारीपूर्वक दत्तचित्त भएर खटिएका छन्। व्यक्तिगत स्वार्थको चौघेराबाट माथि उठेर निस्वार्थ र उदार भावनाले सामाजिक सेवामा लागेका उनीहरूले जब नेपालको कास्की जिल्लामा आउँदा यहाँका गाउँवस्तीहरूमा गरिवीको जाँतोमा पिल्सिन बाध्य धेरै नेपाली दाजुभाइ दिदीबहिनीका दुःख दर्द आफ्नै आँखाले देखे, उनीहरू हात फुकाएर सेवा गर्न अगाडि बढे।

यिनै समाजसेवी जापानीहरूको सेवाभावले प्रभावित भएर कास्की जिल्लाका जागरुक नागरिकहरूले उनीहरूको प्रयासलाई सघाउने सकारात्मक विचारले वि.सं. २०६२ -सन् २००५) सालमा एउटा विशुद्ध सेवामुखी सामाजिक संस्थाको रूपमा हिमालयन बुद्ध फाउन्डेशन कास्की दर्ता गरे। विचार र लक्ष्य एउटै लिएका यी दुर्इ संस्थाहरूको साझेदारीमा कास्की जिल्लाका विभिन्न गाउँहरूमा आजसम्म नौवटा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेका छन्। जापानका मेडिकल डाक्टरहरूका साथमा पोखराका धेरै स्वास्थकर्मीहरूको सहयोगले यी शिविरहरू अत्यन्त स्तरीय र लोकप्रिय भए। करिब सात हजार गाउँले दाजुभाइ दिदीबहिनीहरूको स्वास्थ्योपचार र औषधिसमेतको खर्च आफैले गरेर साँचो समाजसेवाको उदाहरण प्रस्तुत गर्ने सफलता प्राप्त भएको हो।

यसरी स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा विभिन्न विद्यालयहरूको वास्तविक चित्र यी दुवै संस्थाहरूको अध्ययनमा आइसकेको थियो। विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीहरूका लागि बेलाबखत विभिन्न सहयोगसमेत प्रदान गरिएको थियो। मन, वचन र कर्मले सेवामा अगाडि बढेका यी पाइलाहरूलाई कास्कीका गाउँवस्तीले अझ आकषिर्त गरिरÞयो। स्वास्थ्य र शिक्षाजस्ता अत्यन्त महत्त्वपूर्ण विकासका पूर्वाधारहरूको दयनीय हालत देखेर भावविÞवल मनहरूले २०६९ साल वैशाख २० गते नयाँ सहमति र सड्ढल्प गरे। बुद्ध फाउन्डेशन जापान र हिमालयन बुद्ध फाउन्डेशन कास्की, नेपालका बीचमा सम्पन्न त्यही ऐतिहासिक सहमतिअनुसार यी दुर्इ संस्थाहरूको आपसी समझदारी र सम्झौता अनुसार सञ्चालन गर्ने गरी बुद्ध बाल घुम्ती पुस्तकालयको स्थापना भएको हो।

नेपालको कास्की जिल्लाका खासगरी ग्रामीण भेकका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तकालयका सुविधाहरू सर्वसुलभरूपमा उपलब्ध गराउने सोचाइ यो पुस्तकालयले लिएको छ। नियमित अध्ययन अध्यापनको परिपुरकका रूपमा पुस्तकालयका विभिन्न श्रोत साधनहरूको पहिचान र प्रयोगको अभ्यासले असल शिक्षा आर्जनमा योगदान गर्दछ। अध्ययन संस्कृतिको विकासका लागि पुस्तकालयको महत्त्वका बारेमा चेतना अभिवृद्धि गर्न तथा पुस्तकलगायत अन्य उपयोगी सृजनाहरूप्रति आदरभाव जगाउन आवश्यक छ। व्यक्तिगत सफलताको साथसाथै सामूदायिक विकास र सामूहिक उपलव्धिलाई आधार मानेर वैयक्तिक उत्तरदायित्व महसुस गर्न जोड दिने खालका कार्यक्रम पनि सँगसँगै लैजाने यो परियोजनाको उद्देश्य रहिआएको छ। आत्मविकास र समय व्यवस्थापन जस्ता जीवनोपयोगी सीपहरूको अपरिहार्यतालाई शिरोधार्य गर्दै यस्ता सीपहरूको प्रभावकारी विकासका लागि समेत ठोस प्रयास गरिने छ। समुदाय, राष्ट्र र विश्वका घटनाक्रमहरूका बारेमा बढ्दोरूपमा जानकारी र समझदारी हासिल गर्ने अवसर प्रदान गरी सम्पूर्ण मानिसहरूप्रति सद्भाव र अन्तर्राष्ट्रिय समझदारी विकास गर्न व्यक्तिगत र सामूहिक गतिविधिहरूको बाटो खोल्नेजस्ता लक्ष्यहरू यस पुस्तकालयले अ·ीकार गरेको छ।

सुशिक्षाका लागि प्राथमिकता दिँदै यस पुस्तकालयले कास्की जिल्लाका नगरक्षेत्रदेखि टाढा रहेका बालबालिकाहरूका लागि आफ्नो स्तरीय घुम्ती पुस्तकालयवाहनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अध्ययन सामग्रीहरू निःशुल्क उपलब्ध गराउँछ। पुस्तकहरू पालैपालो सम्बन्धित सदस्य विद्यालयहरूको जिम्मामा दिइने छ। पुस्तकालयका तर्फबाट विभिन्न सहक्रियाकलापहरू सञ्चालन गरी विद्यार्थीका अन्तरनिहित प्रतिभाहरूको प्रष्फुटनका लागि अवसरहरू जुटाइने छ। हाल सुरूवातका लागि कास्की जिल्लाका माछापुच्छ्रे, पुरुन्चौर, धम्पुस, ढिकुरपोखरी र भदौरे गाविसका एक/एक विद्यालय गरी पाँचवटा विद्यालयका विद्यार्थीहरूलाई यो सेवा उपलब्ध गराउन लागिएको छ र निकट भविष्यमा नै यस कार्यक्रमको प्रभावकारितालगायतका विविध विषयमा अध्ययनलगत्तै यस सेवालाई अन्य गाविस र धेरै विद्यालयसम्म विस्तार गरिने योजना रहेको कुरा जानकारी गराउन चाहन्छु। स्मरण रहोस्, सदस्यता प्रदान नगरिएका विद्यालयका विद्यार्थीहरू र सम्पूर्ण सर्वसाधारणहरूले समेत यस पुस्तकालयमा निःशुल्क अध्ययन सुविधा पाउने व्यवस्था गरिएको छ। पुस्तकालय प्रत्येक सोमबारदेखि शनिबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने र आइतबार तथा नेपाल सरकारले सार्वजनिक बिदा भनेर तोकेका दिनहरूमा भने बन्द हुने छ।

कास्की जिल्लाको प्रमुख पर्यटकीय केन्द्रको रूपमा रहेको पोखराको लेकसाइडमा यस पुस्तकालयको केन्द्रीय कार्यालय रहेकाले अन्य विदेशी पाहूनाहरू पनि यस सामाजिक कार्यमा आकषिर्त हुनसक्ने अवस्थालाई नकार्न सकिँदैन। त्यो भन्दा पनि यो संस्थालाई सम्पूर्ण कस्केली जनसमुदायहरूको आ-आफ्नो स्तरबाट सहयोग र सद्भाव मिल्दै जानेछ भन्ने अपेक्षा गरिएको छ। खासगरी यस क्षेत्रका शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन र अभिभावकहरूको माया तथा सल्लाह र सुझावहरू पाउन सके हामीलाई अझ बढी गहकिला कार्यक्रम ल्याउन उर्जा मिल्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width