पोखराको सुन्दर भविष्य

तिलकप्रसाद आचार्य
श्रावण २१, २०७६

पोखराको विमानस्थल पारि सरेपछि विमानस्थल खाली हुन्छ। पुरानो विमानस्थलको उत्तरतर्फको आधा भागमा बस स्टप बनाउने दक्षिणतर्फको आधा भागमा सुन्दर हरियालीयुक्त विश्रामस्थल बनाउन उचित हुन्छ।

पोखरा विश्वकै सुन्दर पर्यटकीय नगर हो। पोखरामा एक दर्जन जति तालहरु छन्। माछापुच्छ्रे अन्नपूर्ण हिमाल नजिकैबाट देख्न सकिन्छ। डेभिज फल, गुप्तेश्वर महादेव, फेवातालको माझमा रहेको तालवाराही मन्दिर पनि अत्यन्तै दर्शनीय छ। क्षेत्रफलको दृष्टिकोणले पोखरा सबैभन्दा ठूलो महानगरपालिका हो। काठमाण्डौमा दुई ओटा रिगंरोड बनिसकेका छन्। गण्डकी प्रदेशको गत सालको अर्वो रुपैयाको बजेट ल्याप्स भएकोछ। कम्तीमा एउटा रिगं रोड बनाउन शुरुआत गर्नु पर्दथ्यो। रिगंरोडको आवश्यकता प्रदेश सरकारमा रहेका मन्त्रीहरुको दिमागमा भए जस्तो देखिएन। यसको प्रसंग समेत चलेको छैन।

गगनगौडा पारिबाट उत्तरी भागतर्फ पोखरा देखिने गरी रिङगरोड शुरु गरी भरतपोखरी, निर्मलपोखरी हुँदै कृष्तीनाच्ने चौर हुँदै फुर्सेखोला हुँदै छोरेपाटनको रानीवनको पुछार हुँदै फेवातालको आडबाट पामे पुर्याएर पामेबाट सराङकोट कास्कीकोटबाट ह्याङजा र काउँ भलाम हुँदै विजयपुर खोला पुरयाउनु पर्दछ। यसरी वाहिरीभाग रिङगरोड तुरुन्तै शुरु गर्ने निर्णय गर्नु पर्दछ र सो को भित्री भागमा अर्को रिगंरोडको योजना बनाउनु पर्दछ। पोखरा महानगरपालिकालाई सुन्दर पर्यटकीय शहरको रुपमा स्थापित गर्न दुईटा रिगंरोड बनाउनु उचित हुन्छ।

विगतमा पोखराको केदारेश्वरबाट माथि बुद्धगुम्बासम्म केवुलकार संचालन गर्न खोजिएको थियो। स्थानीय केही व्यक्तिहरुले सो कार्यको विरोध गरी वकील राखी अदालतबाट केवुलकार राख्न नपाउने निर्णय गराइएको थियो भन्ने खवर सुनिएको थियो। यो समुचित कुरा थिएन। केदारेश्वरबाट रानीवन हुँदै बुद्ध गुम्वासम्म केवुलकार संचालन गरिएको भए पर्यटकीय दृष्टीकोणले अत्यन्त राम्रो हुने थियो। एउटै नजरमा हरियो वन विशाल ताल माछापुच्छ्रे हिमाल अवलोकन गर्दा विदेशी र नेपालीहरुका निमित्त पनि मन्त्रमुग्ध पार्ने खालको हुन सक्थ्यो। विश्वको अत्यन्त आनन्ददायक दर्शनीय स्थल हुन सक्थ्यो। कस्को दिमागले यो कार्य रोक्का गर्न लगाइयो यो दुःखद कुरा हो।

विगतमा वामदेव गौतम उप–प्रधानमन्त्री हुँदा तालपारीबाट र फेवा बाँधको एरियाबाट बौद्ध गुम्वासम्म केवुलकार लैजान र बाँध तल्लो भेगमा मोटरेवल पुल बनाउने कार्य पहल गर्न यो पंक्तिकारले अनुरोध गरेको थियो। उहाँले केवलकार संचालन गर्न र पुल बनाउने कुरा थालनी गर्ने वचन दिनु भएको थियो। तर तुरुन्तै उहाँ सम्मिलित सरकार विघटन भएकोले सो कार्य पूरा हुन सकेन।

दार्जिलिङको चिया वगान माथि केवुलकार चलाइन्छ। त्यस्तै सिक्किमको गान्तोक शहरमा पार्क दृष्यावलोकन गर्न केवुलकार चलाईएको छ। विश्वका कैयौं शहरहमा केवुलकार संचालन गरिएको छ। काठमाण्डौंको शिवपुरीमा तीन तर्फबाट केवुलकार पुर्याइएको खवर सुनिएको छ। पोखरा महानगरपालिकामा केवुलकारको जालो बनाउन उचित हुन्छ।

पोखरा १७ छोरेपाटन स्थित डेभिजफल र गुप्तेश्वर अवलोकन गर्न प्रतिदिन स्वदेशी तथा विदेशी हज्जारौँ पर्यटक आउँछन्। कतिपय पर्यटकहरु पैदल यात्रा गरी डाँडामा रहेको बौद्ध गुम्वा हेर्न जानेछन्। छोरेपाटनबाट बौद्ध गुम्वासम्म केवुलकार संचालन गर्ने हो भने ठूलो आम्दानी हुन सक्तछ। बौद्ध गुम्वाको एरियाबाट तालपारिसम्म केवुलकार संचालन गर्दा पर्यटकीय आकर्षण ठूलो मात्रामा बढ्न सक्तछ। तालपारी वैदाम, सेदी वा खपाउँदीबाट सराङकोट, कास्कीकोट हुँदै केवुलकार लुम्ले पुर्याउनु पर्दछ। लुम्लेबाट पञ्चासे र धम्पुस हुँदै माछापुच्छ्रेको फेदीसम्म केवलकार पुर्याउनु पर्दछ। यसरी केवुलकार संचालन गर्न प्रदेश सरकार स्थानीय तहहरुले पहल गर्नु पर्दछ। स्थानीय तहले मात्र संचालन गरेपनि प्रशस्त आय हुन्छ। कास्की जिल्ला भरिनै केवुलकारको जालो बनाउने हो भने यो एरिया पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्तछ। संचालन गर्दा बढी खर्च देखिए पनि दुई तीन वर्ष भित्रै खर्च पूर्ति हुन सक्तछ।

सुन्दर पोखरा निर्माण गर्न अन्तराष्ट्रिय विमान स्थल निर्माण र भविष्यमा विमान संचालन भएपछि यो अत्यन्त महत्वपूर्ण हुन्छ। पोखरामा ठूलो र व्यवस्थित वस पार्क छैन। यहाँ सुन्दर र हरियालीयुक्त वँगैचा पनि छैन। पोखराको विमानस्थल पारि सरेपछि विमानस्थल खाली हुन्छ। यो पुरानो विमानस्थलको उत्तर तर्फको आधा भागमा वस स्टप वनाउने दक्षिण तर्फको आधा भागमा अति सुन्दर हरियालीयुक्त विश्रामस्थल बनाउन उचित हुन्छ। यस्का निमित्त आज भोलि देखि नै योजना निर्माण गर्न शुरुआत गर्नु पर्दछ। पोखरा जस्तो विश्वकै सुन्दर पर्यटकीय नगरीमा हरियालीयुक्त सुन्दर विश्रामस्थल नहुनु दुखद कुरा हो। सुन्दर विशाल हरियालीयुक्त वगैंचा निर्माणको आवश्यकता आगामी केही वर्ष भित्रै पूरा गर्नु पर्दछ।

नेपालको दोस्रो ठूलो ताल, फेवाताल पोखरामा अवस्थित छ। अर्को भद्रकाली नजिकै कमल ताल छ। वेगनास एरिएमा सात ओटा ताल छन्। ९ ओटै तालको उचित संरक्षण गरी सुन्दरतायुक्त बनाउनु पर्दछ। हरेक तालमा पुग्न सहज र सरल रुपमा पहुँच पुर्याउनु पर्दछ। सवै तालहरुको अस्तित्व जोगाउन सीमा अतिक्रमण रोक्न सवै लाग्नु पर्दछ। विगत अर्थिक वर्षमा विकास बजेटमा अधिकांश हिस्सा खर्च हुन सकेन। प्रदेश सरकारका दिमागमा उक्त विषयप्रति ध्यान गएमा उपर्युक्त योजना परिपूर्ति हुन सक्तछ। सुन्दर पोखराले विश्वको ध्यान आकर्षण गर्न सक्तछ। तर प्रदेश सरकार प्रदेश विकास र निर्माणमा भन्दा आफनै सुविधामा प्रचुरमात्रामा ध्यान केन्द्रित गरेको देखिन्छ। विकास निर्माणको कामलाई अघि बढाउँदै जने हो भने वेरोजगारी समस्या समाधान हुँदै जान सक्तछ। अस्तुः

Related News

सम्बन्धित समाचार

hero news full width