पागल प्रलाप !

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७०

तपाइँको शब्दकोशले जेजस्तोसुकै परिभाषा गरेको भए तापनि मैले बुझेको पागल भनेको सामान्य मानिसको भन्दा पृथक व्यवहार देखाउने हावा खुस्किएको मानिस हो अथवा बहुला हो। यस परिभाषाभित्र आफूलाई राखेर हेदा म आफूले आफूलाई साँच्चै नै पागल   पाउँछु। उदाहरणकै रूपमा भन्ने हो भने अरू सज्जन मानिसहरूले आफ्नो कल्पनालाई साकार पार्न चाहन्छन् भने म त आफ्नो सपनाले पो साकार रूप प्राप्त गरोस् भन्ने   चाहन्छु। कल्पना भनेको नदेखेको वा नसुनेको कुनै नयाँ र अनौठो कुरो मनले अजमाउने वा प्रस्तुत गर्ने काम हो भने सपना भनेको निदाएको अवस्थामा देखिने दृश्य हो। अब तपाइँ नै भन्नुहोस् – सचेत मनले विचार गरिएको कल्पनालाई साकार पार्न छाडेर अचेत अवस्थामा देखिने सपनालाई साकार गर्न खोज्ने भएपछि म पागल नै भइनँ त। कहाँ चेतनसँग सम्बद्ध कल्पना, कहाँ अचेतन मनसँग आबद्ध सपना। साकार पार्ने के ? सपना कि कल्पना ? कसलाई सोध्ने हँ ?

तपाइँले आफूलाई आफ्नै खुट्टामा उभिएको देख्न चाहनुहुन्छ, आफ्नै कमाइमा रमाउन चाहनुहुन्छ, अझै तपाइँ राष्ट्रिय व्यक्तित्व हो भने राष्ट्रका समक्ष व्यक्तिहरूले आफ्नै देशमा पसिना बगाऊन् भन्ने चाहनुहुन्छ। तर मेरो घैंटामा कहिल्यै घाम लागेन किनभने मेरो चेतनामा त्यो विशालता कहिल्यै आएन। मलाई त मेरो स्वाभिमानले कहिल्यै आफ्नो बनाएन। मलाई त केवल पैसो चाहिएको छ, पैसो। त्यसैले मैले मेरा बीस वर्षनाघेका सबै सन्तानलाई हवाइ जहाजको टिकट कटाएर खाडीका मुलुकमा पठाएको छु र उनीहरूलाई भनेको छु-सधैँ स्वदेशको चिसो र स्वस्थकर हावापानी खाएरमात्र पुग्छ र ? खाडीको तातो बाफको हावा पनि निल्नुपर्छ, अनि पो मानिस खारिन्छ। मेरा सन्तानले बाहिरबाट पठाएको पैसाको रेमिट्यान्सले राष्ट्रको बजेट बनाउनसमेत सहयोग गरेकामा म गौरवान्वित भएको छु। आफ्नो श्रम र पसिना आफ्नै देशमा सिँचाईं गर्नुपर्छ भन्ने तपाइँको जस्तो राष्ट्रिय सोंच भएको भए मैले आफैले आफैलाई पागल भन्नुपथ्र्यो र ?

तपाइँलाई म पागल नै हूँ भन्ने कुराको सक्कली प्रमाणपत्र चाहियो भने म पागल भएको ओहोदाको प्रमाणपत्र जति पनि चढाउन सक्छु। ल कान खोलेर सुन्नुहोस्-मसँग जतिसुकै बुद्धि भए तापनि मैले आफ्नो बुद्धिले कहिल्यै पनि कुनै पनि काम गर्दिनँ। म बुद्धि लिन भनेर नजिकको छिमेकी कहाँ जान्छु र उसले जे जे गर भनेर बुद्धि दिन्छ, त्यही त्यही काम गर्छु तपाइँ भन्नुहोला ? परावलम्बी हुनु त हाम्रो राष्ट्रिय चरित्र नै हो, हाम्रो राष्ट्रले कहिल्यै आफ्नो विचारले काम गर्दैन। त्यसैले यो राष्ट्र जसले बुद्धि दिन्छ, उसैकहाँ जान्छ र बुद्धि लिएर फर्किन्छ, कहिले त कहिले त यस राष्ट्रलाई बुद्धि दिन भनेर बुद्धि भएको राष्ट्र हवाइजहाज चढेर आउँछ र हामीलाई हवाइबुद्धि दिएर फर्किन्छ। हो, म यसै राष्ट्रिय चरित्रमा सहमति राख्छु-राष्ट्रिय चरित्रमा सहमति राख्ने भन्दा ठूलो अर्को कुनै विपरीत बाटामा हिड्ने पागल हुनसक्छ, जुन नागरिकले राष्ट्रलाई सही निर्देशन दिँदैन, त्यस नागरिकलाई पागल नभनेर कुन संज्ञा दिने त ?

तपाइँका राष्ट्रिय कुराभन्दा मलाई आफ्नै कुरा मन पर्न थालेको छ। संसार परिवर्तनशील छ, त्यसैले मलाई परिवर्तनमा मात्र विश्वास लाग्न थालेको छ। पहिलेका मेरा पुखाहरू गोरु पाल्थे, खेती गर्थे र आफैले उब्जाएर खान्थे। हिजोआज मलाई त्यस माटी- कोरी प्रथाप्रति घृणा जागेर आएको छ। मैले आफूले उब्जाएर खान छाडिसकें। हिजोआज त मैले सातसमुद्र पारबाट जहाज चढेर आएको गहूँको आँटाको रोटा पकाएर खान थालेको छु अथवा मोटरले बोकेर ल्याएको चामलले भान्साको काम तमाम गरेको छु। कहिल्यै नसड्ने कडा औषधि गरेर सवारीमा सवार भएर देशपारबाट आएका तरकारी मण्डीबारीबाट ल्याएको छु। औषधि गरेर ल्याइएका तरकारीमा औषधि तत्त्वभन्दा बढी विषतत्त्व हुन्छ रे यो मन्दमन्द लाग्छ रे। भरखरै लाग्ने भए पो विषको पीर। मन्द मन्द लाग्ने विषको के फिकर। त्यसैले म झिक्रा गाडेर काँक्रा र घिरौला फलाउने पक्षमा छैन। केमिकलले पहेंलो पारेको वैज्ञानिक बेसार खान छाडेर हलेदो लगाउने बेवकूप सज्जन पनि त म होइनँ। हिजोआज अन्न पकाउने इन्धनमा पनि मैले व्यापक सुधार गरेको छु। परम्परागत दाउरे प्रथाको अन्त्य गरेको छु। ‘हराभरा बसुन्धरा’ भन्दै वन सम्पदाको सुरक्षामा ध्यान दिएको  छु। वन जोगाउन भनेर मह·ै मूल्यको भए तापनि खाडीबाट ल्याएको ग्याँस किनेको छु यसरी आफ्नो परम्परागत मूल्य र मान्यतामाथि धावा बोल्ने मलाई तपाइँले पागलकै संज्ञा दिनुपर्छ, होइन र ?

तपाइँ भन्नुहोला उहिलेकै भए तापनि राम्रा राम्रा कुरा त स्वीकार गरे पनि हुन्छ नि। ए सज्जन ! तपाइँका यस किसिमका रुन्चे सल्लाह मानेको भए मलाई कसले आधुनिक मान्छे भन्थ्यो हँ ? ‘आफ्नै जग्गामा उब्जाऊ, ताजा ताजा खाऊ’ ‘स्वस्थ तन, परिष्कृत मन’ बनाऊ भन्ने पुरातनपन्थी सोच तपाइँजस्ता सद्दे/सज्जनका आदर्शका कुरा होलान्। यस किसिमका सोच हामी पागलहरूका दृष्टिमा सडापडा र कवाडका हुन्, प्रतिगामी कुरा हुन्। आजको युगमा जसले आफ्नो कमाइमा विश्वास गर्ने इच्छा राख्छ ऊ प्रतिगामी हो, जसले ‘धन कमाऊ ऋण नलाऊ’ भन्छ ऊ समयभन्दा धेरै पछाडिको सोच भएको व्यक्ति हो। सज्जन हुनुभन्दा मूर्ख हुँदा फलीफाल हुन्छ भने त्यो बाटो किन नहिंड्ने हँ। तपाइँ नै भन्नुहोस् न-किनुवा सर्र्टिफिकेटले नै तपाइँको वृत्तिविकासमा सहयोग गर्छ भने तपाइँले टुपी कसेर रात रातभर किन पढ्ने हँ ? ऋण काढेर हाल टार्‍यो अनि कालान्तरमा त्यही ऋणलाई येन केन प्रकारेण अनुदानमा परिणत गरायो। यस्तो राष्ट्रिय परम्परामा हुर्किएको नागरिकले पसिना बगाई बगाई धन कमाएर किन सञ्चय गर्ने हँ – मान्छेले इच्छा गर्ने हो सबैभन्दा ठूलो इच्छा शक्ति हो। साँच्चै नै भित्रैबाट इच्छा गरिएको छ भने सफलता त बरबरती बर्सिन्छ। उदाहरणकै रूपमा हेर्ने हो भने तपाइँले हालै हुन गइरहेको संविधान सभाको निर्वाचनको तयारीलाई नमूना बनाउन सक्नुहुन्छ। निर्वाचन कार्यक्रमको सुरुवात हुनुभन्दा अगाडि नै विश्व बैड्ढले भन्यो :- म तिमीलाई मनग्य आर्थिक सहयोग गर्छु छिमेकी मुलुक भारत त आफै हस्याङफस्याङ गरेर उडेर आयो र भन्यो-तिमी निर्वाचन गर, म पुगनपुग आठसयवटा सवारीसाधन त निःशुल्क दान गर्छु उसले त्यति आश्वासन नदिएको भए हाम्रो एउटा दलले ‘भारतमात्र त्यस्तो देश हो, जसले हामीलाई सुरक्षा    दिन्छ।’ भन्ने अवसर पाउँथ्यो त ? यी उदाहरणहरू त केवल स्थालीपुलक न्यायका हुन्। खोज्दै जानुहोस् त तपाइँले यस्ता उदाहरणहरू मनग्य मनग्य पाउनुहुनेछ। छ्याल्लब्याल्ल देख्नुहुनेछ। यी सबै परिदृश्यलाई मैले पनि तपाइँले झैं नै ‘ठीकै त हो नि’भनिदिएको भए तपाइँले मलाई पागल भन्न सक्नुहुन्थ्यो त ?

म पागल भएकै कुराको सर्न्दर्भमा तपाइँसमक्ष केही कुरा राखूँ है त। तपाइँलाई मर्यादाक्रमसँग सम्बद्ध ‘प्रोटोकल’ एवं ‘स्टाटस्’ को महत्त्व थाहा छ कि छैन – तपाइँ स्वयंले स्वमर्यादाको पालना गर्नुभएको छ कि छैन ? त्यसबारेमा मलाई फिटिक्कै थाहा छैन। म आफू उदारवादी भएकाले होला- ‘कसारको कुन गुदी कुन बोक्रो’ भनेर सबैलाई समान आँखाले हेर्ने भएकाले सबैका आँखामा, आफू मूर्ख हुन्थें, पागल हुन्थें।

हालैको राष्ट्रिय घटनाले पनि मलाई गतिलै पागल बनाएको छ। हालैको भारतीय विदेशमन्त्री सलमान खुर्सिदको एक दिने नेपाल भ्रमणको वेलामा हाम्रा पूर्व प्रधानमन्त्रीहरू उनीसमक्ष होटेल द्वारिकाजमा नौनीजस्तै नरम भएर जुन नम्रता देखाए त्यस घटनाबाट मलाई के लाग्न थालेको छ भने हाम्रा नेताहरूलाई पदीय औपचारिकताभन्दा शिष्टाचार ज्यादै पियारो छ, शिष्टाचारको दृष्टिले हाम्रो मुलुकको स्थान निकै माथि छ। दुःखको कुरो ‘ट्रान्सपरेन्सी’ को प्रतिवेदन यिनै नेताहरूलाई लक्षित गरेर आयो-भ्रष्टाचारीहरूको महलमा नेपालका नेताहरू ‘नम्बर एक’मा पर्छन्। जनता र कार्यकर्ताले गरेको अनियमताको समेत उत्तरदायित्व वहन गर्नुपर्ने नेताहरूका लागि कति ठूलो विवशता र बाध्यता हकि – यो कुरा त ठीकै हो क्यारे भनेर मैले तात्तातै ट्रान्सपरेन्सीलाई विश्वास गरें। आफ्ना नेताहरूको विरूद्धमा आएको आरोपलाई समर्थन गर्ने मलाई पागल नभनेर के भन्ने त। यसै गरी जनताको खाँचो पूरा नगरी जनमतको फाँचो भएको कोठाको साँचो नबुझाउनुपर्नेलाई बुझाउने नेतालाई स्याबासी दिने मलाई पागल नभनेर सज्जन भन्ने हो त –

‘मामे चचेरे भाइ भाइ’ को शैलीमा फास्स न फुस्सको रोग जँचाउन छोराछोरीहरूको गास काटेर प्रवास जाने घरमूलीलाई औंलो ठड्याएर मुख फोर्न नसक्ने मलाई पागल विशेषण दिने तपाइँहरूलाई मैले धन्यवाद भनिदिंदा बढ्दा भनेको हुन्छ र ?

जब मैले कसैको प्रशंसा गर्ने क्रममा भूमिका निर्वाह गर्नुभयो भन्ने वाक्यको सट्टामा ‘भूमिका निभाउनुभयो’भन्छु र त्यति बेला तपाइँले नाक खुम्च्याएको देख्छु अनि मैले आफैलाई धिक्कार भन्छु-थुइक्क महापागल। मैले आफूलाई महापागल भन्ने क्रम यत्तिकैमा टु·दिैन। जब मैले एक घण्टा भाषण गरिसकेपछि ‘मेरा दुर्इ शब्द’ यहीं टु·्याएँ भन्थें -अनि तपाइँले मनमनै भन्नुहुन्थ्यो ‘यस्ता महाशयलाई महापागल नभनेर के भन्ने त -’

मैले भरखरै माथि गन्थन गरेका कुरा केवल पागलका प्रलाप हुन् – कि यथार्थ बोध हो मूल्याड्ढन हुँदै जाला। यतिखेर मैले मेरा गन्थनका बारेमा प्रतिक्रिया नआउँदासम्मन् चुपचाप बस्नु नै वेश होला कि भन्ने ठानेको छु र प्रस्ताव गरेको छु ?’यसै गरे कसो होला ? अरू कुरा त प्राप्त भएका प्रतिक्रियाका बारेमा पुनः प्रतिक्रिया दिने क्रममा गरूँला अहिलेलाई यत्ति नै हुँदैन र’ ?

Related News

सम्बन्धित समाचार

hero news full width