नेपाल समृद्ध हुँदैमा नेपाली जीवन सुखी हुँदैन

डा. गेहेन्द्रमान उदास “पोखरेली”
फागुन २२, २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीको बहुमतको सरकारले प्रचारमा ल्याएको समृद्ध नेपाल र सुखी नेपालीको नारा सबै नेपालीको कानकानमा घन्किरहेको छ। तर बुझ्नु पर्ने गहिरो कुरा के छ भने नेपाल समृद्ध हुँदैमा नेपालीहरुको जीवन शैली सुखी हुँदैन। सुन्दाखेरी सायद पाठकहरुलाई यो कुरा आश्चर्य लाग्ला र सरकारमा बस्नेहरुले हाम्रो विरुद्ध विरोधी कुरा गर्यो भन्न पनि सक्ला। तर मेरो कुरा यथार्थ हो।

राणाकाल र पञ्चायती राजको समयमा पनि दुनिया (त्यसबेला जनतालाई दुनिया भनिन्थ्यो)। को नाममा शासन चलाइन्थ्यो, दुनियाको सुखको लागि राजकाज चलाउने भनिन्थ्यो। तर राज्य चलाउनेहरुले आफूले मात्रै रजाइ गर्थे, सुख भोग गर्थे। राणा कालमा त राज्यकोशलाई प्रधानमन्त्रीले आफ्नै पेवा बनाउँथे। प्रधानमन्त्री अर्थात श्री ३ को पद छोडेपछि, एक वर्षको लागि कर्मचारीहरुको तलब दिनमात्र पुग्ने गरी रकम छाडेर राज्यकोशको सम्पूर्ण सम्पत्ति आफैले लिएर कोश नै खाली गर्थे। यो संस्कार, परम्परा पञ्चायत कालमा पनि रह्यो। तर अलिकति फरक ढ·ले।

आज जनताको सर्वाभौकिता र राज्यको मालिक जनता भएको लोकतान्त्रिक गणतन्त्र आएको अवस्थामा पनि त्यही राणाहरु र राजाहरुले चलाएको राज्यकोशलाई आफ्नै पेवा बनाउने संस्कार परम्परा नयाँ बोतलमा पुरानो रक्सी भने जस्तै नयाँ शैलीमा राजकोशलाई दोहन गर्ने शैली राज्य चलाउनेहरुले अपनाएर रजाइँ गरिरहेका छन्।

फरक यति कि राणाहरुले राज्यकोशलाई पेवा बनाई रित्याएर लान्थे भने पञ्चायत कालमा विदेशी बैंकमा राज्यकोशको रकम दोहन गरेर अकूत सम्पत्ति जम्मा गर्थे। अहिले राज्य चलाउने मन्त्री, सांसद र कार्यकर्ताहरुले तलब भत्ता र सुविधा बढाएर तथा राज्यकोशमा जम्मा हुनै पर्ने कमिसनलाई आफैले हात लागिगरेर सुखसयल गर्ने भएका छन्। जनताले करतिरेको रकम फजूल इन्धन खर्च गरेर, करोडौँको गाडी किनेर, विदेश भ्रमणमा गएको गयै गरेर, विदेशमा औषधि उपचार गरेर, व्यक्तिगत स्वार्थ पूरा गरिरहेका छन्।

देखाउनका लागि दुईचारओटा पुल बनाउने, बाटो निर्माण र मर्मत गर्ने, विकासको योजनाको घोषणा गरेर आँखामा छारो हाल्ने काम गरेको छ। जनताको लागि यस्तो देखावटी काम राणाकालमा र पञ्चायती कालमा पनि गरिरहेको थियो। तर जनताको शिक्षा, स्वास्थ्य, गाँसबाँस र कपासको कार्यलाई दिगो सक्रियताले गरिँदैनथ्यो। जनताको नाममा ती कार्यहरु गरेपनि त्यसबाट पनि आफूले व्यक्तिगत फाइदा नै उठाउँथे। अहिले पनि यस्तै भइरहेछ।

आफ्नो क्षेत्रमा विकासको काम गर्न भनेर संसदहरुलाई करोडौंंको रकम दिइन्छ। तर त्यो रकमबाट आफ्ना मान्छे र पार्टीका कार्यकर्तालाई विकासको नाममा पोस्ने काम भइरहेछ। त्यति मात्र होइन। पार्टी कार्यकर्ताहरुलाई करोडौँ रकम बाड्ने कामहरु सबै प्रधानमन्त्रीहरुले गर्दै आइरहेका छन्। राज्यकोशलाई परोक्षरुपमा पेवा बनाएको यो नयाँ शैली हो। त्यस्तो संस्कार र शैलीले राज्य चलाउने पार्टीका नेता र कार्यकर्ता यसरी समृद्ध भएका छन् र यिनै कार्यकर्ताहरुले जनतालाई थर्काउने पनि गर्छन्। तर सर्वसाधारण जनता कष्टकहरको उही पुरानै दुख, व्यथा, पीडा र अभावको भुमरिमा परेकै छ।

आजकाल पशुपति शर्माले गाएको गीत “लुट्न सके लुट कान्छा लुट्न सके लुट। अरु देशमा पाइदैन नेपाल मै हो छुट” खुवै प्रचार भएको छ। आफ्नै व्यथाको गीत सुनेर जनता नाचेको पनि यूट्यूवमा देखिन्छ। किनभने मनको व्यथा कसैले सुनाइदियो भने पनि पीडा कम हुने हुनाले गीतमा नाचेका हुन्। यस्तो नियती नेपाली जनताको भएको छ। यस्तै सन्दर्भमा मैले पनि एउटा लेख “भ्रष्टाचारै भ्रष्टाचार कहिलेसम्म ?” भनेर लेखेको हो। २०७५ फागुन १३ गतेको आदर्श समाजमा छापिएको छ। मेरो लेख पढेर शान्त्वनाको अनुभूति गरी ‘तपाईको लेख साह्रै घत लाग्दो छ’ भनी २–४ जना पाठकहरुले मलाई भने। हामी नेपालीको नियति यही हो –लेख्ने र पढेर पनि शान्त्वना लिने।

यो भयो राजकोशलाई आफ्नो पेवा मानेर समृद्ध हुने राज्य चलाउनेहरुको कुरा। अब विभिन्न तरिकाबाट सम्पत्ति जोडेर समृद्ध भएका धनी वर्गको कुरा। यस्ता धनीहरु पाँच प्रतिशत मात्र छ र ९५% जनता अभावको स्थितिमा छ (सी.आइ.एन.साझा खबर: काठमाडौं)। ती ५% धनीहरु भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएका नेताहरु र पार्टीहरुलाई चन्दा दिएर राज्यको स्तरबाट ठेक्कापट्टा लिएका, लाख देखि अरबौंको कमिसन खाएका, राज्यको ओहदामा बसेर अनियमित काम गरेर अरबौँको बेरुजु छोडेर सेवा निवृत्त भएका र सेवामै रहेकाहरु छन्।

यसबाहेक विदेशी सेवामा काम गरेर रेमिटेन्स प्राप्त गरेका तथा लाख लाख रुपियाँ पेन्सन प्राप्त गरेर मनमौजी जीवन विताएका समुदाय पनि यही ५ प्रतिशतमा पर्न आउँछन्। यिनीहरुसँग अकूत सम्पत्ति भएको हुनाले मनग्गे सम्पत्ति खर्च गरेर विदेशी सामानहरु प्रयोग गर्दछन्। क्रिम पाउडर देखिलिएर करोडौंको सवारी चढ्छन्, जसले गर्दा देशको वैदेशिक व्यापार घाटा प्रतिवर्ष बढेको बढेरै गएको छ। घट्ने सङ्केत नै देखिएको छैन।

जनताको शासन लोकतन्त्रमा त जनता नै धनी हुनुपर्ने हो। तर जनता उक्त ५ प्रतिशत धनीहरुको तुलनामा झन्झन् गरिब हुँदैन गइरहेछन्। यिनै धनीहरुले जति भने पनि मूल्य तिरेर मालसामान किन्ने गरेकोले बजारमा मनपर्दो किसिमले महङ्गी बढ्दै गएको छ। व्यापारीहरुले सय कडा १०% मात्र नाफा खाने नैतिकता छोडेर शतप्रतिशत, कसैले त त्योभन्दा पनि बढी नाफा लिन्छन्। यी नै ५% धनाढ्यहरु डाक्टर उपचारमा डाक्टरले भनेअनुसार फि तिरेर उपचार प्राप्त गर्छन् र प्राइभेट क्लिनिकका डाक्टरहरुलाई अमानवीय धन बटुल्ने चाहनालाई प्रोत्साहन दिइरहेका छन्। यिनीहरुकै कारणले सर्वसाधारण सेवाग्राहीहरुको लागि डाक्टरको र प्राइभेट क्लिनिकको फी र खर्च धान्नै नसक्ने गरी बढिरहेछ। कार्यालयमा यिनीहरुले पालो पर्खनु पदैर्न। पछाडीको ढोकाबाट पसेर वा टेबलमुनीबाट घूस दिएर वा विचौलियामार्फत रकम पुर्याएर सबभन्दा पहिले सजिलै काम फत्ते गरेर जान्छन्।

यी सबै तथ्यबाट के देखिन्छ भने समृद्ध सम्पन्न धनाढ्य हुने ५% ले मात्र सुखी जीवन बिताइरहेछन् र उनीहरुले देश र समाजको ९५% जनसंख्यालाई समस्यामा पारिरहेछन्। यसबाट स्पष्ट हुन्छ समृद्धिले मात्र जनजीवनमा सुखी जीवन ल्याउने रहेनछ। कवि शिरोमणी लेखनाथले “मै खाउँ, मै लाउँ, सुख सयल वा मौज गरुः मै हाँसु, मै नाचुँ अरु सब मरुन् दुर्वलहरु” भन्ने कुरालाई चरितार्थ गरिरहेछ। युवा किशोर–किशोरीहरुमा जसरी भएपनि धन हातपार्ने, धनाढ्य हुने संस्कारलाई आजको वातावरणले प्रोत्साहन दिइरहेछ।

धनाढ्यहरुमा धनको मात लागेर निमुखा–दुर्वल जनमानसलाई हेप्ने, हैकम जमाउने संस्कार विकास भइरहेछ। समाजमा चोरी, डकैती, बेइमान, अपहरण, ठगी, आदि नकारात्मक जीवनशैली बढिरहेछ। धनकै कारणले गर्दा धनाढ्यहरुलाई पनि सुरक्षाको चिन्ता भइरहेछ। यस्तो वातावरणमा समृद्धिको मात्र पछि लागेर इमान्दार जनजीवन शैली पनि भ्रष्ट हुन लागेको छ। यो ठूलो चिन्ताको कुरा भएको छ।

यस्तो स्थितिमा राज्य सञ्चालन गर्ने नेता र कार्यकर्ताहरुमा सादा जीवन र उच्च विचारको व्यवहार हुनुपर्थ्यो। लोकतन्त्रको सुखी जीवनको लागि यस्तो जीवनशैलीले जनजनमा स्वाभिमानी सोच र संस्कार जागृत गराउँछ। फेरि लेखनाथज्यू कै कथन, “बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत।” भन्ने भनाइमा सामाजिक वातावरणको सूत्रलाई देखाइएको छ। नेतृत्वमा बस्नेहरुमा नियम अनुसार मात्र पाउने तलब–भत्ता र सुविधा उपभोग गर्ने तथा देश र समाजको आर्थिक अवस्था अनुसार नियम कानून बनाएर, त्यसरी बनेको तलब सुविधा मात्र लिएर राज्यकोशलाई दुरुपयोग नगर्ने वातावरण बनाए भने, त्यस्तो वातावरणमा जनजीवन पनि तदनुसार बन्दै जान्छ। अनि मात्र नेपाली जीवनशैली सुखी बन्छ। पार्टी नेता र कार्यकर्ताहरुले लोकतान्त्रिक गणतन्त्र नेपालको नाम विश्वको गिनिज बुकमा लेखाउने यो ठूलो अवसर हो।

Related News

सम्बन्धित समाचार

hero news full width