नेपाली लोकनाचको वर्तमान अवस्था

प्रा.डा.कुसुमाकर न्यौपाने
चैत्र २१, २०७५

१ पृष्ठभूमि

लोकले मौखिक रुपमा सिकेर जानेको नाच लोकनाच हो। लोकनाचका निम्ति पहिले–पहिले कुनै शास्त्र बनेको थिएन। लोकले आफ्नेा मनोरञ्जनका निम्ति लोकनाच नाच्ने परिपाटी बसाल्यो। समाजमा एउटा व्यक्तिले नाचेर अरूलाई मनोरञ्जन गरायो। त्यस क्रियाका माध्यमबाट नाच्ने व्यक्ति समाजमा चर्चित बन्यो साथै लोकप्रिय पनि बन्यो। त्यही मोहका कारण अन्य व्यक्तिले पनि त्यस्तै ढङ्गले नाच्ने गर्न थाले। त्यो नाच एउटा वस्तीबाट अर्को वस्तीमा पुग्यो। यसरी लिखित् शास्त्र बिना नै मौखिक रुपमा जीवित रहेको नाच लोकनाच हो। यस्ता लोकनाच संसारका हरेक देशका आआफ्ना हुन्छन्। यस्तै हरेक जातिले पनि आफ्नो पहिचानयुक्त लोकनाच नाच्ने काम गरेका हुन्छन्। यसरी नेपाली समाजमा पनि विभिन्न प्रकारका लोकनाच प्रचलित छन्। ती लोकनाच केकस्ता छन्? ती नाचबाट हुने फाइदा के हुन्? तिनको वर्तमान अवस्था केकस्तो छ? भनेर यहाँ नेपाली लोकनाचका बारेमा संक्षेपमा चर्चा गरिँदैछ।

२ नेपाली लोकनाच

नेपालमा लोकनाचको इतिहास धेरै लामो भइसकेको छ। आरम्भदेखि अहिलेसम्म नेपाली लोकनाच केकति छन् भनेर समग्र अध्ययन भइसकेको छैन। यस्तो अवस्थामा नेपाली लोकनाच यति नै प्रकारका छन् भनेर तिनको साङ्गोपाङ्गो तथ्य औँल्याउने अवस्था सिर्जना भइसकेको छैन। प्रस्तोता तथा अध्येताहरूको रुचिअनुसार सड्ढलन गरी तयार पारिएका तथ्यलाई हेर्दा केही लोकनाचहरू उल्लेखनीय देखापरेका छन्। ती नेपाली लोकनाचहरूका नामहरू यस प्रकारका छन् :

आर्यतारा नाच, कुमारी नाच, कृष्णचरित्र नाच, केलाङ नाच (झापामा), कौरा नाच, ख्याली नाच, खुकुरी नाच, गोपीचन नाच, गौना नाच, घाटु नाच, चण्डी नाच, चरित्र नाच, चर्या नाच, च्याब्रुङ नाच, चुड्का नाच, चेपाङ नाच, चैत नाच, डन्डी नाच, डम्केन पार सेव नाच (मुस्ताङ), छलिया नाच, छोकरा नाच, जटजटिन नाच, जितिया नाच, झरा नाच (थारु जातिको), भ्mयाउरे नाच, झाँक्री नाच, झाँगर नाच, झिझिया नाच, झुमरा नाच, झुमैरा नाच, टप्पा नाच, डमकज नाच(बिर्जा समुदायको), डम्फु नाच, तर्बारे नाच, तायमचा नाच, तेन्दोङ लोरम्फात नाच(लेप्चा समुदायको), थाली नाच, दसाइ सिरिङ नाच (सतार समुदायको), देउडा नाच, देवी नाच, धमारी नाच, धान नाच, धिमे नाच, धिमाल नाच, नवदुर्गा नाच, न्याउले खेल नाच, पञ्चबुद्ध नाच, पैया नाच, फागु नाच, बज्रयोगिनी नाच, बालन नाच, बाहा नाच (सतार समुदायको), बेठी नाच, भानदान नाच (सन्थाल जातिको), भैरव नाच, भैरवकाली नाच, मञ्जुश्री नाच, मयुर नाच, महाकाली नाच, मारुनी नाच, मुन्धुम नाच, रत्यौली नाच, लमजुङे नाच, लाकछाम नाच, लाखे नाच, शिवताण्डव नाच, सँगिनी नाच, सखिया नाच, साकेन्वा नाच, साकेला नाच, सामाचकेवा नाच, सिँगारु नच, सेग्रो नाच, सेर्गा नाच, सेलो नाच, सेब्रु नाच, सोरठी नाच, सोराइ नाच(सतार समुदायको), स्यादरपिदार नाच, हनुमान नाच, हुड्केली नाच, हुदुधुरा नाच (राजवंशी र सतार समुदायको), हुरा नाच, हुरका नाच (मुसहर जातिको), होप्चा नाच, होली नाच आदि।

३ लोकनाचबाट हुने फाइदा

लोकनाच नाच्नाले नाच्ने व्यक्तिभित्र एकत्रित भएर बसेको विकार पसिनामा परिणत भई शरीरबाट बाहिर निस्कन्छ। रगत विकाररहीत हुन्छ। रगतको शक्ति (प्रेसर) व्यवस्थित हुन्छ। स्वस्थ्य रगत शरीर भित्रका कुनाकुनामा प्रवहित हुन्छ। मुटु, फोक्सो र कलेजो स्वस्थ्य, शक्तिशाली र सक्रीय हुन्छन्। यस्तै शरीरका नसाहरू सक्रीय हुन्छन्। स्वासप्रस्वास व्यवस्थित हुन्छ। शरीरका विभिन्न जोर्नीहरूमा लचकता आउँछ साथै ती जोर्नीहरूलाई शक्तिशाली बनाउँछ। यस्तै मेरुदण्ड सबल हुन्छ। मांसपेसीको क्षमतामा वृद्धि गराउँछ। अझ शल्यक्रिया गरेका व्यक्ति एवम् मुटुका बिरामीहरुलाई सञ्चो गराउन नृत्य गर्न लगाएका उदाहरणहरू पनि देख्न पाइएको छ। यसरी शारीरिक स्वस्थ्य निर्माणमा नाचले विशेष योगदान पुर्याउँछ।

यस्तै नाच्ने काम गर्नाले मान्छे प्रसन्न हुन्छ। नाच्ने व्यक्ति प्रसन्न हुनुका साथै नाच हेर्ने व्यक्तिहरू पनि प्रसन्न हुन्छन्। त्यसपछि नाच्ने व्यक्तिले जताजतै प्रसन्नता देख्छ। यही प्रसन्नताबाट नाच्ने व्यक्तिको मन प्रफुल्ल हुन्छ। तनावबाट मुक्ति प्राप्त हुन्छ। मानसिक स्थिति स्वस्थ्य हुन्छ। ठिक समयमा निदाउने अनि ठिक समयमा बिउँझने बनाउँछ। यसरी नाचले मान्छेको मनस्थितिलाई पनि स्वस्थ्य र सबल तुल्याउँछ।

यस्तै नाच्नाले समाजमा एकता ल्याउँछ। नाच एकल पनि हुन्छ अनि सामुहिक पनि हुन्छ। ती सबै प्रकारका नाच नाच्दा एक्लो व्यक्ति वा समुह नाचे पनि त्यो नाच नचाउनमा समाजको ठुलो भूमिका हुन्छ। समाजले त्यस नाचलाई आफ्नो ठान्छ। व्यक्ति नाचे पनि समाजले त्यसलाई आफ्नो सम्पती जस्तै बोध गर्दछ। त्यसलाई बचाउन लाग्छ। धेरैजसा नाचहरू समुहले जगाउने र जोगाउने गरेको छ। त्यस क्रममा नाच्ने व्यक्तिहरू एकत्रित हुन्छन्। नाच्ने ठाउँमा जाति, धर्म, लि·का आधारमा विभेद हुँदैन। नाचले सबै जाति, धर्म, सम्प्रदायका मानिसहरू एकताबद्ध हुन्छन्। एकआपसमा मित्रता बढाउँछन्। सामुहिक भावना जागृत गराउँछ। यसरी नाचले सामाजि सद्भाव र एकता कायम गराउन विशेष भूमिका खेल्छ।

४ लोकनाचको वर्तमान अवस्था

नेपालमा नेपाली लोकनाचको संरक्षण र विकासका निम्ति लागेका संस्था र व्यक्तिहरू स्मरणीय रहेका छन्। त्रि.वि.अन्तर्गतका कतिपय क्याम्पसहरूमा सङ्गीतको पढाइ गराउँदा नेपाली लोकनाचका बारेमा पनि ज्ञान दिने काम गरिएको छ। यस्तै सांस्कृतिक संस्थानले नेपाली लोकनाचको विकासमा योगदान पुर्याइराखेको छ। नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानको स्थापना पछि नेपाली लोकनाचले जीवित हुने अवसर प्राप्त गरेको छ। नेपालका ठाउँठाउँमा खोलिएका नृत्य पाठशाला तथा सङ्गीत पाठशालाले नेपाली लोकनाचको विकासमा ठुलो योगदान दिएका छन्। अझ केही जागरुक लोकनृत्यप्रेमीहरूको निस्वार्थ रुचिका कारण अहिले नेपाली लोकनाचले विकसित हुने अवसर प्राप्त गरेको छ। अहिले कतिपय विद्यालयहरूमा नृत्य शिक्षक राखेर बालबालिकालाई नेपाली लोकनृत्य सिकाउने काम गरिएको छ। यसरी नेपाली लोकनाचको विकासमा नेपालका संस्थाहरू र व्यक्तिहरू सक्रीय भइराखेका छन्। यस्तो अवस्थामा नेपालमा केही लोकनाचहरू निकै फस्टाएका छन्। कौरा, टप्पा, लाखे, हुड्केली, देउडा, सोरठी आदि लोकनाच निकै नै चर्चित छन्। यस्ता लोकनाचबाहेक कतिपय लोकनाच त आफ्नो परम्परागत मौलिकता छाडेर विकृत बनेका छन्। नाचमा विकृति आयो भनेर कारवाही कहीँकतैबाट नहुने हुँदा केही लोकनाच विकृत बनेर देखापरेका छन्। प्रोत्साहनका अभावका कारण यस्तै कतिपय लोकनाच लोपोन्मुख अवस्थामा छन्। केन्द्रीय सरकारमा संरक्षण केन्द्रित भएकै कारण कतिपय लोकनाच लोप भइसकेका पनि छन्। अब प्रदेश सरकार र स्थानीय सरकार सजग भए भने मात्र नेपाली लोकनाचको भविष्य उज्यालो हुनेछ।

५ निष्कर्ष

नेपाली लोकनाचले नेपालको गरिमा र पहिचानलाई जोगाइराखेका छन्। नेपालमा नेपालीत्व झल्काउन पनि लोकनाचको प्रदर्शन गरिन्छ। यस्तै विदेशमा बसेका नेपालीहरूले पनि आफ्नो देशको लोकनाच हेर्दा र अनुभव गर्दा छुट्टै किसिमको आनन्दको अनुभव गर्दछन्। विदेशीहरूले पनि नेपाल भ्रमण गर्दा यहाँका नाच देखेर रमाइलो अनुभव गर्दछन्। यसबाट नेपाली लोकसंस्कृतिको एउटा महत्वपूर्ण पाटो जीवित रहेको छ अनि अर्कातिर पर्यटनको विकासमा पनि नेपाली लोकनाचले विशेष योगदान पुर्याइराखेका छन्। अहिलेसम्म राष्ट्रिय सरकारले केही ध्यान पुर्याएका कारण केही लोकनाचहरू जीवित रहेका थिए भने अहिले प्रदेश सरकार र स्थानीय सरकारका हातमा यी पक्षहरू जोगाउने अवसर आएको छ। आफ्नो प्रदेशको लोकनाच जोगाउने दायित्व तत्तत् स्थानका प्रदेश सरकारको हो। आफ्नो प्रदेश र स्थानको लोकनाचलाई जोगाएर आफ्नो पहिचान बनाउनु प्रदेश र स्थानीय सरकारको दायित्व हो। यो दायित्व बोध गरेर सम्बन्धित विज्ञ व्यक्तिहरूलाई सम्बन्धित प्रदेश र स्थानका लोकनाचको खोज गराई तिनको संरक्षण गराउने सके मात्र यस राष्ट्रका ती विविध लोकनाच जीवित र विकसित हुन पाउनेछन्। यसतर्फ सम्बन्धित निकायको निस्वार्थ ध्यान जानु आवश्यक छ। यस्तै अबका दिनमा विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पढाइमा लोकनाचको पाठ्यक्रम अनिवार्य बनाई लोकनाचबारे पठनपाठन गराउन सके लोकनाचको विकासमा ठुलो टेवा पुग्ने देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width