नेपालमा पर्यटन व्यवसायका सम्भावना र चुनौतीहरु

कुलप्रसाद सुवेदी
चैत्र २६, २०७५

नेपाल सुन्दर शान्त विशाल। आज संसारमा अस्तित्वमा रहेको १९५ देशहरु मध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर विशाल राष्ट्र हो। यसले संसारको कुल भूभागको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भाग ओगटेको छ। यसको उत्तरमा दु्रत गतिमा चौतर्फी विकास गर्दै संसारमै अग्र स्थानमा आउँदै गरेको राष्ट्र चीन र बाँकी तीन दिशामा संसारमै उदाउँदो भारत रहेको छ। नेपाल यी ठूला राष्ट्रको बीचमा रहेको भूपरिवेष्ठित राष्ट्र हो। यो आकारमा सानो भएता पनि यहाँ प्रायः संसारका सबै ठाउँमा पाइने विशेषता पाइन्छन्। नेपाल प्राकृतिक श्रोतले भरिपूर्ण, साँस्कृतिक सम्पदा र कलाकृतिको खानी, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र हो। यो अनेकतामा एकता भएको देश हो।

नेपाल आफैंमा रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज चालचलन रहेको देश हो। यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, परम्परा, भेषभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ। आज नेपाल र नेपालीको बारेमा जानकारी प्राप्त गरेका मानिसहरु यहाँ नआई मान्दैनन्। संसारको सबैभन्दा होचो कालीगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबैभन्दा अग्लो हिमाल सगरमाथा (८८४८ मी.) संसारको सबैभन्दा अग्लो पास थ्रोइ पास (५४१६ मी) र संसारमा शान्तिको ज्योति छर्ने शान्तिको अग्रदूत महामानव गौतम बुद्धले पनि नेपाल र नेपालीको गौरवलाई संसारभभरि चिनाएका छन्।

नेपालमा समुद्र सतहबाट ६१ मिटरदेखि संसारकै सबैभन्दा अग्लो उचाई ८८४८ मिटरसम्मको भू–भाग पर्दछ। यसको उत्तरमा अटुट श्रृंखलाबद्ध रुपमा रहेका अग्ला होचा हिमालहरुको लहर बीच पहाडी क्षेत्रमा अग्ला होचा हरिया पहाड, डाँडाकाँडा, भिरपाखा, लेकवेशी खोच र कुनाकन्दराहरु रहेका छन् भने दक्षिणी तराइमा चारकोशे झाडी, हरिया जङ्गल, अन्न भण्डारको श्रोत समथर फाँटहरु रहेका छन्। यस्तो आफैमा सानो तर विशाल राष्ट्रमा भएको जैविक विविधताले पनि यहाँ विभिन्न नयाँ कुराहरुको विकासको सम्भावना रहेको छ। यस्तै विविध सम्भावनाहरुमध्ये पर्यटन व्यवसाय पनि अतिनै सम्भावना भएको राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने व्यवसाय हो।

पर्यटन शब्दले महत्वपूर्ण प्रकृति तथा साँस्कृतिक ठाउँहरुको भ्रमण गरी त्यहाँका विविध पक्षहरुको अध्ययन तथा त्यसबाट विभिन्न ज्ञानवद्र्धक विभिन्न मनोरञ्जन हासिल गर्ने विषय भन्ने बुझाउँछ। संसारमा विभिन्न कुराहरुमा विविधता पाइन्छ। प्रायः एउटा सानो क्षेत्रमा मात्र सबै किसिमको विविधता पाउन कठिन हुन्छ। तर नेपाललाई प्रकृतिले संसारका प्रायः विविधता प्रदान गरेको छ। जुन विविधतालाई शव्दमा व्याख्या विश्लेषण गर्न सम्भव छैन। नेपालमा पाइने यस्ता प्रकृतिक, साँस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरुले संसारका मानिसलाई आकर्षित गरेका छन्। जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै वढी छ।

नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका श्रृंखलावद्ध हिमालहरु, विभिन्न किसिमका झरनाहरु, पाखा, पखेरा, टार, हरिया, जङ्गल झाडी, यहाँ रहेका नागवेदली नदीनालाहरु, खोच, कुनाकन्दराहरु संसारकै उच्च स्थानमा रहेका हिमताल, यहाँका प्राकृतिक जडीबुटीहरु, यहाँका मानिसहरुमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, साँस्कृति विविधता, जातजाति, भेषभूषा कला सँस्कृति आदि कुराहरुले पर्यटन व्यवसायमा विकासका विभिन्न सम्भावनाहरु बढाएका छन।

नेपालमा १२५ जातजातिहरु बसो्बास गर्दछन् भने १२३ भाषाको प्रयोग हुन्छ। जसको आ–आफ्नै चाल–चलन रीतिरिवाज भेषभूषा, संस्कार र चाडवाड रहेका छन्। त्यसैले भनिन्छ, वर्षमा हुने दिनहरु भन्दा नेपालीहरुले मनाउने विभिन्न चाडपर्व एवम् अन्य संस्कारजन्य क्रियाकलापहरु धेरै छन्। संसारमा पाइने २ लाख ४८ हजार ४२८ वनस्पति मध्ये ७ हजार वनस्पति नेपालमा नै पाइन्छन्। संसारमा पाइने ४ हजार स्तानधारी जीवजन्तु मध्ये नेपालमा १७५ स्तनधारीहरु पाइन्छन्। नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरु मध्ये चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा रहेका छन्। त्यस्तै विभिन्न धार्मिक स्थल एवंम् साँस्कृतिक सम्पदाहरु मध्ये पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्विनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरवारस्क्वायर विश्व सम्पदा सूचीमा पर्दछन्। संसारभरमा रहेको चौधओटा आठ हजार मिटर भन्दा अग्ला हिमालहरु मध्ये आठओटा हिमाल नेपालमै रहेका छन्। नेपालमा भएका यी अथाह प्राकृतिक श्रोत साधन साँस्कृतिक सम्पदाहरु, फरक भौगोलिक वनावट रीतिरिवाज चालचलन, साँस्कृतिक कला शैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न पुगेको छ।

नेपाल जस्तो भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता छ। पर्यटन क्षेत्रको राम्रो विकास हुन सकेमा नेपालको आर्थिक वृद्धि भई नेपालीहरुको जीवनस्तर उकासिन्छ। नेपाल र नेपालीहरुले विश्वभरि प्रसिद्धि पाउँछन्। अहिले झण्डै साठी लाख भन्दा वढी नेपालीहरु रोजगारीको सिलसिलामा खाडी तथा अन्य मुलुकहरुमा विदेशिनु परेको छ। पर्यटन क्षेत्रमा द्र¬त गतिमा विकास हुन सकेमा यसरी लाखौं नेपालीहरु विदेशिनु पर्ने थिएन। उनीहरुले आफ्नै देशमा रोजगारी प्राप्त गरी आफ्नै देशको विकासमा योगदान पुर्याउन सक्छन्।

जति बढी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सकिन्छ, त्यतिनै बढी रोजगारीका अवसरहरुको सृजना हुन्छ र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। पर्यटकको संख्यामा वृद्धि गर्न सकिएमा यससँग सम्वन्धित होटल, रेष्टुरेण्ट, ट्राभल एजेन्सी, टे«कि·, र्याफटि· कम्पनी, प्याराग्लाडि· कम्पनी, पर्वतारोहण संघ, हस्तकला उत्पादक उद्योग, पथ प्रदर्शक, पदयात्रामा जाने पर्यटकहरुको भारी बोकी सघाउने भरिया, यस्तै अन्य पर्यटन व्यवसायका संचालक एवम् सहोगीहरुले रोजगारी प्राप्त गर्न सक्छन। जसबाट प्रत्यक्ष यस व्यवसायमा संलग्न हुनेले बढी फाइदा लिए पनि अप्रत्यक्ष रुपमा सम्पूर्ण नेपालीहरुले फाइदा प्राप्त गर्दछन्। जसले गर्दा नेपाल र नेपालीको चौतर्फी विकासमा सहयोग पुग्दछ।

नेपालमा पर्यटकहरुका लागि उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरु छन्। यस्ता ठाउँहरुको राम्रो प्रचार प्रसार हुन सकेमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिन्छ। पर्यटन क्षेत्रमा भएको विकासको कारणले नेपालीहरुले विभिन्न फाइदाहरु प्राप्त गरेका छन्। नेपाललाई आत्मनिर्भर बनाउन र नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक तथा यसको चौतर्फी विकास गर्न सकिएमा नेपाल पनि संसारमा छिट्टै विकसित राष्ट्रको रुपमा चिनिन सक्छ। नेपालीहरु रोजगारीका लागि विदेश पलायन हुन पदैर्न। यसका लागि नेपाल सरकारले स्पष्ट कार्यनीति तथा रणनीति बनाई त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।

नेपालमा राजनीतिक अस्थिरता छ। यहाँका प्रत्येक क्षेत्रमा आवश्यक भन्दा बढी राजनीति हावी भएको पाइन्छ। यहाँका बहुसंख्यक नेताहरु राष्ट्रको लागि भन्दा आफू, आफ्नो परिवार, आफन्त र आफ्नो पार्टी र पार्टीभित्रको पनि गुट र उपगुटको लागि बढी सोच्छन्। उनीहरुले आफ्नो राष्ट्र राष्ट्रियता र आफ्नो राष्ट्रका जनताका लागि जति सोच्नु पर्ने हो त्यति सोचेका हुँदैनन्। नेपालमा सच्चा राजनेताको अभाव छ। उनीहरुले आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्नो स्वार्थ पूर्तिका लागि समय समयमा आमहड्ताल, चक्काजाम र बन्द जस्ता राष्ट्रलाई क्षति हुने काम गर्दै आएका छन्। उनीहरुले नीति नियमलाई आफ्नो अनुकूल व्याख्या र विश्लेषण गर्दछन्। विदेशी राष्ट्रको छत्रछायाँमा पर्दछन्।

प्रायः नेपाली नेताहरुमा दूरदर्शिताको अभाव छ। जसको कारणले पर्यटन व्यवसायमा सोचेअुनरुपकेा उपलब्ञिध हाँसिल हुन सकिरहेको छैन। नेपालमा पर्यटकहरुका लागि आधारभूत सुविधाहरुको पनि अभाव छ। यहाँको प्रशासनिक प्रक्रिया निकै झन्झटिलो छ। प्रायः कर्मचारी प्रशासन चुस्त दुरुस्त छैन। यहाँ प्रत्येक निकायको निरीक्षण र अनुगमन गर्ने निकायहरुको अभाव छ। प्रायः अनुगमन गर्ने निकायहरुले आफैले नियमकानूनको पालना गरेका हुँदैनन्। पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरु बीच पनि आपसमा अस्वस्थ प्रतिस्पर्धा छ। कतिपय व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय बढाउन अन्य क्षेत्रको बारेमा नकरात्मक प्रचार प्रसार गरेको पनि पाइन्छ। जसका कारण पनि पर्यटन व्यवसायको विकासमा थप चुनौती थपिएका छन।

भनिन्छ, नेपालले सगरमाथा, शान्तिको अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी र नेपालमा भएको जल सम्पदा र जडीबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाँडै कोल्टे फेर्न सक्छ। राष्ट्रको द्रुत गतिमा विकास गर्न सकिन्छ। यसका लागि देशमा राजनीतिक स्थिरता, यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्नु आवश्यक छ। इसाई धर्मावलम्वीहरुको लागि इजरायलको जेरुसेलम्, ईस्लाम धर्मको लागि साउदी अरेवियको मक्का मदिना जस्तै विश्वमा बौद्धमार्गीहरुका प्रेरणाका श्रोत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध तीर्थस्थलको रुपमा विकास गरी लाखौं धार्मिक पर्यटकहरु पनि भित्र्याउन सकिन्छ। हुनत, सम्पूर्ण नेपाल आफैमा पर्यटकीय स्थल हो। यहाँ रहेका सतहत्तर जिल्लाहरु कुनै न कुनै रुपमा प्रसिद्ध छन्। नेपाल सरकारले ती सम्पूर्ण ठाउँहरुको साथसाथै गोर्खा, ललितपुर, भक्तपुर नगरकोट, धुलीखेल, हेलम्बु, नाम्चेबजार, जोमसोम धरान आदि पर्यटकीय क्षेत्रको अझ बढी प्रचार प्रसार गर्नु आवश्यक छ। हाल नेपालमा बाह्य पर्यटकलाई मात्र वढी महत्व दिएकोमा आन्तरिक पर्यटकहरुप्रति बढी ध्यान दिनु आवश्यक छ। अब बाह्य पर्यटक जस्तै आन्तरिक पर्यटकलाई पनि महत्व दिनुपर्छ। पर्यटनको विकासमा आन्तरिक पर्यटकले पनि ठूलो टेवा पुर्याउन सक्छन्। हाल नेपालमा पर्यटन व्यवसाय मौसमी प्रकारको छ। यसमा पनि विभिन्न प्याकेजका कार्यक्रम ल्याई सदावहार बनाउनु आवश्यक छ। यसका लागि विश्वप्रसिद्ध संचारका माध्यमहरु वि.वि.सि, सि.एन.एन र अलजजीरा जस्ता विश्वप्रसिद्ध टेलिभिजनहरु र बिभिन्न आधिकारिक सामाजिक सञ्जाहरुबाट प्रचारप्रसार गर्नु आवश्यक छ। यसका लागि नेपाल सरकारको मात्र मुख नताकी यस व्यवसायमा लागेका निजी क्षेत्रका लगानीकर्ताहरुले पनि योगदान पुर्याउनु पर्छ। साहसिक पर्यटन विकासको लागि र्याफटि· तथा प्याराग्लाडि· बन्जीजिप फ्लायरको अझ बढी प्रचार प्रसार गर्नु पर्दछ। यसका लागि नेपाल सरकारले नेपाल भ्रमण वर्ष १९९८, पर्यटन वर्ष २०११ जस्तै अन्य पर्यटकहरुलाई आर्कषक गर्ने किसिमका प्याकेजहरुको घोषणा गर्नुपछ। तर त्यस्ता प्याकेजहरु घोषणा गरेर मात्र पुग्दैन। त्यसको साथसाथै पर्यटनमैत्री वातावरणको पनि सृजना गर्नु पर्छ।

नेपाल सरकार पर्यटन व्यवसायी र संसारको विभिन्न कुना कुनामा रहेको नेपालीहरुले आफ्नो ठाउँबाट सक्दो पहल गरी पर्यटन विकासको लागि योगदान पुर्याउनु पर्छ। हामी सबैले एक सक्षम, समुन्नत र विकसित नेपालको निर्माण गर्नुपर्छ। आज जसरी हामीले यूरोप तथा अमेरिकाका देशहरुमा प्रवेश आज्ञा पाउँदा स्वर्गै जान पाएजस्तो खुशी हुन्छौं, त्यसैगरी संसारका विभिन्न राष्ट्रका मानिसहरुले नेपालमा प्रवेश आज्ञा प्राप्त गर्दा त्यतिनै खुशीको अनुभूति गर्ने नेपालको निर्माण गर्नु आजको आवश्यकता हो।

(लेखक मेरिल्याण्ड किड्स मन्टेसरीका प्रबन्ध निर्देशक तथा मन्टेसरी एशोसियसन कास्कीका सचिव हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width