नेपालमा जेष्ठ नागरिकको अवस्थाबारे एक चर्चा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७०

केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो। उनीहरुलाई घर-परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो। बृद्धबृद्धाले आ-आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती-उपदेशको रुपमा ठूला मार्गर्दर्शन बन्दथे। समाज प्रायः संयुक्त घर-परिवार प्रणालीमा चलेको थियो। एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे। छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएरमात्र लागू हुन्थ्यो। त्यसबखतका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च थियो। परिवारमा धेरै सदस्य भएको घरलाई ‘ठूलाघर’ का रुपमा हेरिन्थ्यो। यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार-व्यवहार, राम्रो समाजिक सद्भाव एवं सौहाद्रता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको थियो। नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकहरुले पनि योे प्रणाली देख्दा कस्तो राम्रो भनेर यस पद्धतिको ठूलो तारिफ गरेको सुनिन्थ्यो। विस्तारै विस्तारै समय बित्दै वर्तमान अवस्थातिर आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै जान थाल्यो। घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना पितामातासँग बाट आपसमा अलग भइ छुट्टै बस्न रुचाउने हुन थाले। समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुनेक्रम निरन्तर बढ्न थाल्यो। संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गयो। युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए। यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरुको सहयोग मद्धत चाहिने बेलामा पुगेका यहाँका बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने स्थितिमा पुग्न थालेको अनुभव हुन थालेको छ। राज्यले जेष्ठ नागरिकलाई प्रत्याभूति दिनुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न नसकिरहेको अवस्थामा भएका कार्यक्रम पनि खाली प्रतिबद्धता र नारामा मात्र बढी सिमितजस्तो देखिन्छ। यसको कार्यान्वयन पक्ष फितलो हुन पुगेको आभास जताततैबाट महसूस हुन थालेको छ।

तथ्यांक विभागले दिएको जानकारीको आधारमा २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा ६० वर्ष नाघेका बृद्धबृद्धा अर्थात् जेष्ठ नागरिकको जनसंख्या २१ लाख ५४ हजार चार सय १० छ। यो कूल जनसंख्याको ८.१३ प्रतिशत हो। यसअगाडि २०५८ सालको जनगणनामा यो  संख्या १४ लाख ७७ हजार तीन सय ७९ थियो। यो त्यतिबेलाको कूल जनसंख्याको ६.५ प्रतिशत हो। वर्तमान जनगणनामा भएको बृद्धबृद्धाको प्रतिशत बृद्धिको आधारलाई केलाई हेर्दा देशभित्र स्वास्थ्य सुविधामा भएको बृद्धि, खानपानको स्तरमा आएको सुधार एवं चेतना र जागरणमा देखिएको उत्साहप्रद लहरजस्ता कुराले यसमा सकारात्मक प्रभाव पारेको स्पष्ट हुन्छ। यद्यापि बृद्धबृद्धालाई सामाजिक सुरक्षाअन्तर्गत उपलब्ध हुनु पर्ने बुढेसकालमा आवश्यक हेरचाहको व्यवस्था, बसाबवासको उचित प्रबन्ध, मनोरञ्जनात्मक वातावरणको सहजता, उनीहरुभित्र रहेको श्रृजनात्मक शक्तिको उपयोग, मानसिक सन्तुष्टि आदि विभिन्न पक्षलाई तुलनात्मकरुपमा हेर्दा भने यसतर्फ राम्रो सुधार हुन पर्ने अझै ठूलो गुञ्जायस छँदैछ ।

नेपालको संवैधानिक व्यवस्थाअन्तर्गत नेपालको अन्तरिम संविधान २०६३ ले बृद्धबृद्धालाई संरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको छ। अन्तर्राष्ट्रिय क्षेत्रिय घोषणापत्रअन्तर्गत मानवअधिकारको विश्वव्यापी घोषणपत्र सन् १९४८ देखि ग्लष्तभम ल्बतष्यलक एचष्लअष्उभिक ायच यमिभच उभचकयलक ज्ञढढज्ञ, ःबअबग उबिल या बअतष्यल यल बनभष्लन ज्ञढढड र ःबमचष्म क्ष्लतभचलबतष्यलब उिबिल या बअतष्यल यल बनभष्लन द्दण्ण्द्द जस्ता विभिन्न कतिपय यससम्बन्धी अन्तर्राष्ट्रिय फोरममा नेपालले उपस्थित भै आफ्नो प्रतिबद्धता जनाइसकेको छ। तदअनुरुप बृद्धबृद्धाको जीवनलाई सहज, सुरक्षित, सम्मानित बनाउन आफ्नो मुलुकमा आवश्यक ऐन कानूनको व्यवस्था गरी जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीघकालीन अवधारणा जेष्ठ नागरिक कार्य योजना, २०६२ समेत लागू गरेको छ। सरोकारवाला निकायबीच समन्वयका लागि उच्चस्तरिय केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको स्थापना गर्नुका साथै सबै जिल्लामा हेरचाहका लागि जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति गठन भई सकेको छ।

उपरोक्त व्यवस्था भइरहँदा पनि ज्येष्ठ नागरिहरुको ज्ञान, सीप, र अनुभव राष्ट्रिय विकास प्रक्रियामा उपयोग हनु नसक्नु एवं उनीहरुको हक अधिकारको सुनिश्चितता हुन नसक्नु, प्रमुख समस्याको रुपमा रहेको कुरा वर्तमान तेह्रौं योजना (आ.व. २०७०/०७१- २०७२/०७३) ले समेत स्वीकारेको छ। यसैले यस योजनामा ज्येष्ठ नागरिकहरुको सम्मानजनक जीवनयापनका लागि अनुकूल सेवा र सुविधा विस्तार गर्ने मुख्य उद्देश्य लिइएको छ। यसको लागि आर्थिक तथा सामाजिक सुरक्षाका कार्यक्रमहरुमा ज्येष्ठ नागरिकहरुको पहुँच विस्तार गर्ने विषय, विशेष जोखिममा रहेको ज्येष्ठ नागरिकको लागि लक्षित गरी विशेष कार्यक्रम अगाडि बढाउने कुरा र ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अधिकतम सदुपयोग गर्नेजस्ता विषय रणनीतिको रुपमा अपनाउने कुरा स्पष्ट उल्लेख गरिएको छ। सरकारले स्थानीय निकाय, निजी दातृसंस्थाका समूह, समुदाय एवं गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गर्ने रणनीतिसमेत तय गरेको छ।

यस वर्षमा समाज कल्याण मन्त्रालयअन्तर्गत सरकारीस्तरबाट गरिने जेष्ठ नागरिकसम्बन्धी कार्यक्रम हेर्दा उक्त लक्ष्यलाई योजना अवधिभर हरेक वर्ष क्रमशः समेट्दै जाने गरी कार्यक्रम निर्धारण भएकोजस्तो लाग्दैन। मुलुकभरिका समुदाय, संस्थागत र गैरसरकारी संस्थाहरुबाट सञ्चालित ज्येष्ठ नागरिक आरोग्य आश्रम (बृद्धाश्रम) हरुलाई अनुदान वितरण कार्य भने निरन्तर कायमै रहने उल्लेख छ। यस आर्थिक वर्षमा जेष्ठ नागरिकहरुको तथ्यांक संकलन गर्ने कुरा बताइएको छ। जेष्ठ नागरिकहरुलाई सहजीकरण अभिमुखीकरण तालिम पाँच वटै विकास क्षेत्रमा सञ्चालन गर्ने भनिएको छ। बृद्धबृद्धाहरुसम्बन्धी निर्दिष्ट लक्ष्यअनुसारका कार्यमा अनुगमन, मूल्यांकन निरीक्षण प्रतिवेदनमा जोड दिइएको छ। पश्चिमाञ्चल विकास क्षेत्रमा एक जेष्ठ नागरिक ग्राम स्थापनाको सोच बनाइएको छ। साथै पशुपति बृद्धाश्रमलाई आधुनिकीकरण गर्ने लक्ष छ। जेष्ठ नागरिक कल्याण कोषको स्थापना र परिचालनतर्फ पनि जोड दिइएको छ। तर सालभरिमा गरिने यति कार्यक्रमबाट मात्रै बृद्धबृद्धाको मौजुदा स्थितिमा सुधार ल्याउन र उनका समस्या निराकरण गर्नेतर्फ प्रभावकारी फड्को मार्न कठिन पर्ने देखिन्छ।

यस क्षेत्रमा अहिलेसम्म कार्यान्वयन हुँदै आएका कार्यक्रमबारे दृष्टिगोचर गर्दा निकाशा र वितरणमा विभिन्न समस्याहरु देखिँदा देखिँदै पनि बृद्धबृद्धालाई मासिकरुपमा उपलब्ध गराउँदै आएको रु. पाँचसयको बृद्धभत्ता नै थोरैनै भए पनि अपेक्षाकृत बृद्धबृद्धाबीच बढी उपयोगी कार्यक्रम देखिएको छ। गाउँ विकास समितिहरुबाट वितरण हुने यो सामाजिक सुरक्षा भत्ता कतिपय ठाउँमा समयमा निकासा नहुनाका साथै वितरण प्रणालीसमेत पारदर्शी नभएको गुनासो आउने गरेको छ। अस्पतालहरुमा बृद्धबृद्धाहरुलाई शुल्क छुट र निश्चित संख्यामा शैयाहरु छुट्याउने कुरा पनि राम्ररी व्यवहारमा आउन सकेको छैन। ज्येष्ठ नागरिक उपचार सेवा कार्यक्रमअन्तर्गत जिल्लाका अस्पतालहरुमा ६५ वर्षभन्दा माथिका बृद्धबृद्धाको लागि उचारार्थ तोकिएको उपचार रकम लिन पनि नियममा भएको प्रक्रियागत लामो झन्झटिलो व्यवस्थाले गर्दा त्यति सहज देखिँदैन। त्यस्तै सार्वजनिक यातायातका सवारीसाधनको भाडामा छुट दिने भनि तोकिएको ५० प्रतिशत छुटको व्यवस्था पनि हालसम्म नपाएको गुनासोसमेत कायमै छ। परित्यक्त हिंसा पीडित शारीरिक एवं मानसिकरुपले अशक्त भएका र विशेष जोखिममा रहेका जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने कुरा बारम्बार दोहर्‍याइरहे पनि त्यस्ता कार्यक्रमको राम्रो थालनी एवं कार्यान्वयन पक्षमा प्रभावकारिता आउन सकेको देखिएको छैन। सरकारी, समुदाय, निजी विभिन्न क्षेत्रबाट सञ्चालित हुने वृद्धाश्रम सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार भई कार्यान्वयनमा आउन सकेको छैन। बृद्धबृद्धाको ज्ञान, सीप र अनुभव मुलुकको आर्थिक, सामाजिक विकासमा उपयोग हुन सक्ने गरी अवसरको फाइदा समाजसम्म पुग्ने गरी अनकूल वातावरणको निर्माण भएको पनि देखिदैन। स्थानीयस्तरमा योजना कार्यान्वयनमा उनीहरुको सरसल्लाह सुझाव लिने कुराको राम्रो अभ्यास खासै भएको पाइदैन।

अहिले ज्येष्ठ नागरिकहरुको हक र अधिकार सुनिश्चित गर्ने र उनीहरुबीच आवश्यक सुबिधा पुर्‍याउने लक्ष्य राखी सरकारी तथा गैरसरकारीस्तरमा थुप्रै संस्थाहरु खुलेका छन्। यी सबैको लक्ष्य ज्येष्ठ नागरिकको हितमा केही न केही कार्यक्रम सञ्चालन गर्नु रहेको हुन्छ। ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता पनि हो। यस्तो अवस्थामा सम्बद्ध सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुको शारीरिक, मानसिक, आर्थिक अवस्थालाई सक्षम र सुदृढ गराई उनीहरुका दुःख, पीडा र हिनताबोधलाई कम गर्दै लग्नु र मनोरञ्जनात्मक एवं सन्तुष्टि हुने खालका कार्यक्रमहरु सहजरुपमा स्थापित गर्दै जानु पनि त्यतिकै आवश्यक छ। बृद्धबृद्धाको अवस्थाप्रति राज्य, परिवार, बृद्धाश्रम, यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था सबै संवेदनशील भई उनीहरुलाई समूचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशिल भइ नै रहनुपर्छ। यसको लागि यस क्षेत्रमा कार्यरत् सरोकारवालाहरु सबै निकायबीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ। यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धाप्रति सम्मानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगी उनीहरुमा हौसला र जाँगरको सुमधुर वातावरणको सृजना हुन जान्छ।

मुलुकमा सामाजिक सुरक्षाको अवधारणा लागु गर्ने कुरा उठ्दा अहिलेसम्म पूर्व कर्मचारीहरुलाई दिइदै आएको निवृत्तिभरणको सुविधा र बृद्धबृद्धाको मासिक भत्ता यो क्षेत्रअन्तर्गत भएको व्यवस्थाभित्र पर्दछ। केही समय अगाडि स्थापित निजामती कर्मचारी अस्पतालले पूर्वनिजामती कर्मचारीहरुलाई विभिन्न प्रकारका चिकित्सकीय जाँच र परीक्षणहरुका क्षेत्रमा लागेको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। तर सबै बृद्धबृद्धाको हकमा पनि अस्पतालहरुमा यस्तो सुविधा पुग्नुपर्नेमा अहिलेसम्म पुग्न सकेको छैन। सामान्य औषधोपचारको व्यवस्था र जियोड्याटि्रक वार्डहरुको सुविधासम्म पनि नियम-कानुनमा उल्लेख भए पनि व्यवहारमा सो व्यवस्था लागू हुन सकेको पाइँदैन। विदेशतिर खासगरी पश्चिमामुलुक र अन्य राष्ट्रहरुमा पनि बृद्धबृद्धाको लागि अस्पतालहरुमा लाग्ने स्वास्थ्योपचार खर्चमा विमा सुविधा र वर्ल्ड केयर सेन्टरहरुमा बस्न सक्ने विभिन्न किसिमको प्राबधान र बृद्ध क्लबहरुमा मनोरञ्जनात्मक कार्यक्रमहरुको सहजीकरणको प्रबन्धसमेत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत मिलाइएको हुन्छ।

अहिले नेपालमा पनि हरक्षेत्रमा विश्वव्यापीकरण को प्रभाव बढिररहेको छ। जेष्ठ  नागरिकको क्षेत्र पनि यसबाट अछूतो रहन सक्दैन। नेपालमा बूढाबूढीको औसत आयुमा सुधार आए पनि उमेर बृद्धिको क्रमसँगै समस्याहरु थपिँदै गएका छन्। अधिकांशमा बुढ्यौलीबाट उत्पन्न शारीरिक रोग, दर्द, पीडा, दुर्बलता, हीनताबोध, एकाकी जीवनबाट पर्ने खालका अप्ठ्याराहरुले यहाँको यो समाजमा पिरोलिरहेको पाइन्छ। यी बूढाबूढीहरु एकातिर स्याहारसुसारको आवश्यकता महसूस गर्दै घरमै झोक्रिएर एक्लै जीवन व्यतित गरेर समय व्यतित गर्न बाध्य छन् भने अकोर्तिर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा पनि गहभरी बोक्दै बसेका छन्। यस्तो अवस्थामा उनीहरुलाई सबैतिरबाट माया प्रेम सद्भावको बढी खाँचो हुन्छ। भरपदो सहारा मद्धत चाहिएको हुन्छ। यसको समाधान आफ्नै घर-परिवारबाट मात्र सम्भव छ। घर परिवारका सदस्यहरुमा कर्त्तव्य र जिम्मेवारीबोधको भावनाको भने अझ बढी खाँचो छ। “पितृ देवो भव”, “मातृ देवो भव” को भावना घरघरमा बिहान बेलुकी गुञ्जायमान हुन परेको छ। त्यसैमा हामी सबै प्रवृत्त हुनु पर्दछ। यसैबाट यस क्षेत्रको धेरै समस्या हटेर जान सक्छ।  अकोर्तर्फ निश्चित मापदण्ड तोकी सरकारी क्षेत्र समुदाय र गैरसरकारी क्षेत्रमा सञ्चालित बृद्धाश्रमहरुलाई पनि सबै सुविधाहरुबाट अझै व्यवस्थित बनाएर लैजानु पर्दछ र प्रवेशलाई सहज गराइनु पर्दछ। त्यस्तै निजी क्षेत्रमा खुलेका र अब खुल्दै जाने बृद्धाश्रमलाई पनि मापदण्ड बनाई सशुल्क रकम तिरेर बृद्धाश्रममा बस्न चाहनेहरुको लागि उपयुक्त वातावरणको व्यवस्था मिलाई आकर्षण सुविधायुक्त बसोबासको प्रबन्ध गरिनु पर्दछ।

आज सन् २०१३ अक्टुवर १ तारिख तदनुसार २०७० साल आश्विन १५ गते अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस हो। हरेक वर्ष अक्टोवर १ तारिखको यसै दिन मुलुकभरिका जेष्ठ नागरिकको सुखमय दीघजीवनको कामना गर्दै उनीहरुको हक-हित र अधिकारको सुनिश्चितताको लागि यो दिवस देशभर राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा ज्येष्ठ नागरिक सम्मानउत्सव स्वरुप बृद्धबृद्धाहरुलाई सम्मान गर्ने, सम्झने दिनेको रुपमा विभिन्न कार्यक्रमहरु गरी उल्लासमय वातावरणमा मनाइन्छ। पाका उमेरका यी अग्रजहरुको स्वस्थ, सुखी र सम्मृद्ध जीवनको लागि जताततै बाट शुभ-कामना व्यक्त गरिन्छ। जेष्ठ नगरिकहरुको सन्तुष्टिमा नै देशको मुहार हँसिलो हुन्छ। पाका मानिसहरुको आशीर्वाद नयाँ पुस्ताका युवा युवतीहरुको प्रेरणाको श्रोत बन्न सक्दछ। यो दिनले यस क्षेत्रमा प्रशस्त चेतना र जागरण फैलाउन ठूलो मद्धत गरेको हुन्छ। अझै ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन हाम्रो विद्यमान सामाजिक सुरक्षा कार्यक्रमका सवालहरुमा पुनरावलोकन गरी यस क्षेत्रमा कार्यरत् सबै पक्षलाई समेटी सशक्त सामाजिक सुरक्षा नीति ल्याइ समन्वय र सहकार्यमा जोड दिँदै प्रभावकारी कार्यान्वयनमा जानु पर्ने आजको आवश्यकता देखिएको छ। जेष्ठ नागरिक हाम्रा अमूल्य निधि हुन्, पथ प्रदर्शक हुन्। यिनीहरुलाई आदरपूर्वक, प्रेमपूर्वक सम्मान गर्न सिकौं।

Related News

सम्बन्धित समाचार

hero news full width