नृत्य निर्देशनदेखि चलचित्र निर्देशनसम्म : गोरे गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०६९

पोखरा साहित्य, संगीत र कलाको उर्वरभूमि हो। पोखराले जन्माएका प्रतिभाहरु जो नेपाली संंस्कृतिको क्षेत्रमा हिजो क्रियाशील थिए आज पनि छन् र भोलि पनि रहिरहनेछन्। नेपाली संस्कृति र विभिन्न जातीको संस्कृतिलाई नृत्य निर्देशन, चलचित्र निर्देशन र निर्माण गरि पोखराको गरिमालाई अझ उचाईमा पुर्‍याउने बहुमुखी प्रतिभाका धनी व्यक्तित्वको नाम हो- गोरे गुरुङ।

पिता शुकलाल गुरुङ र माता डिलकुमारी गुरुङको कान्छो सन्तानको रुपमा २०३८ सालमा पोखराको शितलादेवीमा जन्मिएका गोरे गुरुङको पारिवारिक माहोल नै सांगीतिक र कलाकारितामय थियो। आफ्नो बुबा र दाजु श्याम गुरुङ नै आफ्नो प्ररेणाको स्रोत भएको कुरा उनी बताउँछन्। आफ्नो जिन्दगीको महत्वपूर्ण उमेरको १५ वर्ष कलाकारिता क्षेत्रमा नै बिताइसकेका गुरुङ यस क्षेत्रमा प्रवेश २०५४ सालमा नृत्य कलाकाकारको रुपमा डाँफे कला मन्दिरमा प्रवेश गरेका थिए। एक वर्ष नृत्य कलाकार भई काम गरेपछि २०५५ सालबाट भने उनी नृत्य प्रशिक्षकको रुपमा २०६१ सालसम्म डाँफे कला मन्दिरमा काम गरे। २०६१ सालमा गोरेले आफैले नृत्य प्रशिक्षण केन्द्र अनुशीलन कला पाठशाला खोले र हालसम्म यस संस्थाबाट हजारौले नृत्य प्रशिक्षण लिएर आफूलाई यस क्षेत्रमा स्थापित गरिसकेका छन् अनुशीलनमा नै नृत्य प्रशिक्षण लिएर नेपाल टेलिभिजनको कार्यक्रम छमछमीको उपविजेता बनी ऋतु गुरुङले पोखराको नृत्य क्षेत्रलाई राष्ट्रियस्तरमा परिचित गराएकी थिइन्।

नृत्य प्रशिक्षकको रुपमा कार्यरत गोरे गुरुङले २०६१ सालको खुल्ला नृत्य प्रतियोगितामा वेष्ट कोरियोग्राफरको अवार्डसमेत हात पारे। यसैगरी २०६९ सालको लेखनाथ महोत्सवमा पनि उत्कृष्ट कोरियोग्राफरको अवार्ड जितेका थिए।

लामो समय नृत्यको क्षेत्रमा बिताइसकेपछि पछिल्लो समयमा भने उनी चलचित्र निर्माता र निर्देशकको रुपमा सक्रिय छन्। हुनत उनको चलचित्र क्षेत्रबाट एक दशक अगाडि नै मनको मान्छे -म्हि सैं) गुरुङ चलचित्रबाट भएको थियो। त्यसपछि उनले करिब तीन दर्जन नेपाली र भाषाभाषीका चलचित्रमा पनि नृत्य निर्देशकको भूमिका खेलेका थिए।

मेरो जिन्दगी (ङै जिन्दगी) र कर्म रेखा चलचित्रका निर्माता समेत रहेका गोरे गुरुङले निर्देशन गरेको पहिलो चलचित्र भने आगे ठागु (ठूलदाई ) हो। २०६८ सालमा निर्माण कार्य सुरु गरि गतवर्षकै अन्तिमतिर प्रदर्शनमा आएको यस गुरुङ चलचित्रको हालसम्म गोरखा, लम्जु·,बेशीसहर, विर्तामोड, सिक्किममा प्रदर्शन भैसकेको छ। काठमाडौ, पोखरा, मलेशिया, कतार, हङ्गकङ्ग, नारायणगढमा प्रदर्शनको तयारीमा रहेको आगे ठागुका निर्माता खिलबहादुर गुरुङ र युनिका गुरुङ हुन्। यस चलचित्रमा गमन गुरुङ, झरना गुरुङ, खिलबहादुर गुरुङ, युनिका गुरुङ, बलबहादुर गुरुङ, वीरमाया गुरुङ, राजबहादुर गुरुङलगायतको अभिनय हेर्न पाइन्छ।

विशुद्ध सामाजिक पारिवारिक र सन्देश प्रदान यस चलचित्रको मुख्य सन्देश गुरुङहरु विदेश पलायन हुनुको सट्टा उच्चशिक्षा हासिल गरी स्वदेशमा नै काम गर्नुपर्छ भन्ने रहेको यस चलचित्रका निर्देशक गोरे गुरु· बताउँछन्। अनुशीलन फिल्म एण्ड म्युजिक प्रोडक्सनको व्यानरमा बनेको गुरुङ भाषा र संस्कृतिमा आधारित कथानक चलचित्र आगे ठागुको कथा लेख्ने काम निर्देशक स्वयंले गरेका छन् भने पटकथा र संवाद मनोज पन्त छायाङ्कन रामकुमार श्रेष्ठ, संगीत ध्वज गुरुङ, गोरे गुरुङ, जयकुमार, नृत्य निर्देशन गोरे गुरुङ, प्रीति गुरुङले गरेका छन्। कार्यकारी निर्माता तारा गुरुङ रहेको आगे ठागुको सम्पादनको काम भने घनश्याम लामिछानेले गरेका हुन्।

नेपालको विभिन्न ठाउँ दार्जिलि· र सिक्किमका सुन्दर ठाउँहरुमा सुटि· गरिएको यस चलचित्रको सरल र राम्रो कथाबस्तु साथै मजबुद पटकथा र कलाकारको उत्कृष्ट अभिनय भएका कारण दर्शकले अत्यन्त मन पराएका छन्। कूल १५ लाख रुपैयाँको लागतमा बनेको आगे ठागुले आफ्नो लगानी उठाइसकेको निर्माताको भनाइ छ। गोरे गुरुङले नै निर्देशन गरेको दोस्रो गुरुङ चलचित्र मनको मान्छे (सैंर्वे म्हि) पोखरामा प्रदर्शन भइसकेको छ। अन्य चलचित्रहरुको निर्देशनहरुको लागि पनि प्रस्ताव आइरहेको र आफू यही क्षेत्रमा नै लागिरहने गोरे गुरुङ बताउँछन्। २०६६ सालबाट ३ र ३ वर्षमा हुने गरी सुरु भएको मोफसलको सर्वाधिक राशिको पुरस्कार रहेको अनुशीलन डान्स गोल्ड अवार्ड २०७० मा हुँदैछ र यसको राशि १ लाखबाट अझ केही बढ्ने यसका सञ्चालकसमेत रहेका गोरे गुरुङ बताउँछन्।

पोखरेली कलाकारिता क्षेत्रलाई  अझ उचाइमा पुर्‍याउने यस्ता कार्य गोरे गुरुङबाट भैरहून् बधाई साथै हार्दिक शुभकामना।

Related News

सम्बन्धित समाचार

hero news full width