नारायणी होइन, नारायण

कुल प्रसाद भण्डारी
जेठ १५, २०७६

द्वापरयुगको अन्त्य तिरको कुरो हो। महाभारत युद्ध हुने निश्चित भएको थियो। यसैले पाण्डव र कौरव दुवै पक्ष आ-आफ्ना इष्टमित्र, कुलकुटुम्व, शुभचिन्तक लगायतका शक्तिशाली राजा महाराजाहरुसंग आफ्नो पक्षमा सहायता जुटाउने कार्यमा तल्लीन थिए। द्वारकाधीश श्री कृष्ण भने पाण्डवहरुकै पक्षमा रहने छन भन्ने कुरोमा प्रायः दुवै पक्ष निश्चिन्त जस्तै थिए।

कौरवहरु श्रीकृष्णको शक्तिसंग भने भयभीत थिए। हुन पनि श्रीकृष्णले यदि चक्र उठाए भने उनका साम्ने एक – डेढ घडीसम्म पनि कोही टिक्न सक्ने छैनन् भन्ने जान्दथे। अर्को तर्फ भूलोककै सर्वश्रेष्ठ नारायणी नामको सेना पनि श्रीकृष्णकै नियन्त्रणमा छ, त्यस्तो विशाल शक्तिका स्रोतरहेका श्रीकृष्णलाई जसरी हुन्छ आफ्नो पक्षमा ल्याउन र उनीसंगबाट भरपुर सहायता लिने प्रयत्न गर्नु पर्दछ भन्ने यो सम्मति दुयोर्धनलाई कुटिल चाल चल्नमा निपुण मामा शकुनिले दिएका थिए। मामा शकुनिको यो सम्मति अनुरुप नै दुर्याधन द्वारकाधीशसंग सहयोग माग्ने उद्देश्यले द्वारका पुगे।

दुयोर्धनकी पुत्री लक्ष्मणाको विवाह श्रीकृष्णका छोरा साम्बसंग भएको नाताले दुर्याधनकोलागि द्वारका भवनमा जानआउन उनीलाई कुनै रोकटोक थिएन। एक दिन यी सरासर भित्रै श्रीकृष्णको विश्राम कक्षमै पुगे। जहाँ भगवान् श्रीकृष्ण दिवा भोजन गरी केही समय मध्यान्ह विश्राम गर्ने अभिप्रायले पलङगमा पल्टनु भएको थियो। कोठामा अरु कोही पनि थिएनन्। लीलामय भगवान्ले आफूलाई निद्राको अभिनय गर्दै आफ्ना दुवै नेत्र बन्द गर्नुभएको थियो। दुर्याधनले सबैतिर हेरे शैयाको सिरानतिर बस्नको लागि एक उत्तम आसन (मेच) देखेर त्यसैमा बसी श्री कृष्णको जगाइको प्रतीक्षामा रहे।

अर्जुन पनि उपप्लव्य नगरबाट आफ्नो पक्षमा सहायता माग्नको लागि सोही दिन श्रीकृष्ण भेट्न द्वारका आएका थिए। यी पनि दुयोर्धन आइवसेको केही समय पछि त्यस कोठाभित्र पसे, जहाँ श्रीकृष्ण सुतिरहनु भएको थियो। भगवान्लाई सुतिरहेको देखेर उनी भगवान्तिरै नजर दिँदै दुवै हात जोडी पाउतिर खडै रहे। केही समय पछि श्रीकृष्णले आफ्नो नेत्र खोल्नु भयो, सम्मुख अर्जुनलाई देखेर भन्नुभयो¬ – जनञ्जय कतिखेर आयौ? भगवान्ले अजुर्नलाई यसरी सोधेको देखे पछि दुर्याधनलाई यो शंका उठ्यो कि श्रीकृष्णले कतै अर्जुनलाई कुनै वचन दिइहाल्ने त होइनन् भन्दै उनले आफू वसेकै ठाउबाट भने – वासुदेव पहिला म आएको हुँ। अर्जुन त पछि आएका हुन्। भगवान्ले आफ्नो टाउकोलाई वायाँ मोड्दै दुर्याधनतिर हेर्दै भन्नुभयो – ए तपाई आउनु भएको हो पहिला? दुर्याधनले भने – तपाईलाई ज्ञातै छ पाण्डवहरुसंग हाम्रो युद्ध निश्चित भै सकेको छ। तपाई मेरो ‘सम्धी’ पनि हो, युद्धमा तपाईको सहायता माग्नको लागि आएको हुँ।

भगवान्ले अर्जुनतर्फ हेर्दै भन्नुभयो – अर्जुन तिमी? अर्जुनले भने – म पनि सहायताकै लागि आएको हुँ। भगवान्ले बडो गम्भीर स्वरमा भन्नुभयो – तपाईहरु दुवै मेरो सम्बन्धी हुनुहुन्छ। यस घरेलु युद्धमा कुनै पनि पक्षमा युद्ध गर्न मेरो मनले मानि राखेको छैन। म यो युद्धमा शस्त्र उठाउने छैन। अतः एकातिर म एक्लो शस्त्रहीन रहने छु, अर्कोतिर मेरो नारायणी सेना शस्त्र – अस्त्रले सुसज्जित रहने छ। राजन अर्जुनलाई मैले पहिला देखेँ, त्यसमा पनि यी तपाई भन्दा उमेरमा कान्छा छन्। अतः पहिला अर्जुनलाई रोज्ने अवसर दिनु उपयुक्त हुन्छ। ल अर्जुन – दुई विकल्प मध्ये एक रोज।

अर्जुनले भने – “भगवन् हजुर हाम्रो पक्षमा हुनुहोस्।” यता भने पहिले अर्जुनले रोज्न पाउने भन्दासाथ दुर्याधनको मुख सुकिसकेको थियो, कतै अर्जुनले नारायणी सेना रोजिदियो भने शस्त्रहीन कृष्णलाई लिएर के गर्ने भन्ने शोचमा रहेकै अवस्थामा अर्जुनको रोजाई सुन्दासाथ दुर्याधन आफ्नो आसनबाट उत्साहका साथ उठ्दै भने – ल, ल ठीक छ। मलाई स्वीकार छ। यही बीचमा दुयोर्धनले पुनः दोहोर्याए – केशव ठीक छ अब नारायणी सेना मेरो पक्षमा प्रस्थान गर्ने आज्ञा दिनुहोस्। दुर्याधनकै साम्नेमा सेनापतिलाई बोलाई तत्कालै भगवान्ले आदेश गर्दिनु भयो। दुर्याधन प्रसन्न हुँदै फर्के।

दुयोर्धन गएपछि मधुसूदनले अर्जुनको परीक्षा लिने अभिप्रायले भन्नुभयो – पार्थ यो के केटाकेटी खेल खेल्यौ तिमीले? मैले त तिमीलाई पहिला अवसर दिएको थिएँ, मैले शस्त्र उठाउने छैन यो कुरो भनी पनि सकेको थिएँ, रित्तो मलाई लिएर के लाभ सोच्यौ? भै गयो, तिमी अझै पनि चाहन्छौ भने यादव शूरवीरहरुको एक अक्षौहिणी सेना मेरो वदलामा तिमी लिन सक्छौ अझै विचार गर।

अर्जुनले आखाँभरी आसु पार्दै भने – माधव हजुरले किन मेरो परीक्षा लिइरहनु भएको छ? मैले कुनै लाभ सोचेर हजुरलाई चुनेको होइन। पाण्डवहरुको जयहोस् या नहोस् किन्तु हामी त हजुर वेगर रहन सक्दैनौँ। हजुर त हाम्रो प्राण हो। मैले रोजेको ‘नारायणी’ होइन ‘नारायण’लाई हो। हजुर रहित हजुरको बल हामीलाई चाहिँदैन। हामी हजुरकै हौँ। हजुरकै समीपमा रहन चाहन्छौँ।

भगवान्ले मुस्कुराउँदै सोध्नुभयो – के गर्न चाहन्छौ तिमी मलाई? अर्जुनले गर्वसाथ भने – भगवान्लाई सारथि बनाउछु। मेरो रथको रश्मि हजुरले समाति मलाई निश्चिन्त गर्दिनुहोस्। हुनपनि अर्जुनले भगवान्संग ठीकै भनेका छन् जो आफ्नो जीवनरथको डोरी भगवान्को हातमा सुम्पिदिन्छ त्यस्ताको लौकिक तथा पारलौकिकता दुबै विजय निश्चित हुन्छ नै।

(लेखक विश्व हिन्दू महासंघ, कास्कीका सल्लाहकार हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width