नयाँ वर्ष– २०७६: देश र परदेश

तिलक पराजुली
चैत्र २९, २०७५

आउँदो आइतवार, वैशाख १ गते। नयाँ वर्ष २०७६ “नया वर्ष” सम्वन्धमा मैले पढेको एउटा मात्र कविता छ। भूपी शेरचनको कविता संग्रह घुम्ने मेचमाथि अन्धो मान्छेमा संग्रहित “नया वर्ष” कविता हो। हुन त अरु पनि पढिए होलान्। तर हृदय स्पन्दन नगर्ने, मुटुलाई नछुने कविता विस्मृतिमा गै हाल्छ। संझनामा रहँदैन। भूपि हृदयग्राहीछन्।

भूपिका केही कवितामा कुन वर्ष र काहाँ रचना गरिएको हो – त्यो अङिकत गरिएका छन्। “नयाँ वर्ष” कवितामा भने साल, ठाउँ केही छैन। यसमा “विष्णुमतीको फोहोर हैजे पानी ” को प्रसङग छ। उनले कवितामा भनेका छन् – “बेमौसमको वर्षात, बेला कुबेलाको बादलको गडाङ गुडुङग, आकाशलाई पखालो लेगेको छ ”। सायद, जुन वर्ष भूपीले यो कविता कोरे, अहिले झै चैत बैशाखमै प्रि–मनसुन शुरु भएको हुँदो हो। जे भए पनि उनले आँफुसँग जोडेर कवितामा लेखेका छन् – “फेरी एकचोटी, नयाँ वर्ष आएको छ, फेरि एकचोटी नयाँ क्यालेण्डरमा, आफ्नो जीवनको भिसा झुन्डाउनु छ। ” के जीन्दगी यही हो? प्रत्येक वर्ष फगत एउटा क्यालेण्डर (भित्तेपात्रो) फेर्ने। आफ्नै समीक्षा गर्दा ग्लानी र लघुता भाषको गर्तमा डुब्नु पर्ने खतरा हुन्छ। त्यसैले देश र दुनियाको कुरा गर्नु सहज हुन्छ। कुरा त्यसैको गरौं।

देशको कुरा

हाम्रो राष्ट्र नेपाल दक्षिण एसियाको सबै भन्दा पुरानो स्वतन्त्र तथा सार्वभौम राज्य हो। विश्व इतिहासका इमान्दार तथा प्राधिकार प्राप्त अध्येताहरु सप्रमाण यो निष्कर्षमा पुगेका छन्– कि संसारमा २७ ओटा स्वतन्त्र राज्य रहँदा त्यसमध्ये नेपाल पनि एक थियो। पृथ्वीमा कहिल्यै सूर्यअस्त नहुने साम्राज्य कायम गरेको अंग्रेज उपनिवेशवादी शक्तिलाई हाम्रा वीर पुर्खाले परास्त गरेका हुन्। त्यसको स्मारक सिंधुलीगढी छँदै छ – प्रमाण स्मरण गर्न। सन १२६० मा नेपालबाट अरनिको चिनिया सम्राट कुबलाई खाँ दरवारमा पुग्दा इटालीका माकोर्पोलो चीनमा पुगेकै थिएनन्। पछि पुगे। एक दुई वर्ष पछि। यी दुवै त्यहाँ भेट भए होलान। केही अगाडि चीनिया राष्ट्रपति सी इटालीको भ्रमणमा रहँदा यो कुरा स्मरण गरेका छन्। सुनाएका छन् – इटालीको राजधानी रोमशहरमा। भनि रहन पदैर्न, नेपाल एउटा देशको नाम मात्रै होइन। यो त एउटा गौरवशाली सभ्यता, संस्कृति, वैभव र शौर्यताको नाम हो। बुद्ध र सगरमाथाको नाम लिँदासाथ विश्वमा सवै नतमस्तक हुन्छन्। सम्मानले संझना गर्छन। “गोरखाली” वीरता भन्नै परेन।

समकालीन कुरा भने विरक्त लाग्दो छ। पंंचायती शासन भएन भनेर वहुदलीय व्यवस्था नै पुनस्र्थापना गर्यौ। राजाले विकास हुन दिएनन् भनेर गणतन्त्र ल्यायौं। सरदर गन्दा प्रत्येक एक दशकमा संविधान पनि फेर्दै आएका छौं। तर, देश र जनताको स्थिति आर्थिक –सामाजिक रुपमा झन रसातलतर्फ झर्दै गएको छ। राष्ट्र र जनस्वार्थ पृष्ठभूमिमा परेको छ। भूकम्पपीडितको पुनस्र्थापना तीनवर्ष वित्दा पनि हुन सकेन। जनयुद्धको नाउँमा भएका हत्या –हिंसा र प्रतिहिंसाका पीडितको घाउ आलै छ। व्यापार घाटा धान्नै नसक्ने छ। सवारी दुर्घटनाले सरदर प्रतिदिन पाँच–सात जना नेपाली मरेको मरेकै छन्। घुस नख्वाई सानो काम पनि कर्मचारीवाट गराउन सकिँदैन। शासन दिन जननिर्वाचित सरकार पूरै असफल छ। भ्रष्टाचारीको शासन छ। देश बेच्ने काम भएको छ। अर्थात, राष्ट्रका संपदा विदेशीलाई सुम्पने र नेपाली नागरिकता भारतीयलाई दिने काम भएको छ। सबै कुरालाई हेर्दा हाम्रो देशको नयाँ वर्ष पनि भूपीले कवितामा भने झै फगत एउटा नयाँ क्यालेण्डर फेर्ने झै भएको छ। व्यवस्था फेरिएर के गर्नु शासन गनेर्हरुको आचार, विचार र व्यवहार नवसामन्ती छ। माफिया र विचौलियाले राष्ट्रको शक्ति र स्रोत कव्जा जमाएका छन्।

प्रश्न के छ भने वर्ष २०७६ ले केही नवीन विचार र नवीनपन राष्ट्र र समाजमा प्रादुभवि गर्न सक्ला? हामीले त्यो आसा र प्रयास गर्नै पर्छ। हाम्रो गौरवशाली इतिहासलाई पुनर्जागरण गर्ने हामी नेपालीले नै हो। अगाडि बढ्नै पर्छ।

दुनियाँको कुरा

दुनियाको कुरा लामो छ। तर, दुई छिमेकी र एक विश्वमाहाशक्ति देशको कुरा नै सारभूत रुपमा नेपालको लागि महत्व राख्छ। पृथ्वीनारायणले विदेश नीतिको उपदेश गर्दा पनि दुई छिमेकीलाई महत्व दिएकै हुन्। यस परिप्रेक्षबाट विचार गर्दा यो दुई छिमेकीसँग सन्तुलनको सम्बन्ध नेपालको परराष्ट्र सम्वन्धको सनातन नीति भन्दा अत्युक्ति हुने छैन।

पहिलो कुरा गरौं भारतको। यी पंङ्ति लेखिरहँदा लोकसभाको लागि त्यहाँ प्रथम चरणमा परेका निर्वाचन क्षेत्रमा मतदान भईरहेकेा छ। झण्डै सवा अरब जनसंख्या भएको त्यो विशाल देशलाई लोकतन्त्रले एकताबद्ध राख्न सक्नु ठूलो महत्वको कुरा हो र राजनीतिको हल्ला –खल्ला प्रशासनिक अव्यवस्था व्यहोर्दै भारत अहिले आर्थिक र समरिक दृष्टिले उदीयमान विश्वशक्तिको रुपमा उदाउनु आफूमै ठूलो कुरा हो। दुरदर्शी राजनीतिक नेतृत्व र उनीहरुको देश भक्तिले संभव भएको छ।

भारतीयहरु विदेश संबन्धको मामिला चुनावको एजेण्डा कमै बनाउछन्। मोदी सरकारले २०७२ सालमा नेपाली माथि निर्मम नाकाबन्दी लगाएको थियो। यो उनको असफल छिमेक नीतिको रुपमा कुटनयिक तथा सामरिक विज्ञले औल्याएका छन्। विपक्षले भने यो कुरा चुनावमा उठाउदै उठाएका छैनन् तर नेपाल भने चर्चामा आयो।

नेपाल कुनै ठूलो कारणले प्रसङगमा आएको भने होइन। सन् २०१४ मा चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बन्दा मोदीले “मै देशको चौकीदार हुँ” भनेका थिए। रफेल कम्पनीसंग विमान खरिदमा घोटाला भएको, भ्रष्टाचार गरिएको आरोप लगाउँदै भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गाँधीले – “चौकीदार चोर है ” भन्दै बारंबार भाषण गर्न थाले। अहिले मोदीले “मै भी चौकीदार ” भन्ने फेसबुक खोलेर चुनाव प्रचारमा गएका छन्। यसलाई लिएर दिल्लीको आम आदमी पार्टीका नेताले टिप्पणी गरे –“ चौकीदार तो नेपाल से ले आ सकेत है, हमको तो प्रधानमन्त्री चाहिये। ” याहाँ मात्रै कुरा सीमित रहेन। मोदीकेा पार्टी विजेपीसंग गठबन्धन गरेका बम्बईका शिवसेना नेता उद्धव ठाकरेले पनि टिप्पणी गरे – “समझ मे नहिं आता, क्या मोदी जी नेपाल में चुनाव प्रचार कर रहें है। चौकीदार तो नेपाल में हैं। ” दिल्ली र बम्बईमा मात्रै होइन छिमेकमा हाम्रो छवि चौकीदार भन्दा माथि उठ्न सकेन। अब हामीले राष्ट्रको छवि सुधार्न सोच्नु पर्छ।

सात चरणमा हुने भारतीय चुनावको परिणाम के होला भन्न गाह्रो छ। तर भारतकै मत सर्भेक्षण र र निर्वाचन विज्ञहरु भन्छन् – गठबन्धन नै गर्न परे पनि मोदी पुनः भारतको प्रधानमन्त्री बन्नेछन्। राष्ट्रवाद, हिन्दुत्व र सुशासनलाई चुनावी मुद्धा बनाएको भारतीय जनता पार्टीका नेता मोदी फेरी पाँच वर्ष दिल्ली दरवारका मुखिया बने भने हिन्दु राष्ट्र नेपालको पुनस्र्थापना र दक्षिण एसियाली राष्ट्रहरुको संगठन सार्कलाई सदगत गर्ने तर्फ उद्धत रहने छन्। पाकिस्तान विरोधी मोर्चामा नेपाललाई उभ्याउने रणनीतिमा ज्यान छाडेर लाग्नेछन्।

एकल महाशक्ति अमेरिकाको “इण्डो प्यासिफिक रणनीति” र चीनको “बेल्ट एण्ड रोड” रणनीतिको प्रतिस्पर्धा अझ पेचिलो हुनेछ –२०७६ मा। नेपालले आँफूलाई फाईदा हुने गरी कसरी प्रस्तुत हुने हो, त्यो परीक्षा पनि नयाँ वर्षमा हुनेछ।

अन्त्यमा। “म एक जनाले गरेर के हुन्छ र” भनेर नसोचौं नेपाल राष्ट्र हाम्रो हो। हामीले इमान्दारी र देशभक्तिका साथ नेपालमाताको मनसा, वचसा, कर्मणा सेवारत रहने कृतसंकल्प गर्यौं भने नेपालको गौरव पुनःस्थापना गर्न सक्दछौं। नयाँ वर्ष २०७६ शुभ रहोस।

Related News

सम्बन्धित समाचार

hero news full width