द्वन्द्वको पीडा

कृष्णअन्जान ज्ञवाली
फागुन ८, २०७६

आफ्नै बाबु गुमाएको जनयुद्धलाई , जनयुद्ध दिवसको रुपमा कसरी मानउन सक्छु र कमरेड ?

नेकपाले फागुन १ लाइ जनयुद्ध दिवस मनाउने निर्णय गरिरहंँदा म पनि नेकपाकै एक परिपक्व कार्यकर्ता भएको हैसियत ले पार्टीको निर्णयलाई मान्नुपर्ने हुन्छ तर कमरेड हरु माफ गर्नुहोला म त्यही पार्टीको एउटा कार्यकर्ता भएरै पनि जनयुद्ध दिवस मनाउन सक्दिन ।
तत्कालीन माओवादी विद्रोहीको गोलि लागेर बाबा मारिनु भएपछि नवलपरासीका एकजना नेताले ठूलोरुख ढाल्दा सानो रुख ढलेको प्रतिकृया दिए । आज पन्द्र वर्ष भयो त्यो रुख ढलेर थिचिएको पीडा हाम्रो परिवारले भोगिरहेको छ । हामीले बारम्वार भनिरहेका छौं हाम्रो छाहारी बनेको सानो रुख किन ढालियो ? ठूलो रुख ढालेर तपाइंको अगाडिको बाटो सफा र छ्रयांग्ग भएको होला ,पद प्रतिष्ठा शान शौकत तपाइँले पाउनु भयो होला कमरेड तर हाम्रो अवस्थाप्रति के तपाइं संवेदनशील कहिल्यै बन्नुभयो कि भएन ?
नवलपरासीको सुनवल प्रहरी चौकी अगाडि पुग्दा अझै पनि मेरो बाबाको रगतको गन्ध आउंछ ,कताकता मानसपटलमा त्यही दिनको याद नाच्छ । सानो चियाको टंकी पछाडि बाबाको रक्तरञ्जीत लाश । उफ ! त्यही चौकी अगाडि उभिएर भक्कानिन मनलाग्छ । छट्पटि, त्रास ,आतंक,पीडा, व्यथा, कथा, आक्रोश र आंशु एकैपटक उम्लेर आउँछ । प्रत्येक पटक सुनवल पुग्दा बाबाको यादमा दुइ थोपा आंशु प्रहरी चौकी अगाडि उभिएर खसाल्छु र भन्छु बाबा तपाईंले त छाडेर जानुभो तर हामीले त्यो पीडालाई कहिल्यै भुल्ने सक्दैनौं ।
समयले यसरी एउटा खेल खेल्छ हामीले सोंचेका थिएनौ । हामी हरेकपल भित्र रोएर बाहिर हाँंसेका छौँ ।२०६० साल कार्तिक नौ गते विहान एउटा उन्मादी वन्दुकले हाम्रो बाबाको छाती छेड्यो । न योद्धा न सुराकी ,चिया पकाएर परिवारको भोक टार्ने भोजराज ज्ञवालीलाइ कमरेड हरुले निशाना बनाए ।
भोजराज ज्ञवालीले सुनवल चौकी अगाडि चिया पकाउनुहुन्थ्योे ,त्यही चियासंगै उनको परिवारको रोजीरोटी चल्थ्यो । विहानै आफ्नो चियाको टंकीमा पुग्ने एउटा स्टोभ ,दिउरी ,चिनी ,चियापत्ति दूधको जोहो गरेर बाबाले सांझ विहान चिया पकाउने र त्यही चियामा आफ्नो परिवारको भविष्य खोज्नु हुन्थ्यो ।
प्रहरी चौकी अगाडि उनको चिया पसल भएका कारण पनि सुनवल प्रहरीचौकीको प्रहरीहरु पनि भोजराजको पसलमा चिया पिउंँथे हरेक विहान आउने पत्रपत्रिका हेर्ने गर्थे । भारतको आसाममा लामो समय बसेका भोजराज आफै पनि चियाका पारखी हुनुहुन्थ्यो र सबैका लागि भोजराजको चिया पसल प्रिय थियो । तर नियतिले त्यही चिया पसल भोजराजको मृत्युको कारण बन्यो ।
द्वन्द्वका घाउ देश भरी अनगिन्ती छन । जहां पुग्दा पनि एक न एक जना आफु जस्तै पीडामा रोएको भेटाउंँछु । जसले कुरा गरे पनि आफ्नो पीडा बल्झेर आंखा रसाउँंछन । हामीले भोगेका पीडा अरुले पनि भोग्दै छन् पीडा सबैका उस्तै उस्तै हुन भन्ने लाग्छ ।

बाबालाई जतिवेला गोली हानियो त्यतिवेला भाइबैनीहरु भर्खर आफ्नो भविष्य खोज्दै थिए । बाबा भारतबाट नेपाल फर्किएर आएपछि हामी धेरै खुशी भएका थियाँै ,मुग्लानका लामो समय वसेर फर्केका अभिभावक बाबा हाम्रो आशाको केन्द्रविन्दुको रुपमा रहनु भएको थियो । बाबा सुनवल प्रहरी चौकी अगाडिको सानो काठको टंकीमा परिवारको सुख र समृद्धि खोज्दै हुनुहुन्थ्यो ।

बाबालाई जतिवेला गोली हानियो त्यतिवेला भाइबैनीहरु भर्खर आफ्नो भविष्य खोज्दै थिए । बाबा भारतबाट नेपाल फर्किएर आएपछि हामी धेरै खुशी भएका थियाँै ,मुग्लानका लामो समय वसेर फर्केका अभिभावक बाबा हाम्रो आशाको केन्द्रविन्दुको रुपमा रहनु भएको थियो । बाबा सुनवल प्रहरी चौकी अगाडिको सानो काठको टंकीमा परिवारको सुख र समृद्धि खोज्दै हुनुहुन्थ्यो । भल्किरहेको चियामा परिवारको सुख देख्ने भोजराजलाई भारतबाट नेपाल फर्केको डेढ वर्ष पनि आफ्नो देशमा बांच्न दिएन नियतीले ।
समयले डेढ दशक नेटो काट्यो तर पनि आमा हरु भाइबैनी र म आफैका आंखा ओभाना छैनन् । अझै पनि यो घाउ निको भएको छैन र कहिल्यै निको नहुने चोट बनेर मनमा गढेको छ । बाबाको यादमा सानिमा सीता ज्ञवालीले नवलपरासीको सुनवल छाड्न सक्नुभएको छैन । पन्द्र वर्ष देखी भाडामा बसेर परिवारलाई हुर्काउने बढाउने र पढाउने गर्नु हुन्छ । मेरी आमा यमकला ज्ञवाली जीर्ण घर कुरेर गुल्मीको थोर्गा गाउँमा हुनुहुन्छ । पढेलेखेका भाइबैनिहरु बेरोजगार छन् । तर हामीलाइ हाम्रो अवस्था सोध्ने केही छैन ।
बाबाको सम्झनाले सीता ज्ञवाली सुनवलमा ,यमकला ज्ञवाली र कृष्ण ज्ञवाली गुल्मीमा ,प्रकाश र विनोद भैरहवामा ,सुशीला अन्जु हरु गैंडाकोट र चितवनमा सुकसुकाउंँछन र चित्त बुझाउंँछन् । हुन पनि आंशु बगाउनु बाहेक हाम्रो भाग्यमा के छ र ?
बाबाले बनाउन शुरु गरेको घर नवलपरासीको सुनवलमा अधुरो छ त्यसलाइ पूरा गर्न सकेका छैनाँै । गुल्मीमा घर जीर्ण छ, गोठ भत्किएको छ त्यसको मर्मत हुन सकेको छैन । भन्ने ठाउं छैन र भनेको पनि सुनिंदैन । शहरतिर अनेकौं संघ संस्थाहरु छन दुखीलाई सहयोग गर्छन रे भनेको सुन्छौं तर हामी माझ कोही आउंँदैन ।
यी पन्द्रवर्ष हरुमा हामीले अनेकौं पीडा भेगेका छौँ कति रात हाम्रो परिवार भोकै सुतेको छ । पीडा, व्यथाका आंशु बगाएका दिनहरु त सधैँ छन् । हाम्रो दुःख देखेर आत्मसन्तुष्टि लिनेहरु पनि हामीले देख्यौं यहाँ सम्मकि द्वन्द्व पीडितको केही सहयोगमा हाम्रा सोझा आमाहरुसंग कमिशन खाने हरु पनि हामी माझ नै छन् ।

यतिवेला सरकार जनताको छ । कम्युनिष्टहरु आफुलाई जनताको सरकार भनेर दावी गर्छन् । हाम्रो सबै परिवारले सधैँ कम्युनिष्ट पार्टीको सूर्य चिन्हमा भोट हाल्छ र त्यहीपार्टीको सरकार छ । यतिवेला त्यही हाम्रो परिवारको सूर्य चिन्ह मेरो बाबालाई गोली हानेर ढलाउने कमरेडहरु संग मिसिएको छ । म पनि सचेत कार्यकर्ता हुं अवश्य पनि कम्युनिष्ट हरु एक हुनुपर्छ भन्ने मान्यता म भित्र छ ।
हो पीडा देशै भरी छ जनयुद्धमा भविष्य देखेर होमिएका हजारौँ शहीद,घाइते,वेपत्ता ,अपांगका परिवार पनि हामी जस्तै पीडामा रुन्छन् भक्कानिन्छन् घाउ त उनीहरुका पनि उस्तै हुन् राज्यले सबैप्रति न्याय गर्नु पर्छ ।
तर वैचारिकयुद्ध लडेकाहरु त युद्धका योद्धा थिए तर मेरो बाबा न कुनै राजनैतिक पार्टीका कार्यकर्ता थिए ,न कसैको बन्दुक बोकेर हिंडने योद्धा थिए र न राज्य को कुनै निकाएमा थिए न कुनै सुराकी नै । सामान्य नागरिक अनाहकमा मारिएको पीडा कस्तो हुन्छ हाम्रो परिवारमा आएर जो कोहीले बुझ्न सक्छ ।
हो मैले यो कुरा लेखिरहँदा पार्टीले जनयुद्ध दिवस मनाइरहेको छ । पार्टी एकताको शन्देस दिन जनयुद्ध दिवस आवश्यकता पनि हो तर जुन जनयुद्धले निर्दोष मेरो बाबालाई छातिमा गोली ठोकेर हत्या गरेको छ आमा हरुको सिन्दुर ,खोसेको छ ,हामीलाई टुहुरो पारेको छ त्यस्तो जनयुद्ध दिवसको रातो अविर निधारमा लगाएर म कसरी बाबा प्रति सांचो श्रद्धाञ्जली अर्पण गर्न सक्छु र ?
माफ गर्नुहोला कमरेडहरु म आफ्नै निर्दोष बाबा खोसिएको जनयुद्ध लाई जनयुद्ध दिवसको रुपमा कसरी मनाउंन सक्छु र ?
कृष्ण अन्जान ज्ञवाली गुल्मीका कृयाशील पत्रकार हु्न् ।सं.

Related News

सम्बन्धित समाचार

hero news full width