दोषी नेता होइनन्, हामी हौं

युवराज खनाल
माघ ५, २०७७

राजनीतिक दलहरुको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्य अनि एउटै आरोप सुनिन्छ, देशको यो हालतको जिम्मेवार यहाँका नेताहरु हुन् । कार्यकर्ताहरु हुन् । यिनीहरुले नै देश बिगारे ! यो भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन सकिँदैन । किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलिएन’ होइनन कि जो अचानक प्रकट भएर हामीमािथ शासन गरुन् ।

ती त हाम्रै समाजका सहउत्पादन हुन् । तपाईं हाम्रै प्रतिनिधि अनुहार हुन् र तिनिहरुलाई जन्माउने हुर्काउने र मदमस्त हात्ती बनेर मात्तिने आधार प्रकट गर्ने स्वयं हामी हौं । कुनै तेस्रो ग्रहको अदृश्य शक्ति होइन । दोषी म हो, तपाईं हो र हामी सबै हौ । हाम्रो दुर्भाग्य हामीले नेता त जन्मायौं तर एउटा पनि राजनेता जन्माउन सकेनौं । शासक जन्मायौं तर एउटा पनि कुशल प्रशासक जन्माउन सकेनौं । लुटेरा स्वार्थ नेता मात्रै जन्मायौं ।

घुम्नेकुर्चीमा जन्मजात तानाशाह भएर कोही जन्मिदैन । तिनीहरुलाई त्यो स्थानमा पुर्‍याउने हामी हौं, मोहनदासलाई गान्धी बनाउने हामी हौं । आखिर दोष तपाईं हाम्रो पनि छ । दुर्गम झुपडीमा जन्मेर सिंहदरबारको अन्धो कुर्सीमाथि विराजमान गराएर श्री ८ बनाउने पनि हामी हौं । टोलटोलमा टोलेराजा जन्माएर पिर्के सलामी दिने पनि हामी हौं ।

उनीहरुकोे झोला बोकेर, चाप्लुसी गरेर, हरेक गल्तीलाई सही भन्दै अन्धभक्त समर्थक भएर तिनीहरुभित्र सुतेको जंगबहादुर जन्माउने हामी हौं । हिटलर मुसोलोनी जन्माउने हामी हौं । सही व्यक्ति, सही स्थान छनौट गर्न नसकेर गलत व्यक्तिहरुलाई सत्तामा पुर्‍याउने अनि बर्बाद गर्‍यो, सखाप गर्‍यो भनेर आँसु बगाउने पनि हामी हौं । केबल हामी हौं ।

दोषी नेताहरु होइनन् । प्रमुख दोषी हामी हौं, जसले प्रजातान्त्रिक संस्कारमा व्यक्ति चुन्न पाउने अधिकारको सहिप्रयोग गर्न जानेनौं र अनुपयुक्त पात्रलाई अनुपयुक्त स्थानमा चुनेर पठायौं । प्रतिवाद गर्न मन लाग्छ । आफैलाई चिथोर्न मन लाग्छ । चिच्चाएर संसारलाई सुनाउन मन लाग्छ ‘नेताहरुले बिगारेका होइन देश । तिमिले बिगारेको हो । मैले बिगारेको हो, हामी सबै मिलेर बिगारेको हो’ भनेर ।

अहिले जति नै एकअर्काका दुश्मन भए पनि यी जुधेका नेताहरुबीच कार्यगत एकता हुनेछ । मोलमोलाई हुनेछ

कसरी भन्न सक्छौं नेताले बिगार्‍यो देश भनेर ? देश बिगार्ने, भ्रष्टाचार गर्ने, देशको भूगोल बेच्ने दुस्साहस कसरी पैदा भयो नेतामा ? अर्को मुसोलिनी कसरी जन्मियो नेताभित्र ? देशमा कोरोनाले अत्तालिएका बेला मध्यावधिमा जाने नेतालाई पठाउने पनि तपाईं हामी । गोयबल्स शैलीका हामीहरुको क्षमताले महात्मा गान्धी कहिले जन्मिन्नन् । हामीले जन्माउने भनेको हिटलर हो र अहिलेसम्म जन्माएका पनि हिटलर नै छौं । कुन नैतिकताले आरोप लगाउँछौं मात्र नेता कार्यकर्तालाई ? र आफू पानीमाथिको ओभानो बनेर बस्छौं ।

बाँदरको प्रवृत्ति नै भत्काउने हो र बिगार्ने हो । घर बनाउन बाँदर पठाउने अनि रुने पनि ? भताभुंग पार्‍यो, खत्तम पार्‍यो, रुनुनै थियो किन सुम्पियौं बादरलाई आफ्नो सुन्दर घर, सुन्दर बगैंचा अनि साँचिएका सपनाहरु ? हामीले थाहा पाउनुपर्ने हो कि होइन ? बादरले भत्काउँछ । बादरले बिगार्छ किनकि त्यो उसको बानी हो, त्यो उसको धर्म हो । त्यस्ता बाँदरहरुलाई आफूमाथि शासन गर्ने अधिकार सुम्पिने बेला मदहोस भएर झुठा आश्वासन, भाषण अनि रक्सी मासुमा नैतिकता बेच्ने ! अनि पछि कराउने पनि सबै भत्कायो भनेर ?

कागतीको बिरुवा रोप्छौं अनि कराउछौं आँप किन फलेन भनेर ? सिस्नु रोप्छौ अनि गाली गर्छौ गुलाब किन फुलेन भनेर ? रोप्नुभन्दा पहिले सोचेनौ तिमी के रोप्दैछौ ? तिमीलाई थाहा छैन ? जे रोप्यो त्यही फल्छ यो प्रकृतिको नियम हो । गधा पाल्यौं अनि दूधको आशा गर्छौं ? दूध पिउनुथियो त गाई पाल्नु थियो यो कुरासम्म हामीले बुझ्न सकेनौं भने अरुलाइ सरापेर हुन्छ ? नेतालाई गाली गरेर हुन्छ ?

देश भनेको घर हो । कहिले सोच्यौं घर बनाउने गलत मिस्त्री छनौट गर्दा के हुन्छ ? गलत मिस्त्री छनौंट गरेर घरको छानोको जिम्मा दिने अनि त्यही छानो भत्केर अपाहिज हुने, घाइते हुने हाम्रो नियती हो । र यो नियती हामी वर्षौदेखि भोग्दै छांै । र ठोकेरै भन्छु अझ कयौ वर्ष भोग्ने पनि छौं, त्यतिबेलासम्म जबसम्म हाम्रो चेतनाको दियो बल्दैन । त्यतिबेलासम्म जबसम्म हामीभित्र स्वाभिमानी नागरिक जन्मिँदैन ।

कुन इतिहासमा लेखिएको छ हामीलाई अरुले बनाएर दिन्छ भनेर ? जे बनाउनु छ आफै बनाउनु छ । जे रोप्नु छ आफै रोप्नु छ र जुन बीउ रोप्यौं त्यसैको फल काट्नु छ । दोषी कुनै सति होइनन् । न त सतिले सरापेको नेपाल खाल्डो नैं हो । दोषी तिमी, दोषी म । दोषी हामी हौं । हाम्रो चरित्र दोषी हो । हाम्रो चेतनास्तर दोषी हो । हाम्रो चाकरीबाज अनि शक्ति । सत्ताको ‘ज्यू हजुरी’ गर्ने बेचिएको नैतिकता दोषी हो । नेताहरुलाई दोष दिनुभन्दा अगाडि किन सोच्दैनौं हामी ? एकपटक होइन बारम्बार गलत छनौट किन ? एकपटकको धोकाले नचेतेर बारम्बारको धोका किन ?

थाहा छ फोहोर भइसक्यो, गन्हाइ सक्यो तै पनि त्यही बासी सडेगलेको आचारमामा झिंगाजस्तै भन्किरहने हामी किन ? कहिलेसम्म ? कहिले सम्म हामी झोले भनेर बस्ने ? कहिलेसम्म पार्टीका हनुमान छाप भएर जिन्दगी बिताउने ? कहिलेसम्म भ्रष्ट नेताहरुका धुर्त पासाहरुको सकुनी खेल हेरेर रमाउने ? हामीले बुझिसक्यौ यी भ्रष्ट सकुनीहरुबाट देश बन्दैन । फेरि किन यिनै धृतरास्ट्रहरुको जिम्मा लगाउँछांै आफ्ना सपनाहरु, आफ्ना रहरहरु र सन्तानका भविष्य ?

दोषी कोही एकजना होइन दोषी हामी सबै हौं । ज–जसले यी भ्रष्टहरुलाई देश बनाउने जिम्मेवारी दियौं । समर्थक बन्यौं । थाहा थियो यी आफू बन्नेछन तर देश बन्ने छैन । आफू बाँच्ने छन् तर देश हार्नेछ । आफू जिउने छन तर हाम्रा सपना मार्ने छन् । आज ओली पनि त्यहि देखाए फेरि हाम्रै सपनाहरूको सामूहिक चिहानमा उभिएर फेरि अर्कोपटक हाम्रै घर दैलोमा आउनेछन् भोट माग्न, चुनाव जित्न । धूर्त ओठहरु बाहिर कृत्रिम मुस्कुराहट बोकेर, गुलाफको फूलभित्र छुरा लुकाएर । त्यै पनि हामी यिनीहरुमाथि नै भरोसा गर्नेछौं । जिम्मेवारी दिनेछौं, आफ्नो रोएको भूत र रुँदै गरेको वर्तमान सजाउन ।

भत्केको हाम्रो छानो अनि चर्केको पार्टी बनाउन । तर फेरि हाम्रो दुर्भाग्य ! नयाँ छानो त कताकता, भएकै छानो झन् भत्काउने छन् । बचेको पेटीमा प्वाल पार्ने छन् । चिथोरेर मार्ने छन् नेता दोषी होइनन्, हाम्रो हाम्रो सोच दोषी हो । हाम्रो छनौट दोषी हो, हाम्रो मानसिकता दोषी हो । बाजे बराजुको पालादेखि देख्दैछौं कहिले घर बनाएनन् यी आधुनिक नेताले अनि भित्रभित्र बुझेका पनि छौं यिनीहरुको हातबाट हाम्रो सुन्दर घर कहिले बन्दैन पनि । तैपनि फेरि बारम्बार । एक पटक होइन बारम्बार उनीहरुलाई नै अख्तियारनामा दिएर पठाउँछौं ।

फेरि एउटा बाँदरको सपनाभित्र हाम्रो घर बनाउने, हाम्रो जिन्दगीमा सुख समृद्धि ल्याउने सपना देख्छौं । फूलमाला लगाएर पठाउँछौ अरु धेरैधेरै नेताहरुको ठूलो हुलमा नयाँ बानेश्वरतिर तर उ सत्ताको सिँहासनमा हराउँछ । मदहोस भएर श्रीपेच लगाएर बस्छ । चिन्दैन हामीहरुलाई । गन्दैन कसैलाई । आफू हिँडेको आँगन बिर्सिन्छ र आफू अडेको जमिन चिन्दैन ।

आखिर कहिलेसम्म ? कहिलेसम्म यी नेताहरुको विश्वासमा आफ्नो भविष्य तहसनहस गर्ने हामी ? भूत बर्बाद भएको छ । वर्तमानको अत्तोपत्तो छैन । भविष्य अन्धकारमय छ फेरि पनि किन विकल्प नखोज्ने हामी । आजको आवश्यकता भनेको झुठो नारा र उग्र राष्ट्रवाद होइन । खानेपानी हो, स्तरीय विद्यालय हो, बाटोघाटो हो, स्वास्थ हो । कसैले अकालमा मर्न नपरोस् । एउटा उचित अस्पताल होस् । हिँड्न लायक सडक र गुड्नलायक आँगन होस । स्तरीय खानेपानी र शिक्षा होस् ।

यो गन्हाएको राजनीति र भ्रष्टहरुको लुटतन्त्रबाट जोगिन एउटा वैकल्पिक शक्ति चाहिएको छ । अझै जोड दिएर भन्छु एउटा हिटलर चाहिएको छ । मुसोलिनी चाहिएको छ । टुँडिखेलमा ठिंग उभिएको जंगबहादुर होइन रगत लत्पतिएको खुकुरी बोकेर भ्रष्ट अनि विकृतीविरुद्ध जाइलाग्ने एउटा भीमदत्त चाहिएको छ ।

कहिलेसम्म यी गैरजिम्मेवार नेताहरुबाट सुन्दर फूलबारी, यो प्यारो नेपाल लुटाइरहने ? भत्काइरहने ? अनि हामी टुलुटुलु हेरिबस्ने लाचार भएर ? निरीह भएर भूपी शेरचनले भनेजस्तै । हामी अन्धा हौं । हामी दिमाग भएर पनि दिमाग नभएका मुर्ख हौं । मरुभूमिमा छाडिएका एक हुल भेंडा हौं ।

हाम्रो काम भनेको आफ्नै आँखा अगाडि सुन्दर फूलहरु च्यातिएको, रेटिएको, निमोठिएको हेरिरहने आखिर कहिलेसम्म ? यी भत्किएका सडक अनि च्यातिएका रहरहरु हामीलाई गिज्याइरहेछन् । आखिर कहिलेसम्म ? हामी नेपाली जो प¥यौं । धेरै बुद्धिमान छौं र पो बारम्बार दूधको चौकिदारी गर्न बिरालोलाई पठाइरहन्छौं । अनि सपना पनि देखिरहन्छौं भोलि यो दूध जमेर दही बन्नेछ अनि त्यो दहीबाट मिठामिठा परिकार बनाएर खानुपर्छ भनेर । भोका कुपोषणले ग्रसित बच्चाहरुलाई पनि खुवाउनुपर्छ भनेर ।

तर दुर्भाग्य त्यो दही कहिलै जमेन र लेखेर नै राख्नुहोला यी गैरजिम्मेवार नेताहरुको हातबाट कहिले जम्ने पनि छैन । फेरि एकपटक भन्छु, दुनियाँले सुनोस्, संसारले सुनोस् । यी डाँडाकाडा भिर पखेराले सुनोस् ।

अहिले नेताहरुको व्यवहारको व्यापक विरोध भएको छ । पछुताएका छन टोलबासीहरु, धिक्कार्दैछन आफैलाई । तर यो पछुताउ थोरै हो । यो धिक्कराइको कुनै अर्थ छैन । भोलि फेरि चुनाव हुनेछ, सत्ताको माड खाएर झन बलियो बांगो भएका यी नेताहरु झर्नेछन् सिँहासनबाट र फेरि चुनाव लडनेछन् ।

अहिले जति नै एकअर्काका दुश्मन भए पनि यी जुधेका नेताहरुबीच कार्यगत एकता हुनेछ । मोलमोलाई हुनेछ । बगैंचाहरु भाग लगाइनेछन् । हाम्रा सपनाहरुमाथि बार्गेनिङ चल्ने छ । कुनै योजना छैन यी अबुझकीहरुसँग । कुनै सपना देखेका छैनन् यिनीहरुले । केही भिजन बनाएका छैनन् । यी त केबल सपना देखाउन आएका हुन् । भावना किन्न आएका हुन् । सम्मान थापेर आफूलाई जंगबहादुरको सन्तान सम्झिँदै मच्चिन आएका हुन् । कलाविहीन कलाकार हुन्, कलाकारिता देखाउन आएका हुन् ।

अब ४ महिनापछि चुन्ने अवसर आउनेछ । अवसर आउनेछ आफ्नो भाग्य विधाता, आफ्नो सुन्दर बगैंचाको चौकीदारको छनौट गर्ने । यसपटक भने केही नयाँ सपना देख्नुपर्छ । केही नयाँ सम्भावनाहरु खोज्नुपर्छ । भावनाले होइन विवेकले चलाउनुपर्छ आफूलाई । यी जुधेका नेताहरुको विरुद्दमा भिजनको आवाज गुन्जिनुपर्छ । सपनाको मार्गचित्र कोर्नुपर्छ । नयाँ सपना देख्नुपर्छ ।

हाम्रा अँधेरा भिर पाखामा पनि बत्ती बल्छ कि ? हाम्रो सुकेको आँखाले पनि सपना देख्छ कि ? हाम्रो हाँसो हराएको उजाड ओठमा पनि लाली छाउछ कि ? एउटा विश्वास लिएर फुलाउनुपर्छ, आउने वसन्तमा नयाँ पालुवाहरु, नयाँ सपनाहरु र नयाँ सम्भावनाहरु । अब बुझ्नुपर्छ हामीले बाँदरहरु पहिलेभन्दा हट्टाकट्टा भएर आउँनेछन । अब ढेडुहरुको हिँडाइले जमिन थर्किनेछ । सुन्दर बगैंचा लुटेर ढाडिएका नेताहरु झन् ढाडिएर अबको चुनावमा पनि आउनेछन् । फेरि एकपटक सपना बाँड्नेछन् । आश्वासन बेच्नेछन् र फेरि सपनाहरूको हत्या गर्नेछन् । चटक सुरु हुनेछ, कलाकारिता सुरु हुनेछ । पकिनेहरु फकाइनेछ्न, बिक्नेहरु किनिनेछन् । आधुनिक भेंडाहरुलाई मनपर्ने रक्सी, मासु र पैसाको खोलो बगाइनेछ र स्वाभिमानको आवाज गुन्जाउनेहरुलाई रणनीतिकार षडयन्त्रकारीको आरोप लगाइनेछ । भेंडाहरुका आँखा चम्किनेछन् । अरिंगालहरु झम्टिन लागी पर्ने छन् । मुखमा पानी रसाएर बसेका झोलेहरुको दसैं आउनेछ र फेरि हामीलाई सपना देखाइनेछ विकास, समृद्धि, स्वास्थ अनि शिक्षाको ।

हामी फेरि पनि यिनै नेताहरुका झुठा सपनामा आफूलाई बेच्नेछौं । किनकि यी नेताहरु त पुराना पो हुन् । यी बाँदरहरु त आफ्नै पो हुन् । मेरा बाजे बराजुले मान्दै आएका । मेरा बाउबाजेको पालादेखि चुनिँदै आएका । हामी आस्थाका राजनीतिप्रति विश्वास लिनेहरु ।

अहँ ! अरु कोही चाहिन्न अब हामीलाई । नयाँहरुको के भरोसा ? यिनै नेताहरुले बनाउने छन् हाम्रो फूलबारी । सिँगार्ने छन हाम्रो करेसाबारी । ‘यो नेता त्यो नेता’ भन्नु केही छैन । हामी परिवर्तन हुन चाहन्नौं र परिवर्तन भएको पनि हेर्न सक्दैनौं आफूलाई । चुनावमा जुन मुर्ख उठे पनि हुन्छ । किनकि हामीले कुनै सेवक जिताउनु छैन शासक जिताउनु छ । हाइकमान्डबाट जसलाई खटाइएको छ, त्यसैलाई जिताउनु छ ।

देश बनाउँछु भनेर हिँडेका त्यो हुलमा सम्भावना भएका अनुहार पनि छन् । परिवर्तनका सम्भावना पनि छन तर हुन्न कदापि हुन्न हामीले तिनीहरुलाई कदापि छान्नु हुन्न । किनकि ती हाम्रो पार्टीका होइनन् । हाम्रो बाउले जिताएकावाला होइनन् । हाम्रो बाजेले रुचाएका होइनन् । जति नै गन्हाएको बोको किन नहोस त्यसैलाई चुन्नु छ । जति नै धूर्त किन नहोस् त्यसैलाइ छान्नु छ, किनकि त्यो मेरो हो । मेरो पार्टीको हो, मेरो खानदानी नेता हो । व्यक्ति जस्तो होस पार्टीले जिते पुग्छ । धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ । हो वास्तवमा हामी सबैको मानसिकता नै यस्तो छ । आज मुलुक यो अवस्थामा छ । किन देशका लागि सोच आएन । देशले यति महँगो चुनाव थाम्न सक्ने अवस्थामा छ कि छैन ? किन सोच आउन सकेन ।

Related News

सम्बन्धित समाचार

hero news full width