दुई रत्नका यत्न

मदन भण्डारी
मंसिर १०, २०७६

बाँदरले हाम्रो देशै भताभुङ्ग पारेको छ। बाँदरबाट विकसित मान्छेले भने आफ्नो देशलाई अचाक्ली माया गर्दा रहेछन्।

‘रैछौ माया अति नै खुनी
वनको ढुकुर भन्दा नि बैगुनी !’

लोकगीत गाइन्छ तर, ढुकुरभन्दा बाँदर पो बैगुनी देखिन्छ। दिँदा खान्छ अनि अलि टाढा गएर ढुङ्गा हान्छ। केरा खान दिएँ तर पशुपतिको एउटा बाँदरले मेरो भेस्ट च्यातेर भाग्यो र बाँदर्नीसँग लठारिन पुग्यो। कतिपय गाउँठाउँमा बाँदर आतङ्क रोकथामका लागि ठूल्ठूला बजेट खर्चिइन्छ। देशमा लोकतन्त्र छ। बाँदर मार्न पाइँदैन। लोकतन्त्रका हिमायती चर्चित वकिलहरू मोहम्मद अफ्तर आलमको पक्षमा वकालत गर्छन्। यो पेशागत स्वतन्त्रता र मानवअधिकार दुवै हो। विप्लवले जतिसुकै धम्क्याए पनि बाँदरे नेताका सुरक्षामा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेकै छ। यसैले चुनावमा मीठा–मीठा गीत गाउँदै छिरलिएका बाँदरका हुल देखिनु अस्वभाविक होइन।

बाँदरले हाम्रो देशै भताभुङ्ग पारेको छ। बाँदरबाट विकसित मान्छेले भने आफ्नो देशलाई अचाक्ली माया गर्दा रहेछन्। यस्ता मान्छेलाई रत्न भनिँदो रहेछ। दार्जिलिङ्गका सुधपालाई, नेपालका लेखनाथ, सम र देवकोटालाई त्रिरत्न भनिन्छ। हाल सन्दुक रुइत, कुलमान घिसिङ, बुद्धिनारायण श्रेष्ठ र डा गोविन्द केसीलाई नेपालका चार रत्न भनिँदै छ। एउटा रमाइलो संयोग, कान्तिपुरमा रामेश्वर बरालले यी चार महान् व्यक्तिलाई रत्नको उपाधि प्रदान गरेकै दिन पोखरामा यस्तै दुई व्यक्तित्वलाई पोखरेली रत्नका रूपमा प्रस्तुत गरियो। एउटा साहित्यिक सभामा पोखराका यी रत्नले माटोको मायाको यत्न देखाए। वार्धक्यले थिचिन थालेका यी दुई जन्तु पोखराका रत्न हुन्, देशकै रत्न हुन्। पीताम्बर नेपाली र तिलक पराजुली। यिनका छातिका देशभक्ति काममा अनुवाद पाइन्छ।

हामी जुन घटना वा परिस्थितिलाई संयोग वा काक्ताली भन्छौँ त्यसका पछाडि पनि केही कडी लुकेका हुन्छन्। त्यस्तै भयो। पृथ्वीनारायण क्याम्पस गेटको सीधै अगाडि (पश्चिम) को एउटा भवनमा ‘गण्डकी हाई–टेक कम्प्युटर’ को ठूलो बोर्ड टाँसिएको छ। त्यहाँ असफल नामका एकजना अभिमानी मान्छे बस्छन्। समालोचकको ख्याती कमाएका छन्। पाँचै दाजुभाइले एसएलसी पास गरिसक्दा एक्लो बाउले पालेका टुहुरा पाँचै छोराको शैक्षिक प्रगतिमाथि दुष्मन लागेका कारण एउटा खुट्टा खोँचयाएर हिँड्छन्। राज्यले दिने सुविधाको साधन प्रयोग गर्न मान्दैनन्। भन्छन्, ‘अपाङ्ग मानसिकताका मान्छेहरूले दिने सुविधाले मेरो मनलाई असुविधामा पार्छ !’ आफै नेपाली साहित्यका विद्वान् भएकाले भासिक शुद्धता खोजेर कम्प्युटर सेवा लिन चाहनेहरू त्यहाँ पुग्छन्। कतिपय सेवाग्राहीद्वारा ठगिन असफल गौतम मञ्जुर देखिन्छन्। उनै असफल र म बार्दलीमा गफिइरहेका थियौँ। क्याम्पस गेटको प्राङ्गणमा नेविसंघका विद्यार्थीहरूले चर्को नारा घन्काए, ‘भारतीय विस्तारवाद मूर्दावाद !’ मलाई हाँसो उठ्यो। हाँस्दै भनेँ, ‘५० बर्ष अघि काङ्ग्रेसले यति भन्न जानेको भए म कम्युनिष्ट हुने थिइनँ…..!’

‘काङ्ग्रेस कस्सियो, हामी पनि कस्सिने होइन? यै हट्केक इस्यूमा जरोटुप्पोको एउटा कार्यक्रम राखौँ न !’ असफल गौतमले भने।

जरोटुप्पोलाई बैठक डाक्न धेरै गाह्रो छैन। बहुमत सदस्य तुरुन्तै उपलब्ध हुन सकिन्छ।

‘हिरोइन्लाई फोन गर्नोस त !’ मैले भनेँ।

तुलसी क्षेत्रीले फोनमै उत्साह देखाइन्। डा. नारायणप्रसाद अधिकारी, प्राडा यमबहादुर पौडेल क्षत्री, प्राध्यापक कृष्ण पौडेल, सुमन श्रापित र सविना कार्की बसेर निर्णय गरियो। एक हप्तापछि अर्थात् कात्तिक ३० गते शनिबार जरोटुप्पो संरक्षण साहित्य समाजले ‘साहित्यमा माटोको माया’ विषयक विचार गोष्ठी गर्ने निधो भयो।

‘जरो टुप्पो संरक्षण साहित्य समाज, नेपाल’द्वारा आयोजित ‘साहित्यमा माटोको माया’ विषयक विचार गोष्ठी यिनै दुई रत्नका अभिव्यक्ति सुन्नमा केन्द्रित थियो। यी विद्वान्द्वयले देशभक्तिका पत्यारिला अभिव्यक्ति पोखे। देशको भूगोल, इतिहास र अन्तराष्ट्रिय कानूनका ज्ञाताका मार्मिक अभिव्यक्तिले सानो सभामा ठूलो रौनकता छाएको थियो।

‘ला कुकुर खुट्टा खा !
टोक्ने कुकुरलाई खुट्टा दिन्छन्
टोक्छ, अनि रुन्छन् !’

कार्यक्रमको दैलो उघार्दै कलिली वयकी सपना तिमिल्सिनाले कविता सुनाइन्। कार्यक्रमप्रति श्रोतादर्शकको ध्यान आकृष्ट भयो। अर्की युवती सविना कार्कीले आमाप्रति पीडापूर्ण अभिव्यक्ति पोखिन्।

‘देश छोड, देश छोड भनिएकै हो
भीडमा क्रान्तिकारी बनिएकै हो !’

फिल्मी कलाकार तुलसी क्षेत्रीले कविरूप धारण गरिन्। दर्शकश्रोतालाई ०६२/०६३ को आन्दोलनको मनोलोकमा पुर्याइन् । महाकाव्यकार छन्दिका त्रिपाठीले कवितावाचन गर्दा उनको कला र गलामा सुन्दर संयोजन पाइयो। आदर्श सापकोटाको गजलमा पनि राम्रै दम थियो।

प्राज्ञ एवम् बिम्बकवि रमेश श्रेष्ठको अभिव्यक्तिमा उनको प्रज्ञा झल्किएको थियो। खुसीमान गुरुङले अब देश बचाउन दृढ संकल्प र निरन्तर प्रयत्न चाहिने बताए । प्राज्ञ सूर्य खड्का बिखर्चीले योग्यताको कदरमा जोड दिए। सामाजिक अभियन्ता गजकुमारी गुरुङले यस्ता सिर्जनात्मक कामप्रति सदैव सहयोग रहने वाचा गरिन्।

‘कालापानी नेपालको भू–भाग हो भन्ने एकसयएक प्रमाणहरू छन्। पुराना दस्तावेज र निरन्तरको भोगले यसलाई प्रमाणित गर्छ। हाम्रो उत्तरी भेगको १८ ठाउँमा भारतले चेँकपोष्ट राखेकोमा २०२६ को जेठमा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले १७ ठाउँबाट हटाइदिएका थिए। कालापानीको हटेनछ। त्यो मेरो जानकारीमा थिएन…कीर्तिनिधि बिष्ट भन्थे। ०४७ पछि देश हाँक्नेहरूले लगातार गद्दारी गरेका छन्। अहिलेको बलियो सरकार पनि झारा टारेर उघ्रिएको नेपाली चेतलाई मत्थर पार्ने दाउ गर्दैछ। अब युवा पुस्ताले आत्मघाती काम गर्नु हुँदैन…..!’ सुगौली सन्धिको धारा ५ उल्लेख गर्दै वरिष्ठ अधिवक्ता तिलक पराजुलीले विषयमाथि प्रकाश पारेका थिए।

डा. जगमान गुरुङ, पिताम्बर नेपालीबारे लेख्छन्, ‘पिताम्बर शर्मा सादा जीवन उच्च विचारका हुनुहुन्छ। ’ पिताम्बर नेपालीको ‘अभिनन्दन ग्रन्थ’ मा डा. नारायणप्रसाद अधिकारी यसरी कवितात्मक शुभकामना व्यक्त गर्छन् –

‘अँधेरो अझ बाँकी छ बनी शुभ्र प्रकाशक
चिरायु बन हे प्यारा मौद्गल्य कुलदीपक
तिमी जल्यौ र पो धरै नजलेका दिया जले
तिमी बल्यौ र पो कैयौँ निभेका टुकिया बले !’

पिताम्बर नेपालीले जनतासामु ‘कबुलियतनामा’ लेखेका छन् –

‘समाजमा जहाँ बाँचेँ धेरैधेरै लिएँ तर
केही दिन नपाउँदै जिन्दगी जान्छ कि पर
मलाई स्वर्ग चाहिन्न जन्मन पाए यहीँ नै
सामब्याज बुझाउँला कबुल गर्छु यही नै !’

हामी भन्छौँ, ‘पीताम्बर गुरु, तपाइँले सामब्याज बुझाउन बाँकी छैन। यही जुनीमा आमाको रिन तिर्ने इमान्दार प्रयास गर्नुभयो। ’ यही वोधले प्राडा शेषकान्त अर्याल लेख्छन्, ‘पीताम्बर नेपालीलाई कोशीले रुवायो, सुस्ता र त्रिवेणीले रुवायो। यही रोदन ‘सिमानाको गीत’ हो। ’ पीताम्बर नेपाली युवाहरूलाई जुर्मुराउन प्रेरणा प्रदान गर्छन् –

‘आमालाई बेची खाने नकचरालाई
जानी राख राष्ट्रघाती सन्धि गनेर्लाई
कसम खाउ साँच्चै तिमी सपूत हौ भने
तातो रगत शरीरमा दौडेको छ भने
भन तिमी ‘हाँसी–हाँसी लड्न परे लड्छु
आमा तिम्रो रक्षा गर्दा मर्नुपरे मर्छु !’

पीताम्बर नेपालीले विषय राख्दा नेपाल भ्रमणका आत्मपरकता दर्शाए। पीताम्बर नेपाली ०२५ सालका प्रधानपञ्च हुन्। तिलक पराजुली ३० सालमै कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य थिए। यी दुवैले राजनीतिलाई कमाई खाने भाँडो बनाएनन्। यद्यपि यी दुइ रत्नका यत्न प्रशंसनीय छन्। देशमा यस्ता रत्नहरू पक्कै केही छन्। अपशोच, कविशिरोमणिले भनेजस्तै हुँदैछ, ‘कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि !’ अयोग्यहरूले देशलाई रसातलतिर जाक्दैछन्।

Related News

सम्बन्धित समाचार

hero news full width