तराईको पीडामा सहृदयी पहाडी मन

तिलक पराजुली
चैत्र २२, २०७५

तराई दुख्दा पहाड रुन्छ

गत आईतवार साँझ बारा र पर्सा जिल्लामा प्रकृतिले एउटा भयावह वितण्डा मच्चायो। त्यहाँका करिब चार हजार वासिन्दाहरु घरबार विहीन भएका छन्। मानिसका खाना, छाना, नाना मात्रै छिनिएका होइनन्। यी पंङ्तिलेख्दा सम्म २९ जनाको ज्यान गएको छ। ४०० जना जति घाईते भएका छन्। बालबालिका अनाथ बने, बृद्ध बृद्धाले सन्तान गुमाए। पति गुमाउने विधवा भए। पत्नी गुमाउने विधुर बने। बालबालिका अनाथ बने। त्यो भयावह हावा हुरी वर्षाको प्रकोपले धेरै घाईते र विकलांग बनेका छन्।

हाम्रो राष्ट्र नेपाल, तराई, पहाड र हिमालले बनेको छ। यी तीन एउटै शरीरका अविछिन्न अङग हुन। शरीरको एक अङगमा चोट लाग्दा पुरै शरीरले पीडावोध गर्छ। स्वाभाविक छ, तराईको एक भागका हाम्रा बन्धु –बान्धवले भोग्नुपरेको यो पीडा यहाँ पहाड र हिमालमा बस्ने सवैले महसुस गरेका छौं। महसुस गर्नु र दुःख भोग्नुमा निकै ठूलो अन्तर भने अवश्य छ। बाराको फेटा लगायतका र पर्साका पीडितले जुन दुःख भोग्नु पर्यो त्यो अवश्य नै राष्ट्रिय शोकको विषय हो।

हावा, पानी र ताप (आगो) प्रकृतिका अवदान हुन्। प्राणीमात्रलाई जन्मजात नभई नहुने तर यिनै कुरा कहिले काँही महाकाल भएर आउँछन्। गत १७ गते साझ ७ बजेतिर यहा महाँकाल आयो। ५–७ मिनेटमा नै आफ्नो सवै विनाशलीला सम्पन्न गर्यो।

मानिसले भगवानको भक्ति आराधना गर्छ। अनुग्रहित पनि हुन्छ, ईश्वरीय कृपाप्रति। तर, जव उसमाथि कहिले काँही नहुनु पर्ने, अनपेक्षित घटना घट्छ, आफ्नो प्यारो छोराछोरीको मृत्यु हुन्छ हा ! निष्ठुर दैव भनेर शापः पनि दिन्छ, गाली गर्छ तिनै आरध्यय देव भगवानलाई। १७ गते साँझ हावाहुरी र बर्षाले जुन ताण्डव देखायो, विनाश गर्यो त्यो

दृश्य टी.भी. स्क्रीनमा हेर्दा मात्रै पनि गाली दिनेतिर उद्धत गरायो, मेरो मनलाई। निष्ठूरी हावाहुरी, तेरो कर्तूत १

यो पङ्तिकारको सहृदयता फेटाका पीडित प्रति यस कारणले पनि छ कि पंचायती व्यवस्थाको शासनकालमा म त्यहाँ पुगेको छु। त्यो प्रतिबन्धित कालमा एक –दुई दिन आश्रय लिएको, सेवा प्राप्त गरेको ठाँउ हो। मुसलमान र हिन्दुको मेल मिलाप अनुपम पाएको हुँ, त्यो क्षेत्रमा। ठूलो पारस्परिक सहयोग र घनिष्ट मेलमिलाप।

तराईको यो भागमा पुगेर हेर्दा, जनजीवन बुझ्दा “मैदानी भागबाट सभ्यताको उद्गम भएको” भन्ने मेरो धारणा र बुझाई भने पूरै खण्डित भएको हो। अहिले पनि पंक्तिकारलाई त्यसको छाप छँदैछ। तराईको समस्या त्यहाँको गरीबी हो। तर त्यो भन्दा ठूलो समस्या हो सांस्कृतिक चेतनाको अभाव। आँफुसंग भएको भौतिक स्रोत–साधन र सम्पतिको जीवनोपयोगी हुने गरी व्यवस्थित र प्रयोग गर्ने न कुनै सीप छ न कुनै चेत छ। यो एउटा ठूलो समस्या छ हाम्रो तराईमा। सिधा भन्दा– संस्कृति र सभ्यताको पुरतनता। जे होस् तराईमा दुख्दा पहाड रोएको छ। ७ वर्षीया रुवी खातुन देखि ७५ वर्षीया कोइरीदेवी सम्मलाई निष्ठुरी हावाहुरीले मारेर लग्यो। सवै नेपालीको मन विदीर्ण बनायो।

विपत र व्यवस्थापन

विपत मानवीय क्रियाले सृजित पनि छन् र प्रकृति आफैले पनि विपतमा पार्छ बारा पर्साको यो विपत प्रकृतिले पारेको हो। तर मानवीय क्रियाले क्षतिमा बृद्धि गरेको हो। हावा हुरी बेजोड थियो यसमा शंका छैन। तथापि हाम्रा संरचना हावाहुरी प्रतिरोधी बनाउन नसकिने भने होइन अरु त छाडौं विद्युत प्राधिकरणले गाडेका पोलको लापरवाही अवस्थाले ती ढल्दा धनजनको ठूलो क्षति भयो। यो नहुनु पर्ने हो।

प्राकृतिक प्रकोप ठूला–साना धनी–गरीव सवैलाई आईलाग्छ। अमेरिकामा आउने सामुद्रिक आँधी, जापानको भुइचालो, इन्डोनशियाको ज्यालामुखी केही प्रतिनिधि उदाहरण हुन्। अहिले उच्च प्रविधिले गर्दा प्राकृतिक विपत आसन्न छ भन्ने पूर्वानुमान गर्न सकिन्छ। गरिएको पनि छ। र, यस्तो वैज्ञानिक पद्धतिले धनजनको क्षति न्यूनीकरणमा निकै ठूलो मद्दत मिल्छ। नत्र भने अमेरिका, अष्ट्रेलिया समेतमा आईरहने सामुद्रिक तुफान र चक्रवातले अपरिमित क्षति पुर्याउने थियो।

हाम्रो देशको कुरा भने उदेक लाग्दो छ। हाम्रोमा मौसम पूर्वानुमान शाखा त छ तर न दक्ष प्राविधिक छन् न त प्रविधि नै छ। भनिन्छ २०४४ सालमा मौसम बुझ्न ल्याइएका केही यन्त्रवाहेक थप केही छैन। बारा पर्सामा हावाहुरी यत्रो बेगको आउछ भन्ने कुरा मौसमविदले भन्न सकेनन् भनेर के गुनासो गर्नु ? राज्यको वागडोर समाल्नेहरु आफ्नै सुख सुविधा भन्दा अलिपर हेर्ने क्षमता र ल्याकत राख्दैनन्। दक्षिण एसियाको सबै भन्दा पुरानो राज्य नेपाल भनेर गर्व गरेर के गर्नु ?

भनिन्छ, प्रकृतिले सेवा मात्रै गर्दैन। सजाय पनि दिन्छ। र, परीक्षा पनि लिन्छ। सजाय यस मानेमा गर्छ कि जति सुकै मानिसले विज्ञान र प्रविधिको विकास गरोस्, तर प्रकृतिको नियमलाई जित्न सक्दैन। प्रकृतिसंग मिलेर, मैत्रीभाव राखेर मात्रै कल्याण छ –मानिसको। परीक्षा यस कारणले भनिएको छ कि मानवमा कति मानवीयता छ, संवेदना छ र सहृदयता छ त्यसको पारख यस्तै विपतमा हुने हो।

माथि भनिएको कुरा स्वाभाविक प्राकृतिक विपतको हो। मानवीय कृयाकलापले सृजनाहुने विपतको कुरा गर्ने हो भने नेपालको स्थिति भयावह छ। अहिलेको नेपालमा तीनसरकार अर्थात तीन तहका सरकार छन्। यिनले देखाउने विकास भनेको बाटो खन्ने हो। कुनै प्राविधिक सल्लाह छैन, ज्ञान छैन, त्यो बाटोको उपादेयता प्रमाणित हुनु पर्दैन। पहाडमा डोजर र एकजाभेटर चलाएको छ। जताततै रातै बनाएको छ।

हिउँदमा बनाउँछ, वर्षामा बगाउँछ। वगाउँदा बाटो मात्रै होइन गाउँनै वगाई दिन्छ। यसले विकासको मूल फुट्ने त कुरै छैन, बरु भएका पानीका मूल भने सुकाउँछ गाउँ नै बगाउँछ। र, विनाश निम्त्याउँछ। पहाडबाट वर्षामा वगेको लेतो पानी तराई पुग्छ। उता सीमानामा भारतले बाँध बाँधेर नदी खोलाका वहाव छेकेको छ। अनि डुवानमा पर्छ हाम्रै तराई।

पीडितको व्यवस्थापनको कुरा भन्नै परेन। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर भत्केका पचहत्तरप्रतिशत जनता अझै घरवार विहीनछन्। यता राजनीतिक नेतृत्व भने पुनर्निर्माण प्राधिकरणको मुख्य कार्यकारिणी अधिकृत फेर्न र कमिशन खान तल्लीन छन्। बारा र पर्सामा हावाहुरी विनाशको पाँच दिन भयो सुत्केरी, शिशु खुला आकासमुनि छन्। नेताहरु त्यहाँ गएका त छन्। तर लाग्छ फगत रमिता हेर्न गएका हुन्। कदाचित यसो नहुदो हो त यति समयसम्म सबै छत, पाल मुनि बस्न पाउनु पर्ने हो। , खाना औषधि उपलव्ध हुनुपर्ने हो।

अन्त्यमा

भूकम्प र बाढी पहिरोको लागि नेपाल उच्च जोखिम युक्त राष्ट्रमा पर्छ। तर, विपतलाई हामी संझदैनौ विस्मृतिमा गै हाल्छ। दूरदृष्टि पनि छैन। यदि हुँदो हो त चुरे पहाड जस्तो संवेदनशील क्षेत्रमा डोजर चलाएर वनविनाश गदैं “मदन भण्डारी मार्ग” बनाउनु पर्ने हेाइन। ठूलै विपत हामी निम्त्याउँदै छौ। यो सरकारका गलत कार्य र अकमण्र्यताले हुँदै छ।

अर्को कुरा प्रकृतिमैत्री, पर्यावरण मैत्री हामी हुन सकेनौँ भने विनाश अवश्यंभावी छ। त्यसो त अठारौं शताव्दीमा नै थोमस रवर्ट माल्थस नामक एक अंग्रेज सामाजिक अर्थशास्त्रीलेँजनसंख्याको सिद्धान्त सम्वन्धी निबन्ध” (एस्से अन द प्रिन्सिपल अफ पपुलेशन) मा प्रकृतिले आँफुलाई चाहिने जनसंख्याको अनुपात आफै मिलाउँछ भनेका छन्।

प्रलय संबन्धमा हाम्रा पुराणका कुरा माल्थसका भन्दा पुराना हुन। तर, प्रतिपाद्य विषय यो हो कि हामीले विपत निम्त्याउने काम नगरौं प्रकृतिले पारेको विपतमा राज्य र नागरिक सवै मिलेर सहयोग गरौं।

Related News

सम्बन्धित समाचार

hero news full width