छापाखाना क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व.किरण

मनोहर दाहाल
जेठ ५, २०८०

मानिसको मन आफूलाई मन पर्ने चिज मात्रै खुसीसाथ स्वीकार गर्दोरहेछ । जुन चिज आफूलाई मन पर्दैन, त्यो मनले स्वीकार नगर्दोरहेछ । जबर्जस्ती स्वीकार गर्नुपर्दा मन दुखी, भारी, असहज, बेचैन हुँदो रहेछ । मृत्यु मानिसले सहजै स्वाकार्ने कुरा होइन । मनले स्वीकार गर्न पनि मान्दो रहेनछ, त्यस्तै भएको छ, प्रिय दाजी गिरबहादुर श्रेष्ठ किरणको महाप्रस्थान । यो मनले स्वीकार गर्न सकेको छैन तर यो नियम नमानीकन सुखै छैन । परिवारमा भाउजू कोपिलाले पति गुमाउनुभएको छ, छोरीहरू रोजिना र रजनीले पूजनीय पिता गुमाए भने पोखरावासीले छापाखाना क्षेत्रका शिखर व्यक्तित्व गुमाएका छौं । यो समाज जबसम्म रहन्छ तबसम्म जन्म र मृत्यु पनि एक साथ चलिरहन्छ, यो शाश्वत नियम हो । जब कुनै व्यक्तिको निधन हुन्छ, उसको शोक व्यक्त गर्ने प्रक्रिया उसँग जोडिएका भावना, हिँडाइ, बसाइँ, संगत, सम्बन्धले प्रभाव पार्दछ ।

मेरो भेट उहाँसँग २०५८ सालतिर भएको हो, त्यतिबेला भेट हुँदा काखमा छोरी रोजिना लिएर दाजुभाउजु स्क्रिन प्रिन्ट गर्दै हुनुहुन्थ्यो । झण्डै २२ वर्षदेखि निरन्तर साथ सहयोग आत्मीय मायासहित जोडिएको हाम्रो सम्बन्ध २०८० वैशाख २४ गते बिहान प्रकृतिको समेत रिस मिसिएको आभाषसहित टुक्रिएको छ । प्रिय व्यक्तिलाई गुमाउँदा व्यक्तिगत रुपमा र सिंगो मुद्रण उद्योग संघ परिवारमा आबद्ध सम्पूर्ण व्यावसायिक साथीहरु अत्यन्तै मर्माहित र स्तब्ध भएका छौं । आज उहाँको १३ औं दिनको पुण्यतिथिमा उहाँलाई श्रद्धापूर्वक सम्झँदै गर्दा लेख्दा शब्द भेटिनँ र नलेखी बस्दा उहाँकै कर्म र योगदानहरू मनभरि खेलिरहे, घुमिरहे ।

छापाखाना र सामाजिक संस्थामा उहा“को योगदान:—

सहिद लखन गाउँपालिका वडा नं.६, घैरुङ गोरखामा सामान्य किसान परिवारमा जन्म भई गाउँघरमा चलनचल्तीको भाषाअनुसार मुख र मुठीमात्र लिई ५० को दशकबाट उहाँ यो क्षेत्रमा प्रवेश गर्दा जतिबेला लिथो, लेटर प्रेसको जमाना पूर्ण रुपमा हटिसकेको थिएन । त्यतिखेर आफूलाई स्क्रिन प्रिन्टर, कम्प्युटर अपरेटर हुँदै पोखराको महेन्द्रपुलमा रोजिना अफसेट प्रेस सञ्चालनमा ल्याई निकै छोटो समयमा कडा परिश्रम र मेहनतका साथ उहाँले गरिरहनुभएको प्रगति आफैंमा उच्चस्तरको थियो । व्यक्तिगत रुपमा आफ्नो प्रगति धेरैले गर्न सक्लान् आखिर मरी जाने चोलामा समाजमा उसको योगदान के कति छ, त्यो नै अन्तिम सम्पत्ति हुँदोरहेछ । एक त व्यावसायिक साथीहरू थोरै तिनैमा पनि अस्वस्थ प्रतिस्पर्धा । २०१३ सालबाट पोखरामा छापाखाना भित्रिए पनि संस्थागत रुपमा भने यसको विकास हुन लामो समय लाग्यो, साथीभाइबीच सहयोग, आपसी एकताको निम्ति संस्थाको आवश्यकता महसुस गरी २०६६ सालमा विधिवत्रुपमा मुद्रण उद्योग संघ कास्की संस्था स्थापना गर्दा उहाँको प्रमुख भूमिका रहेको छ । आम मुद्रण व्यवसायी साथीहरूलाई र भेला गराउन किरण दाइ, पदम दाइ र म व्यावसायीको घरघरमा पुगेको सम्झिरहेको छु । त्यसपछि नै हो संस्था मजबुत बन्दै गएको । व्यवसायी साथीभाइबीच हार्दिकता एकता र आफ्नोपन बढ्दै गएको हो । ६० को दशकतिर गुणस्तरीय रंगीन छपाइको लागि पोखरालाई विश्वास नगरी धेरै कामहरू काठमाडौं पुग्थे, यसै परिवेशलाई मध्यनजर गर्दै पोखरामै पहिलोपटक Heidelbuerg Company jerman CPC & CP Tonic Printing Mechine बाट छपाई गरी गुणस्तरीय काम पोखराबाटै सम्भव छ भन्ने स्थापित गराउन उहाँको भूमिका महत्वपूर्ण । पछिल्लो समय फेरि DTF print पनि उहाँकै अग्रसरतामा भित्रिएको छ र यसले सफलता पनि प्राप्त गरिरहेको छ । हरहमेशा आफूलाई समयानुकूल परिष्कृत गर्दै विदेशी पद्धति पोखरामा भित्र्याउने किरण दाइ हामीमाझ नहुँदा पोखराले मुद्रण व्यवसायको अभिभावक गुमाएको छ । यति छोटो समयमा आफूलाई र समग्र पोखराको छापाखानामा स्तर वृद्धि गर्ने उहाँको योगदान अतुलनीय छ । छापाखानामा मात्र सक्रिय नभई विभिन्न सामाजिक संघ संस्थामा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो, लायन्स डिस्ट्रिक ३२५ के.वर्ष २२,२३ का रिजन चियर पर्सन, गण्डकी फ्रेम उद्योगका अध्यक्ष, पोखरा रोयल सहकारी संस्थाका कोषाध्यक्ष, पोखरा प्रि प्रेसका सञ्चालक समिति सदस्य ,गोरखा मिलन समाजलगायत संघ संस्थामा आबद्ध किरण दाजी सक्रिय हुनुहुन्थ्यो । अब हामी उहाँलाई भौतिक रुपमा नपाए पनि उहाँले गरेका असल कर्महरुले सम्झिरहनेछौं । पछिल्लो समय महेन्द्रपुलबाट आफ्नै निवाससँगै अझै विशाल रुपमा व्यवसाय सार्ने क्रममा हुनुहुन्थ्यो । त्यो पूरा नहुँदै उहाँको स्वर्गबास भएको छ, सायद यहाँमात्रै नभएर अलौकिक क्षेत्रमा उहाँको आवश्यकताले भगवान्ले निम्ता दिनुभएको होला भनेर चित्त बुझाउनु विवश छौं । यो शोकको घडीमा दिवंगत आत्माको चिरशान्तिका साथै बैकुण्ठबासको कामना गर्दै परिवारका सम्पूर्ण सदस्यलाई गहिरो समवेदना प्रकट गर्दछु । यो शोकलाई शक्तिमा परिणत गरी भाउजू कोपिला श्रेष्ठ र छोरीहरु रोजिना श्रेष्ठ र रजनी श्रेष्ठले प्रकृतिको शाश्वत नियमलाई मनन गरी अफसेट प्रेसलाई सुचारु गरी यसको ब्रान्ड कायम राखिरहनुहोला । अलबिदा किरण दाजी !

Related News

सम्बन्धित समाचार

hero news full width