चुनाव : प्रक्षेपण र परिणाम

मीना भण्डारी
मंसिर ९, २०७९

महासंग्रामको होहल्लाले यसपालिको चुनावमा ध्यान आकृष्ट भैरह्यो । ठूलै नेताद्वारा कौरव–पाण्डवको लडाइँ भनिंदा झनै चासो बढेको थियो । झण्डा भरिएका मोटर, गीत र सडकमा मान्छेको भीडभाड देखेर ६ वर्षीया छोरीले अनेक प्रश्न सोधिरही । चुनाव भनेको इलेक्सन; इलेक्सन इज द सेलेक्सन अफ गुड म्यान । मैले छोरीलाई सम्झाइरहें । ‘मंसिर ४, गर्नैपर्ने हो विचार !’ भावका साथ भन्न सिकाएर भिडियो खिचिदिएँ । मार्कर र डस्टर घोट्ने जागिर, सधैं हतारमा बाँच्ने बानी । मंसिर ३, ४, ५ तिन दिने छुट्टीमा राम्रै फुर्सद पाइयो । डायरीमा चुनावको टिपोट राख्न खोज्दा निबन्धात्मक अभिलेखको जाँगर चल्यो । ‘तपाइँ पढाउने पेशाकाहरुले लेख्नु पनि पर्छ नानू, नजानेका कुरा घरैमा बालाई सोधे भयो….!’ कृष्ण अँकल घर आउँदा प्रायः भन्नुहुन्थ्यो । राजनीतिमा रुचि नभएपनि चुनावको समाचारले ध्यान खिचिरह्यो ।

डा. तोसिमा कार्कीको उम्मेदवारी र निर्वाचन आयोगको गलत निर्णयले उनको चर्चा चुलियो । टिभीमा हेर्दा डल जस्तै देखिने डा. तोसिमा माथि सबै साथी सहानुभूति खन्याउँथे । सिके राउत, सागर ढकाल, अब्दुस मियाँ, अर्जुन प्रसाई, विद्या भट्टराई, सोविता गौतम आदि केही नाम मनमस्तिष्कमा अँकित भैरहे । नो नट अगेनको नाराबाजीले रवि, रवीन्द्र, ज्ञानेन्द्र शाही आदि नयाँले जित्ने धेरैको प्रक्षेपण थियो ।

देशका युवाहरु अनेक बाहनाले बिदेस धपाइएका थिए । न्यून सँख्यामा रहेकाहरु नयाँ उम्मेदवार जिताउन भरमग्दूर गर्दै थिए । भोट खसाल्न जाँदा बाटोमै नचिनेका कति युवाले मेरी सासूआमा र मलाई आमा…दिदी, नयाँमा है ! भने । नयाँप्रति मोह जागेको थियो । प्रारम्भिक नतिजा आउन थालेदखि नै थाहा भयो, काङ्ग्रेसको एउटा समूहले हँसिया हथौडामा होइन गठबन्धन बाहिरको घण्टीमा बढी छाप ठोकेछन् । लाग्छ, प्रचण्डले कमरेड शेरबहादुर देउवालाई गम्भीर विरहको भाकामा गीत सुनाए होलान् :

‘धोका दिनेलाई के भनौँ र खोई
तिमी हाँस भो मै बसौँला रोई !’

२०६४ सालदेखि नेपालमा धोकाको राजनीति पन्पिएको छ । १६/१७ की थिएँ एक साँझ मेरा मामा निकै थाकेर आएका थिए । पिँडीको गुन्द्रीमा थ्याच्च बसेर बालाई भने, ‘ज्वाइँ, माओवादीबाट हाम्रो पार्टीलाई ठूलो धोका भयो । राष्ट्रपति दिइने सहमति गरिएछ, ४/५ घण्टा अगाडि मात्रै रामराजालाई माओवादीले राष्ट्रपतिको उम्मेद्वार उठाएछ । झलनाथजी त १०२ डिग्री जरोले थल्लिए अरे !’

नो नट अगेनको नाराबाजीले रवि, रवीन्द्र, ज्ञानेन्द्र शाही आदि नयाँले जित्ने धेरैको प्रक्षेपण थियो

झलनाथले छिटै बदला लिए । कटुवाललाई प्रधानसेनापतिबाट हटाउने सहमति दिए । सहमति तोडेर लुत्त चीन हिंडे । गिरिजाप्रसाद कोइराला पनि आफूले पाएको धोकाको बद्ला लिन पछि परेनन् । राष्ट्रपति डा. रामवरण यादवद्वारा प्रचण्डको प्रधानमन्त्रीको जागिर चैट पारिदिए । प्रचण्डले आफ्नो राजिनामालाई फटाहाहरुका लागि मिसाइल बताए तर त्यो क्रमशः जनताको थाप्लोमा पड्किँदै गयो । फटाहाहरु रजगज गर्दै गए । अहिले शेरबहादुरसँगको गठबन्धनमा माओवादीले राम्रै पुल्टुङ्बाजी खायो । प्रचण्डले जिते तर पार्टीले नराम्रो हार बेहोर्नु प¥यो । अब अर्को उडिङ्गो झिकिएला तर क्रान्ति थप भ्रान्तिमै जाकिने निश्चित छ । तल बगाएर माथि भेटिँदैन । ‘चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु !’ प्रचण्डले भने । देउवा डरले कालाम्मे भए । अरु धेरै हाँसेका पाइए ।

यसपालिको चुनावी खेलमा केपी आलीले आफ्नो हैसियत थामे । सत्य मेव जयते कि…? भन्ने ठाडो प्रश्न भारतलाई तेस्र्याएरै पनि मुलुकमा ४ पूर्व प्रधानमन्त्रीको एम्बुसबाट उनी उम्के । म्यान अफ द म्याच भने गगन थापा भए । दोस्रो स्थान रविले ओगटे । तोसिमा र सोविता जस्ता महिला उज्याला नक्षत्र भएर उदाउँदा पार्टी तेस्रो शक्तिको रुपमा उठ्यो । प्रचण्डलाई चितौनबाट लखेटेरै रवि झ्याप्पै चर्चाको शिखरमा चढेका थिए ।

यो चुनावलाई प्रचण्डले महाभारतको युद्ध भनेका हुन् । महाभारतको युद्धमा कृष्णले धनूबाँण समातेनन् । यो युद्धमा गगन घण्टी झुण्ड्याएर हिँडेनन् । बर्बरिकले कृष्णको लीला देखेका थिए, अहिले विश्लेषकहरु बताईरहेका छन् घण्टी बजाउने काममा गगन थापा थिए । उनले प्रधानमन्त्री हुने छाँट देखाए, ठूलो आँट देखाए । २०७९ मंसिर ०७ को ‘आदर्श समाज’ मा फ्रन्ट न्यूज छापियो : ‘प्रधानमन्त्रीको नारामा गगनको जीत !’

काठमाडौंमा चुनाव हार्दाझैँ गोर्खामा चुनाव जितेका प्रचण्डले यसपालि चुनाव परिणाम बहिष्कारको घोषणा गर्न सक्ने अवस्था छैन । यही चुनावपछि माओवादी स्वाहा भएर सकिँदैन । माओवादी अझै एउटा शक्ति हो, आगामी दिनमा उसको राजनीति हेरिनेनै छ । अहिले बौद्धिकवर्गको प्रक्षेपण अनुरुपकै परिणाम आयो । चुनावपछि ‘गम्भीर समीक्षा हुने’ अडकल काट्न सकिन्छ । मत प्रतिशत कमका अनेक कारण छन्, मुख्य कारण नेताप्रतिको वितृष्णा नै हो ।

Related News

सम्बन्धित समाचार

hero news full width