चाडपर्व पनि परिमार्जन

कल्याण पन्त
असाेज १५, २०७६

दर्शनशास्त्री विष्णु प्रभात भन्छन्, ‘दशैं आम रुपमा प्रचलनमा रहे पनि यसलाई ठीक ढ्रंगबाट प्रयोग गरिएको छैन। हामीले शरद याममा मनाउँदै आएको चाडलाई भन्ने गरेको विजया दशमी शब्द नै गलत छ। ’

दशैंमा लाखौं खसीबोका, राँगा, हाँस, कुखराहरु प्रत्येक हिन्दु धर्मावलम्बीका घरघरमा काटिन्छन्। धर्मभीरुहरुले हिंसालाई बलि शब्द प्रयोग गरेर घरघरमा अबोध, निरीह प्राणी ढाल्ने गर्दछन्। पाप होस् या पुण्य, दुर्गा भवानीलाई बलि चढाएर मासु खाने चाडको रुपमा दशैं चिनिदैं आएको छ। यस अवसरमा सरकारले समेत अन्य चाडहरुमध्ये सबैभन्दा धेरै दिन बिदा दिदैं आएको छ।

दशैका बारेमा विभिन्न खालका पौराणिक कथन सुन्न पाइन्छ। आजभन्दा ९ लाख वर्ष पहिले भगवान रामचन्द्रले भगवतीको आराधानाबाट शक्ति सञ्चय प्राप्त गरेर अत्याचारी रावणको विरुद्धमा लड्ने अभियान चलाए। यस युद्धमा रामको विजय भयो र रावणको सर्वनाश भयो। भगवान रामको यही सत्य माथि धर्म र न्यायको लागि विजय थियो। त्यसैले उत्सव मनाउने दिन दशमी तिथि थियो। तसर्थ हरेक आश्विन शुक्ल पक्ष दशमी तिथिमा दशैं पर्व मनाउने गरिन्छ।

पहिले यो दशैं चैत महिनामा धुमधाम साथ मनाउने गरिन्थ्यो। त्यतिबेलाका अनुयायीहरुले चैत महिनामा धुलोमैले हुने, खडेरी पर्ने, अन्नको अभाव हुने प्रतिकूल मौसम भएको कारण त्यति हिलो नहुने, वर्षा सिद्धिने, स्वच्छ हावापानी हुने र कामको अल्लि फुर्सद पनि हुने भएकोले शरद ऋतुमा सारियो। तसर्थ दशैं वर्षको २ पटक मनाइने गरिन्छ। एक पटक वसन्त ऋतु (चैते दशैं) मा र अर्को शरद ऋतुमा अर्थात् असोज या कार्तिर्कमा। चाडपर्व परिमार्जन गरेर शरद ऋतुमा ल्याइएको हो।

दर्शनशास्त्री विष्णु प्रभात भन्छन्, ‘दशैं आम रुपमा प्रचलनमा रहे पनि यसलाई ठीक ढ्रंगबाट प्रयोग गरिएको छैन। हामीले शरद याममा मनाउँदै आएको चाडलाई भन्ने गरेको विजया दशमी शब्द नै गलत छ। ’ दशैंबारे व्याकरणविद् मुकुन्दशरण उपाध्याय भन्छन्, ‘प्रकृति माथि विजय प्राप्त गरेको सम्झना स्वरुप दशैं मनाइएको हो। यही दिनमा त्रेता युगमा रामले लंका विजय प्राप्त गरे। दुर्गा भवानीले राक्षस माथि विजय प्राप्त गरेको भन्ने तथ्य पनि यसै दशैंसित पछि जोडियो। ’

दशै पर्व जे जसरी बुझे पनि यो संशोधन हुँदै आएको चाड हो। हिन्दु धर्मका प्रचलन संस्कृति, धर्म र विज्ञानसित जोडिएको हुन्छ। प्रकृतिसित विजय प्राप्त गर्नु, दुर्गा भगवतीले दानवमाथि जित हासिल गर्नु, त्रेता युगमा भगवान रामचन्द्रले लंका जित्नु आदि यसैसित सम्बन्धित तथ्य हुन्। तोडमोड गरेर संस्कृतिमाथि धावा बोल्नु विकृति हो। ‘हामीले प्रकृतिमाथि विजय भनेर बुझ्दै आएको भए यो दर्श आर्यन जातिको मात्र नभइ सम्पूर्ण अनार्यन जातिको समेत हुने थियो ’ उपाध्याय दावी गर्छन।

वसन्त ऋतुमा परेको दशैंलाई शरद ऋतुमा वातावरणीय अवस्था र सहजताका लागि सार्नु यो एउटा संशोधन थियो। त्यसरी नै पहिले अक्षता बनाउँदा धानलाई चन्दन काठले घोट्ने बिस्तारै बिस्तारै थिचेर सग्लो चामल निकालिन्थ्यो। यही चामललाई अक्षताको रुपमा प्रयोग गरिन्थ्यो। पछि सबैकहाँ चन्दन घोट्ने काठ सर्वसुलभ नहुने भएकोले सिलौटोमा राखेर लोहोरोले थिचेर निकालिएको चामललाई अक्षताका रुपमा प्रयोग हुन थाल्यो। आजभोलि यो चलन पनि हटिसकेको छ। ढिकीमा कुटिएका चामललाई प्रयोगमा ल्याइँदाल्याइँदा आजभोलि मेसिन कुटिएका चामल उपयोग हुने गर्दछन्। अक्षताका लागि यस्ता चामल प्रयोग गरिन्छ जुन कत्ति पनि चामलको भाग चोइटिएको हुनुहुन्न अर्थात् क्षत नभएको चामल अक्षता हो।

अक्षता बनाउने विधिमा आएको परिवर्तन पछि अक्षताको रङ्गमा पनि संशोधन भएको छ। पहिले टीका लगाउँदा सेता अक्षता प्रचलनमा थिए। आजभोलि राता अक्षताले यसको स्थान लिइसकेको अवस्था छ। सेतो रङ्ग स्वच्छता प्रतीक हो। राम्रा देखाउनको लागि राता अक्षता प्रयोग ल्याइन्छ। तर सेता अक्षता थारु, मगर, लिम्बु सम्प्रदायमा अद्यावधि प्रयोग गरेको पाइन्छ। अझ केहीका घरमा बलि चढाएको रगतसित मुछेर अक्षता लगाउने चलन छ। बलि नचढाउनेहरुले अबीर र दही मिलाएर अक्षता बनाउने गर्दछन्। अक्षता सबै पूजा, अनुष्ठान, पर्वमा प्रयोग गरिदैंन।

नेपालमा मात्र नभई अफ्रिकामा पनि रगतमा मिलाएर बनाएको अक्षता प्रयोग गर्ने गर्दछन्। यस प्रकारको अक्षतालाई उनीहरु पुसु भन्ने गर्दछन्। अक्षतामा सिन्दूर, सिम्रीक पनि प्रयोग गर्ने गरिएको छ। शैवमार्गीहरुले विभूति र तरेखु पनि लगाउने गरेको देखिन्छ। आजभोलि अक्षता तयारीमा खासै त्यति ध्यान दिइएको पाइदैंन। जसरी सजिलो हुन्छ, त्यसरी नै यसको उपयोग गर्ने प्रचलन धेरै छ। यो पनि अर्को परिमार्जन हो।

जमराको पनि इतिहास कम छैन। ढुङ्गे युगमा समेत त्यतिखेरका मानवहरुले जंगलमा रहेका पहेंला पहेंला मुजुराहरुलाई टाउकोमा सिउरिने गर्दथें भन्ने भनाइ रहेको छ। अझ टीका लगाउने चलन राई, लिम्बुहरुले आदिम कालदेखि प्रयोग गर्दै आएका थिए भन्ने गरिन्छ। अझ के पनि भनाइ रहेको छ भने शिकारको क्रममा मारिएको एउटा ढुकुरको गलगाँडमा रहेका अन्न उम्रिएको त्यो पहेंलिएर राम्रो देखिएको हुँदा त्यसलाई कानमा र टाउकोमा सिउरिने गरिएको भन्ने समेत लिम्बु किंम्बदन्ती छ। पहिलेपहिले जौजस्तै एक प्रकारको अन्न उवाको जमरा बनाइन्थ्यो। पछि मकै पश्चिमी मुलुक माया सभ्यताबाट विकसित भयो। त्यसपछि यसैको जमरा राख्ने प्रचलन चल्यो भन्ने पनि सुनिन्छ। आजभोलि कहीकहीं ९ थरी अन्न मिलाएर जमरा बनाउने गरेको पनि पाइन्छ। मकैको जमरालाई सम्मान स्वरुप शिरमा राख्ने गर्ने गरिएको अर्को पनि तथ्य छ। जमराको औषधीय महत्त्व रहेको छ।

पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले दशैं चाड मात्र नभइ अन्य चाडपर्व एक महिना वर सार्नुपर्ने जिकिर गरिरहेको छ। हालै मात्र गोरखाका केही गाउँमा दशै गत भदौको २२ गते मनाएका मनाए। एक महिना पर्व सुधार लागू गर्न सो समितिले सरकारलाई २०६७ सालमा कार्यदल गठन गरी वैज्ञानिक आधार पनि पेश गरिसकेको छ। यस अनुसार अयनाशंका कारण एक महिना अघि चाडपर्व सारेर परिमार्जन गर्नुपर्ने जरुरी भइसकेको छ।

देवतालाई खुसी पार्न पशुपंक्षी चढाउने क्रियालाई बलि प्रथा भनिन्छ। शास्त्रहरुमा बलि दिनै हुन्न वाक्यांश पाइन्न तर बलि दिंदाँ विधिविधान पुर्याएर दिनुपर्ने कुरा पाइन्छ। प्राचीन कालमा देवतालाई खुसी पार्न पशुपंक्षी काटेर रगत दिइने गरिदैंन्थ्यो। केवल मन्दिरमा लगेर डामेर छोडिदिने वा जल अभिषेक गरेर छोड्ने प्रचलन थियो। अहिले रसुवाका कतिपय स्थानमा काटमार गरिँदैंन। मासु बढी मात्रामा खाने स्थानमा राक्षसले दुःख दिने स्थान पनि मानिन्छ।

जथाभावी पशु हिंसा नहोस् भन्नाको लागि ऋषिहरुले बलिका बारेमा नियम बनाएका थिए। यस अनुसार बलि जहिले पनि तन्नेरी भाले पशु हुनुपर्ने, निरोगी हुनुपर्ने र शास्त्रको विधिविधान पुर्याएर मात्र गनुपर्दछ भन्ने शास्त्रीय मान्यता रहेको छ। अन्यथा विधि नपुगेको रीतिरिवाज संस्कारले पाप निम्त्याउँछ भनिएको छ। वेदका ऋचा पढेर, अभिमन्त्रणा र प्रार्थना गरेर मात्र बलि दिन योग्य हुन्छ। अझ प्राचीन कालमा त मानव बलि चल्ने गरेको थियो भन्ने सुन्न पाइन्छ।

प्रत्येक पाँचपाँच वर्षमा गढीमाइको मेलामा लाखौं प्राणीहरु बलि दिइने गरिन्छ। यस मेलामा मुसादेखि भैंसी, सुँगुर, बोका, कुखुरा र परेवाको बलि दिइन्छ। दशैंमा मन्दिरमा नभइ हरेकका घरघरमा दिने गरिन्छ। दशैंमा विधिविधान अनुसार हिन्दु संस्कारमा कुभिन्डो, घिरौंला, खिरको लड्डु आदि पनि बलिको रुपमा दिइन्छ। देवीदेवतालाई खुसी पार्ने, मनोकांक्षा पूरा गराउने आदि रुढीवादी जनविश्वास रहेकोले बलि दिने परम्परा चलेको हो। तर समय सापेक्ष आजकल सबै संस्कार रुपान्तरित भइसकेका छन् र परिमार्जनको आवश्यकता यसमा पनि भइरहेको छ।

जिन्दगीमा केही अनिष्ट नहोस् भन्ने हेतुले शक्तिपीठहरुमा भेटी चढाउने कामहरु बग्रेल्ती भेटिन्छन्। बाइसेचौवीसे राज्य अस्तित्वमा रहनु पूर्व नेपालमा कोट, मौलामा हतियार राख्ने, देवीको मूर्तिमा बलि चढाउने कार्य त्यतिखेर पनि गरिन्थ्यो। यशोब्रह्मा शाहलाई लमजुङको राजा बनाउँदा पनि विक्रम सम्वत १५५० मा कालिकाको मन्दिर बनाई १९ थरीका पशुपंक्षी बलि चढाएर आर्शीवाद मागेको इतिहासबाट थाह हुन्छ। हालका दिनमा बलिको अर्थ काम, क्रोध र वासनालाई अर्पण गर्नु हो भन्ने विश्लेषकहरुले बताउँदै आएका छन्।

नेपालमा अहिले पशु हिंसा निषेध सम्बन्धी आवाज केही संस्थाहरुले उठाउँदै आएका छन्। कृष्ण प्रणामी युवा परिषद, एनिमल वेलफेयर सोसाइटी, राधेराधे लगायतका केही धार्मिक संस्था यसका विरुद्धमा छन्। राँगा, भैंसीका नाक छेड्ने, ट्रकमा कोचेर लग्ने, साइकलमा झुण्ड्याएर कुखुरा ढुवानी गर्ने जस्ता अमानवीय व्यवहारप्रति सम्पूर्ण मानवहरु एक हुनैपर्छ।

संस्कृतिले पुरानो समाजलाई वर्तमानसित जोड्ने काम गर्छ। अव्यवहारिक संस्कार छन् भने त्यसलाई व्यवहारिक बनाउन आवश्यक छ। त्यसैले दशैंमा सम्पन्न गरिने पशु बधलाई न्यूनीकरण गरेर वा काटमार नगरिकन पनि मनाउन अभ्यास गरौं। आजको माग पनि यही हो।

Related News

सम्बन्धित समाचार

hero news full width