चाइनाबाट सिकौं

डा. रामचन्द्र लामिछाने
असाेज ६, २०७७

कोराना भाइरस पत्ता लागेपछि वुहानको जनजीवन अस्तव्यस्थ भएको थियो । २ हप्ता भइसक्दा कोरोना सुनिश्चित भएका केश लगातार बढीरहेका थिए । वुहानका अस्पतालमा भिडभाड थियो । जनमानसमा सन्त्रास थियो । मानिसहरु घरभित्र नै थुनिएका थिए । विस्तारै जनजीवन असहज भइरहेको थियो । सरकार यस समस्याबाट पार पाउन हर सम्भव प्रयास गरिरहेको थियो । सरकार, नागरिक, जनसमुदाय एक भएर यस माहामारी विरुद्ध लडिरहेका थिए । यसलडाई कुन अस्त्रले के काम गर्दछ भन्ने सबैमा अन्यौलता थियो । लकडाउन विस्तारै शुरु भएको थियो । संसार भरिका सञ्चारमाध्यमले कम वास्तविकता बढी अडकलवाजी र नकारात्मक एंगलबाट समाचारहरु सम्प्रेषण गरिरहेका थिए । मानौ सञ्चार जगत्को काम नै अवस्थाको नकारात्मक चित्रण गरेर मानिसलाई निराशा तुल्याउनु हो र बाँच्ने हिम्मत सिध्याउनु हो । कोरोनाको कारण भन्दा धेरै गुणा समाजमा सञ्चार माध्यमहरुले नैराश्य फैलाएका छन् । जति वेला वुहानमा भइरस संक्रमणका खबरहरु प्रसारित भएका थिए नेपालीहरु त्यहाँ अध्ययनरत विद्यार्थीका बारेमा चिन्तीत थिए । विभिन्न देशले आफना नागरिकलाई उद्धार गरेपछि नेपाल सरकारले पनि स–सम्मान नेपाली नागरिकहरुको उद्धार गरेर कोरोनाप्रति नेपाली समाज सजग र सरकार संवेदनशील रहेको सन्देश प्रवाह गरेको थियो ।

नेपालमा संकटको अवस्थामा नागरिकका जीवनसँग खेलवाड गर्ने निजी अस्पताल, मुनाफा कुम्ल्याउन चाहने निजी विद्यालय, नागरिकका स्वास्थ्य उपकरण खरिदमा भ्रष्टचारको र्याल काड्ने सरकारी कर्मचारी र त्यस्ता कर्मचारीहरुको सुरक्षा कवच बन्ने राजनीतिक पार्टीहरु, नागरिक समाज, सञ्चार जगत्का क्रियाकलापले गर्दा समाज असफलताको मार्गमा हिँडेको प्रष्ट देखिन्छ ।

वुहानको संकट समाधान गर्न चिनियाँ सरकारको आह्वानलाइ हर नागरिक र सबै प्रकारका संघसंस्थाहरुले अत्यन्तै जिम्मेवारीका साथ संसारलाई आक्रन्त पारिरहेको भाइरसलाई उनीहरुले भने मुहानमा नै सीमित बनाइदिए । वुहानमा कोरोनाको पुष्टि भएपछि एकप्रकारको हाहाकार सिर्जना भयो भने अन्तर्राष्टियस्तरमा चीनको बारेमा निकै नकारात्मक टिप्णीहरु भए । विश्वभरि चीनको नकारात्मक छवि निर्माण हुन सक्छ भन्दै चिनियाँ सञ्चार माध्याम र नागरिकले चीनमा भइरहेका प्रयास सार्वजनिक गरिरहे । राष्ट्रको गरिमा कायम राख्न नागरिकहरुले संसारभरि फैलिएका आफना नीजि सञ्जाललाई पनि प्रयोग गरेर निरन्तर जानकारी गराइरहे । एकदिन एसिया इन्स्टिच्यूट अफ ब्रोकास्टिग एण्ड डेभलेभमेन्ट मलेसियाका सेवा निवृत्त निर्देशक मित्र चाग जिनले वी चाटमा सन्देश पठाउँदै चीनमा के भइरहेको छ र कसरी चिनियाँ सरकार, नागरिक, डाक्टर, नर्स, व्यापारिक समुदायहरुले सहकार्यमा काम गरिरहेका छन् भन्ने बारेमा पत्रकार लिले तयार गरेका अंग्रजी समाचार सम्प्रेषण गरेर नीजि सामाजिक सञ्जाल तथा वेभसाइटमा पोस्ट गर्न अनुरोध गरे । उनको त्यो अनुरोधले संकटको वेला एक नागरिकले कसरी देशको पक्षमा काम गर्न पर्दोरहेछ र त्यो कति महत्वपूर्ण हुँदोरहेछ भन्ने महसुस गरायो । त्यसभन्दा पनि चिनियाँहरुको देश, नागरिक र देशको इज्जत प्रतिष्ठाका बारेमा सोच्ने शैली देखेर गज्जब लाग्यो र त्यसलाई अनुकरण गर्न मन लाग्यो । मित्र चाँगको अनुरोध स्वीकार गर्दै मैले सबै कथाहरु मेरो सामाजिक सञ्जाल र वेबसाइटमा पोस्ट गरे जुन धेरै मित्रहरुले हेर्न सक्नु भयो । अहिले नेपालको अवस्था निकै दयनीय भएको र कोरोनाको बारेमा सरकारका प्रयासलाई निकै नकारात्मक रुपमा प्रस्तुत गरिएका, नागरिकहरुले निकै हल्का तरिकाले यसलाई लिएको र जिम्मेवार निकायले निकै हचुवा तालमा यस सम्बन्धी रणनीतिहरु बनाएको अवस्थामा शुरुकै अवस्थामा चीनमा गरिएका प्रयासहरुको भावानुवाद गर्दै व्याख्या गर्न प्रयास गरेको छु । आशा छ यसबाट नेपाली पढने र बुझनेलाई त्यहाँको अनुभव जान्ने अवसर मिल्नेछ ।

एक जना ५५ वर्षीय वृद्धलाई पहिलो पटक नोभेम्वर १७ मा कोरोना भाइरस देखिएपछि यो फैलिएको थियो । जतिवेले चिनियाँहरु वसन्त क्रृतुको चाड मनाउने तयारी गर्दै थिए तब यो भाइरस विद्युतीय रफतारमा फैलिदै थियो र चिनियाँ जनजीवनलाई अस्तव्यस्त बनाउँदै थियो । यो भाइरसको प्रकृति नयाँ भएको र उपचार पत्ता नलागिसकेको अवस्थामा चिनियाँ वैज्ञानिक डाक्टरहरुले विभिन्न परीक्षण गरिरहेको अवस्थामा यसको सरुवा गति नियन्त्रण गर्न लकडाउन विधि अपनाउन सरकारलाइ सिफारिस गरे र २३ जनवरी २०२० मा चिनियाँ सरकारले र लकडाउन घोषणा गरेर उच्च सावधानी अपनाउन नागरिकहरुलाई आह्वान गर्यो । नागरीकहरुले लकडाउनलाई पालना गर्दे संकट समाधान गर्न सरकारको होस्टेमा हैसे गरिनै रहे ।

बजार टप्प थियो जनजीवन गुजारा गरिरहेको थियो । वुहानको मेरियट होटल होन्कुमा वेइजिग र संघाइवाट आएका चार सय जना डाक्टर र नर्सहरु बसेर स्थानीयलाई सेवा दिइरहेका थिए । होटलमा बसेका डाक्टर र नर्सहरुलाई खुवाउन तरकारीको अभाव भइसकेको थियो । लुनार नयाँ वर्षको तेस्रो दिनमा एकजना किसान तीन चक्के टेम्पु चढेर आएर र होटलका कर्मचारीलाई सोधे यहाँ डाक्टर र नर्सहरु बस्नु भएको छ अरे मैले वहाँहरुका लागि आफनै वारीमा उमारेको २४ कार्टुन तरकारी लिएर आएका ेछु कृपया राख्नुहोस् न । होटलका कर्मचारीले तरकारी लिएर जब पैसा दिन खोजे तब किसान भावुक मुस्कानका साथ मैले यो बिक्री गर्न ल्याएको होइन आफ्नो ज्यानको प्रवाह नगरी हामी चिनियाँ जनताको स्वास्थ्य उपचारमा संलग्न ती महान डाक्टर र नर्सहरुलाई सम्मान स्वरुप ऐक्यबद्धता गर्न ल्याएको हुँ मलाई पैसा चाहिँदैन यो उहाँहरुको खाइदिए पुग्छ । यस्तो चारैतिर निराशाले गाजेको वेलामा वहाँहरुको प्रयासले जीवनप्रति भरोसा जागेको छ । उनको कुरा सुनेर होटलका कर्मचारीहरु भावुक हुन्छन् । अत्यन्त हार्दिकताका साथ उनको बिदाइ गर्दछन् । ती ग्रामीण किसानको चेतना, मानव समुदाय र आगामी पुस्ताप्रतिको जिम्मेवारी र समाजप्रतिको जवाफदेही नेपाली समाजका लागि निकै अनुकरणीय छ । जातीय, क्षेत्रिय तथा लैगिक पक्षधरतामा बाँच्न चाहने हामी नेपालीहरु ती महान चिनियाँ किसानको अगाडि पुडको भएको अनुभव भएको छ । जालझेल तिकडम गरेर शरहर तीन चार आना जग्गामा घर बनाएर घरमालिक भएका र डाक्टर र नर्सलाइ कोठाबाट निकाल्ने हाम्रा दाजुभाइप्रति टिठ लागेको छ । महानगरका बासिन्दा भएर ग्रामीणवासीलाई धाक लगाउनेहरुले डाक्टरको घर र संक्रमितलाइ गरेको व्यवहारलाई त घृणा गर्न पनि लायक रहेनछ । यस्तो महामारीमा कृत्रिम अभाव सिर्जना गरेर महंगी सिर्जना गर्ने व्यापारी नै कोरोनाका नाजायज सन्तान जस्तो लागेको छ ।

जनवरी २ मा नानजीनको सुरक्षा चौकीमा एकजना मानिस पुलिस नजिकै गए । आफनो कारबाट एउटा बक्स निकालेर पुलिसलाई दिँदै भने यसमा मैले तपाईंहरुका लागि टर्कीबाट केही मगाएको छु कृपया स्वीकारनुहोस् । जब पुलिसले वाक्सा खोलेर हेर्छन् वाक्साभरि एन ९५ माक्स देखेर भावुक हुँदै सोध्छन् सर तपाईंको नाम के हो । जवाफमा उनी पुलिसतिर हेर्दै एकदम हार्दिकताका साथ भन्छन् सर म एकजना चाइनिज हुँ मात्र चाइनिज । उनको कुरा सुनेर पुलिस भन्छन् यस संकटको समाना गर्न तपाईंहरुले देखाउनु भएको हार्दिकता एकदम अनुकरणीय छ हामी त्यसको उच्च प्रशंसा गर्न चाहन्छौ र चिनियाँ नागरिकलाई हरसम्भव सेवा दिन्छौ । यहाँहरुको यो सदासयताका लागि हार्दिक धन्यवाद । नागरिक र पुलिसको यसप्रकारको सम्बन्ध र पुलिसप्रति नागरिकको अद्भुत विश्वास नै चिनियाँ शान्ति र सुरक्षाको कडी हो । नेपालमा पनि प्रहरीहरु चौबीसै घण्टा डिउटीमा हुन्छन् तर नागरिकको विश्वास कति आर्जन गर्न सकेका छन् र प्रहरीको सेवाबाट नागरिक कतिको सन्तुष्टि छन् भन्ने कुरा हाम्रो देशमा हुने विभिन्न घटनाहरुमा देख्न सकिन्छ । चीनको यस प्रकारको सिकाइबाट नेपालले पनि सिक्न सकेमा हाम्रो प्रहरी प्रशासन र नागरिक सम्बन्ध थप मजबुत हुन्छ ।

चाडको रौनक भए पनि बुहान बन्द थियो । प्रायः सबै जसो रेष्टुरेन्ट बन्द थिए । स्वास्थ्यकर्मीहरुको लागि खानाको अभाव भैसकेको थियो । एउटा सानो पसल सधैं व्यस्त हुन्थ्यो । यस पसलले दैनिक करिव एकहजार प्याकेट खाना तयार गरेर जीनयीनटान अस्पताललाई सेवा दिन्थ्यो । त्यहाँको खाना त उत्कृष्ट थियो र औसत १६ युवान पर्दथ्यो जुन त्यहाँको बजार भाउभन्दा निकै सस्तो थियो । यो खाना कसरी यति सस्तोमा आपूर्ति गर्न सक्नु भयो भन्दा त्यस पसलकी साहुनीले टाउको कन्याउदै भन्नुभयो यहाँको खाना सस्तोमा आपूर्ति गर्न हामी घरका सबै सदस्यहरु खटेर काम गर्दछौ । हामी चारघण्टा भन्दा सुत्दैनौ । जब डक्टर र नर्सहरुले आफ्नो सबै समय हामीलाई दिनु भाको छ भने हामीले पनि त केही गर्न पर्दैन र ? परेको वेलामा हामीले पनि आफनो कर्तव्य निर्वाह गर्न सक्नु पर्दछ । तर नेपालमा सामन्य तरकारी पसलदेखि ठूला व्यापारीले यसै अवधिलाई कमाउने अवसर बनाएको देख्दा हाम्रो समाज कता जाँदैछ र हामी के कुरा प्राप्त गर्न चाहेका छौ भन्ने अनुमान गर्न गाह्रो छैन । सामान्य व्यवहार र आचरण शुद्धता ल्याउन सामान्य प्रयास पनि नगर्ने अनि सरकार, नेता, कर्मचारीलाई दोष लगाएर सभ्य समाज निर्माण हुन सक्दछ ? यस्तो महामारीसँग लड्न सकिन्छ ? अलिकति पनि आफूलाई सचेत भन्ने नागरिकहरुले के कति योगदान दिएका छौ भनेर आफैलाई सोध्ने वेला आएको छ । जात, नातागोता, पैसा र लोभलालचमा आएर भोट हाल्ने अनि देश र समाजका लागि सिन्को नभाँच्ने नागरिक देशका लागि वरदान हुन सक्दैनन् त्यसकारण हामीले आफूलाई पनि सोध्न परेको छ मेरो उपस्थिति यो देशमा वरदान हो कि अभिसाप ?

अर्को दिन सामानले भरिएको एउटा मालवहाक ट्क वुहान प्रवेशद्वारबाट भित्र छिर्छ । डिउटीमा भएकी एकजना युवती ड्राइभरलाई अभिवादन गर्दछिन् र कार्ड दिँदै भन्छिन् । तपाईंको कार्ड यहाँ छ । तपाईंको कडा परिश्रमका लागि हार्दिक आभार । तपाई वुहान आउनु भयो, । गाडी केही अगाडि गयो र टफिक प्रहरीले पानीको प्याकेट उठाउँदै भन्नु भयो सर बाटोमा तपाईंलाईं पिउन केही पानी लिनुहोस् । यी शब्दहरु अत्यन्तै सामान्य थिए तर यस्ता कुरा भइरहँदा सबैका आँखा रसाएका थिए । यतिका समान लिएर आएका डाइभरलाइ स–सम्मान बिदाइ गरिएको थियो । देशको एक शहरमा समस्या परेको वेलामा अन्य शहरबाट स्वतस्फूर्त रुपमा सहयोगहरु आदान प्रदान गर्ने संस्कारले समस्यासँग जुध्ने शक्ति प्राप्त हुन्छ र नागरिकहरुले नै समस्या समाधान गर्न पहल लिन्छन् । वास्तवमा पोखरालगायतका केही शहरमा नागरिकहरुले स्वस्फूर्त रुपमा मजदूर र अलपत्र परेका व्यक्तिहरुलाई खाना खुवाउने सकारात्मक प्रचलन शुरु भएको छ जुन सकारात्मक हो र यसरी देशैभर एकता र सहकार्य फैलाउन सकेमात्रै हामीले संकट समाधान गर्न सक्दछौ ।

वसन्त ऋतुको चाडको ढल्दो प्रहर, हेनान प्रान्तको सेन्जुका ४२ वर्षीय चाइना कम्युनिष्ट पार्टीका सचिव श्रीवाँग गोही ५ टन तरकारी लिएर हुवो सेनसान अस्पताल निर्माण स्थलमा आएर निःशुल्क सहयोग गरे । उनले १७ वर्ष वुहानमा सैनिक सेवामा भण्डार अधिकृतका रुपमा काम गरेका थिए । जब महामारीको खबर सुने उनको मनमा खानाको अवस्था के होला भन्ने प्रश्न आयो । त्यसकारण चाडपर्वको प्रवाह नगरी बिहान ५ बजे नै उठेर गाउँका सबै घरमा ढोका ढक्ढक्याउँदै तरकारी संकलन गर्ने अभियान चलाए । करिव २० जनाले उनलाई साथ दिए र हतार–हतार तरकारी तयार गरेर ५ टन तरकारी जम्मा गरे । हतार–हतार उनले टकमा तरकारी राखेर राती ८ बजे चाडको अघिल्लो दिन वुहान आइपुगे । उनी वुहानमा १९९८ को बाढी र २००८ को बिदामा पनि अग्रपंक्तिमा रहेर काम गरेका अनुभव व्यक्ति थिए । जब उनले विपत्तिका बारेमा सुने यसमा पनि अग्रपंक्तिमा नगई उनलाई चित्तै बुझेन । एकपटक सेनामा आउनु भनेको सेवा भए पनि नभए पनि सदैव नै देशको सेवाको लागि समर्पित हुनु हो भन्छन् उनी ।

नेपालमा पनि ठूलो संख्यामा भूतपूर्व सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारीहरुको झुण्डनै छन् तर उनीहरुको समाजप्रतिको योगदान कति गर्व गर्न लायक छ त्यो भने प्रश्न नै छ । अधिकांश कर्मचारीहरु ३० वर्ष सेवा गरेको विभाग र निकायको आलोचना गर्नमै व्यस्त देखिन्छन् । आफू सरकारी सेवामा रहँदा चरम कुशासन दिने अनि सेवा निवृत्त भएपछि यस्तो गर्न पर्दछ र यस्तो हुनु पर्दछ भन्ने गरेको देखिन्छ ।

जतिवेला चाइनामा महामारी फैलिरहेको थियो श्री चेन सेयुन नेपालको भ्रमणमा थिए । जब उनले सुनीन की उनको शहरमा मास्कको अभाव छ तब औषधि कम्पनीहरुमा सम्पर्क गरेर ५८ हजार मास्क किनीन । यो वास्तवमा नै निकै कोलाहलपूर्ण अवस्था थियो र उनले आफ्ना कपडा र अन्य समानहरु छोडेर सुटकेसमा मास्क हालिन् । धेरै मास्क ल्याउन सकियोस् भनेर मास्को कार्टुन च्यातेर एक–एक गरी सुटकेसमा हालिन् । उनले नेपालबाट ४ सुटकेश मास्क लिएर आइन र डाक्टर तथा नर्सहरुलाई निःशुल्क बाँडिन । जब महामारी आउँदछ त्यस्तो अवस्थामा मेरा व्यक्तिगत सामान भन्दा औषधि, उपकरणहरु र मास्क धेरै आवश्यक हुन्छन् उने मास्क वितरण गर्दा मुस्कुराउँदै भनिन् हाम्रो देश जहाँका डाक्टर तथा नर्सहरुले मास्कसमेत नपाएर कोरोना जस्तो रोगको उपचार गरेका कथाहरु प्रशस्त सुन्न पाइएको थियो भने डाक्टर र नर्सका लागि ल्याइएका भनेका मास्क पनि राजनीतिज्ञ र कर्मचारीले आफू र आफना आफन्तलाई बाँडेको समाचारले हामीलाई अवाक बनाएको थियो । बारम्बार प्रश्न आउँदछ हाम्रा यस्तै सोच, आचरण र वानी व्यवहारले हामीले कोरोनालाइ परास्थ गर्न सक्छौ त ?

हेनानका टुरिस्ट गाइडले जब वुहानको दयनीय अवस्थाका बारेमा सुने तब उहान सेफगाड स्वाड बनाएर थाइल्याण्डवाट ४० बाक्स सुरक्षा गाउन खरिद गरी वुहान पठाए । यसले देखाउँदछ चाइनामा भातृत्व, मानवत्व कति छ । यहाँ टोलै पिच्छे भएका मानवअधिकारको नाममा दलाली गर्ने संघ संस्थाहरुले संक्रमितहरु, चिकित्सक, प्रहरीहरु माथि भएका ज्यादतीका बारेमा नएक शब्द बोल्ने हिम्मत गर्दछन् न त समाजमा व्याप्त भ्रष्टाचार र ढिलासुस्तीको विरुद्ध आवाज उठाउदछन् न त त्यस्ता किराहरुलाई बहिष्कार गर्ने आन्दोलनको नेतृत्व नै गर्न सक्दछन् । कसरी समाज र देश उभो लाग्दछ ? के नागरिक समाजको दायित्व हुँदैन ?

वसन्त ऋतु चाडको पाँचौ दिन, हेनास प्रान्तको लुयोगंमा भएको फर्निचर उद्योगले २० लाख युआन बराबरको मेडिकल क्याविनेटको अर्डर प्राप्त गर्यो । त्यस कम्पनीका मालिक श्री युआनले यो अर्डर हुवोसेनसान अस्पताल हुवानका लागि हो भन्ने तुरुन्तै पत्ता लगाए । उनले तुरुन्त अर्डर लिए र निःशुल्क ती सामानहरु उपलब्ध गराउने वाचा गरे । उनको उद्योगमा स्टोर अभाव भएको कारण उनले यो सन्देश उनको स्थानीय उद्योग संघको च्याट समूहमा पोस्ट गरे । जब उद्योग संघका सदस्यहरुले यो सन्देश देखे संघका सदस्य उद्योगीहरुले दान गर्न प्रतिस्पर्धा गरे र एक रातमा १४ वटा उद्योगहरुले सबै अर्डरहरु तयार गरे । जब सबै समान तयार भए त्यहीँ दिन सबै मेडिकल क्याविनेटहरु अस्पतालमा पुर्याइयो । यस संकटमा यी उद्योगीहरुको त्यो तात्पर्यताले चिनियाँ व्यापारिक समूहको देश, नागरिक र समाजप्रतिको जिम्मेवारी र जवाफदेहितालाई दर्शाउँदछ । नेपालमा संकटको अवस्थामा नागरिकका जीवनसँग खेलवाड गर्ने निजी अस्पताल, मुनाफा कुम्ल्याउन चाहने निजी विद्यालय, नागरिकका स्वास्थ्य उपकरण खरिदमा भ्रष्टचारको र्याल काड्ने सरकारी कर्मचारी र त्यस्ता कर्मचारीहरुको सुरक्षा कवच बन्ने राजनीतिक पार्टीहरु, नागरिक समाज, सञ्चार जगत्का क्रियाकलापले गर्दा समाज असफलताको मार्गमा हिँडेको प्रष्ट देखिन्छ । यसमा सरकार तथा गैरसरकारी क्षेत्रको सकारात्मक भूमिका कति हुँदो रहेछ समाजको स्थायित्व र संकटसँग जुध्न भन्ने प्रष्ट हुन्छ ।

हुनान प्रान्तको चान्देका हाओ जीन जो १९९० मा जन्मेका थिए उनले १८ हजार सर्जिकल मास्क दान गरे । उनले त्यो मास्क कसरी ल्याएर दान गरे भन्ने कथा पनि विचित्रको छ । गत वर्ष उनी एउटा सर्जिकल मास्क कम्पनीमा काम गर्दथे । जब त्यस कम्पनीको उत्पादन र व्यापार मन्दी भयो तब कम्पनीले ज्याला वापत उनलाई २० हजार युआन बराबरको मास्क दियो । जब जीनले चाडपर्वको वेलामा मास्कको अभाव भएको थाहा पाए तब उनले मास्कको आवश्यक भएका व्यक्तिहरुलाई ती मास्कहरु निःशुल्क बाँडे । जब कम्युनिष्ट पार्टीका गाउँ कमिटीका सचिवले उनलाई पैसा दिन चाहे उनले भने देश संकटमा भएको वेलामा म पैसा लिन सक्दिन । यो नै मैले देशप्रति गर्न सक्ने कर्तव्य हो भने । घर परिवारमा पैसाको अभाव हुँदाहुँदै पनि हाओ जीन जोले संकटको वेला देखाएको यो उदारताले धेरै चिनियाँ युवाहरुको मन जितेको छ । शायद शक्ति र पदको आडमा सरकारी तथा सार्वजनिक सम्पत्तिमा ब्रहमलुट मच्च्चाउन पल्केका हाम्रा देशका व्वासाहरुलाई यस प्रकारको कथाले नछोए पनि अधिकांश मेहनती र राष्ट्रवादी युवालाई पक्कै पनि यस्ता कथाले उत्प्रेरणा दिने नै छ ।

पहिलो वृद्ध जन अस्पतालको उप प्रमुख ज्याग मिन महामारी क्षेत्रमा जानका लागि घर छोडनै लाग्दा उनकी छोरीले आँखाभरि आँसु लिँदै कस्सेर अंगालो मार्दै नजानोस् आमा भनेर रुदै थिइन् तर मिनेले छोरीको आँसु पुछ्दै आमा दैत्यसँग लडन जाँदैछु म दैत्यलाई हराएर छिट्टै आउँछु तिमी नरोइ बस भनेर सँझाउदै थिइन् । धेरै गाउँमा नर्सहरु र डाक्टरका घरमा यस्ता दृश्यहरु देख्न सकिन्थ्यो । जनता र देशप्रति अत्यन्त संवेदनशील नर्स र डाक्टरहरुले आफनो स्वास्थ्यको प्रवाह नगरी नागरिकको उपचारमा दिनरात लागि रहे भने चिनियाँ नागरिकहरुले उनीहरुको उच्च सम्मानका साथ प्रशंसा गरिरहे । नेपालमा सरकारी अस्पतालमा नर्स र डाक्टले देखाएको सेवा भाव उच्च प्रशंसालायक छ भने यस संकटमा निजी अस्पताल, ती अस्पतालका मालिकहरुले खेलेको भूमिका आगामी पुस्तालेसमेत घृणा गर्न लायक छन् भने त्यस्ता अस्पतालका सञ्चालकहरुलाई हरप्रकारका गतिविधिहरुमा सामाजिक बहिष्कार गर्न लायक छन् ।

सारा शहर वसन्त ऋतुको चाड मनाइरहेको थियो संघाइ जनअस्पताल श्वासप्रश्वास विभागका डाक्टरले दुइवटा खानाको अर्डर गरे । महामारीको अवस्थालाई ध्यानमा राख्दै डाक्टरले डेलिभरि दिने व्यक्तिलाई सचेत गराउँदै भने यदि तपाईंलाई अस्पतालको वातावरणसँग डर लाग्दछ भने कृपया बाटोको पल्लोपट्टी ल्याएर छोडी दिनु होला म त्यहाबाट खाना लिएर आउछु भने । यसको आधा घण्टा पछि डाक्टरको क्याविनमा २ वटा अतिरिक्त खानासहित एक नोटमा लेखिएको थियो डाक्टर साहेब दिन लामो तपाईंलाई भोक लाग्न सक्दछ त्यसकारण एक भेज र एक ननभेज खाना हाम्रो तर्फबाट पठाएका छौ कृपया स्वीकार्नु होला । यहाँलाई चाडको शुभकामना । जब डाक्टले यो देखे उनी निकै भावुक भ र रेष्टुरेन्टको यो सदासयतालाइ स्वीकार गर्दै सामाजिक सञ्जालमा उच्च सम्मानका साथ पोस्ट गरे । यो पोस्ट देखेपछि एकजना पत्रकार त्यो रेष्टुरेन्ट खोज्दै रेष्टुरेन्टमा पुगेर रेष्टुरेन्टको मालिकलाइ सोध्दछन् । जब मालिकको जवाफ सुन्दछन् पत्रकार पनि भावविह्वल हुँदै भन्दछन् सर मेरे लिस्टको सबैभन्दा माथि अब तपाईंको रेष्टुरेन्ट रहन्छ । तपाईंजस्ता व्यवसायीप्रति हर चिनियाँले गर्व गर्न सक्दछन् । ती व्यापारीले पत्रकारलाई के भनेका थिए भने हामी सबै चाड मनाइरहेका छौ तर डाक्टरसाहेव हाम्रो सुरक्षाका लागि खटिरहनु भएको छ । यस्तो अवस्थामा २ वटा खाना अफर गर्नु त मामुली कुरा होइन र ? उनको यस भनाइले उनलाई आत्म भएको व्यापारी भन्न सकिन्छ ।

मित्र चागले पठाएका यी कथामा नागरिकहरुको स्वस्फूर्तता देख्न सकिन्छ । यी कुनै पनि कथाहरुमा कोरोनाको उपचारको औषधि छैन तर यी यस्ता कथाहरु हुन् जसले कोरोना भन्दा निकै शक्तिशाली रोगलाई परास्त गर्न सक्ने मनोवल, भावना र आत्मविश्वास पैदा गर्दछ । यी कुनै पनि कुरा नेपाली समाजले गर्न नसक्ने होइनन् तर नेपाली समाज यो गर्न चाहँदैन । चीनमा पनि यो संस्कार एकै रातमा विकास भएको होइन त्यहाँ लामो समयसम्म कम्युनिष्ट पार्टीले नयाँ संस्कार गर्न गरेको लगानीको प्रतिफल हो । हामीले रातारात नयाँ संस्कार निर्माण गर्न त सक्दैनौ तर नेकपा, नेका, सजपा, विवेकशील, साझा पार्टीलगायतका राजनीति पार्टीहरुले सामाजिक संस्कार निर्माण गर्न लगानी गर्यौ भने हामीले पनि चीनमा जस्तै सबै प्रकारका संकटहरुसँग जुधेर नयाँ समाज निर्माण गर्न सक्दछौ तर के हाम्रा राजनीतिक पार्टी र तीनका नेता तथा कार्यकर्ताहरुमा त्यो हिम्मत र चाहना छ होला ?

लेखक पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width