गुजरातमा ट्रम्प: दिल्लीमा हिंसा

तिलक पराजुली
फागुन १६, २०७६

आफ्नो गृहराज्य गुजरातको अहमदावाद शहरमा ट्रम्प दम्पत्तिलाई मोदीले स्वागत गरिरहँदा यता राजधानी दिल्लीमा भने नागरिकता संशोधन ऐनको विरुद्ध व्यापक जनसागर सडकमा उत्रेको थियो । त्यसैदिनको दङ्गामा एकजना पुलिस हवल्दार प्रदर्शनकारी र सरकार समर्थकबीचको झडपमा मारिए । ट्रम्प दम्पत्तिको बिदाइ हुने दिन (२५ फेब्रुअरी) त राजधानी शहर दिल्लीको विरोध प्रदर्शन यति हिंसात्मक बन्यो कि कतै गृहयुद्ध भएको त होइन भन्ने जस्तै बन्यो ।

अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको नेपालसँग कुनै प्रत्यक्ष चासो त छैन तर क्षेत्रीय राजनीतिको शक्ति सन्तुलनमा आउन लागेको फेरबदलको गुञ्जायस भने नजरअन्दाज गर्न हुँदैन । आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारको चटारोमा ट्रम्प भारत आउनुको कारण के हो ? यो पनि अर्थपूर्ण कुरा छ ।
गत निर्वाचनमा उम्मेदवार हुँदा आफू राष्ट्रपति भए अफ्गान युद्ध अन्त्य गर्ने वचन ट्रम्पले दिएका थिए । यो अमेरिकी जनताको एक अहम् मुद्दा पनि थियो । अमेरिकी जनता अफ्गानिस्तानमा भएको अमेरिकी धनजनको क्षतिसँग वाक्क पनि छन् । मेक्सिकोसँगको सीमानामा पर्खाल र काँडेतार लगाएर आप्रवासी रोक्न केही कदम चाले पनि अफ्गान समस्या ज्यूँका त्युँ रहँदा पुनर्निर्वाचित गराउन जनतासँग मत याचना गर्न ट्रम्पलाई अफ्ठ्यारो छ ।
अलकायदा नेता ओसामा बिन लादेनलाई पाकिस्तानमा ल्फाङ्ग स्वाड पठाएर हत्या गर्न सक्नुले ट्रम्पका पूर्ववर्ती राष्ट्रपति ओवामालाई दोस्रो पटक चुनाव जित्न सहज भएको थियो । लादेनलाई सफाया गरेर ओवामालाई पुननिर्वाचित हुन सहज भए झैं इरानी सेनाध्यक्ष कसिम सुलेमानीलाई इराकमा हत्या गरेर ट्रम्पले अमेरिकी जनताबाट कुनै विशेष स्यावासी पाएनन् । सुुलेमानी हत्या आमजनताको लागि सनसनीपूर्ण घटना पनि हुन सकेन । लादेनले अमेरिकामाथि नै आक्रमण गरेका कारण आमजनता उनका विरुद्ध थिए । सुलेमानीले त के नै गरेका थिए र ?
खासमा अफ्गानिस्तानको गृहयुद्धबाट अमेरिकाले कसरी सुरक्षित तवरमा हात झिक्न र अमेरिकी सेना फिर्ता गर्ने भन्ने नै ट्रम्प प्रशासनको दक्षिण एशियाको मूल समस्या हो । त्यसैले तालिवानसँग शान्तिसम्झौता गर्नुपर्ने बाध्यता छ–अमेरिकालाई । त्यो चलिरहेको छ । वार्तामा उतारचढाव भने निकै देखिएको छ ।
खाडीको दोहा शहरमा हुँदै गरेको शान्तिवार्ताले अस्थायी युद्धविराम सम्भव भएको छ । यसलाई स्थायी बनाउन पाकिस्तानको सक्रिय र सार्थक सहयोग बिना सम्भव छैन । भारतको मोदी सरकार भने अमेरिकाले अफ्गानिस्तान छाड्नु हुँदैन भन्ने पक्षमा छ । भारतीयहरुको ठम्याई के छ भने अमेरिकी सेना वापस जाँदा साथ अफ्गानिस्तान तालिवानको कब्जामा जानेछ । यो भनेको प्रकारातन्तरमा पाकिस्तानको हात बलियो हुनु हो । तालिवानसँग भारतको राम्रो सम्बन्ध छैन भन्ने कुरा त काठमाडौंबाट दिल्लीको लागि उडेको भारतीय विमान अपहरण गरी अफ्गानिस्तानको कन्दाहारमा पु¥याएर आतंकवादीको आरोपमा भारतीय जेलमा रहेका व्यक्तिलाई जेलमुक्त गर्न बाध्य पारेको बाटै बुझ्न सकिन्छ । त्यस बखत भारतमा अटल बिहारी वाजपेयी नेतृत्वको सरकार थियो । नेपालमा कृष्णप्रसाद भट्टराई थिए–प्रम ।
त्यसैले, अफ्गानिस्तानबाट सेना फिर्तापछि पनि भारत–अमेरिका सम्बन्धमा फेरबदल हुने छैन भन्ने कुरामा मोदीलाई आश्वस्त पार्न चाहन्छन् ट्रम्प । यो उनको तत्कालीन महत्वको एजेण्डा हो । र, ट्रम्पलाई पुनःनिर्वाचित हुन अमेरिकामा स्थायी बसोबास गरेका भारतीयहरुको मत पनि महत्वपूर्ण छ । त्यसको लागि भारतसँग अझ खास गरेर मोदीसँग सम्बन्ध घनिष्ट छ भन्ने देखाएर भारतीय मुलका अमेरिकनको मत तान्न पनि हो । त्यसैले ट्रम्प भ्रमणको उपादेयता दीर्घकालीन नभएर तत्कालीन छ ।

ट्रम्पको भारत भ्रमणमा दुई देशबीच व्यापारमा उत्पन्न गत्यावरोधको गाँठो भने खासै फुक्न सकेको देखिएन । केही सामरिक एवं सैन्य सामग्री अमेरिकाबाट भारतले किन्ने छ । आखिर अमेरिका भनेकै हतियारको व्यापारी हो । र, दक्षिण एशियाली क्षेत्रमा सैन्य शक्तिको श्रेष्ठता कायम राख्न भारतले रुस, फ्रान्स, अमेरिका लगायतबाट लडाकु विमान सहित सैन्य सामग्री खरिद गर्दै आएको छ ।

मोदीका पनि आफ्नै कारण छन्–ट्रम्पलाई भारतमा स्वागत गर्नमा । देशभित्र जातीय एवं धार्मिक भेदभावपूर्ण व्यवहारका लागि उनी निकै आलोचित छन् । मोदी अमित शाहको यो गुजरात ब्राण्डले कश्मीर राज्यले पाएको विशेष हकको संवैधानिक व्यवस्था धारा ३७० खारेज गरेर मुस्लिम विरोधी काम त गरेकै थियो । त्यसपछि लागू गरेको नागरिकता संशोधन ऐनले मोदी शाह सरकारलाई जातीय भेदभाव तथा नश्लवादी भन्ने आलोचना पश्चिम जगत्मा चलेको छ । यो भेदभाव र मानव अधिकार हननको मुद्दा अमेरिकाले नउठावास भन्ने उनको कोशिस छ । सन् २००२ को गुजरात हिंसा र मुस्लिमहरुको हत्याका कारण अमेरिका प्रवेशमा प्रतिबन्ध नै थियो–मोदीलाई । प्रम भएपछि प्रतिबन्ध फुकेको हो ।
आफ्नो गृहराज्य गुजरातको अहमदावाद शहरमा ट्रम्प दम्पत्तिलाई मोदीले स्वागत गरिरहँदा यता राजधानी दिल्लीमा भने नागरिकता संशोधन ऐनको विरुद्ध व्यापक जनसागर सडकमा उत्रेको थियो । त्यसैदिनको दङ्गामा एकजना पुलिस हवल्दार प्रदर्शनकारी र सरकार समर्थकबीचको झडपमा मारिए । ट्रम्प दम्पत्तिको बिदाइ हुने दिन (२५ फेब्रुअरी) त राजधानी शहर दिल्लीको विरोध प्रदर्शन यति हिंसात्मक बन्यो कि कतै गृहयुद्ध भएको त होइन भन्ने जस्तै बन्यो ।
दर्जनौं व्यक्ति मारिए र सयौं घाइते बने । आगजनीका घटना पनि भयावह नै थियो । एकल विश्वशक्ति देशका पाहुना देशमा भएकै बेला यत्रो हिंसा हुनु सरकार, खास गरेर गृहमन्त्रीको असफलता मानिएको छ ।
मुगलकालमा अयोध्यामा बनेको बाबरी मस्जिद भत्काएको र त्यही ठाउँमा राम मन्दिर निर्माण गर्ने अदालती म्याण्डेट पाएको मोदी सरकारले मुगलकालकै मनुमेन्ट (चिनारी) ताजमहललाई उपेक्षा गर्दै आएको थियो । तर, ट्रम्प दम्पत्तिले यो ऐतिहासिक प्रेमको चिनारीमा अवलोकन भ्रमण गर्ने ईच्छा राखेपछि यसको सजावट गर्न सरकार बाध्य भयो । ट्रम्प दम्पत्तिको ताजमहल मोहलाई मुस्लिम समुदायलाई सन्तुलनमा राख्ने उपायको रुपमा प्रयोग भएको भन्नेहरु पनि छन् ।
आ–आफ्ना स्वार्थ र उपयोगिताले गराएको ट्रम्पको भारत भ्रमणमा दुई देशबीच व्यापारमा उत्पन्न गत्यावरोधको गाँठो भने खासै फुक्न सकेको देखिएन । केही सामरिक एवं सैन्य सामग्री अमेरिकाबाट भारतले किन्ने छ । आखिर अमेरिका भनेकै हतियारको व्यापारी हो । र, दक्षिण एशियाली क्षेत्रमा सैन्य शक्तिको श्रेष्ठता कायम राख्न भारतले रुस, फ्रान्स, अमेरिका लगायतबाट लडाकु विमान सहित सैन्य सामग्री खरिद गर्दै आएको छ । फ्रान्सबाट आयात गरेको राफेल बिमान रक्षामन्त्री राजनाथ सिंह पेरिसमै पुगेर पूजा गरी भारत ल्याएका हुन् । राफेल खरिदमा आर्थिक घोटाला भएको भन्ने विपक्षी काँग्रेसको आरोप छ ।
ट्रम्पले स्वागत तथा विदाइ मन्तव्यमा मोदीको निकै फूलबुट्टा गाँसेर प्रशंसा गरे पनि इण्डोप्यासिफिक रणनीतिमा सहभागी हुने प्रष्ट वचन मोदीबाट पाएनन् । यद्यपि, भारत अमेरिकाबीच मनमोहनसिंह प्रधानमन्त्री छँदा नै आणविक अस्त्रसम्बन्धी (न्यूक्लीयर डिल) सम्झौता भएको हो । तर, भारत अमेरिकासँग सैनिक गठबन्धनमा संलग्न भने छैन । अमेरिकीहरु चीनका विरुद्ध भारतलाई आफूतर्फ तान्न भरमग्दुर कोशिस गरे पनि भारत पर्ख र हेरको स्थितिमा छ । कमसेकम कतै महाशक्ति अमेरिकाको सहायक वा उपग्रह जस्तो भइन्छ कि भन्ने कुरामा भारतीय नेतृत्व सधैँ सजग देखिन्छ ।
ट्रम्प र मोदीको अहमदवादको अँगालो न्यानो र हार्दिक हो वा आ–आफ्ना स्वार्थका बाध्यता हुन् भन्ने कुराको निक्र्यौल गर्न भने पर्ख नै पर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width