खस क्षत्री आदिवासी जाति

सन्दर्भः अन्तराष्ट्रिय आदिवासी दिवस

कृष्ण बहादुर थापा
श्रावण २४, २०७६

जातजातिलाई फुटाई राज गरौं भन्ने नीति विरुद्ध सबै जातजाति सचेत बन्न देशलाई एक भई जातीय सद्भाव र ऐतिहासिक पृष्ठभूमिका आधारमा मूल्याङ्कन गरियोस, विश्व आदिवासी जनजाति दिवसले यही प्रेरणा प्रदान गरोस्।

नेपालको भौगोलिक अवस्था हेर्ने हो भने खसहरु क्षत्री जाति भएकोले प्रयोगमा आएको भाषालाई खस भाषा भनिएको र यसैलाई नेपाली राष्ट्रिय भाषाको रुपमा अहिले प्रयोमा आएको देखिन्छ। सन् १९९० को दशकमा मात्र नेपालमा आदिवासी/जनजातिको चर्चा हुन थालेको देखिन्छ। आदिवासी/जनजाति शब्दको अर्थका रुपमा हेर्ने हो भने शुरुआती स्थानमा बस्ने वासिन्दा आदिम हुन् भन्ने गरिन्छ। जनजाति भन्नाले निश्चित समूह बनाएर बसेको जातिको रुपमा लिने गरिन्छ।

नेपालको सबैभन्दा ठूलो जनसंख्या रहेको आदिवासी क्षत्रीहरुलाई राजनीतिक रुपमा पछि पारिएको, आदिवासी जातिका रुपमा सूचीकृत नगरिएको भएता पनि अन्य जातजातिले जस्तो जातीय राज्यको माग नराखी राष्ट्रियता अखण्डता, जातीय सद्भाव सहअस्तित्वप्रति सर्मपण, समन्वय गर्दै आएको सभ्य आदिवासी जाति खस क्षत्रीले कुनै आरक्षण नमागी सबै जातजातिहरुका नसक्ने, नहुने पिछडिएका वर्गलाई आरक्षण, छुट, सुविधा दिनुपर्ने भन्ने माग गर्दै आएको जाति हो।

राज्यको हरेक राजनीतिक परिवर्तनमा बलिदान सहित महत्वपूर्ण, सकृय योगदान दिँदै आएको क्षत्री जातिलाई राजनीति, देशी विदेशी शक्ति केन्द्रको आडमा पछि पार्ने दुष्प्रयास हुनु आफैमा दुःखद र आपत्तिजनक रहेको छ। देशमा पर्ने हरेक अप्ठ्यारो परिस्थितिमा आदिवासी क्षत्री जातिको सकारात्मक महत्वपूर्ण योगदान रहेकोले नेपालको सफल राजनीतिक अवतरणको अवस्थामा आएको हो

आदिवासी जनजाति भनेर गरिएको परिभाषा र वर्गीकरण त्रुटिपूर्ण मात्र होइन अत्यन्त अन्यायी र आपत्तिजनक छ। आदिवासी र जनजाति भनेको फरक फरक जातीय समूह/ जातीहरु समयक्रमानुसार जनजातिबाट जातीय रुपान्तरण भएको हुनाले ती जातीहरुमा जनजातिमा हुनुपर्ने विशेषताहरु पाइन्छन्। वास्तविक आदिवासी जनजातिको नेतृत्वमा भएको सबैखाले हस्तक्षेप रोकिनु पर्छ।

नेपालमा कायम रहेको १२५ भन्दा बढी जाति मध्ये सबैभन्दा बढी भएको जातिको अस्तित्वलाई अस्वीकार गरी जातीय पहिचान र जातीय सम्मान खोसिनु दुर्भाग्यपूर्ण रहेको छ। अधिकार प्राप्तिमा वैकल्पिक मार्ग खोजिए के हुनसक्छ भन्ने विगतका आन्दोलनहरुले देखाई सकेको छ र विभिन्न चरणमा क्षत्री समाज नेपाल र संयुक्त जातीय आन्दोलन समिति (समाजका केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षत्रीको संयोजकत्व र पूर्व महासचिव कुमार खड्काको नेतृत्व तथा देशभक्ति, क्षत्री समाज र अन्य जातीय समाज, भ्रातृसमाजहरुको सहभागिता) मार्फत नेपाल सरकारसँग भएका लिखित सम्झौताहरु कार्यान्वयन गर्नुपर्छ। संस्थाहरुको नाममा जाति विशेषलाई सहयोग अनुदान हुने कार्यहरु तत्काल रोकिनु पर्दछ।

नेपाल सदैव एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भई सदियौंदेखि अनेकौ जातजातिहरु मिली बसेका छन्। संसारमा कुनैपनि देशमा नभएको जातीय सहिष्णुता हाम्रै देश नेपालमा रहेको छ। तर दुर्भाग्पूर्ण भन्नुपर्छ, राजनीति अस्थिरता, नेता र पार्टीको अदूरदर्शीता, असक्षमता तथा स्वार्थपूर्ण दृष्टिकोणले देश पछि पर्दै गइरहेको छ। नेपाली समाज र परिवेशमा छरिएर हिमाल, पहाड, तराई भएर रहेर पनि मर्दाको मलामी, जिउँदाको जन्ती र हरेक संस्कृति पर्व विशेषमा जातीय सद्भाव सबै जाति बीच आपसी सुसम्बन्ध हुनु नै नेपालको साझा पहिचान बन्दै आएको छ।

देश जातीय र भाषागत आधारमा विभाजन गरिए सबै सद्भाव भड्किन सक्छ। यो राज्य, यो जाति, त्यो राज्य, त्यो जाति भन्ने वातावरण बनेमा जातीय र धार्मिक युद्ध हुन सक्छ। सम्पूर्ण नाता सम्बन्ध टाढिन सक्छन्। क्षत्री समाज नेपाल यो कुराको कल्पना पनि गर्न सक्दैन, कसैले सपना देखेको हेर्न पनि सक्दैन। जातीय सद्भाव कायम रहने वातावरण बनाउन माग गर्दछ। देशमा संविधान निर्माण भई सबै तहमा जनताको प्रतिनिधित्व रहेको सरकारहरु गठन भइसकेको अवस्थामा अब जाति जातिभन्दा माथि उठी देशलाई विकास र समृद्धिमा लाग्न सबै निकाय लाग्नुपर्ने माग समाजले राख्दछ।

आदिवासी खस क्षत्रीहरुले नेपालको निर्माण पथमा सधै अग्रसर रही सार्वभौमसत्ता सम्पन्न नेपालीको भविष्यमा सदैव अग्रसर हाम्रा वीर अग्रज क्षत्री जातिको निर्णायक नेतृत्वदायी सर्मपण र बलिदानी कार्य इतिहासमा सधै सम्मान योग्य रहँदै आएको छ। नेपालमा राजनीतिक प्रभावले वा चलखेलबाट प्रेरित भई आदिवासीको व्याख्या गरिन्छ भने क्षणिक र स्वार्थपूर्ण हुनेछ। क्षत्रीहरुको आफ्नै छुट्टै सामाजिक रीतिरिवाज, चाडपर्व, संस्कार र संस्कृतिहरु रहेका छन्। कुलपूजा, मष्टपूजा, अँगेर, भँगेर पूजाको प्रचलन गर्दै आएको जाति क्षत्री हो। धार्मिक तथा पौराणिक धर्मग्रन्थहरुमा पायः सबैमा क्षत्री जातिको उल्लेख र वर्णन तथा सकृय उपस्थिति रहेको पाइन्छ।

इसापूर्व ५६३ मा जन्मेका गौतमबुद्धका पिता शुद्धोदन क्षत्री रहेको देखिन्छ। नेपालको पहिलो शासक गोपाल क्षत्री भएको देखिन्छ। हजारौं वर्ष पुराना पौराणिक ग्रन्थ, ऐतिहासिक दस्तावेज, शिलालेख, नेपाली उखान, जनउक्तिहरुलाई आधार मानेर  हेर्ने हो भने नेपालको सबैभन्दा पुरानो आदिवासी धरती पुत्र भूमि पुत्र खस क्षत्री रहेको छ। संयुक्त राष्ट्र संघले १९९३ अगष्ट ९ लाई विश्व आदिवासी दिवस मनाउने दिवसको शुरुआत गरेपछि अधिकारको नाममा केही बाठा र जातीय सद्भाव नचाहने सीमित व्यक्तिहरुको कारण अपव्याख्या गरी साझा सर्वस्वीकार्य जातीय समाजमा धमिलो पार्ने कोशिस भएका छन्।

आदिवासी र जनजाति भनेको फरक जातीय समूहको रुपमा विश्वव्यापी व्याख्या हुँदै आएको छ। कहीँ पनि सबै जनजाति आदिवासी हुन सक्दैनन्। ईतिहासविद्हरुका अनुसार भारत र तिब्बतबाट सोह्रौ शताब्दीमा छिरेका जाति जनजाति हुन सक्छन्, आदिवासी हुन सक्दैनन्। आफ्नै भाषा र संस्कृति भएको विभिन्न क्षेत्रमा छरिएर रहेको जाति खस आदिवासी हुन्, जनजाति होइनन् भन्ने प्रमाणित तथ्य छ। हाल कायम रहेको आदिवासीलाई पूर्ण मान्यता दिइयोस्, समाजले माग गर्दछ। क्षत्री जातिलाई आदिवासी जातिको रुपमा सूचीकृत गरी अधिकारको सुनिश्चितता गर्न नसकिएमा देशको समग्र राजनैतिक, सामाजिक आर्थिक विकासमा गम्भीर समस्या देखिने निश्चित छ।

खस क्षत्रीलाई अन्यको सूचीबाट हटाई आदिवासी खस क्षत्री जातिमा सूचीकृत गरियोस, देशको सबैभन्दा ठूलो जनसंख्या भएको खस क्षत्रीलाई पहिचानको अभाव देखाउँदै जातीय जनसंख्याको आधारमा समुचित प्रतिनिधित्व हुने व्यवस्था कायम गराउन माग गर्दछौं। नेपालको जनसंख्याको आधारमा सम्पूर्ण राज्यको अंगहरुमा समानुपातिक प्रतिनिधित्व व्यवस्था गरियोस। नेपालको राज्य सत्ता सदैब क्षत्रीले लिए सुविधा शक्ति पाए भन्ने विश्लेषण आपत्तिजनक षडयन्त्रपूर्वक तवरले आएको देखिन्छ। क्षत्रीजातिलाई आरोप मात्र लगाउन खोज्नेहरुले बुझ्नु पर्दछ कि क्षत्री जाति साक्षरताको हिसाबले १७ औं स्थानमा ४० देखि ४५ प्रतिशत निरक्षर रहेका छन्।

हरेक निर्वाचनको परिणाम हेर्ने हो भने क्षत्रीको अवस्था देख्न सकिन्छ। समानुपातिक व्यवस्था गरिएको प्रतिशत तुरुन्त खारेज गरिनु पर्दछ। यो आपत्तिजनक र षडयन्त्रकारी योजना रहेको समाजको ठहर छ। यसैको फलस्वरुप सबै क्षेत्रमा योग्य, अनुभवी, अब्बल जनशक्ति पछि पर्दैछन्, पलायन हुँदैछन्। जनशक्तिको अभाव भैरहेको छ, योग्यता अध्ययनमा वास्तविकले पाउनु पर्दछ भन्नेमा समाज दृढ रहँदै आएको छ।

सन् १९७५ को आदिवासीहरुको महासम्मेलन अनुसार आदिवासीको व्यवस्था विद्यमान शासक समूहहरु भन्दा पहिले आएका र आफ्नो परापूर्व रीतिरिवाज संस्कार लगायत समाजिक, साँस्कृति, आर्थिक रुपमा राज्यको मूल प्रवाह भन्दा बेग्लै भएका, भन्ने छ भने संयुक्त राष्ट्रको प्रतिवेदन अनुसार ऐतिहासिक निरन्तरता सहित आफ्नै विशिष्ट संस्कृति, धर्म, सामाजिक व्यवस्था, पोशाक, रहनसहन जीवनशैली सहित कसैको उपनिवेश नभएको भन्ने देखिन्छ।

जनजातिको हकमा नेपाल सरकारले २०५३ मा जनजाति उत्थान प्रतिष्ठानको प्रतिवेदनमा पनि आदिवासीको व्याख्यामा जानजातिको अवस्था क्षत्री सहित अन्य जातिहरुको व्याख्या गरेको देखिन्छ। पछि पूर्ण गठित कार्यदलको देशमा ६० जनजाति भएको भनिएता पनि ५९ जातिलाई मात्र जनजाति किटान गरेको देखिन्छ। सो प्रतिवेदनको यिनै ५९ जातिलाई आदिवासीको संज्ञा दिइयो। सो प्रतिवेदनमा १७ औ शताब्दीमा नेपाल छिरेका केही जातिलाई आदिवासीको संज्ञा दिइनु खस क्षत्रीलाई आदिवासी नभन्नु, एउटै जातिलाई फुटाएर अनेक जाति बनाउनु, कोच विहार र बंगालका जाति, नेपालमै नभएका जाति, फ्री र छैरोतन, आफुलाई पुर्खाबाट भएको थर जातिलाई गौरव गर्ने केही जातिलाई समेत चुँडेर फरक फरक थर विशेषको संज्ञा दिएर आदिवासीमा राखिनु इतिहासलाई मेट्ने कार्यको रुपमा लिन सकिन्छ।

नेपालको संविधानको धारा ४२ मा आदिवासी, आदिवासीजनजाति भन्ने व्यवस्था थियो जसले आदिवासी र जनजाति फरक फरक हुन भन्ने प्रमाणित गरेको थियो। मधेशी, दलित, आदिवासी/जनजाति, थारु, मुस्लीम, पिछडा वर्ग आ–आफ्नो कलष्टरमा सूचीकृत भएपछि उल्लिखित कलस्टरमा समावेश नभएका जातहरु क्षत्री, ब्राह्मण, ठकुरी, दशनमाी लगायत आदिवासीमा सूचीकृत हुने स्थिति थियो तर संविधानको मसी नसुक्दै (संविधान जारी भएको ५ महिना १३ दिन पश्चात) २०७२/११/१६ का दिन नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेशवादी दल, साना जनजाति सम्बन्धी दलले आदिवासी शब्दनै हटाएर संविधान शंसोधन गरे।

अतएव खस क्षत्रीलाई अन्यको सूचीबाट हटाई आदिवासी खस क्षत्री जातिमा सूचीकृत गरियोस भन्ने समाजको माग रहँदै आएको छ। क्षत्रीहरुको प्रकृतिक स्रोतहरुमा घनिष्टता सहित पारस्परिक सम्बन्ध स्थापित रहँदै आएको छ। आदिवासी खस क्षत्रीलाई अन्यमा नराखिने व्यवस्था मिलाइयोस भन्ने माग गर्दछौं। जातजातिलाई फुटाई राज गरौं भन्ने नीति विरुद्ध सबै जातजाति सचेत बन्न देशलाई एक भई जातीय सद्भाव र ऐतिहासिक पृष्ठभूमिका आधारमा मूल्याङ्कन गरियोस, विश्व आदिवासी जनजाति दिवसले यही प्रेरणा प्रदान गरोस्।

लेखकः क्षत्री समाज नेपाल केन्द्रिय कार्यसमितिका उपाध्यक्ष हुन्। सं

Related News

सम्बन्धित समाचार

hero news full width