कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्राथमिकता देऊ

हुमबहादुर गुरुङ
चैत्र १८, २०७६

हुमबहादुर गुरुङ-कोरोना भाईरस(कोभिड–१९)ले विश्वमा महामारी मच्चाइरहेको छ। महामारीबाट चैत्र १८ गते मंगलवार विहानसम्म ७ लाख ८६ हजार  ३२४ जना संक्रमित, ३७ हजार ८३० जनाको मृत्य र १ लाख ६५ हजार ६५९ जना संक्रमण मुक्त भएका छन्। सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ६४ हजार २६६,सबैभन्दा बढी मृत्यु हुने देशमा इटाली ११ हजार ५९१ जना छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले विकसित देशहरु बढी प्रभावित भएको आँकडाले देखाउदछ । जसअनुसार विश्वकै बादशाह मानिने अमेरिका सबै भन्दा बढी कोरोनाको संक्रमित भेटिएका छन् भने इटाली, स्पेन, चीन, जर्मनी, फ्रान्स, इरान, युके, स्वीजरलैण्ड, बेल्जियम, नेदरलैण्ड लगायतका विकसित मुलुकहरुमा संक्रमितहरु संस्था बढी देखिएको छ।जनवरी १० मा पहिलो विरामी भेटिएको चीनको मृत्युलाई पनि नियन्त्रण लिदै अन्य मुलुकका लागि आवाश्यक सामग्री र चिकित्सकीय सहयोग प्रदान गरिरहेको छ । शक्तिमा उदाएको चीनले कोरोना महामारी मार्फत पनि क्षमता प्रस्तुति गर्ने अवसरको रुपमा सदुपयोग गरेको छ।

विकसित मुलुकहरुको जीवनशैली, हेलचक्र्याई, बढी मोबिलिटी, परीक्षण सुविधा भएकाले पनि महामारीबाट संक्रमितको आकडा ठूलो देखिनसक्छ भने हाम्रो जस्तो देशहरुमा परीक्षणकै अभावले पनि संक्रमितहरुको सत्यतथ्य बाहिरिन नसकेको हुनसक्छ। अमेरिकाले प्रतिदिन करिव डेढलाखको टेष्ट गरिरहेको छ। पोजिटिभ ५ मिनेट र नेगेटिभ १५ मिनमा पत्ता लाग्ने गरेको प्रेस कन्फरेन्समार्फत जानकारी गराइएको छ। तर नेपालमा भने हप्ता दिन लकडाउन गरिसक्दा पनि एक हजार जनाको परिक्षण पनि गरिएको छैन, जसमा ५ जनाको पोजिटिभ रिपोर्ट भेटिएको हो।संक्रमित मध्ये एक जना उपचार पश्चात घर फर्किसकेकाछन्।

छिमेकी मुलुक चिनबाट आइतवार मात्र आवाश्यक केही सामग्री नेपाल आइपुगेकाले अब परीक्षण टेकुबाट प्रदेशहरुमा पुग्ने भएको छ।जुन सामग्री प्राप्तिले फ्रन्टलाईनरहरु स्वास्थ्यसेवी चिकित्सक, नर्सहरु, सुरक्षाकर्मीहरुमा जोखिम कम हुने नै छ, भने सातै प्रदेशमा कोरोना भाइरसको परीक्षणको व्यवस्था पनि शुरु हुदैछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आज बिहान परिक्षण गर्ने मेशिन ल्याइपुर्याएको छ।कोरोना रोकथाममा सबैभन्दा पहिला जुट्नुपर्ने फ्रन्टरलाइनरहरु अत्यन्तै जोखिममा पर्न सक्ने अवस्थालाई चिनबाट ल्याइएका सामग्रीहरुले सहज बनाएको छ।

नेपाललाई तिनतिर सिमाले घेरेको छिमेकी देश भारतमा १ हजार २५१ जना संक्रमित, ३२ जनाको मृत्यु भइसकेको छ भने एकैदिनमा २२७ जना नयाँ संक्रमित तथ्यांकले देखाउदछ। खुल्ला सिमा भएको छिमेकी भारतमा कोरोनाको संक्रमणको सुनामी आउने, ४० देखि ५० करोड संक्रमणको अनुमान गर्दै विशेषज्ञहरुले लड्न तयार भएर बस्न सरकारलाई सुझाएको छ। १ अर्ब ३८ करोडको हाराहारीमा जनसंख्या रहेको भारतमा पनि गत मंगलवारबाट २१ दिनका लागि लकडाउन गरिएको छ।स्वास्थ सजगता कमजोर मानिने भारतमा लकडाउन गर्नुअघि नै धेरै संक्रमितहरु परदेशहरुबाट भित्रिईसकेको विशेषज्ञहरुको अुनमान छ।लकडाउन अघि भारतबाट दैनिक हजारौं नेपाल प्रवेश गरिरहेकाले पनि नेपाल संक्रमणको जोखिममा होला नै। समय मै, तयारी गरी लकडाउन गरेको भए नेपाल सुरक्षित हुन्थ्यो । नेपालका मन्त्रीहरु विदेश गएर नेपाल सुरक्षित छ आउनोस आउनोस भन्दै हिडे । आज त्यही विदेशबाट संक्रमणको पीडा खेप्नु परेको छ।नेपाल कति परनिर्भर छ भन्ने लकडाउनले पनि प्रष्ट पारेको छ, ठुल्दाईले के भन्छ, के गर्छ भनेर कुर्नुपर्ने।यदि राष्ट्रिय स्वाभिमान छ भने अब खुल्ला सीमानाहरु सधैका लागि बन्द गरिनुपर्दछ। घरको ढोका बन्द गर्नुपर्ने, देशको सीमा खुल्ला राखेर हुन्छ  उहिले नै विद्धान डा.हर्क गुरुङले भन्नुभाथ्यो खुल्ला सीमा बन्द गर, भारतसँग पनि पासपोर्ट सिस्टम लागु गर्न जरुरी छ। अन्यथा, नेपाल उनीहरुको सधै रक्षान बनिरहनेछ, परेड खेल्ने स्थल बनिरहन्छ, नेपाल कहिल्यै सुरक्षित, समृद्ध पनि हुन सक्दैन। त्यसैले सीमाबद्ध गर्नुपर्दछ। खुल्ला सिमा बन्द गरिए न पिडा भोगिरहनुपर्दछ, न त सिमा च्यापीरहने अवस्था नै रहन्छ। यही बेला राष्ट्रवादी सरकारले आँट गर्नुपर्दछ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण एशिया कोरोनाको जोखिमयुक्त क्षेत्र घोषणा गरिसकेको थियो।महामारी भाईरस संक्रमण फैलिएको मुलुकबाटै नेपाल प्रवेश गर्ने हो भन्ने सर्वसाधारणलाई पनि लाग्थ्यो। समयमै सावधानी अप्नाएर विमानस्थलमा कडाई नगरिदा नेपाल सरकार चुकेको छ। अहिले बनाउनुपर्ने क्वारेण्टाइन समयमै व्यवस्था गरी नेपाल प्रवेश गर्नेहरुलाई चिनबाट नेपाली विद्यार्थीहरु ल्याउदा क्वारेण्टाइनमा राखे झै राख्ने प्रवन्ध गरेको भए त्रसित बनिरहनुपर्दैनथ्यो।लकडाउन गरिरहनु जरुरी नहुन सक्थ्यो। दक्षिण कोरियाले लकडाउन नगरीकनै कोरोना धेरैहदसम्म नियन्त्रण गर्यो त। सतर्कता अपनाउने, भिडभाडबाट टाढा रहने, घरबास, परिक्षणको मात्रा बढाउने, सही सूचना अर्थात पारदर्शिताका कारण जनसहभागिताबाटै सफलहँुदै गएकाले दक्षिण कोरिया मोडेल चर्चामा छ। जुन मोडेलले लकडाउन गरिरहनु परेन। अब जर्मनी मोडेल बुझेर सम्भव भए प्रयोग गरे राम्रो हुन्छ होला। जर्मनीमा संक्रमित ६६ हजार ८८५ पुगे पनि मृत्यु हुनेको संख्या ६४५ मात्र रहेको छ, मृत्युदर अरु मुलुकहरुको भन्दा अत्यन्तै कम छ।सकेसम्म संक्रमित कोही नबनुन, बनिहाले पनि क्षति नहोस् भन्ने सोंच सरकारले पुर्याउने कि ?

नागरिकको विचार पठनीय छ भने पढ्ने, मननीय छ भने मनन गरी सकरात्मक रुपले लिनु पर्दछ। तर नेपालमा त बोल्यो कि पोल्यो । वास्तवमा नेपालमा कुनै तयारी विना नै लकडाउन गरियो जस्का कारण जनताले लकडाउन बुझेनन् मात्र होइन, न्यूनतम बन्दोबस्ती समेत गर्न पाएनन्। सरकार(संघीय, प्रदेश, स्थानिय)ले जे कुरालाई प्राथमिकता दिनु पर्दथ्यो त्यसलाई वेवास्ता गर्दै अघि बढ्यो।नजानेर त होइन होला, धेरै जानेर भन्नुपर्दछ। संक्रमण भएको मुलुकबाट नेपाल आगमन भएकालाई नेपाल प्रवेश वित्तिकै अनिवार्य क्वारेण्टाइनको प्रवन्ध गराइनुपर्दथ्यो।जस्को ढिलाईले बाग्लुङ र धनगढीमा संक्रमित पुगे। संक्रमित सवार जहाजका यात्रुहरु पहिचान गरी उचित व्यवपस्थापन गरी हाल्नुपर्दथ्यो, अहिले संक्रमितसँगै काठमाण्डौंदेखि धनगढी, बाग्लुङ पुगेका यात्रुहरु र उनीहरुसँग हेलमेल गरेकाहरुलाई निगरानीमा ढिलाई भईराछ।मुल विषयलाई छाडी, दोश्रो प्राथमिकतामा जोड दिइयो कि ?

गण्डकी प्रदेश सरकारले निर्णय गरेको लेखनाथको डेडिकेटेड अस्पताल के हुदैछ, यदि संघीय सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई डेडिकेटेड अस्पतालको रुपमा अघि बढाउने निर्णय नगरे के हुन्थ्यो होला। अहिले दैनिक ज्याला, मजुदरी गर्नेहरुका लागि भनेर पोखरा महानगरपालिकाले राहत प्याकेज घोषणा गरी फर्म भर्न आव्हान गरेको र वडा वडाले राहत वितरणको तयारी गरेको छ। लकडाउनको अवस्थामा पोखरा नगर क्षेत्रमा रहेका अति विपन्न र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिकाले २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैंयाँ समेत गरी २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरी वडा कार्यालयबाट टोल विकास संस्था, टोल सुधार समिति, मार्फत् असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको विवरण संकलनमा राहत वितरण गरिदैछ।राहतका लागि विवरण  संकलनका दुई टोली आज भेटिए, पसलेले  समेत राहतका लागि नाम लेखाउ आग्रह गरिहेको पनि देखियो। सित्तैमा पाउने भएसी थापी हालौ भन्ने मानसिकता देखिएको छ। जनप्रतिनीधिहरु र टोल विकास संस्थाका प्रतिनीधिहरु सल्बलाएको देखिन्छ। यस्तै क्रियाशिलता, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भईदिए कसो हुन्थ्यो होला।

राहत वितरण गर्नु अघि आपुर्ति व्यवस्थापन गरिनुपर्दछ, टोल टोलमा केन्द्र तोकिनुपर्दछ। सहज रुपमा, सुपथ मुल्य न्युनतम आधारभुत सामग्री खरिद गर्न पाइयोस् ।एक हप्ता दुई हप्ताका लागि ऋणै खोजेर भए पनि गर्जो टार्न पाइयोस्। विदेशमा जस्तो आज कमाई आजै रमाउने सँस्कृति हाम्रो होइन।केही न केही जोहो गर्ने,अझै दशै आउदैथ्यो दशैका लागि पनि खर्च जोगाएर राख्ने चलन। अझ भन्नुपर्दा त सन्तानका लागि सम्पति जोगाइ राख्ने नेपालीहरु दुई तिन हप्ताका लागि व्यवस्था गरेकै हुनुपर्ने।नभए पनि अ‍ैचोपैचो चल्ने समाजमा दुईचार दिनमै खानै नपााउने अवस्था भने होइन।त्यसैले राहत सस्तो लोकप्रियताका लागि नबनोस्। महामारीको बखत यस्तो भन्नुहुन्छ पक्कै पनि,राहतका लागि वडावडालाई जिम्मेवारी दिए झै स्प्रे छर्न र पछिल्लो समय विदेशबाट आएकाहरुलाई क्वारेण्टाइनमा राख्नका लागि किन पहल नगरे होला ? महानगरको १५० क्षमताको क्वारेण्टाइन पनि सुनसान कै अवस्था छ। राहतसँगै लौ अब एक महिनाको घरभाडा मिनाहा महानगरले आव्हान गरौं, लौ अब विधुत, खानेपानी, टेलिफोन, इन्टरनेट लगायतको महसुल, स्कुल कलेजको शुल्क, बैंकको व्याज एक महिनाको मिनाहा गराऔं।

जनतामा त्रासको वातावरण छ, अब मनोबल बढाउन जरुरी छ।सरकार सुनिनु पर्दछ, देखिनु, भेटिनु पर्दछ, गरेका निर्णय कार्यन्वयन गरिनुपर्दछ।विशेषतःसमय, संवेदनशीलता र आवाश्यकताको प्राथमिकता नेतृत्वले निर्धारण गर्नुपर्दछ।यी आवाज लकडाउनमा कोठाभित्रको आवाज होइन टोलटोल, बस्तीबस्तीको भावना हो।अन्त्यमा, बेलामा प्राथमिकता निर्धारण गरेर काम गर्न सकिएन भने केही समय अघि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गण्डकी प्रदेश सरकारले गरिखादैन भने रे, फेरि पनि स्थानीय सरकार र प्रदेश सरकारलाई प्रदेश, पोखरा महानगरबसीलाई समेत अपमानित, लज्जित हुने गरी हेपाहा शब्द क्षेप्यास्त्र प्रहार हुने अवस्था आउन नदिनुस है नेताज्युहरु।जनताको आवाज बोले टप्पो टिप्नु नेताहरुले यति साह्रै भन्दा किन चुँ बोल्न सक्दैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width