के हामी ठीक बाटोमा छौँ?

आनन्दराज मुल्मी
असार १, २०७६

नेपाललाई चाहिएको बाटो भनेको सदाचार हो। खोजेको विकास र समृद्धि हो, सवैको जीवनस्तरमा सुधार खोजेको हो। यसको लागि सदाचार जीवन प्रणाली सुशासनयुक्त शासनप्रणाली, भ्रष्टाचारविहीन समाज, सवैले आफ्नो जवाफदेहीता कायम अनि विधिको शासन अन्तरगतको कामकारवाही नै हो।

विगत केही समयदेखि नेपाली संचार क्षेत्रले आम जनताको ध्यानाकर्षण हुने गरी समाचार र विचारहरु प्रेषित गरेर अत्यन्तै प्रशंसनीय कार्यहरु गरिआएको छ। अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण्ण राख्नेदेखि प्रेस स्वतन्त्रतालाई निर्वाध रुपमा कायम राख्न संचार जगतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कतै कुनै अवरोधको अवस्था देखिएमा वा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न गरिने कामको विरुद्धमा एकवद्धता जाहेर गर्न र लोकतन्त्रको मर्म, भावनालाई विस्तार गर्न सदैव तत्परता देखाएको हुनाले आम नागरिकको विश्वास जितेको छ।

सदैव सत्य, तथ्यमा आधारित समाचार र विश्लेषण संप्रेषण गर्ने गरेकाले धेरै जोखिमहरु मोल्नु परिरहेको अवस्थावाट पनि गुज्रीरहेको संचार जगत झन आक्रमक रुपमा खोजी पत्रकारितालाई आधार मान्दै सरकार समाज समुदायमा देखिएको विकृति, अनियमितता, भ्रष्टकार्य, स्वार्थको गतिविधि वारे सवैलाई थाहा दिने काममा संलग्न भएको छ। संचार क्षेत्र त्यस अनुसार नै परिमाजर्न र परिष्कृत हुँदै विशिष्टीकरणतर्फ उन्मुख हुनु देशको लागि सुखद अवस्था हो। तर संचार क्षेत्रलाई नियमन भन्दा नियन्त्रण गर्ने प्रयासमा सरकार लागेको देखिन्छ।

सरकार आलोचनालाई पाच्य ठान्दैन, आफ्नो अनुकूलको भाषा लेखिदेओस्, बोलिदेओस् भन्ने चाहना राख्ने सरकार विभिन्न वहानामा ऐन कानून नियम संशोधन गरेर वा निर्माण गरेर आफ्नो वशमा राख्ने वा नियन्त्रण गर्न खोजिरहेको छ। यस्का विरुद्ध आम संचार जगत जहिले पनि एकताबद्ध भएको पाउँछौ। नेपालीको आम चेतना जागृत गराउने काममा समग्र संचार क्षेत्र समर्पित रहेको छ। यो सवैभन्दा सुखद पक्ष हो। किनभने जहाँ जहाँ आम चेतना जागृत रहन्छ, त्यहाँ त्यहाँ स्वतन्त्रता सुरक्षित रहन्छ। नेपाल र नेपालीको स्वतन्त्रताको लागि संचार जगत सदैव क्रियाशील छ।

नेपालमा भएका ठूला अनियमिताहरु व भ्रष्टाचारका घटनाहरु वा राजस्व छलीका काण्डहरुलाई उजागर गर्नेदेखि राजनैतिक दलहरुको शीर्षस्थ नेताहरुका क्रियाकलापसम्म, संवैधानिक अंगका प्रमुखदेखि कर्मचारीतन्त्रसम्मका कुरालाई जनता माझ पस्किएर सुसूचित गराउन सफल भएको छ। नेपालका मेडीकल कलेजहरुले गरेका क्रियाकलाप बारे प्रशस्त टीकाटिप्पणी भईरहेको कुरा आम जनतासम्म पस्केर मिठो परिकार खाँदै गरेको पुष्पकमल दाहाल र केपी ओली(हालका नेकपाका अध्यक्षद्वय) का फोटोले निकै चर्चा पाएको हामी सवैले थाहा पाएका छौं।

भरर्खरै नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र श्रीमती सीता दाहालको ५० औं विवाहको समारोहको भोज आयोजना एनसेल कम्पनीका पूर्व शेयरधनी र लाभकरसंग जोडिएको व्यक्तिको घरमा आयोजना भएको समाचार प्रकाशित भएपछि सवै अचम्मित छन्। उसो त ठूलो रकमको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने शैलुङ कन्सट्रक्सनका मालिकको घरमा नेकपा अध्यक्ष दाहाल वसेको खबरले पनि बारम्बार चर्चा पाउने गरेको छ। बालुवाटार जग्गा प्रकरण उजागर गरेर संचार जगतले नेपालीहरुलाई अत्यन्तै जागरुक सन्देश प्रवाह गरेको छ कि सरकारी सम्पत्तिलाई आफनो बनाउन कसरी गिरोह सक्रिय हुन्छन् र जे पनि गर्न तयार हुन्छन्। संचार क्षेत्रले बारम्बार उठाउँदै आएको सार्वजनिक जग्गालाई आफ्नो अनुकूल बनाउने वा प्रयोग गर्ने सम्बन्धी समाचारको दबाव पनि एउटा कारण हो। सकार अव सवै सरकारी जग्गा दुरुपयोग भएको र अन्यको स्वामित्व भएको छ भने छानविन गरी फर्काउन आयोग गठन गरेको छ।

निर्मला हत्यकाण्डको समाचार सार्वजनिक गरेर न्यायको पक्षमा संघर्षरत रहेको, सनम हत्याकाण्डलाई उजागर गरेर सुनकाण्ड र संलग्न प्रहरीहरुको विषयलाई उजागर गरेर नेपालको प्रहरी संगठनलाई ठीक बाटोमा ल्याउन संचार क्षेत्रले महत्वपूर्ण काम गरेको छ। हालै राष्ट्रियसभाका अध्यक्षले ड्राईभर, सहयोगीहरुको नाममा एक जना होईन, दुई जना होईन त्यो भन्दा बढीको तलव, भत्ता स्वयम् आफैले बुझेको कुरा आम जनताले थाहा पाउने अवस्था भयो। यसवाट पदमा पुगेपछि राजनैतिक कर्मीले जे गरेपनि हुने, नैतिकताको ख्याल राख्नु नपर्ने भन्ने सन्देश प्रवाह भएको छ। यो भन्दा आप्mनै घर भएर पनि घरवहाल रकम बुझ्ने साँसदहरु बारे समाचार सम्पे्रषण पछि प्रायशः सांसदहरुले सो रकम फिर्ता गरेको कुराले एउटा कुरा प्रष्ट पारेको छ कि संचार क्षेत्र सवैलाई अनियमितता विरुद्ध नैतिक दवाव सिर्जना गर्न सक्षम छ। पदमा पुगेका व्यक्तिले नै अनुचित काम गर्न थाल्यो भने सुशासन भन्ने नै कहाँ रहन्छ? ठूला पदमा रहेकाहरुले मनन गर्ने कि?

नेपालको अहिलेको आवश्यकता भनेको स्वच्छता हो। राजनीतिककर्मीहरुको स्वच्छताले मात्र दलहरुको गरिमा बढ्छ, पेशाकर्मीहरुको स्वच्छताले पेशाको मर्यादा वढ्छ। उद्योग व्यवसायमा लाग्नेहरुको स्वच्छताले मात्र नीजी क्षेत्रको गरिमा वढ्छ। कर्मचारीहरुको स्वच्छताले मात्र कर्मचारीतन्त्र भरपर्दो हुन्छ। धार्मिक गुरुहरुको स्वच्छताले मात्र धर्मको गरिमा वढ्छ, त्यसैले त संचारक्षेत्रमा लागेका कर्मीहरुको स्वच्छता र निःस्वार्थको कारणले सवै प्रकारको पत्रकारिता भरपर्दो भएको छ।

विश्वासिलो र तथ्यपरक कुराहरु प्रेषित हुन्छन् भन्ने कारणले नै भरोसायोग्य बनेको छ। सवैको स्वच्छता कायम गर्न पत्रकारिताले सक्छ, घचघच्याउन सक्छ, कैफियत हुन गए उजागर गर्न सक्छ स्थानीय सरकारहरु, प्रदेश सरकारहरु र संघीय सरकारको समेत प्रभावकारी काम गर्न गराउन बाटो बिराउन लागेको वखत ठीक बाटोमा ल्याउन समेत मद्धत पुग्छ। नेपालमा रहेका सवै नागरिक त भ्रष्टीकरण तर्फ उन्मुख छैनन नि?

तर पनि जाने बुझेका, पढेलेखेका, अगुवा भई टोपलेका, नेताको रुपमा चिनिएका, पदमा आसीन भएका जति कमाए पनि नपुग्ने सोँच भएका, जसरी पनि जुनसुकै तवरले र्आजन गर्नुपर्छ भन्ने मनसुवा राखेकाहरुबाट भ्रष्टको बाटो अनैतिकको कुरा कानून र विधिलाई नमान्ने कुरा समग्र अंगिकार गनेर्तर्फ उन्मुख देखिन्छ।

तर अहिले नेपाललाई चाहिएको बाटो भनेको सदाचार हो। खोजेको विकास र समृद्धि हो, सवैको जीवनस्तरमा सुधार खोजेको हो। यसको लागि सदाचार जीवन प्रणाली सुशासनयुक्त शासनप्रणाली, भ्रष्टाचारविहीन समाज, सवैले आफ्नो जवाफदेहीता कायम अनि विधिको शासन अन्तरगतको कामकारवाही नै हो। यसको अभावमा सरकारको लगानी, सरकारको प्रयास र अठोट पूरा हुन सक्दैन। अहिले नेपालमा रहेका ३ तहको सरकारमा रहेकाहरुबाट नै यस्तो सदाचार, सुशासन, विधिसम्मत कार्य, भ्रष्टाचारविहीन कार्यको लागि नै समर्पित हुन जरुरी छ। यसबाट मात्र नेपालीले त्याग र संघर्षबाट ल्याएको लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक प्रणालीको सफल कार्यान्वयन संभव छ। सवै नेपालीले अनुभूत हुने अवस्था निर्माण हुनेछ।

हाल नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ण बहुमतका साथ सरकार संचालन गरिरहेको छ। वामपन्थी सरकारको नेतृत्व सवै भन्दा पहिले स्वर्गीय मनमोहन अधिकारीले गर्नुभए पश्चात पुष्पकमल दाहाल (२ पटक), माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भटट्राई र केपी ओली (२ पटक) ले नेतृत्व गरिसक्नुभएको छ। तर उरुग्वेका वामपन्थी विद्रोही नेता जो संघर्षबाट मूलधारमा आई सांसद भएपछि देशका राष्ट्रपति भए ती थिए जोसमुजीका, जो विश्वका सवै वामपन्थी नेताहरुका लागि आर्दशका प्रतीक हुन्। राष्ट्रपति भईसकेपछि भव्य महलमा नवसी आफ्नै सानो घरलाई आवास वनाए, सरकारले उपलव्ध गराउने यस आरामका सुविधा केही लिएनन् तलव सुविधा कटौती गरी राज्यकोषको भार कम गरे। सवैको प्रिय पात्र बने।

राजकीय काम बाहेक उनले आफ्नै पुरानो गाडी प्रयोग गरे। आफ्नो पदावधि सकिएपछि पुन अनुरोधका बावजुद राष्ट्रपतिमा उठ्न ईन्कार गरे। सुरक्षा चुनौती बावजुद कुनै सरकारी सुरक्षा सुविधा लिएनन्। पेन्सन लिएनन्। आफुसंग भएको सम्पत्ति सामाजिक कार्यका लागि दान गरे। अहिले पनि आफ्नै पुरानो घरान वसेर उही आफ्नै पुरानो गाडीमा नै सार्वजनिक कार्यक्रममा आउने जाने गर्छन। वामपन्थी रुपमा संस्थापन पक्षसंग संघर्ष गरी देशको सवैभन्दा उच्च पदमा पुगेका यस्ता नेताहरुवाट प्रेरणा लिने अवस्था नेपालमा आउला? उरुग्वे दक्षिण अमेरिकाको त्यही देश हो जसले फुटवल खेलमा विश्वका प्रख्यात देशहरुलाई पराजित गर्दै विश्व वरियताक्रममा सातौं स्थान ओगटेको छ। गरे सम्भव छ भन्ने गतिलो उदाहरण उरुग्वेले दिएको छ किनभने वामपन्थी नेताहरु त्यागी हुन्छन् सम्पत्तिको मोह र लालचा राख्दैनन् भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन्। के नेपालमा वामपन्थी नेताहरुबाट यस्ता उदाहरणीय कामको अपेक्षा गर्न सकिन्छ?

Related News

सम्बन्धित समाचार

hero news full width