केदारेश्वर महादेवमणि र बोलबम

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७०

पोखरामा बोलबम र केदारेश्वर महादेवमणि पर्यायवाची जस्तै भएको छ । यस वर्ष पनि साउन महिना सुरु भएपछि बोलबमको चर्चा सुरु भएको छ । ११ वर्षदेखि बैदामस्थित केदारेश्वर  महादेवमणि मन्दिर तथा बोलबम समितिको संयुक्त आयोजनामा बोलबम धार्मिक शिव पदयात्रा हुँदै आएको छ । शिव पदयात्रामा भक्तजनको उपस्थिति वषर्नी बढ्दो छ ।

वर्षका १२ वटा महिनामध्ये विशेषगरी साउन भगवान शिवको महिमाको महिना मान्ने गरिन्छ । साउन महिनाको सोमबार झनै महत्वपूर्ण छ । भगवान शिवका भक्तजनहरु साउनका सोमबार ब्रस्त बसी, भजनकीर्तन गर्नुका साथै नजिकैको पवित्र तलाउ, कुण्ड, नदी आदिको जल साथै गाईका दूध, बेलपत्र पनि चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पोखरेलीहरुले बोलबम भन्नेबित्तिकै पोखरा उपमहानगरपालिका वडा नं. ६, स्थित केदारेश्वर महादेवमणि मन्दिरलाई सम्झिन्छन् । हुन पनि पोखरामा बोलबम भित्रिनुमा मुख्य श्रेय यसलाई नै जान्छ । वि.सं. २०६० सालमा केही युवाहरुको पहलमा पोखरामा बोलबम यात्रा व्यवस्थिति रुपमा सुरु भएको हो । सुरुवाती दिनदेखि नै पोखरा उपमहानगरपालिका वडा नं. १ गाईघाटस्थित पवित्र सेती नदीको जल उठाएर केदारेश्वर मन्दिरमा चढाउन केदारेश्वर महादेवमणि संरक्षण समिति तथा बोलबम समितिले व्यवस्था मिलाएको छ । त्यसअघि भक्तजनहरुले आफूलाई पायक पर्ने नजिकैको नदी, ताल, कुण्डबाट जल उठाएर नजिकैको कुनै शिव मन्दिरमा अपण गर्ने गर्दथे ।

बोलबमको ध्वनीले, शान्ति पाउन् साराले भन्ने मूलमन्त्रका साथ पर्यटकीय नगरी पोखरामा एक दशकदेखि सुरु बोलबम यात्रा त्यसपछिका प्रत्येक साउन महिनाका सोमबार थामिनसक्नु भीडले सफलताको विन्दुमा पुर्‍याएको छ । अचेल साउनका सोमबार भक्तजनहरु बिहानै उठेर गेरुबस्त्र धारण गरी जल उठाउने कुनै भाँडो साथमा लिइ गाईघाटतिर लामा लस्कर लागेको देख्न सकिन्छ । स्नान गर्ने तथा जल उठाउने स्थान गाईघाट र जल अर्पण गर्ने केदारेश्वरमा भक्तजनको थामिनसक्नु भीडका कारण पछिल्लो समय व्यवस्थापन गर्न सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने स्थिति आएको व्यवस्थापन समितिले जनाएको छ ।  नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरीले यसमा सहयोग पुर्‍याउँदै आएको छ । सुरक्षाकर्मीको एक उद्धार टोली त गाईघाटमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न आवश्यक उद्धार सामग्रीसहित हरेक सोमबार बिहानै पुग्ने गर्दछ । एयरपोर्टस्थित कालीभञ्ज्याङ गण, विजयपुर व्यारेक, सशस्त्र प्रहरी बल कालिकागण तथा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम र बगरलगायत तिनैवटै सुरक्षा निकायका सुरक्षाकर्मी यतिबेला खटिएका हुन्छन् । सेती नदी स्नानका क्रममा कोही डुब्यो भने तत्कालै उद्धारका लागि एकएक जना सुरक्षाकर्मी प्रत्येक भक्तजनको निगरानी गर्दछन् । केही वर्षअघि एकमात्र अप्रिय घटना भए पनि अचेल नदी किनारमै चनाखो गरी बस्ने सुरक्षाकर्मीको निगरानी साथसाथै भगवान शिवको कृपाले त्यस्तो घटना दोहेारिएको छैन ।

यता, बोलबम यात्रालाई व्यवस्थित र भव्य बनाउन यस वर्ष पनि बोलबम समिति गठन गरिएको छ । शंकर खरालको संयोजकत्वमा गठित सो समितिमा विभिन्न उपसमिति रहेका छन् । जसअन्तर्गत भजनमा प्रजापति पराजुली, प्रचारमा शंकर खराल, झाँकीमा रामजी बानियाँ, स्वयंसेवकमा शंकर तिवारी, आर्थिकमा रामप्रसाद बस्ताकोटी, मन्दिरभित्र पूजा व्यवस्थापन गोपाल सुवेदी, ट्राफिक व्यवस्थापनमा जीत गुरुङ, महिला परिचालनमा पदमा आचार्य, अतिथि सत्कार एवं स्काउट परिचालनमा लक्ष्मण गौतम, आधारभूत स्वास्थ्य उपचारमा नवराज त्रिपाठी, मोटरसाइकल र्‍यालीमा हरि आचार्यलाई संयोजक तोकियो । यस वर्ष साउनको ७ गते पहिलो सोमबार सकिएको छ भने अब साउनको १४ गते, २१ गते र २८ गते सोमबार परेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यनाथ पहारीले पनि सम्पूर्ण भक्तजनहरुलाई प्रत्येक सोमबार सहभागीता जनाई बोलबम कार्यक्रमलाई भव्य बनाउन आग्रह गर्दछन् । बोलबम कार्यक्रममा मारबाडी समुदाय, एनबी व्यवसायी, कवाडी व्यवसायी, विभिन्न आमा समूह, भजन समूह, क्लब एवं विभिन्न संघसंस्था एवं व्यक्ति विशेषबाट सहयोग रहदै आएको छ ।

गत साउन ७ गतेको पहिलो सोमबार मन्दिरमा थामिनसक्नुको भीड लाग्यो । भक्तजन मन्दिरमा पूजाआजा र जल चढाउन दिनभरजसो लाइनमा बसेका थिए ।

बोलबममा पछिल्लो समय युवाहरुको संख्या पनि बढ्दै गएको छ । केही जोडीहरुले बोलबमलाई भेटघाटको उपर्युक्त थलो पनि बनाउने गरेका छन् । सोमबार ब्रत बसी बोलबम जलयात्रामा सहभागी हुन भन्दै घरबाट निस्कन पनि युवतीहरुलाई सहजै छुट हुन्छ । त्यसैले पनि स्कुल तथा क्याम्पसको ड्रेसमै पनि केही युवायुवती मन्दिरमा आएका थिए ।

गाईघाटमा १०८ धारा स्नान गरी ८ किलोमिटर नाङ्गो खुट्टा पैदलयात्रा गरी केदारेश्वर मन्दिरमा १०८ शिवलि·मा जल चढाउन पाउँदा भक्तजन आफूलाई सन्तुष्ट मिल्ने बताउँछन् । यसरी ८ को संयोग पर्नुले पनि पोखरामा केदारेश्वर मन्दिरमा भक्तजनको उपस्थिति प्रत्येक वर्ष बढ्दै गएको बोलबम संयोजक शंकर खरालको भनाइ छ । उनले बोलबम कार्यक्रमलाई अब राष्ट्रव्यापी गर्नुपर्नेमा जोड दिन्छन् ।

भगवान शिवको प्रिय शब्द बोलबम पोखरामा यसरी विस्तारै चर्चित हुँदै जानुले यहाँको धार्मिक पर्यटन व्यवसायमा पनि सघाउ पुग्ने निश्चित छ । केदारेश्वर मन्दिरमा आयोजना हुँदै आएको बोलबम जलयात्राको सिको गर्दै पोखरा र लेखनाथस्थित शिव मन्दिरहरुमा पनि यस वर्ष बोलबमकै नाममा भक्तजन मन्दिर पुगेका थिए । त्यसैले साउन महिना पोखरा उपत्यका बोलबममय हुन पुगेको छ ।

त्यसो त दक्षिणतर्फ गौतब बुद्धको जन्मस्थल लुम्बिनी र उत्तरमा मुस्ताङ मुक्तिनाथको मन्दिर रहेकोले पनि लुम्बिनीबाट पोखराहुँदै मुक्तिनाथ पुग्ने भारतीय पर्यटक उल्लेख्य रहेको पाइन्छ । केदारेश्वर मन्दिर पनि उनीहरुको लागि एकपटक पुग्नै पर्ने मन्दिरको रुपमा विकास गर्नुपर्ने सम्पूर्ण पोखरेलीको कर्त्तव्य हो । किनकि यहाँको पुरानो शिव मन्दिर, पूर्वाधारको अलावा, फेवातालको किनार, खुला र शान्त वातावरण सबैको लागि पनि आकर्षणको केन्द्र हो।

Related News

सम्बन्धित समाचार

hero news full width