कार्ल माक्र्सका अन्तरंग मित्र एंगेल्स

सन्दर्भ " अगस्त ५ अर्थात् एंगेल्स स्मृति दिवस ।

झपट रानाभाट
श्रावण २०, २०७९

कार्ल माक्र्स र एंगेल्सबीच यस्तो मित्रता थियो कि जसको विश्वमा कुनै उदाहरण पाइँदैन । माक्र्स स्वयं त्यो मित्रतालाई यूनानी पौराणिक कथामा वर्णित साथीत्व जस्तो मान्थे । यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म एंगेल्सले नै ज्यादा त्याग, सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकले माक्र्सद्वारा एंगेल्सको लगातार भावनात्मक, वैचारिक र आर्थिक शोषण पनि भन्थे । तर, जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बूढेसकालसम्म निरन्तर निर्वाध र सदाबहाररुपले जारी रह्यो ।

दुवैको पहलिो भेट सन् १८४२ मा पेरिसमा भएको थियो । त्यो भेट निकै सानो र शिष्टाचार भेट थियो । जसमा माक्र्स एंगेल्ससँग खासै प्रभावित भएका थिएनन् । पछि एंगेल्सका केही लेखहरु माक्र्सले अध्ययन गरे । ती लेखमा माक्र्सलाई एक विशेष प्रकारको वैचारिक ताप अनुभव भयो । त्यसपछि माक्र्सले पत्रमित्रता सुरु गरे । ती पत्रहरुले दुवै जनाबीचको परिचयलाई त गहिरो बनायो । वैचारिक सहमति सिलसिला पनि उत्तिकै रूपमा सुरु भयो । सन् १८४४ मा एंगेल्स पेरिसमा माक्र्सकोमा आएर ९/१० दिनसम्म बसे । त्यसबेला दुवैको सम्बन्धमा निकै महत्वपूर्ण सावित भए । ती दिनहरुमा हरेक मुद्दा माथि खुलेर कुराकानी भो । दुवैले एकअर्काको वैचारिक क्षितिज र गहिराइ बुझे । सबैखाले सैद्धान्तिक र ब्यावहारिक मुद्दामाथि जमेर कुरा भयो । जसले दुबैलाई एकअर्काको नजिक तुल्यायो । दुबै जनाबीच एक यस्तो वैचारिक तालमेल बन्यो, जुन अघिल्ला कामको आधार पनि बन्यो । अन्तिमसम्म उस्तै चलिरह्यो ।

माक्र्स झैं एंगेल्स पनि जर्मनका थिए । उनको जन्म जर्मनीको राईन प्रान्तको वार्गेन सहरमा भएको थियो। इङ्ल्यान्डका मिलहरुमा एंगेल्सका बुवाको साझेदारी थियो । आर्थिक रूपमा एंगेल्स अत्यन्तै वैभवशाली थिए । एंगेल्सका बुवा पढाइलेखाइ सकाएर छोरालाई आफ्नो व्यापार, व्यवसायमा लगाउन चाहन्थे । बुवालाई छोराको मष्तिष्कमा आएको विचारको उथलपुथलको अनुमान नै थिएन । माध्यमिक शिक्षा पूरा गरेपछि कारोबारको राम्रो तालिम लिन एंगेल्सलाई बाहिर पठाइयो । एंगेल्स ती सबै कुरा गर्न चाहन्थेनन् । त्यही पनि सिक्ने । त्यो एक मौका थियो । त्यसैले एंगेल्सले त्यो अवसरलाई खेर जान दिएनन् ।

एंगेल्समा निरीक्षण परीक्षण र विश्लेषण गर्ने प्रवृत्ति सुरुदेखि नै थियो । त्यो बानी पछिका वर्षमा झन् बढ्यो । फलस्वरूप वहाँ आफ्नो किशोरवस्थामा नै लेख लेख्न थाले । एंगेल्सको अध्ययन जारी मात्र रहेन । झन् झाँगियो । कार्ल माक्र्स झैं लगातार पुस्तक र पत्रपत्रिका पढिरहन्थे । लेखिरहन्थे । अध्ययन र लेखनका ती सामग्रीमा त्यस्ता किताब पनि सामेल हुन्थे, जसमाथि जर्मनीमा प्रतिबन्ध लागेको थियो । एंगेल्सले सैनिक शिक्षा समेत हासिल गरेका थिए । झन् अगाडि बढ्दा त्यो शिक्षाले कार्ल माक्र्स र एंगेल्सका सैनिक मामिलासम्बन्धी लेखनमा ठूलो मद्दत गरेको थियो ।

कार्ल माक्र्स झैं एंगेल्सले पनि राइन समाचारपत्रका लागि लेख्न सुरु गरे । पछि महत्वपूर्ण मुद्दामाथि समर्थन वा विरोधमा लेख लेख्न थाले । एंगेल्सको सोच पनि परिवर्तनकामी, अन्याय, अत्याचार र शोषणविरोधी थियो ।

माक्स र एंगेल्स एकअर्कामा परिचित र हेलमेल भैसकेपछि दुबैको सहविचार यात्रा आरम्भ भयो । आपसमा तीव्रतापूर्वक वैचारिकरुपले एकअर्काको नजिक भए । सँगै मिलेर मजदुर संघर्षलाई तीव्र गर्ने र सही पहिचान बनाउने पुस्तकहरु लेख्न थाले ।

वास्तवमा एंगेल्स गम्भीर प्रकृतिका व्यक्तित्व र एक गम्भीर अध्येता पनि थिए । सानो उमेरमै एंगेल्सले धेरै किताब पढिसकेका थिए । एंगेल्स २० वटा भाषाका ज्ञाता थिए । त्यति धेरै भाषाहरुको जानकारीले स्वाभाविकरूपमा पार्टी निर्माण र त्यसका तमाम कामहरुको लागि उपयोगी हुन्थे नै । कार्ल माक्र्सको लेखनमा पनि एंगेल्सको बहुभाषा ज्ञानले ठूलै मद्दत पुर्‍यायो ।

मित्रताको आरम्भका वर्षमा माक्र्स र एंगेल्स दुबैले एक्ला–एक्लै बस्नु परेको थियो । पछि एंगेल्स लण्डनमा स्थायी रुपमा बस्न थालेपछि माक्र्सले त्यसलाई वरदान ठाने एंगेल्स माक्र्सको एक अत्यावश्यक भाग जस्तै थिए । यथार्थमा कार्ल माक्र्सले आफ्ना रचनात्मक र आत्मीय क्षणहरुमा एंगेल्सको भरपूर उपयोग गरे । एंगेल्स माक्र्सको प्रतिभाबाट शुरुदेखि नै प्रभावित थिए । एंगेल्स कार्ल माक्र्सको अध्ययन, तर्क, विश्लेषण र विचारदृष्टिका प्रशंसक थिए । एंगेल्सले यसलाई खुलेआम स्वीकारेका थिए । माक्र्सको त्यो प्रतिभा फक्रिन र आफ्नो क्षमतासिद्द गर्नमा एंगेल्सले वास्तवमै उल्लेख्य सहयोग गरे ।

गम्भीर अध्येता र श्रेष्ठ लेखकको अतिरिक्त एंगेल्स एक उत्कृष्ट संगठनकर्ता समेत थिए । जर्मनी, फ्रान्स, इङल्याण्ड, बेल्जियम र अन्य कैयौं देशहरूमा मजदुर चेतना विकसित गर्ने र तिनीहरूलाई संगठित गर्ने काम एंगेल्सले गरे । कार्ल माक्र्ससँगै उनी पनि मजदुरको मुक्ति अभियानमा पूरै निष्ठाका साथ लागेका थिए ।

मजदुरको मुक्तिको सपना माक्र्स झैं एंगेल्सको आँखाको पनि एकमात्र सपना थियो । यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एंगेल्स निरन्तर लागेको पाइन्छ । संगठनको प्रत्येक मामिलामा माक्र्स र एंगेल्स एकअर्कामा सहमत थिए । यद्यपि एंगेल्स माक्र्सका सबै दिशानिर्देशहरुलाई मान्थे । एंगेल्सले संगठनभित्र माक्र्सको विरुद्ध छेडिएका तमाम लडाइँहरु आफैं पनि लडे ।

लण्डनमा स्थायीरुपले बस्न थालेपछि कार्ल र एंगेल्सको नियमित भेटघाट हुन थाल्यो । एंगेल्स पहिले पनि सामान्यतया माक्र्स परिवारको पाहुना हुने गर्थे ती दिन पूरै माक्र्सको परिवारको लागि धेरै खुशीका दिन हुने गर्थे । फर्केर गएपछि दुबै पत्राचारको माध्यमबाट एकाअर्कासँग जोडिएर रहन्थे । ती पत्रहरु खासमा विचार विनिमयको साधन हुन्थे । कार्ल माक्र्सका प्रत्येक सैद्धान्तिक मान्यताहरु पहिलोपटक तिनै पत्रहरुमा व्यक्त भएका हुन्थे ।

मजदुरको मुक्तिको सपना माक्र्स झैं एंगेल्सको आँखाको पनि एकमात्र सपना थियो ।

एंगेल्सको आर्थिक अवस्था आफ्ना बुवाको व्यापार–व्यवसायको कारणले सुरुदेखि नै निकै राम्रो थियो । एंगेल्सले आफ्नो राम्रो स्थितिको प्रयोग माक्र्सलाई सहयोग दिनमा गर्नुभो । एंगेल्सका कुनै सन्तान थिएनन् । वहाँकी जीवनसंगीनीको मृत्यु धेरै पहिल्यै भएको थियो । एंगेल्स निजी पीडाका हरेक दर्दनाक क्षणहरुमा आफ्नो मित्रको उपस्थितिको जरुरत महसुस गरे पनि माक्र्स एंगेल्सका प्रत्येक दर्दमा जान सक्थेनन् ।

एंगेल्सको जीवनको सबैभन्दा ठूलो योगदान माक्र्सलाई गरिएको उनको मद्दत हो । कार्ल माक्र्स जीवनभर आर्थिक आँधीमा फसिरहे । कार्लको पूरै जिन्दगी समस्याग्रस्त रह्यो । आपतकालीन दिनमा नै एंगेल्स कार्ल माक्र्सको सबैभन्दा ठूलो सहयोगी सावित बने । जिन्दगीभर आफ्ना मित्रलाई मद्दत पुर्‍याइरहे । कार्ल माक्र्सको सिंगो परिवार समस्यामा फसेपछि एंगेल्स कुनै भगवान् वा देवदूत झैं आफ्नो सहायता लिएर उपस्थित हुन्थे । पछि त एंगेल्सले कार्लको परिवारलाई नियमितरुपले सहायता पु¥याउने सिलसिला सुरु गरे । यो सहायताको कहिल्यै पनि कुनै हिसाबकिताब राखिएन । न त, कहिल्यै हिसाब तिरियो ?

आखिर एंगेल्सले यसरी कार्ल माक्र्सको किन हिफाजत गरे ? आखिर मद्दत गर्ने पनि एक हद वा सीमा हुनुपथ्र्यो भन्ने कुरा बुझ्न साह्रो पर्न सक्छ ।

अर्कोतर्फ कार्ल माक्र्सको तर्फबाट सोच्ने हो भने के सवाल उत्पन्न हुन सक्छ भने जतिसुकै समस्यामा परे पनि कुनै व्यक्तिले त्यस किसिमको लगातारको मद्दत कसरी स्वीकार गर्न सक्छ ? आखिर स्वाभिमान जस्तो पनि त कुनै चीज हुन सक्छ ।

यदि माक्र्स र एंगेल्स बीचको सोच, आत्मीयता र अनन्यताका अन्तःसूत्रलाई राम्रोसँग बुझ्ने हो भने सम्पूर्ण कुरा आफैं स्पष्ट हुन्छन् । उनीहरुबीच मित्रताको पूरै भवन खडा भएको थियो । वास्तवमा उनीहरु दुबै जनाको मित्रताले एक यस्तो उचाइ हासिल गरेको थियो, जहाँ पुगेर हरकिसिमका व्यक्तिगत सम्पत्ति वा निजत्व आफैं समाप्त हुन्छन् । आफ्नो वा अरुको भन्ने केही बाँकी रहँदैन । यी सबै कुरा व्यक्तिगत नातामा मात्र होइन, बरु सोच र लेखनको धरातलमाथि सबै कुरा साझा थियो ।

एंगेल्सको मद्दतबाट नै माक्र्सको ‘पुँजी’ जस्तो महान लेखन सम्भव हुन सक्यो । यदि एंगेल्सको त्यस किसिमको सहयोग नमिलेको भए माक्र्स निश्चितरूपमा मर्थे भन्ने लेनिनको भनाइ पनि सही नै हो । माक्र्स बिरामी भएपछि एंगेल्सले उपचार व्यवस्था गरे । उपचार गर्ने मामिलामा माक्र्स केही उदासीन थिए । त्यस्तो अवस्थामा जरुरी हुँदा एंगेल्स कार्ल माक्र्ससँग रिसाए । उपचारप्रति कार्लको लापरबाही देखेर एंगेल्सलाई धेरै रिस उठ्थ्यो ।

आफ्नो साथीलाई निरन्तर सहयोग गर्न सकियोस् भनेर एंगेल्सले पहिले आफ्नो आएको सही ब्यवस्था गरे । पछि माक्र्सलाई नियमित सहायता दिन थाले । कार्ल माक्र्सलाई आफ्नो मित्रको त्यो सहयोगको महत्व राम्रोसँग थाहा थियो ।

माक्र्सको परिवारको लागि उनले बाँचुन्जेल सहयोग गरे । त्यतिमात्र हैन, कार्लको मृत्यु पछि पनि निरन्तर कार्लको परिवारलाई सहायता गरे । माक्र्सको मृत्यु पश्चात एंगेल्स माक्र्स परिवारको अभिभावक बने । त्यसको अतिरिक्त कार्लको अप्रकाशित साहित्यलाई सामुन्ने ल्याउने काम समेत गरे ।

माक्र्सको ज्यान लिने हरेक वेदनाका क्षणहरुमा एंगेल्स बराबर उपस्थित हुन्थे । चाहे माक्र्सको जेठो छोरा एडगरको मृत्युको क्षणमा होस् वा सहधर्मिनी जेनीको मृत्युको क्षणमा । प्रत्येक मौकामा एंगेल्सले पूरै जिम्मेवारी र कर्तव्यबोधका साथ मित्रता र असल साथीको भूमिका अदाहा गरे ।

यसरी एंगेल्स माक्र्स परिवारको अनिवार्य अंग बनेका थिए । कार्ल माक्र्सको पूरै परिवारले एंगेल्सको अपरिहार्य आवश्यकता महसुस गथ्र्थो नै। कार्ल माक्र्सकी जीवनसंगीनी जेनीले समेत एंगेल्सको विशेष सम्मान गर्थिन् । एंगेल्स पनि जेनीको गाम्भीर्यता, बुद्धिमता र मजदुर आन्दोलनप्रतिको समर्पण, त्याग, बलिदान र निष्ठाबाट विशेष प्रभावित थिए । कार्लमाक्र्सका छोरीहरुलाई पनि एंगेल्स बराबर दिशानिर्देश गर्थे ।

फ्रेडिक एंगेल्स लन्डन आएपछि दुवै जना सामान्यतया सँगै बस्ने गर्थे । दुबै जनाको घर केही दूरीमा मात्र थियो । प्रायः बेलुकी दुबै जनाको भेट र कुराको निरन्तर सिलसिला चल्थ्यो । ती कुराका विषयको कुनै सीमा हुँदैनथ्यो ।

राजनीति, इतिहास, अर्थशास्त्र, विज्ञान, साहित्य, सैनिक मामिला, प्रशासन, मजदुर आन्दोलन आदि तमाम विषयमाथि उनीहरु घोत्लिएर छलफल गरी निष्कर्ष निकाल्थे । एकअर्काका विचार र सल्लाहलाई आत्मसात गर्ने बानी थियोे ।

कार्ल माक्र्सले आफ्ना सबै रचनाका महत्वपूर्ण मुद्दाहरुमा एंगेल्सको राय सल्लाह लिने गर्थे । दुबैजना मिलेर कैयौं पुस्तकहरु तयार पारेका थिए । एंगेल्सको त्यो नै बैचारिक समानताको प्रमाण थियो ।

एंगेल्सले माक्र्ससित मिलेर त लेखेकै थिए, यो बाहेक उनले धेरै लेखहरु माक्र्सको तर्फबाट माक्र्सको नाममा पनि लेखे । कार्ल माक्र्सलाई जुन समयमा ‘न्यूयोर्क डेली ट्रीब्यून’ को लागि लेख्ने काम मिल्यो, त्यसबेला माक्र्स आफ्नो ग्रन्थ ‘पुँजी’ लेखनमा ब्यस्त थिए । माक्र्ससँग अखबारको लागि लेख्ने समय थिएन ।

सैनिक मामिला, रसायन, जीव र भौतिक शास्त्र जस्ता विषयहरुमा एंगेल्स पारंगत थिए । तसर्थ यी विषयबारे एंगेल्सले मात्र लेख्न सक्थे । जब कि इतिहास, दर्शन, अर्थशास्त्र जस्ता बिषयहरुमा लेख्ने काममा माक्र्सको विशेष दख्खल थियो ।

विश्व सर्वहारावर्गीय आन्दोलनका २ महान दार्शनिक माक्र्स र एंगेल्स दुबै जनाको लेखन निजी प्रसिद्धि, निजी महत्वाकांक्षा वा निजी सन्तुष्टिको लागि थिएन । उनीहरु लेखनलाई मेहनतको लडाइँको एक अत्यावश्यक हतियार झैं लिइरहन्थे ।

यसकारण उनीहरुको लागि कसको नामले वा कसको लागि लेखिरहेको छ भन्ने कुराले किंचित फरक पर्थेन । त्यसकारण एंगेल्सले माक्र्सको लागि लेखे पनि माक्र्सले एंगेल्सका विचारलाई आफ्नो काममा बराबर महत्व र स्थान दिन्गे ।

माक्र्सले एंगेल्सको बहुज्ञता र बौद्धिक तीव्रतालाई भित्रैबाट मन पराउँथे। माक्र्सका बहुआयामिक प्रतिभाबाट निकै प्रभावित थिए, एंगेल्स । दुबै मिलेर सारा मानवमुक्तिको सूत्र पत्ता लगाउन आफ्ना क्षमताहरुको उपयोग गरेका थिए ।

माक्र्सले आफू जीवित छँदा ‘पुँजी’ को एकखण्ड मात्र छापे । बाँकी खण्डहरुको काम त धेरै गरिसकिएको थियो तर अन्तिम ड्राफ्टहरु तयार हुन बाँकी थियो । जेनी माक्र्सको मृत्यु, कार्ल आफैं रोगी र शारीरिक असक्षमताका कारणले कार्लले शेष काम गर्न सक्थेनन् भन्ने एंगेल्सलाई राम्रै हेक्का थियो । माक्र्सलाई पनि आफूले त्यसपछि नसक्ने राम्रोसँग थाहा थियो । तसर्थ माक्र्सले सम्पूर्ण सामग्रीहरु एंगेल्सलाई सुम्पिए, किताबको अगाडिको खण्ड तयार गर्नका लागि ।

माक्र्सका अधूरा काम एंगेल्स बाहेक अरुले पूरा गर्ने ल्याकत राख्ने कुरा सम्भव थिएन । एंगेल्सले आफ्नो सम्पूर्ण ऊर्जा प्रयोग गरेर ती पाण्डुलिपि ठीक माक्र्सको दृष्टि र सोचनुरुप तयार पारे । यतिमात्र हैन, माक्र्सपछि माक्र्सका अरु धेरै अप्रकाशित साहित्य एंगेल्सका प्रयासबाट नै प्रकाशित हुन सके । एंगेल्स जहिलेसम्म बाँचे ,मजदुरहरुको मुक्तिको अभियानमा त निरन्तर लागे । त्यसको अतिरिक्त आफ्ना अभिन्न मित्र कार्ल माक्र्सका अधूरा काम पूरा गर्न उत्तिकै खटे ।

माक्र्सको देहावसानपछि एंगेल्स एक्लो बने तर मानवमुक्तिको सपनालाई यथार्थमा बदल्ने अभियानमा लागेर एक्लोपन बिर्सिए यसकारण मित्र हुनु त कार्लमाक्र्स र एंगेल्स जस्तो ।

आज अगस्त ५ । एंगेल्स स्मृति दिवस हो । विश्व सर्वहारा मुक्ति आन्दोलनका महान् नेता एंगेल्सप्रति हार्दिक श्रद्धाञ्जली ।

Related News

सम्बन्धित समाचार

hero news full width