कण्ठेश्वरी, दण्डेश्वरी, मण्टेश्वरी

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७०

प्राचीनकालमा शिक्षा लिने दिने पद्धति गुरुकुल शिक्षा नै थियो। बैदिक समय अनुसार ५०० वि.सी. भन्दा अगावै मानिसको सभ्यताको विकास भएको हो भन्ने भनाइ छ। जुन सभ्यता पाश्चात्य सभ्यताभन्दा धेरै प्राचिन् र पुरानो सभ्यता मानिन्छ। वैदिककालमा शिक्षा हासिल गर्ने विधि भनेको गुरु, शिष्य, शिक्षा परम्परा लगायत ऋषिकुल शिक्षा, देवकुल शिक्षा, राजकुल शिक्षा र पितृकुल शिक्षा नै थियो। जहाँ कि ब्रह्मचर्याश्रममा आर्जन गरिने हुँदा उपनयनपछि वटुकहरूले गुरुकुलमा गुरुको स्थानमा ब्रहृमचर्य पालन गरी हिंसा, असत्य, रिस त्यागी पवित्र रही सन्तोषी बनेर यज्ञ, तपस्या र अध्ययन गर्नुपर्दथ्यो। स्नान, शौचादि, नित्यकर्मपछि गुरुको समीपमा रहेर विद्या अध्ययन हुन्यो। जनैपूणिर्माको दिनबाट उपनयन क्रम सुरु हुन्थ्यो। उपनयनपछि वटुकहरू गुरुको मातृदेवो भवः पितृदेवो भवः, आचार्यदेवो भवः आदि नियम पालनका साथै विद्योपार्जनमा प्रयत्नशील रहन्थे। शिक्षा दिने क्रममा विभिन्न विधिहरू मध्ये ध्यान, योग, साधना पनि पर्न जान्थे। गुरुहरूले शिष्यहरूलाई आफ्ना ज्ञानहरू कण्ठस्थ पारी घोकाउने, सुनाउने चलन थियो। कण्ठ नपारेमा दण्ड, सजायको भागी पनि हुन पर्थ्यो। गुरुबाट शिक्षा लिने क्रममा गुरुको स्यारसुसारदेखि सम्पूर्ण कार्यहरू शिष्यले गर्नुपर्थ्यो। कण्ठस्थ सुनाई सारतत्व जानेकालाई स्तरोन्नति गरी नयाँ शिक्षाको प्रारम्भ गरिन्थ्यो। वैदिककालमा स्त्रीहरू पनि वेदाध्ययनवाट वर्जित थिएनन्। उनीहरू पनि ब्रहृमचारिणी भई वेदाध्यायनपश्चात् ब्रहृमवादिनी भएर बस्न सक्दथे। अध्ययन समाप्त गरी गृहस्थाश्रममा प्रवेश गर्ने महिलालाई सद्योवधू र सन्यास लिनेलाई ब्रहृमवादिनी भन्दथे। यसरी लेखनकलाको विकास हुनुपूर्व गुरु शिष्य परम्पराद्वारा मौखिकरूपमा कण्ठस्थ पारिएका कुराहरूलाई एक वंशबाट अर्को वंशमा हस्तान्तरण हुँदै आएको पाइन्छ। हाम्रो मुख्य ग्रन्थ बेद -सामवेद, यजुरवेद, अर्थववेद, ऋगवेद) श्रुतिसमको आधारमा लेखिएको साथै धार्मिक ग्रन्थहरू लगायत १८ वटै पुराणहरू ऋषि वेदव्यासले लेखेका हुन् भन्ने भनाइ छ। यसरी प्राचीनकालमा यस्ता ग्रन्थहरू कण्ठस्थकै माध्यमबाट अध्ययन गरी सुरक्षित राख्ने कठोर जिम्मेवारी थियो। यसलाई श्रुति परम्परा भनिन्थ्यो। वेदहरूलाई यसै कारणले ‘श्रुति’ भनिन्छ। सुनेका सुभाषित वचन, मन्त्रहरू, शुक्त लोकोक्ति, नीति वचन, कर्मोपदेश, आयु संरक्षण सूत्रहरू सुनेर स्थायी रूपमा जुन स्मृति पटलमा रहन्थ्यो, त्यसलाई स्मृति भनियो। तत् समयमा आफ्नो मौलिक शिक्षाको खासै विकास भएको पाइँदैन। त्यस्तैगरी महिषपालकाल, गोपालवंशीकाल, किँरातकाल, लिच्छवीकाल, मल्लकाल हुँदै आधुनिककाल पृथ्वीनारायण शाहको पालादेखि राणाकालीन समयसम्म आउँदा पनि नेपालमा औपचारिक रूपमा शिक्षा दिने व्यवस्था थिएन। उही प्राचीन गुरुकुल शिक्षा विधि नै अपनाउँदै आएको पाइन्छ। विभिन्न ठाउँहरूमा अनौपचारिक रूपबाट खोलिएका आश्रमहरू विभिन्न गुरु आश्रमका नामले पुकारिन्थे। यसरी प्राचिन कालमा तोकिएको र देखाइएको शिक्षामात्र हासिल गर्नुपर्थ्यो। शिक्षाको माध्यम मुख्य रूपमा कण्ठेश्वरी, गौण रूपमा दण्डेश्वरीको माध्यम थियो। मानिसको मनोभावनाबाट ज्ञान आर्जन गर्ने भन्ने कुरा त फिटिक्कै पाइदैनथ्यो।

निरङ्कुश राणाशासनका निर्माता श्री ३ जङ्गबहादुर राणाको ब्रिटिस भ्रमण पश्चात् मात्र नितान्त राणा परिवारको निम्ति भनेर वि.सं. १९१० मा दरवार हाइस्कुलको नामले औपचारिक शिक्षाको रूपमा संस्कृत र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरी सुरुवात भयो। सुरुवातमा नै अङ्ग्रेजी शिक्षा अनि राणाहरूको लागि मात्र भनेर पढाइ हुने भएपनि त्यति बेला राणाहरू बृटिस साम्राज्यको बढी प्रभावले गर्दा संस्कृत शिक्षा भन्दा अङ्ग्रेजी शिक्षा तर्फ जोड दिइ आफ्ना सन्तानहरूलाई शिक्षा दिइनुबाट कण्ठेश्वरी भन्दा दण्डेश्वरी शिक्षाको आभास सिर्जना भयो। विदेशी मुलको भाषा, शिक्षा, खानपान, रहनसहन, भेषभूषा, धर्मतर्फ झुकाव, रवाफको सुरुवात भई आफ्नोपनको विकासमा ह्रास हुँदै गयो।

वि.सं. २०२८, २०३७ सालमा क्रमशः नयाँ शिक्षा योजना लागु गरेपश्चात् व्यावसायिक शिक्षाको दिशामा नयाँ जागरण शुरु भयो। अझ भन्नुपर्दा २०४६ सालको प्रजातन्त्रको पुनरवहाली पश्चात् त नेपाली समाज खुल्ला हुन पुगी प्रा.वि., नि.मा.वि., मा.वि. लगायत निजी स्तरमा छ्याप्छ्याप्ती स्कूलहरू खुल्न थाले। सामुदायिक तर्फ सरकारले नै अध्ययनका लागि पाठ्यपुस्तक र शिक्षण शुल्कमा कक्षा १-१० सम्म निःशुल्क र दलित र जनजातिको हकमा ड्रेस, शैक्षिक सामग्री नै उपलब्ध गराउनु, विभिन्न जनजातिहरूको हकमा आ-आफ्नो मातृभाषामा पनि पढाइ हुने व्यवस्थालगायत विभिन्न सुविधाहरू र छात्रवृत्तिको व्यवस्था गरेता पनि यस्ता निजी लगायत दातृ संघसंस्थाबाट खोलिइएका, व्यावसायिक रुपबाट खोलिएका विद्यालयहरू सँगसँगै र दण्डियता शिक्षाको पनि विकास हुँदै गयो।

सामुदायिक विद्यालयमा उचित किसिमको व्यवस्थापन नभएकाले शिक्षाको गुणस्तर दिनप्रति दिन खस्कदै जानु, स्थायी आयोग, प्रतिस्पर्धी तवरबाट शिक्षक नियुक्ति नगरी नातावाद, कृपावाद र पार्टीत भागवण्डा लगाई शिक्षक, नियुक्ति गर्नाले सरकारको लगानी बालुवामा पानी हाले तुल्य भएको छ। सरकारी स्तरमा नीति नियम लागु कार्यान्वयन गर्ने व्यक्ति द्वैध चरित्रका हुनु, उनीहरू नै संस्थागत विद्यालयमा कही कतैबाट नाता जोडिएकाले पनि कार्यान्वयन पक्ष फितलो बन्दै गएको छ। जसले संस्थागत विद्यालयहरूको वृद्धि हुनुमा थप टेवा मिलेको छ। धेरैजसो संस्थागत विद्यालयमा व्यक्तिगत, संस्थागत लगानी, उचित किसिमको व्यवस्थापन, अनुशासन, शिष्टता, नियमितता र एउटा शैक्षिक प्रणालीलाई वैज्ञानिक किसिमबाट लान सक्नुले चाँडो शैक्षिक उपलब्धि हासिल गर्न सफल भए जुन प्रशंसनीय पनि छ। हिजोआज सरकारको उदासिनता, सरकारी कमजोरी संयन्त्रको फाइदा उर्ठाई, संस्थागत विद्यालयहरूको अत्यधिक प्रतिस्पर्धात्मक र बढ्दो व्यापारीकरणले गर्दा यस्ता विद्यालयहरू चाडो भन्दा चाडो पैसा असुल गर्न व्यस्त देखिन्छन्। सामुदायिक विद्यालयमा भन्दा गुणस्तर शिक्षा, अत्यधिक सुविधा दिएको भन्दै घुमाउरो पारामा शुल्क असुल गर्नका लागि कयौं शीर्षक, उपशीर्षक बनाई कयौ गुणा शिक्षण शोषण गरिएको पाइन्छ। सामुदायिक विद्यालयमा कक्षा १-१० सम्मको शिक्षामा निःशुल्क भनी सरकारले घोषणा गरेपनि विद्यार्थीहरूको चाप घट्दै शून्य पनि भएको अवस्थामा केही सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षाको विस्तार गर्ने, विद्यार्थीहरूलाई संस्थागत विद्यालयमा जान रोक्ने अभियान ल्याउने भनी शिक्षण शुल्कलाई अन्य विविध शुल्क बनाई र अतिरिक्त कक्षा सञ्चालन गरी चर्को शुल्क लिई पठनपाठन गरिएता पनि लक्षित सफलता भने हासिल गर्न सकिरहेका छैनन्।

संस्थागत विद्यालयमा सबैको क्षमताले नभ्याउने किसिमका शुल्कहरू लगायत सबै विद्यार्थीहरूमा प्रयोगमा नै नआउने शुल्कहरू साथै २१ औं शताब्दीमा आएर पनि अझै नेपाली अभिभावकहरूलाई गुमराहमा राखी कम्प्युटर शिक्षण भनी कम्प्युटरको एउटा भाग मनिटरको स्िक्रन देखाई छुट्टै कम्प्युटर शुल्क, आफुहरूले गर्नुपर्ने र तिर्नुपर्ने कर समेत समायोजन गरी आदी इत्यादी शुल्कै शुल्कले अभिभावकहरूलाई पुरिएको पाइन्छ। यति धेरै शुल्कहरू हुँदाहुँदै सरकारी निकायको लाचारी प्रवृद्धिले ‘धनी वर्गका लागि संस्थागत र विपन्न वर्गका लागि सामुदायिक विद्यालय’ जस्तो मानिएतापनि हिजोआज ‘बाध्यताको लागि संस्थागत विद्यालय’ जस्तो देखिन्छ। सरकारले निर्धारित गरेका पाठ्यपुस्तकका अतिरिक्त लादिने विदेशी प्रकाशकका थुप्रै किताब, अनि कमिसन कुन प्रकाशनबाट बढी आउँछ भनी वर्षेनी नयाँ-नयाँ प्रकाशकहरू परिवर्तन, एस.एल.सी. रिजल्ट राम्रो ल्याउने भन्दै अनिवार्य रूपमा बोर्डस् गर्न बाध्य तुल्याई कठोर अनुशासनको चौतर्फी घेराभित्र राखी सिमित पाठ्यसामग्रीको प्रयोग गरी शिक्षा दिने परिपाटी अनुसार सृजनात्मकभन्दा लादिएका विषयवस्तुहरूलाई जुनसुकै तवरले भएपनि बुझ्नु, जान्नु र प्रस्तुत गर्नुपर्ने बाध्यात्मक कारणले शारीरिक रूपमा नभएर मानसिक रूपले विद्यार्थीहरूलाई दण्ड दिने परिपाटी विद्यमान छ। यस्ता दण्डताले बच्चाहरूको मनोवल घट्दै गएको, अत्यधिक दबाबले गर्दा उनीहरू नकरात्मक कार्यमा लागेको पाइन्छ। महङ्गो शिक्षण शुल्क एकातर्फ छँदैछ अर्कोतर्फ विद्यार्थी कमजोरको बहाना बनाई कक्षा ३ देखि नै अतिरिक्त कक्षा सञ्चालन गर्ने परिपाटीले हावी भई अभिभावकहरू थप मर्कामा पर्न गएका छन्। आश्विन ६ गते, पोखरा – १, बगरमा अवस्थित करुणानिधि एजुकेशन फाउण्डेशनमा अध्ययनरत छात्रा निशा गौतम हालसम्म पनि अज्ञात अवस्थामा भएको र परिवारमा कहिँकतैबाट सर्म्पर्कसम्म नभएको कारणले उनको परिवारजनले भोग्नु परेको पीडा, विगत २०७० असार १९ गते बुधबारको दिनमा प्रकाशित कान्तिपुर दैनिक पत्रिकामा भेरिजोन इङ्गिलस स्कुलको कक्षा नर्सरीमा पढ्ने नाबालक अजय धोवीको गृहकार्य नगरेको भन्दै पिट्दा आँखाको नानी फुटेको घटनाले पनि शिक्षामा जर्वजस्ती दण्डियतालाई निम्त्याएको र्छलङ्ग हुन्छ। हाल विभिन्न समयमा विभिन्न विद्यालयहरूमा यस्ता घटनाहरू घटिरहेको पाइन्छ। कहिले बच्चालाई आची खुवाउने, कहिले कानको जाली फुट्ने गरी पिट्ने, शरीरमा नील डाम हुने गरी पिट्ने, अत्यधिक दवावका कारण ट्वाइलेटमा टाइको पासो लगाई आत्मदाह गरेका घटना, धेरै लगानी गरी दवावमा रही पढ्दा बच्चाहरू परीक्षामा फेल हुँदाको बखतमा आत्महत्या गर्ने जस्ता घटनाहरू पत्रपत्रिकामा नआएका पनि होइनन्। यसरी दिइएको शिक्षाको माध्यम र यस्ता घटनाक्रमहरूले शिक्षामा दण्डेश्वरीको छनक भएको पाइन्छ। यस्तो किसिमको सिकाइको प्रवृत्ति र घटनाक्रमहरूलाई न्यून गरी समय सान्दर्भिक, मनोवैज्ञानिक, क्षमता, अभिरुचि, चाहना अनुरुपको सिपमूलक, रोजगारमूलक शिक्षा दिने प्रवृत्तिको विकास हुनु जरुरी हुन्छ।

इटालीको रोम शहरमा जन्मिएकी मारिया मण्टेश्वरीले आफ्नो अध्ययनकालमा युनिभर्सिटी अफ् रोममा २०० वर्ष अगाडिदेखि बच्चाहरूलाई सिकाउँदै आएको सिकाईसम्बन्धी पद्धतिलाई मनन गर्दै सन् १८९७ मा ‘काशा दि बाम्बिनी’ नामक बाल गृह खोली बच्चाहरूको सिकाइको लागि नयाँ ‘मारिया मण्टेश्वरी’ नामक सिद्धान्त प्रतिपादन गरिन्। यस सिद्धान्तमा मुख्यतया बच्चाहरूको उपयुक्त वातावरण र सामग्रीको आधारमा विद्यार्थीको मनोविज्ञान, मनोभावना, अभिरुचि, चाहना क्षमता अनुसार विद्यार्थीले देखाउने प्रतिक्रिया र सिकाई उपलब्धिको अवलोकन गरी थप सुधारका लागि सहयोग प्रदान गर्ने शिक्षकको मुख्य भूमिका रहन्छ।

नेपालको सर्न्दर्भमा भन्नु पर्दा मण्टेश्वरी शिक्षाको सुरुवात वि.सं. २००२ देखि निजी स्तरबाट भएको हो। हाल अधिराज्यभरि विगत ३/४ वर्ष यता शहर केन्द्रित रूपमा निजी तवरबाट खोल्ने होड चलेको छ। वर्ष ३-६ उमेरसम्मका बालबच्चाहरूलाई बालमैत्रीपूर्ण तवरबाट अध्ययन अध्यापन गरिने भनिएतापनि यस्ता प्रक्रिया नमिलाईकन, सम्बन्धित सिकाइको ज्ञाता नबनिकन मण्टेश्वरी स्कुलहरू खोल्ने क्रम बढिरहेको छ। सरकारी निकायबाट ३ देखि ४ वर्ष उमेर पुगेका बालबालिकाहरूको सवाङ्गिण विकासको अधिकार सुनिश्चित गरी प्राथमिक शिक्षाको लागि तयार गर्ने भन्ने मुख्य लक्ष्य लिई प्रत्येक विद्यालयमा बालविकास केन्द्र स्थापनाको उद्देश्य अनुरूपको कार्य विगत वर्षदेखि नै कार्यान्वयनमा अघि बढाएको पाइन्छ। बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्ने, स्वास्थ्य, पोषण र सरसफाई स्थिति सुधारमा सहयोग गर्ने, उनीहरूलाई क्रियाशील बनाई सिर्जनशील हुन प्रेरित गर्ने, प्राथमिक शिक्षाको तयारीका लागि सिक्ने क्षमतामा वृद्धि गर्ने आदि उद्देश्य हासिल गर्ने लक्ष्य राखि नेपाल अधिराज्यभरका शिशु नाबालकहरूको द्रुत विकासको लागि अभियानको रूपमा लिइएको छ। लक्षित विन्दुमा पुग्न कार्यान्वयन पक्ष सक्छ कि सक्दैन भन्ने कुरो त भविष्यले नै बताउनेछ। यस्ता विविध उद्देश्य हासिल गर्न लक्ष्य लिइएतापनि यस शिक्षाको अवधारणा उच्च शिक्षा आर्जन गर्ने समयसम्म चिर रूपमा कसरी स्थायी बनाउने भन्ने गृहकार्य नै नगरी विना चिन्तन, मनन पूर्वाग्रही रूपबाट बाल विकास केन्द्र वा मण्टेश्वरी सञ्चालनार्थ व्यापक रूपमा स्विकृति प्रदान गरिएकोले भविष्यमा सकरात्मक सफलतामाथि प्रश्न चिन्ह खडा भएको छ। सामुदायिक तवरबाट चलाइएको बाल विकास केन्द्रको यथोचित विकास, व्यवस्थापन र संस्थागत रूपबाट खोलिएका बालगृहहरूको सही अनुगमनको निम्ति कुनै त्यस्तो किसिमको व्यवस्था भएको छैन। एकातर्फ त मण्टेश्वरीको अवधारणा अनुसारको मापदण्ड नै पूरा नगरी खोलिइएका शैक्षिक संस्थाहरू व्यापारिक केन्द्र मात्र बन्न पुगेका छन्। अर्कोतर्फ मण्टेश्वरीको मापदण्ड पूरा गरी पढाइएका -३-६ वर्षसम्मका) नाबालकहरू मण्टेश्वरी अध्ययन पश्चात् उनीहरूलाई सोही वातावरण अनुसार अध्ययन अध्यापन गराउने संस्थाको अभाव खड्किएको देखिन्छ। विदेशी संघसंस्थाको सहयोगको मुख ताकी, झोली र भाङ्ग्रा थापी आएको दान दातव्यबाट विभिन्न योजना र रणनीति बनाइएको यो मुलुकमा आफ्नो देश, भेष, माटो सुहाउँदो शिक्षाको अभावमा गुज्रिरहेको अवस्था विद्यमान नै छ। जतिसुकै नयाँ दृष्टिकोण, नीति कार्यान्वयनमा ल्याएपनि आजका युवा पिँढीहरू दु्रतत्तर रूपमा विदेशीहरूको मजदुर उत्पादन गर्ने उद्योगको रूपमा मात्र सीमित भए, मुख्य रुपमा सोही अनुरुपको शिक्षाको अभाव खड्केको छ। यसरी युवा बिदेशिनु भनेको नेपाली भूमिमाथि कुठाराघात गर्नु मात्र हो दीर्घ लाभ छैन। अस्तु।।

Related News

सम्बन्धित समाचार

hero news full width