प्यारा भाइ बहिनीहरू,
२०७५ सालको चैत १० गते सुरु भई २१ गते समाप्त हुने एस.ई.ई. परीक्षामा सहभागी हुन तिमीहरू मानसिक रूपले अवश्य पनि तयार हुँदै छौ तर नतिजा भने विगत वर्षमाभन्दा फरक अर्थात् प्रतिशतको आधारमा श्रेणी छुट्ट्याई प्रतिस्पर्धात्मक मूल्याङ्कन प्रणालीलाई हटाएर २०७२ सालको एस.एल.सी. परीक्षादेखि अक्षराङ्क (ग्रेडिङ) प्रणालीको आधारमा नतिजा प्रकाशित गर्ने व्यवस्था गरिएको तिन वर्ष भयो। यसबारे आ – आफ्नो विद्यालयबाट तिमीहरूले केही जानकारी अवश्य प्राप्त गरेकै छौ होला।
शिक्षा मन्त्रालयले गरेको निर्णय अनुसार सुरुमा परिकल्पना गरिएको समग्र ग्रेडिङ प्रणालीलाई हटाएर प्रत्येक विषयको छुट्टा – छुट्टै ग्रेडिङ गरी नतिजा प्रणालीमा परिवर्तन गर्ने गरेकाले नयाँ ग्रेडिङ नतिजा प्रणाली बढी व्यावहारिक हुने ठहर्याइएको पनि छ। यसबाट विद्यार्थीहरूले उच्च शिक्षा पढ्न चाहेको सम्बन्धित विषयको ग्रेडिङ अनुसार भर्ना हुन पाउने मौका प्रदान गरिएको देखिन्छ।
भाइ बहिनी हो, झट्ट हेर्दा यो प्रणाली केही सरल र धेरै प्रतिशत विद्यार्थीको हितमा हुने देखिन्छ। हाम्रो देशमा धेरै जसो विद्यार्थी एस.ई.ई. परीक्षामा अनुत्तीर्ण हुने समस्याको विकल्पको रूपमा यस्तो ग्रेडिङ प्रणालीलाई अवलम्बन गरिएको हो र पाश्चात्य देशहरूको शिक्षा प्रणालीमा यो ग्रेडिङ सिस्टम केही दशक पहिलेदेखि सफलता पूर्वक लागु हुँदै आएको देखिन्छ।
तर ती देशहरूमा एकेडेमिक ग्रेडभन्दा एफोर्टस् ग्रेडलाई बढी जोड दिइने हुनाले सैद्धान्तिक पक्षमा केही कमजोर देखिए तापनि प्रयोगात्मक किसिमले पश्चिमेली विद्यार्थी निकै व्यावहारिक र सिपालु ठहरिन्छन्। त्यसैले नेपालमा लागु गर्न लागिएको एस.ई.ई र कक्षा ११, १२ को वार्षिक परीक्षामा लागु हुने ग्रेडिङ प्रणाली एफोर्डस् ग्रेडबिनाको हुने हुँदा हालसम्म राम्रोसँग कायम हुँदै आएको शैक्षिक स्तर झन् झन् गिर्दै जान सक्ने सम्भावना पनि देखिन्छ। त्यसैले एस.ई.ई. परीक्षालाई अत्यन्त महत्त्व दिएर गहन अध्ययन गरी उत्तम ग्रेड प्राप्त गर्नु नै तिम्रो उच्च शिक्षाको ढोका सफलतापूर्वक खोलिनु हो।
२०७५ सालको एस.ई.ई.मा नियमिततर्फ करिब पाँच लाख र आंशिकतर्फ ५० हजार विद्यार्थी सहभागी रहनेछन् भने १९६१ परीक्षाकेन्द्रहरुमा परीक्षा सञ्चलन हुनेछ। परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ।
एस.ई.ई. परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएता पनि यस वर्ष भने सङ्घीय र प्रदेश सरकारको समन्वयमा राष्ट्रिय परीक्षाबोर्डले एस.ई.ई. परीक्षा सञ्चालन गर्दै छ। तर परीक्षाका लागि प्रश्नपत्र भने सात ओटै प्रदेशमा छुट्टा छुट्टै हुने छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले परीक्षा केन्द्र सञ्चालन, व्यवस्थापन र कापी परीक्षणको कार्य सम्पन्न गर्ने जनाइएको छ।
परीक्षा भन्ने कुरा भगवान्को आशीर्वाद र भाग्यमा भर पर्ने कुरा बिल्कुलै होइन। परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै प्राविधिक सीपको भूमिका महत्वपूर्ण हुन्छ। नोट, किताब र गाइड आदि मात्र धेरै पढेर परीक्षामा राम्रो सफलता प्राप्तगर्न सक्छु भन्नु गलत बाटो हो। प्रभावकारी र दीर्घकालीन सिकाइको लागि डेढ/दुई घण्टा पढेपछि करिब ५०/६० मिनेट विश्राम गर्नुपर्दछ। त्यसपछि पढेका कुरा बुँदागत रूपले सम्झने, साथसाथै खेल्ने, गीतगाउने साथीभाइसँग गफगर्ने अथवा प्रकृतिका रमाइला दृश्य अवलोकन गर्ने आदि गर्नुपर्दछ।
पाठको तयारी गर्दा विषयको प्रकृति हेरेर सो अनुसार तयारी गर्नुपर्छ जस्तैः भाषा, गणित जस्ता विषय पढेर भन्दा लेखेर अभ्यास गर्नु, बढी प्रभावकारी हुन्छ। हुन त वर्षभरि पढेको पाठलाई राम्रोसँग तयारी गरी परीक्षादिने हो भने अवश्य राम्रो गर्न सकिन्छ। वर्षभरि नै सन्तुलन हुने गरी पढेर अर्थपूर्ण र व्यवस्थित दीर्घकालीन सिकाइ गर्नुपर्छ। तर धेरै जसो विद्यार्थी लामो समय त्यत्तिकै खेर फाल्छन् र रातमा पनि दुई/तीन घण्टा मात्र सुतेर परीक्षा आउनासाथ रातभर, दिनभर लगातार घोटिएर पढ्ने गर्दछन्। यस्तो पढाइ वास्तवमा अति हानिकारक हुन्छ। वास्तवमा मानव मस्तिष्कको सिकाइको पनि सीमा हुन्छ। एकैपटक मस्तिष्कले धेरै विषयवस्तु दीर्घकालीन रूपमा ग्रहण गर्न असमर्थ हुने हुन्छ। एउटा व्यावहारिक र चलाख विद्यार्थीले त वर्षभरिकै पाठको तयारी सन्तुलित किसिमले गर्दै जानुपर्छ र पाठका महत्वपूर्ण फुट नोटहरू पनि लिखित रूपमा तयारी गर्दै जानुपर्छ। ती बुँदालाई स्मरण गर्दै जानुपर्छ र परीक्षाको समयमा ती बुँदालाई स्मरण हुने गरी पढेर परीक्षा लेख्न गएमा त्यो सिकाइले उत्तम नतिजा ल्याउन सफल बनाउँछ।
परीक्षाको तयारी गर्न पाठ्यक्रम र पाठ्यपुस्तकले तोकिएको विषयवस्तुको घेराभित्र रहेर तयारी गर्नुपर्छ। बोर्ड परीक्षा सुरु हुने सप्ताह आएपछि परीक्षार्थीहरू बेलुकी १० बजे नै सुत्नु अति बुद्धिमानी हुनेछ। किनभने थाकेको मन र दिमागलाई काम गर्न लगाउनु भनेको भोको र थाकेको गोरुलाई जोताउन हलीले पिट्नुजस्तै हो। बेलुकी १० बजे सुत्ने विद्यार्थीले ६ घण्टाको सुताइ पूर्ण हुने हुँदा बिहान ४ बजे नै उठेर जाँच दिन जानु अघि आफूले तयार गरेको सबै फुट नोट आदि बुँदालाई स्मरण हुने गरी दोहोर्याएर पढी गएमा त्यो सिकाइले परीक्षामा ठूलो सहयोग पुर्याउने हुन्छ।
खास गरी परीक्षा दिन जाँदा धेरै खाना नखाई हल्का खाना खाने, गह्रौँ, बढी कसिएका र बाक्ला भद्दा कपडा नलगाई खुला, पातला र हल्काखालका कपडा लगाउने र साथमा परीक्षामा समयको ख्याल गर्न आफ्नो हातमा घडी लगाउनु अत्यन्त उपयोगी हुने हुन्छ। परीक्षाको समयमा एकोहोरो घोटिएर लगातार पढिरहनुभन्दा पढेको कुरालाई सम्झँदै मौखिक, लिखित, प्रयोगात्मक जुन किसिमको भएपनि सरल र सहज किसिमले प्रस्तुत गर्न सक्नु नै परीक्षामा सफलता प्राप्त गर्न सक्नु हो। यसैमा पढाइको सार्थकता पूर्ण भएको ठहरिन्छ।
परीक्षाको समयमा परीक्षाहलमा पुगेपछि निम्न कुरालाई ध्यान पुर्याई परीक्षा लेखन कार्य पूरा गर्नुपर्छ किनभने एउटा विद्यार्थीको जीवनमा सबभन्दा महत्वपूर्ण कुरा नै परीक्षाको समय सवोर्त्तम किसिमले सदुपयोग गर्न सक्नु हो।
सबै भाइ बहिनीहरूमा उच्च सफलताको शुभकामना व्यक्त गर्दै परीक्षाका लागि केही व्यावहारिक सुझाबहरू तल उल्लेख भए अनुसार प्रस्तुत गर्न चाहन्छु।
१. बाह्य परीक्षामा परीक्षकहरूले थोरै समयमै उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुँदा परीक्षामा सुन्दर गोलाकार अक्षर बनाई केरमेट नगरी सफासँग उत्तर लेख्नुपर्छ। कतै काटनुपर्यो भने हल्काधर्साले काट्ने गर।
२. परीक्षामा प्रश्नको निर्देशन राम्रोसँग पढेर मात्र लेख्न सुरु गर। छानेर लेख्न दिइएको प्रश्नमा कुन प्रश्नको उत्तर लेख्ने, पहिल्यै सोचेर मात्र उत्तर लेख्न सुरु गर्नुपर्छ। पहिला केही नसोची लेख्न थाल्ने र पछि एक पेज, आधा पेज लेखेपछि काटेर अर्को प्रश्न गर्नु बुद्धिमानी ठहंरिदैन। यसले समयको बर्बाद र मानसिक तनाबमात्र बढाउँछ।
३. जानेको प्रश्न पहिले गर्नुपर्छ र गरेका प्रश्नमा रेजाचिन्ह (√) दिदै जानुपर्छ। नेपाली, अग्रेजीजस्तो भाषाविषयको परीक्षामा पहिला व्याकरणको प्रश्न भ्याएर मात्र अरु प्रश्नको उत्तर लेख्नु बढी बुद्धीमानी हुनेछ।
४. परीक्षाको समयमा तिमीले उत्तम कलमको छनौट गर्नुपर्छ साथै आफूलाई चाहिने ज्यामितीबक्स, क्यालकुलेटर आदि आफैले साथमा लिएर जानुपर्छ। साथै प्रवेशपत्र पनि जतनसाथ ज्यामितीबक्स आदि सुरक्षितसाथ राख्ने गर्नुपर्छ।
५. परीक्षाको समयमा प्रवेशपत्र तथा उत्तरपुस्तिकाको प्रथम पेजमा दिएका निर्देशन राम्रोसँग पढ्नुपर्छ र उत्तरपुस्तिकाको प्रथम पेजमा भर्नुपर्ने सबै निर्देशन केरमेट नगरी सफासँग भर्ने गर्नुपर्दछ र तेस्रो पेजबाट मात्र उत्तर लेख्न सुरु गर्नुपर्दछ।
६. उत्तर पुस्तिकामा घटीमा डेढ इञ्चको मार्जिन राख्नु अनिवार्य हुन्छ तर मार्जिन स्केलले तानिरहनु आवश्यक छैन, कापी भाँचिदिए पनि हुन्छ।
७. सबै प्रश्नभ्याउने गरी परीक्षामा लेख्नुपर्दछ। कुनै प्रश्नको उत्तर राम्रो नआएपनि केही लेख्ने प्रयास गर। ज्यादै छिटो परीक्षा सक्नु राम्रो कुरा होइन। दिएको समयभन्दा ५ – १० मिनेट पहिला उत्तर भ्याएर एकपटक सरसर्ती दोहोर्याएर मात्र उत्तरपुस्तिका बुझाउनु बढी राम्रो हुनेछ।
८. गणित, भूगोल विज्ञानजस्तो चित्र आदि बनाउनुपर्ने विषयमा सिसाकलम प्रयोग गर्नुपर्दछ। थप कपीमा सिम्बलनम्बर राम्रोसँग लेखेर राम्रोसँग स्टिचिङ गरी बुझाउनुपर्छ।
९. कुनै कारणवश कुनै दिनको परीक्षा विग्रियो भने त्यसलाई सम्झिएर टाउको दुखाइराख्नु हुँदैन। त्यो भूतकालामा भइसकेको हुँदा त्यसलाई बिर्सिएर भोलिपल्टको परीक्षाको लागि राम्रो तयारी गर्नु बढी बुद्धिमानी हुनेछ।
१०. अन्ततःआत्तिएको मानसिकताले जीवनमा कुनै काममा पनि सफलता प्राप्त गर्न सकिदैन। तसर्थ परीक्षा हलमा जाँदा ढुक्क र आनन्दकासाथ स्थिर मन गरेर प्रवेश गर्नुपर्छ। आफूले पढेको कुराको प्रस्तुतगर्ने सुअवसर प्राप्तभएको अनुभूति गर्दै धीरताका साथ परीक्षामा लेख्नुपर्छ। जसले धीरताकासाथ नडराई आनन्दसाथ परीक्षा लेख्छ, त्यस्ता व्यक्तिले राम्रो सफलता प्राप्त गर्दछ।
अन्ततः अंग्रेजीमा भन्नु पर्दा तलको ३ विधि अपनाई पढ्नु पर्छ :
१) साइन्टिफिक स्टडी स्समय, स्वास्थ्य सबैलाई ख्याल गरी वैज्ञानिक किसिमले पढ्ने।
२) सिष्टमेटिक स्टडी स्कुन पाठ कसरी, कहिले पढ्ने तालिक बनाई व्यवस्थित किसिमले पढ्ने।
३) मिनिंफूल स्टडी :जुन पाठ जति पढिन्छ बुझेर पढ्ने। मिनिंफूल माइन्ड र स्कीलफूल हैण्ड प्रयोग गरी परीक्षा देऊ, सफलता अवश्य मिल्नेछ।
हामी सरस्वतीका साधकभई शुद्ध मन र पवित्र आत्माकासाथ अध्ययन गरी परीक्षामा सहभागी बनेमा आत्मविश्वास बढी परीक्षा झन् राम्रो हुनेछ। सबै परीक्षार्थी भाइबहिनीलाई परीक्षामा सफलताको हार्दिक शुभकामना !
(लेखक गण्डकी आवासीय उच्च मा.वि. पोखराको पूर्व सहायक प्राचार्य हुनुहुन्छ।)
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१