एक थान सिरक अभियान : अनुभव र अनुभूति

आदर्श समाज सम्वाददाता
चैत्र २, २०६९

र्फक र्फक हे जाऊ समाऊ मानिसहरूको पाउ

मलम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ

मानिस भै मानिसको

त्यो दिव्य मुहार हँसाउ।

स्कूल पढ्दा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला – तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुझदैछु। पौषको अन्तिम साता मुलुककै दूर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर फकेपछि एकतमासले यी माथिका हरफहरू गुन्गुनाउँदै एक प्रकारको आनन्दमा गुटमुटिरहेको छु।

जाडो मौसमले आफ्नो रोब देखाउँदै गर्दा विभिन्न परिवर्तनको अनुभव हाम्रा वरपर गर्न सकिन्छ। गर्मीमा कठोर लाग्ने सूर्यनारायण पनि हाम्रा पाखा पखेरामा पारिलो घाम बनेर पोखिन्छन्। पुग्नेका घरमा नम्बरी कपास हालेर मोटो सिरक बन्छ वा नयाँ ब्ल्याङ्केट भित्रिन्छ। नयाँ स्विटर बुनिन्छन्, ज्याकेट किनिन्छन्। घर तथा कार्यालयमा थन्क्याएर राखेको हिटर पुछपाछ बनाएर प्रयोगमा ल्याइन्छ। अझ हुनेखाने परिवार त जाडो छल्न कतिपय गर्मी ठाउँमा घुमफिरका लागि निस्कन्छन्। तर त्यही समय विशेषत तराई क्षेत्रका विपन्नहरूका लागि भने निकै कष्टकर रहन्छ। शितलहरले जनजीवन व्याकुल बन्दछ। दिउँसो अवेरसम्म घाम नलाग्दा चिसोको आधिपत्य जम्दछ। अनि जाडोमा न्यानो लुगा र ओढ्ने नपाउँदा कैयौ अमूल्य जीवनहरू दुःखद हेडलाइन बनेर पत्रपत्रिका र सञ्चार माध्यमभरि छरपष्ट हुन्छन्। यो नियति यो जाडोमा मात्रै होइन यसभन्दा अगाडिको जाडोमा पनि देखिएकै हो। यसैपालिको जाडोमा पनि पत्रपत्रिकामा कैयौँ परिवार पराल ओछयाएर सुकुल ओढेर सुत्न बाध्य भएकाहरूको फोटोहरू समाचार बने। टेलिभिजनमा दिनप्रतिदिन जाडोले ज्यान गुमाएकाहरूको रिपोर्ट आउन थाल्यो। विश्वको कुनै पनि कुनामा कोहीमाथि विपत पर्दा त हाम्रो मनमा माया र सहयोगको भावना पलाउँछ भने हाम्रै चन्द्र सूर्यको छहारीमा रहेको तराई जाडोले कठयाङ्ग्रिदा पहाडको चित्त दुख्नु स्वाभाविक नै थियो। हाम्रै मुलुकमा कहीँ सिरक नै सिरकको खात थियो त कहीँ सुकुलका भरमा रात बिताउनु परिरहेको परिवेशले हामीलाई भित्रैदेखि छोयो अनि योजना बन्यो रोटर्‍याक्ट क्लब अफ पोखरा मिडटाउनको पहलमा यो र अबका केही वर्षहरूको जाडो छल्नका लागि ‘एक थान सिरक’ अभियान सञ्चालन गरी ती विपन्न परिवारलाई आफ्नोपनको आभाष स्वरुप एक थान सिरक दिलाउने।

योजना जब बन्यो मध्य पौषको समय थियो। केही दिनभित्रै योजना कार्यान्वयन नगरे जाडो सकिने र सिरक बाँड्ने काम पनि ‘लगन पछिको पोते’ मात्रै हुने पक्का थियो। तसर्थ पौष भित्रै सिरक बाँडिसक्ने अठोटका साथ क्लबका साथीहरूले काम थालनी गर्‍यौं। सिरकका लागि आर्थिक स्रोत जुटाउनु, सिरक तयार गर्नु, वितरण गर्ने स्थानको यकिन गर्नु, लागत संकलन गर्नु, यातायातको प्रबन्ध गर्नु, तयार भएका सिरक लगेर वितरण गर्नु त्यो पनि करिब १० दिनभित्रमा। गज्जबको चुनौति थियो। दार्शनिक नित्से भन्थे जहाँ भित्ता छ त्यही द्वार छ। त्यस्तै जहाँ चुनौति थियो त्यही साथीहरूको टिम स्पिरिट पनि थियो। लामो छलफल पछि टिकट बिक्री गरी सिरक संकलन गर्ने सोच अनुरुप सिरक नं अड्ढति टिकट छापेर निस्क्यौ मैदानमा सिरक संकलन गर्न। यसभन्दा अगाडि पनि विविध कार्यक्रमका लागि डकुमेन्ट्री, कर्न्सट वा च्यारीटि सो का टिकट बेच्नका लागि मानिसहरूलाई जबर्जस्ती अनुरोध गर्नुपरेको क्षण वा गर्नुपरेको स्मरण ताजै रहेकाले टिकट बिक्री गर्न गाह्रो होला भन्ने केही डर भने पक्कै थियो।

त्यसको ठीक विपरीत जहाँ-जहाँ बतायौँ मानिसहरूलाई हाम्रो एक थान सिरक अभियानका बारे, जहाँ-जहाँ सहयोगको लागि अपिल गर्‍यौं, अनुरोध गर्‍यौं, जसजसलाई सहयोगका लागि, मुसुक्क मुस्कुराउँदै खुला दिलले हाम्रो एक आग्रहमै क्रमशः ती कठ्याङ्ग्रिएका परिवारका लागि सिरकदाताहरूको स्नेह वर्षदै गयो। पोखरामा रहेका रोटरी क्लबहरू तथा अग्रज रोटेरीयनहरू, रोटर्‍याक्ट क्लबहरू एवं रोटर्‍याक्टर साथीहरू तथा अन्य महानुभावहरूले सहृदयतापूर्वक त्यस टिकट किनेर सिरक प्रदान गर्नका लागि सहयोग गर्नुभयो। सिरकका लागि सहयोग संकलनकै क्रममा केही थान सिरक किनिदिन अनुरोध गर्नका लागि पोखराकै रेडियो अन्नपूर्णको स्टेसनमा पुगेका हामीलाई कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठले असाध्यै मिठो हौसला र उत्साह थपिदिनुभयो। तत्कालै रेडियो अन्नपूर्णकै तर्फबाट दश थान सिरक सहयोग गर्ने बचनबद्धता दिँदै उहाँले यस अभियानलाई रेडियो मार्फत प्रचारप्रसार गरेर थप सिरक संकलन गर्न सहयोग पुर्‍याउने तथा प्रत्येक दिन सिरक किनेर यस अभियानमा सहयोग गर्ने दाताहरूको नाम रेडियोबाट प्रसारण गरिदिने वचन दिनुभयो। टिकट बिक्रीको काम यता चल्दै थियो भने उक्त सिरकहरू लक्षित प्रभावित वर्ग र परिवारमा पुगोस् भन्ने हेतुले अति प्रभावित क्षेत्रको खोजी भैरहेको थियो। पत्रपत्रिकामा आएको खबर र समाचारलाई पछयाउँदै र तराईमा रहेका विभिन्न स्रोतलाई सोधखोज गर्दै जाँदा यसवर्ष जाडोका कारण सबैभन्दा बढी ज्यान गुमाएको जिल्ला रौतहट भएकाले सहयोगको आवश्यकता त्यहाँ रहेको भन्ने कुराको यकिन भए अनुरुप रौतहटको चन्द्रनिगाहापुरबाट लगभग १५ कि.मि टाढा रहेको लक्ष्मीपुर गा.वि.स. को विपन्न मुसहर वस्तीलाई हामीले सहयोगका लागि छनौट गर्‍यौं। यता सिरक बिक्री तथा सिरक बनाउने काम चलिरहेको थियो। विभिन्न  ठाउँबाट सहयोग जुट्ने क्रम जारी नै थियो। सिरक संकलनका केही क्षणहरू निकै उत्साहजनक पनि थिए। रेडियोबाट सुनेर अभियानका लागि सिरक प्रदान गर्न अध्यक्षको नेतृत्वमा लागुपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण आमा समूहका सोह्र जना आमा/दिदीहरूको टोलीलाई रेडियो अन्नपूर्णमा भेटेर सहयोग रकम ग्रहण गर्दा निकै आनन्दवोध भैरहेको थियो भने आफ्नो खाजा खाने पैसा जोगाएर सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले नौसय पाँच रुपैयाँ सिरकको लागि सहयोग भन्दै पंक्तिकारको हातमा हालिदिँदा यी आँखाका कोशहरू भिजेका थिए र गौरव लागिरहेको थियो यी र यस्तै अन्य सहयोगी चोखा मनहरूप्रति।

काम राम्रो हुनुपर्छ, सहयोग गर्ने हातहरूको कुनै कमी हुँदोरहेनछ। सबैको सहयोगबाट लगभग १० दिनको बीचमा १५० थान सिरक संकलन गर्न सफल भएका थियौं हामी। सिरक बाँड्नका लागि पौष २८ गते रोटर्‍याक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष अनिल खड्काको नेतृत्वमा आदर्श समाजका पत्रकार नवीन सिग्देल, हाम्रो कलमका दुर्गा पनेरु, ला.प.से.नि आमा समूहका अध्यक्ष शान्ता गुरुङ, कार्यक्रमका परिकल्पनाकार तथा संयोजक निर्देशक चुल्याजू, क्लबका निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, सचिव राजु पौडेल, सदस्यहरू सीमा थापा, श्रुती कोइराला, कृष्ण तिमिल्सिनालगायतको एक टोली बसको छतमा केही र केही सिरकहरू बसभित्रै बाँधेर रौतहटतर्फ प्रस्थान गर्‍यौं। त्यस दिनको यात्रा बेलुका चन्द्रनिगाहापुरमा पुगेर टुँङ्गियो। स्थानीय संयोजनका लागि जिम्मा लिनुभएको चपुरमै रहेको नुनथर एफएफका स्टेसन म्यानेजर मित्र फणि महतको आत्मीय आतिथ्यतामा त्यस दिनको थकाई मेट्दै भोलिको कार्यक्रमको योजना बनाई राती अवेर चपुर पुग्नुभएका डिष्ट्रिक्ट रोटरी चियर पर्सन रो. किरणलाल श्रेष्ठ, रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रो. केशवप्रसाद आचार्य, पूर्व अध्यक्ष कृष्णप्रसाद घिमिरे, सचिव हेमराज बराल तथा पत्रकार एवं रोटेरीयन दिपेन्द्र श्रेष्ठलाई स्वागत गर्दै भोलिको अन्तिम गृहकार्य सम्पन्न गरियो।

लगभग एक बजे सुत्नका लागि खाटमा पल्टिदा पनि न्रि्रा राम्ररी परेन। पोखराबाट त्यति धेरै मानिसको सहयोग संकलन गरी अत्यावश्यक एवं प्रभावित क्षेत्रका लागि भनेर संकलन गरेको सिरक कतै गलत हातमा पो पर्छ कि – कतै अत्यावश्यक मानिसहरू सहयोग पाउनबाट वञ्चित हुने र अनावश्यक परिवारको पोल्टोमा पो त्यो सिरक पर्छ कि भन्ने चिन्ताले रातभर सताइरह्यो। त्यतिका मानिसले त्यस्तो विश्वास र मायाले प्रदान गरेको त्यो सिरक सही हातमा पुर्‍याउन सकिएन भने पक्कै पनि राम्रो हुने छैन भन्ने कुरा मनमा खेलिरह्यो। भोलिपल्ट चपुर बजारबाट लक्ष्मीपुर गा.वि.स.का लागि यात्रा तय गरियो। बसको झयालबाट जब वाहिरका दृष्यहरू देखिए अनि बल्ल हिजो बेलुकाको छटपटि केही कम भयो। अर्धनग्न अवस्थामा खेलिरहेका केटाकेटी, लगभग टालटुल गरेर लाजमात्रै छोपेका वयस्कहरू, आफूलाई न्यानो पार्न घुम ओढेर आगो वरीपरी झुम्मिएका वृद्धहरू, साना पराले झुपडीहरू अनि मैलो बोरा ओढाइएका पशुहरूको दृष्यलाई पार गर्दै केही समयमा लक्ष्मीपुर गा.वि.स.को दोष्टिया भन्ने ठाउँमा रहेको एउटा स्कूलमा पुगेर हाम्रो बस रोकियो। हाम्रा अगाडि थिए एक जोर आशालाग्दा आँखा र फिस्स हाँसो लिएर उभिएका विपन्न मुसहर वस्ितका दाजुभाइ दिदीबहिनीहरू। स्नेहले भरिएका फूलका गुच्छाहरूको आतिथ्य स्वीकार गर्दै हामी एउटा सानो औपचारिक कार्यक्रममा जुट्यौं र संकलन गरिएको परिवारका मूलीका आधारमा सिरक वितरणको कार्य थालनी गर्यौँ। काँडै काँडाले ढाकिएको बोटमा सुनौलो ऐसेलु टाढैबाट स्पष्ट देखिएझैँ अभाव, गरिबी, ठण्डी र उपेक्षाका अनेकन काँडाका बीचमा पनि सिरक ग्रहण गर्दै गर्दा प्रत्येक घरमूलिका आँखामा एक प्रकारको चमक स्पष्टै देख्न सकिन्थ्यो। क्रमशः नाम बोलाउँदै उनीहरुलाई  सिरक वितरण गर्दै गयौं। सिरक पाइसकेका घरमुलीहरू आफ्ना हातका बीचमा भर्खरै पाएको सिरकलाई प्रेमपूर्वक सुम्सुम्याएर च्यापिरहेका  थिए मानौँ त्यो तिनीहरुको  जीवनकै सबैभन्दा प्रिय वस्तु हो।

यता सिरक वितरण कार्य चलिरहेको थियो भने त्यसैबेला पोखरादेखि सँगै गएका पत्रकार भने स्थानीय गाउँलेसँग भलाकुसारी गर्दै ती आवाजहरूलाई प्रत्यक्ष प्रसारण मार्फत् आम पोखरेली सिरकदाताहरुसँग जोडिरहेका थिए। भलाकुसारीकै क्रममा वस्ती घुम्दै जाँदा जस्ता दृष्यहरू देखिए, कथन हरू सुनिए, साँच्चै नै जीवनमा अपत्यारिलो लाग्ने कथा जस्ता यथार्थहरू थिए। लगभग ५/६ फिटको घरमा ५ जनाको परिवार बडा मुस्िकलले निर्वाह गरिरहेको परिवारकी मूली स्थानीय राजमती देवी माझीलाई जब सोधियो ‘जाडोका लागि घरमा पहिले सिरक किन्नुभएको थिएन – स्थानीय लवजमा उनले दिएको उत्तर थियो ‘खाइलाते पुगेसे हैतेने, सिरक कैसे खरिदते -’ जीवनकै उत्तरार्द्धमा बाँचिरहेकी राजमतीले पहिलोपटक आफ्नो घरमा सिरक भित्रिएको कुरा जब बताइन्, त्यस क्षणमा मैले अनुभूत गरेको भाव व्यक्त गर्न त मसँग शब्द नै छैन। हरिहरपुरका रामविश्वास पाँच दिनकी सुत्केरी श्रीमती घरमा छोडेर सिरक लिन आएका थिए र सिरक पाएपछि हर्षले भावविभोर भएका थिए कि अब उनकी सुत्केरी श्रीमतीले पनि जीवनमा पहिलोपटक सिरक ओढ्ने भइन्। सिरक हातमा च्यापेका घरमूलीहरू र उनका वरीपरी झुम्मिदै सिरकलाई स्र्पर्श गरिरहेका तिनका सन्तती अनि जहानको अनुहारमा छाएको खुसी देख्दा वातावरण नै यस्तो उत्सवमय प्रतीत हुन्थ्यो कि मानौँ त्यहाँ सिरक होइन समुन्द्र मन्थन पश्चात् प्राप्त जीवनदायी अमृत वितरण भैरहेछ। यो सिरक उनीहरूका लागि सिरक मात्रै थिएन, यो र अबका कैयौं वर्षसम्म जीवन बचाउन तराईको जाडोसँग पौठेजोरी खेल्न दुष्प्रयास गर्ने एउटा बलियो अस्त्र पनि थियो।

राजनैतिक, सामाजिक, आर्थिक रूपले  पिछडिएका र उपेक्षित जीवन बिताइरहेका मधेशका यी परिवारको मुहारमा रोटर्‍याक्ट क्लब मार्फत् थोरै भएपनि मुस्कान थप्न पाएकोमा गौरवले मुटु ढक्क फुलिरहेको थियो अनि हृदयले सलाम गरिरहेको थियो ती सहयोगी मनहरूलाई जसले यी सिरकहरू हामीलाई सहयोग स्वरुप उपलब्ध गराएर यहाँसम्म ल्याउने वातावरण बनाइदिनुभयो। तराईको कष्टकर जनजीवनलाई पत्रकारिताको माध्यमबाट आम मानसमा पुर्‍याएर सहयोग गर्नका लागि अभ्रि्रेरित गर्नुहुने तथा सहयोग संकलन तथा रिपोर्र्टि·मा सहयोग गर्नुहुने सम्पूर्ण फिल्यान्थ्रोपिक जर्नालिस्ट (परोपकारी पत्रकार) हरू मुसहर वस्तीका ती सुन्दर मुस्कानको लागि धन्यवादको पात्र हुनुहुन्छ। सहयोग जुटाउन अहोरात्र खटिनुहुने सम्पूर्ण रोटरीयन रोटर्‍याक्टरहरूलाई धन्यवाद अनि लाख धन्यवाद पावर अल्टरनेटिभ पोखरा र ती सम्पूर्ण सिरकदाता तथा सहयोगी महानुभावहरूलाई जसको सहयोग विना यो कार्यक्रमको सफलता सम्भव थिएन।

अन्त्यमा उनै देवकोटाका दुर्इ लाइन –

खोज्छन् सबै सुख भनी

सुख त्यो कहाँ छ ?

आफू मिर्टाई अरुलाई

दिनु जहाँ छ।

(लेखक रोटर्‍याक्ट क्लब अफ पोखरा मिडटाउनका आगामी वर्ष २०१३/१४ का अध्यक्ष हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width