इसाईकरणको ऊर्वर भूमि बन्दै नेपाल

विष्णुप्रसाद श्रेष्ठ
कार्तिक २६, २०७६

नेपालमा अधिकाश अर्थात् ८०% भन्दा बढी जनसंख्या हिन्दु धर्मावलम्बी छन्। यसो भएको हुनाले यहाँका जनता शान्ति प्रेमी र सहिष्णु छन्। हाम्रा छिमेकी देशहरुमा धर्मका नाममा विभिन्न हत्या र हिंसाका घटना हुँदा नेपालमा भने त्यसो हुन पाएको छैन। यसको मूल कारण भनेको हामीले अपनाएको धर्म नै हो।

धर्म शब्दको अर्थ खोज्दै जाने हो भने विभिन्न परिभाषा पाइन्छ। “धारयतीति धर्म” भन्ने वाक्यले जसले धारण गर्छ त्यो धर्म हो भन्ने बुझिन्छ। धर्मले व्यक्ति समाज र राष्ट्रलाई चलायमान बनाउँछ। धर्मले समाजमा शान्ति सुव्यवस्था कायम राख्दै यस लोकमा प्रगतिको बाटोमा लैजान्छ र आत्मोन्नतिको मार्ग दर्शन गर्छ। त्यसरी नै भनिएको छ कि “धर्म एव हतोहन्ति, धर्मो रक्षति रक्षित” अर्थात जसले धर्मको नाश गर्छ त्यसको नाश धर्मले गर्छ भने धर्मको रक्षा गरेमा धर्मले उसको रक्षा गर्छ।

धर्म भनेको जीवन पद्धति हो। मानिसका जन्म देखि मृत्यु सम्मका संस्कार तथा मान्यताहरु धर्मका आधारमा कायम रहेका हुन्छन्। त्यसकारण धर्म अनुसार संस्कार र रीति रिवाज मात्र नभई जीवन पद्धति पनि फरक फरक हुन्छ। “वेदो अखिलो धर्म मूलम्” भनिएको छ। यसको अर्थ– धर्मको मूल वेद हो भन्ने हुन्छ। त्यसकारण वेदबाट निदेर्शित कर्म गर्नु धर्म हो भने वेद विरुद्ध कर्म गर्नु अधर्म हो। वेदलाई अपौरुषेय भनिन्छ। अर्थात् वेद कुनै व्यक्तिको देन होइन। वेदको उत्पत्ति रामायणकाल भन्दा धेरै अघि भएको थियो र। त्यसकारण यस भूमण्डलको प्रथम धर्म सनातन धर्म अर्थात हिन्दु धर्म नै हो भन्न सकिन्छ। शास्त्रहरुमा नेपाललाई सनातन धर्मको उत्पत्ति, तपोभूमि भनेर समेत उल्लेख गरिएको छ। त्यसकारण नेपालीहरुको जीवन पद्धति, रहन सहन, संस्कार र दर्शन मूलतः सनातन धर्म वा हिन्दु धर्ममा आधारित भएको पाइन्छ। संसारको जुनसुकै भागमा पनि हिन्दु समुदायको वसोबास छ भने त्यहाँ शान्ति, प्रेम, सदभावना, सहिष्णुता, ईश्वरको उपासना, आपसी सहयोग जस्ता गुणहरु पाइन्छ। हिन्दु समाजमा घृणा, द्वेष, हत्या, बलात्कार, धर्मान्तरण जस्ता कार्य हुँदैनन्।

नेपालमा अधिकाश अर्थात् ८०% भन्दा बढी जनसंख्या हिन्दु धर्मावलम्बी छन्। यसो भएको हुनाले यहाँका जनता शान्ति प्रेमी र सहिष्णु छन्। हाम्रा छिमेकी देशहरुमा धर्मका नाममा विभिन्न हत्या र हिंसाका घटना हुँदा नेपालमा भने त्यसो हुन पाएको छैन। यसको मूल कारण भनेको हामीले अपनाएको धर्म नै हो। यदि कुनै समाजलाई खलबलाउनु छ भने अन्य धर्मावलम्बीले त्यहाँको धर्म र संस्कृति माथि प्राहर गर्ने गर्दछन्। अहिले विश्वका विभिन्न देशमा इसाईकरणको अभियान डरलाग्दो रुपमा चलिरहेको छ। खासगरी पश्चिमेली राष्ट्रहरुले इसाई धर्मको अनुशरण गरेको हुनाले धनको प्रभाव देखाएर वा कुटनैतिक प्रयासबाट होस मानिसहरुलाई इसाई धर्मममा धर्मान्तरण गर्ने र त्यस देशलाई अप्रत्यक्ष रुपमा आनो प्रभाव क्षेत्रमा पार्ने प्रयास भइरहेका छन्। यस कार्यमा युरोपेली मुलुकहरु बढी मात्रामा सकृय रहदै आएको पाइन्छ।

नेपाल विश्वका अति गरीव राष्ट्रहरुमध्ये पर्दछ। यहाँका करीव २५% जनता निरपेक्ष गरीवी रेखा मुनिको स्थितिमा जीवनयापन गर्न बाध्य हुनु परेको छ। विश्वका तिनै गरीव मुलुकहरुमा इसाईकरण को धन्दा बढी चलिरहेको छ। प्राकृतिक प्रकोप विपत्तिलाई धर्म परिर्वतन गराउने अवसरको रुपमा प्रयोग गर्दै आएका छन्। यस्ता काममा इसाई धर्मसँग सम्बन्धित एनजीओहरु सकृय भएको पाइन्छ। आपतविपतको बेला सहायता बाँड्ने नाममा धर्म प्रचार गर्ने र धार्मिक रुपान्तरण गर्ने गरेको पाइन्छ। मल्लकालमा गोप्य रुपमा नेपाल प्रवेस गरेका इसाई प्रचारकलाई पृथ्वीनारायण शाहले देश निकाला गरी साहसिक कार्य गरेका थिए। तर देशमा पटक पटक राजनैतिक परिवर्तन भई संविधान र ऐन कानून समेत परिर्वतन हुन्छ। धर्मान्तरण को विषयलाई खुकुलो बनाइसकेको हुँदा २०४६ साल पछि नेपाल इसकाईकरणको ऊर्वर भूमि हुन गएको छ। विश्वका गरीव राष्ट्रहरु जस्तै रुवाण्डा, बुरुण्डी, कंगो, भियतनाम, इथीयोपिया, सुडान, केन्या चाड आइभोरी क्रोष्ट, जस्ता देशहरुमा इसाईकरणले तीव्र गति लिएझैँ नेपालमा प्रति वर्ष १०.१२ प्रतिशतका दरले क्रिश्चियन धर्ममा रुपान्तरण भइरहेको पाइन्छ। हाल हाम्रो देशमा करीव १२ हजार चर्च रहेको र ३० लाख भन्दा बढी क्रिश्चीयन धर्मावलम्बी रहेको अनुमान गरिएको छ। नेपालका इसाई संगठनहरुको दावी अनुसार इसाई धर्मावलम्वीहरुको संख्या द्रूत गतिमा बढाउने उद्देश्यले काम भइरहेको बताइएको छ। त्यति मात्र नभई राज्यका संयन्त्रहरु जस्तै संसद, स्थानीय निकाय, प्रशासनिक निकायहरुमा पनि सो धर्मावलम्बीहरुको उपस्थिति कायम गरी नीति निमार्णमा पनि भूमिका निर्वाह गर्ने लक्ष्य राखेको पाइन्छ।

संविधानमा नै नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएपछि देशमा धर्मान्तरणको प्र्रकृयाले तीव्रता पाएको हो ८०% भन्दा वढी जनसंख्या हिन्दु भएको यस देशमा धर्म निरपेक्षता को प्रश्न कसरी आयो र रातारात देशलाई धर्म निरपेक्ष भनेर कसरी घोषणा गरियो भन्ने कुरा शंकाको घेरा भित्र छँदै छ। यस भित्र विदेशी संयन्त्र को घुसपैठदेखि लिएर विदेशी पैसाका मोटो रकमको चलखेल भएको खवर तथा लेखहरु यत्रतत्र नछापिएका पनि होइनन्। नेपाल हिन्दु राज्य हुँदा देशका सबै जनताले आ–आफ्नो धार्मिक आस्था अनुसार उपासना गर्न र रीति रिवाज पालना गर्न कुनै समस्या थिएन विश्वमा एकमात्र हिन्दु राज्य भनेर नेपाललाई चिनाइन्थ्यो। त्यस वेला अहिलेको जस्तो खुल्लमखुल्ला धर्मान्तरण गर्नमा प्रतिवन्ध थियो।

धर्म मान्ने कुरा व्याक्तिगत स्वतन्त्रताको प्रश्न भएतापनि लोभलालचा डर त्रास देखाएर धर्मान्तरण गर्नु कानूनी रुपमा दण्डनीय मात्र नभएर अमानवीय कार्य पनि हो। अहिले हाम्रो देशमा मात्र नभएर गरीव राष्ट्रहरुमा धर्मान्तारणको जुन प्रकृया चलिरहेका छन् ती मूलत लोभ लालचा कै भरमा भएका देखिन्छन्। यतिमात्र नभई “प्रभु क्राइष्ट” को प्रार्थना गरेमा रोग संचो हुने मात्र नभई व्यक्तिगत समस्या पनि समाधान हुने झूठो प्रचार गरिएको छ।

हाल अन्य देशमा झैँ नेपालमा पनि प्रोटेष्टेन्ट र क्याथोलिक चर्च रहेकोमा चर्च अफ क्राइष्ट, सेभेन्थ डे, याहोवा साक्षी, ओन्ली जिसस र मुन सम्प्रदाय समेत सकृय रहेको देखिन्छ। मुन सम्प्रदाय अन्तरगतका सच्चाई नामको कार्यक्रमले मानिसहरुलाई झुक्याउने र विस्तारै इसाई धर्ममा रुपान्तरण गर्ने काम व्यापक रुपमा भइरहेको जन गुनासो सुनिन्छ। त्यस सम्प्रदायमा लागि प्रार्थना गरेमा व्यवसायमा प्रगति रोग निको हुने विदेशमा जान भिसा लाग्ने, मुद्दा मामिलामा विजय हुने जस्ता कपोलकल्पित प्रचार गएिको पनि सुनिन्छ। यसरी हुनै नसक्ने कुराको अफवाह फैलाएर गाउँ गाउँ र टोल टोलमा धर्मान्तरण गरी हिँड्दा समेत न त सरकारलाई चासो छ न त जन प्रतिनिधिलाई नै। बरु उल्टै सरकारमा पदासीन व्यक्ति र जनप्रतिनिधि नै प्रमुख अतिथिको आसनमा विराजमान हुन पुगेको तथ्य देखिन्छ।

हालै युनिभर्सल पिस फेडरेसन नामक क्रिश्चियन संस्थाको आयोजनामा एसिया प्यासिफिक समिट २०१८ को आयोजना काठमाण्डौमा सम्पन्न भएको थियो। उक्त समिटमा नेपालबाट प्रधानमंत्रीको तहबाट नै प्रतिनिधित्व भयो भने नेतृत्वको प्रथम पंक्तिमा पर्ने व्यक्तित्वहरुको पनि सकृय सहभागिता रहेको पाइयो। उक्त समितिमा सरकारी संयन्त्रको पनि व्यापक रुपमा प्रयोग गरियो।

युनिभर्सल पिस फेडरेसन विवादित संस्थाको नाममा परिचित छ। उक्त संस्थाका संस्थापक मुनलाई अमेरिका, वेलायत, जापान, उत्तर कोरिया जस्ता देशहरुले दण्डित गरेको र हाल उनकै पत्नी हाकजा हान्मुनले क्राइष्टकी छोरी भनेर स्वयं घोषणा गरी संसारभर क्राइष्टको साम्राज्य खडा गर्ने र यस सिलसिलामा नेपालमा पनि प्रभु को राज्य खडा गर्ने विचारले प्रभावित भई कार्यक्रम संचालन गरेको देखिन्छ। क्राइष्टकी छोरी भनेर अनर्गल प्रचार गरिएकी र क्रिश्चियन धर्मका मूलधार क्याथोलीक र प्रोटेष्टोर सम्प्रदायबाट तिरस्कृत गरिएकी मुनबाट आशिर्वाद लिन नेपालमा साम्यवादी विचार राख्ने नेताहरु समेत अघि सरेको देख्दा नेपालमा बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुप्रति भित्रभित्रै षड्यन्त्र त भइरहेको छ कि भनी आशंका गर्नु अस्वभाविक होइन।

नेपालको आर्थिक विपन्नता र अशिक्षालाई मूल आधार बनाएर इसाई समुदायले यस देशलाइ धर्मान्तारणको ऊर्वर भूमिका रुपमा एकातिर प्र्रयोग गरिरहेका छन् भने अकोर्तिर समाजमा रहेको आपसी प्रेम सद्भावना र सहकार्यमा पनि खलल पार्ने षडयन्त्र गरेका छन्। समाजमा इसाई कारणले गर्दा विवाह व्रतवन्ध काजक्रिया अन्तिम संस्कारहरुमा विवाद तथा झैझगडाको परिस्थिति उत्पन्न हुन थालेको छ। जतिजति धर्मान्तरण को गति बढ्दै जान्छ त्यति त्यति नै यस्ता समस्याहरु बढ्दै जाने खतरा बढ्दछ र कालान्तरमा समाजमा अशान्ति द्वेष, कलह बढ्न गई द्वन्दको रुप लिन सक्छ। अफ्रिकी मुलुकहरु रुवाण्डा, यमन, हाइटी जस्ता देशहरुमा धार्मिक सम्प्रदायकै युद्धका कारणले लाखौंको ज्यान गएको घटना धेरै भएको छैन। ती देशहरुमा पनि इसाईकरण नै युद्धको मुख्य कारण भएको मानिन्छ। कुनै पनि शान्ति प्रिय देशलाई खलल पुर्याएर द्वन्द्वको स्थितिमा पुर्याउने र सहायताको नाममा इसाई धर्मको प्रचार गर्ने नीति नेपालमा पनि विजारोपरण भएको देखिन्छ। देश हाक्ने पार्टी नेता तथा उच्च पदस्थ पदाधिकारीहरुले यस्ता कुराहरुमा विचार नपुर्याई व्यक्तिगत स्वार्थमा लागि नेपाली नेपाली बीच द्वन्द्व बढ्ने र त्यसले गर्दा नेपालको अस्तित्व नै धरापमा पर्ने भएकाले यस तर्फ वेलैमा सवैको ध्यान जानु जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width