आखिर, नत्थी लगाएर हिँड्दै छौ हामी

आदर्श समाज सम्वाददाता
फागुन १४, २०६९

एकचोटी प्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भनेछन्-’प्रतिपक्षलाई नत्थी लाएर चुनावमा ल्याउँछु। त्यति बेलादेखि यो ‘नत्थी’ शब्द बढी प्रचलित भयो। नत्थीको शाब्दीक अर्थ के रहेछ भनेर मैले नेपाली वृहत् शब्दकोश यसो पल्टाएँ। नत्थीको अर्थ गोरु राँगो आदिलाई नाकमा लगाइने मुन्द्रोसहितको डोरी, नत्थ अथवा कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय वा कुरा हँुदोरहेछ।

हुन त नत्थीको अर्थ स्त्री जातिले नाकमा लगाउने मुन्द्री जस्तो गहना पनि हुन्छ। प्रधानमन्त्री बाबुरामले प्रतिपक्षलाई गोरु राँगो अथवा के सम्झे मलाई थाहा छैन। तर जब एनेकपा माओवादीको हेटौंडा महाधिवेशनमा प्रचण्डले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावी सरकार बनाउने घोषणा गरे नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसवादी दल लुरुलुरु नत्थी लगाएको राँगो गोरुझैं त्यतैतिर हिँड्न थाले। बल्ल मैले नत्थीको अर्थ बुझेँ। साँच्चै प्रधानमन्त्री बाबुराम भट्टराईले नत्थी लाएर चुनावमा ल्याउनु भनेको ठीक रहेछजस्तो लाग्यो।

पुराना राजनीतिक दलहरू संविधानसभाको निर्वाचनपश्चात् ओरालो लाग्दैछन्। नेपाली काङ्ग्रेस र नेकपा एमालेले जति छाती पिटेर भाषण छाँटे पनि गणतन्त्र,

संविधानसभा सङ्घीयता, धर्म निरपेक्षता र समावेशी मुद्दा यिनको दिमागी उपज होइन। गणतन्त्रको मुद्दामा नेपाली काङ्ग्रेस विपक्षमा र नेकपा एमाले ढुलमुले चरित्रमा थियो। संवैधानिक राजतन्त्रको वकालत गरेर नेपाली काङ्ग्रेसले धेरै समय खर्च गरिरहेको थियो। आखिर तत्कालीन एनेकपा माओवादीले गणतन्त्रको नत्थी लगाएर यी दलहरूलाई ल्यायो।

अकोर्तर्फ संविधानसभाको नत्थी लगाएर नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई उसले डोर्‍याएको थियो। यसरी हेर्दा विगतदेखि एनेकपा माओवादीले नेपाली राजनीतिक वृत्तमा नयाँ विचारको थालनी गर्‍यो। त्यही नयाँ विचारको नत्थी लगाएर अन्य दललाई गणतन्त्र, संविधानसभा र सङ्घीयतामा ल्याउन बाध्य पार्‍यो। यसरी हेर्दा एनेकपा माओवादीले जुन जुन विचार ल्यायो त्यसैको वरिपरि नेपाली राजनीति हिँडेको छ। अन्य पुराना दलले एनेकपा माओवादीलाई मूल मार्गमा ल्याएँ भन्नु गलत सावित छ। एनेकपा माओवादीले समाजका दबिएका वर्गलाई चेतनाको स्तर बढाएको पक्का हो तर यो चेतनाको स्तरलाई लक्ष्यमा पुर्‍याउन सकेन।

भनिन्छ, माओवादी जनयुद्धले नेपाललाई वास्तविक लोकतान्त्रिक अभ्यासतिर अग्रसर तुल्यायो। व्यापक सामाजिक, आर्थिक र राजनीतिक वा असमानता र विभेदको जुन मुद्दा माओवादी जनयुद्धले उठायो त्यसलाई उसैले छोड्दै गयो। त्यसको परिणामस्वरुप धेरै माओवादी कार्यकर्ता उदासीन छन्। यो एउटा प्रस· हो। नेपाली राजनीतिक वृत्तमा एनेकपा माओवादीले जुन विषय वस्तु प्रस्तुत गर्छ अन्य राजनीतिक दलहरू यसैको वरिपरि घुम्ने, वहश गर्ने गर्छन्। यस्तो लाग्छ एनेकपा माओवादी अन्य पुराना राजनीतिक दलहरूलाई होमवर्क दिन्छ अनि एमाले र नेपाली काङ्ग्रेस आफ्नो दलभित्र होमवर्क गर्छन्।

यति बेला एनेकपा माओवादीले होमवर्क दिएको छ प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने होमवर्क। यो होमवर्क भन्नुस् वा नत्थी तपार्इं हामी विचार गर्न सक्छौं। प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन हुन्छ वा हँुदैन भन्नेबारे दलभित्र व्यापक वहश भएको देखिन्छ। पुराना राजनीतिक दलहरूमध्ये नेपाली काङ्ग्रेस र नेकपा एमालेभित्र करिब असी प्रतिशत केन्द्रीय सदस्य प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन हुँदैन भन्ने पक्षमा छन्।

तर विडम्बना दलको एउटा निर्णय छ, दलका तीन नेताहरू नेपाली काङ्ग्रेसका सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने सवालमा कम्मर कसेर लागेका छन्। यता  नेकपा एमालेका माउ नेता झलनाथ खनाल र केपी ओली माओवादीले दिएको होमवर्क गर्दै लुरुलुरु हिँड्दैछन्। उदेक लाग्दो विषय त के छ भने यी माउ नेताहरूलाई एनेकपा माओवादीले नत्थी लगाएर हिँडाइरहेछ।

नत्थी वा डोरी प्रचण्ड र बाबुरामको हातमा छ तर यी नेताहरू एनेकपा माओवादीको विरोध गर्दैछन्। गहिरिएर बुझ्ने हो भने यो विरोधको के अर्थ रहन्छ। जसले डोरी लगाएर उसैलाई तानिरहेछ डोरीमा झुण्डिएर लुरुलुरु हिँड्नेले जति विरोध गरे पनि आखिर झलनाथ, केपी ओली, रामचन्द्र पौडेल र सुशील कोइरालाको नाकमा नत्थी लागेकै छ। हिजो संविधानसभाको नत्थी लगाएर यी दलहरूलाई एनेकपा माओवादीले हिँडायो। त्यसपछि गणतन्त्रको नत्थी लगाएको छ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेभित्र चरम विवाद छ। यो देखावटी हो वा वास्तविक हो बुझ्न सकिएको छैन। तर एउटा कुरा के प्रष्ट छ भने पुराना दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनेमा भित्रभित्रै सहमति भएको रहेछ। यसबारे प्रधानन्यायाधीशलाई पनि अवगत गराइएको थियो। प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने कुरा लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ। बाबुराम भट्टराईको बहिर्गमन नामको राजनीतिक दलहरूले निर्दलीय संस्कार अबलम्बन गरेर जगत हसाउँदैछन्।

अब यिनले लोकतन्त्रको रटान लाउन मिल्न कि मिल्दैन यिनै जानून्। लोकतन्त्र भनेको बहुमत व्यवस्थापिका संसद्ले बनाएको प्रधानमन्त्रीले अथवा काम चलाउ प्रधानमन्त्रीले चुनाव गराउने सिष्टम नै लोकतान्त्रिक मूल्य र मान्यता हो। हिजो यसबारे कुनै सङ्घसंस्था र राजनीतिक दलले मुख खोलेनन् आज यसबारे राजनीतिक दल मौन बसेका छन्। वास्तवमा लोकतान्त्रिक मूल्य र मान्यता जोगाउने हो भने यही काम चलाउ सरकारमा अन्य राजनीतिक दल सामेल भएर चुनाव गराउनु उत्तम विकल्प हुन्छ।

होइन नत्थी लाएर हिँड्ने बानी परेका यी राजनीतिक दलले यसबारे सोच्दैनन् भने यिनलाई विदेशीले नत्थी लगाएकै हुन्। विदेशीले नत्थी लगाएर पार्टीलाउने, देश चलाउने दलको पिछलग्गु भएर हिँड्ने तपाईं हामीलाई यिनले नत्थी लगाएर हिँडाएका छन्। हामी पनि नत्थी लगाएको जनावर बनेका छौं।

Related News

सम्बन्धित समाचार

hero news full width