अहो वातावरण ! जेठ मासमा पनि जाडो !

कल्याण पन्त
जेठ १५, २०७६

पोखरामा दिउँसो क्रमशः केही गर्मी चढ्दो अवस्थामा भए पनि अपरान्ह ढल्किदाँ नढल्किदै वर्षा भइरहेको छ। रातको समयमा सिरक छोड्न सकिने अवस्था छैन।

जेठ – असार प्रचण्ड गर्मी महिना हुन् भने पुस – माघ लगलग काम्ने जाडो महिना हुन्। तर यसो भन्दैमा पुस – माघ जाडो भए पनि जेठ – असार त्यति बिघ्न गर्मी नहुन सक्छ। अहिले पोखरामा ठ्याक्कै यही स्थिति छ। सामान्य कमेज – जामा लगाएर जाडो महिनामा बाहिर हिंडडुल गर्न मुस्किल हुन्छ। गर्मीमा भने पातालो कपडा लगाएर हिंडडुल गर्न सजिलो हुन्छ। तर अहिले जेठको आधाआधी भए पनि न्याना कपडा लगाएको कसैलाई देख्नु भयो भने पोखरामा आश्चर्य मान्नुपर्ने छैन। अहिले गर्मी मौसम भए पनि पोखरामा बिहान बेलुकीको वातावरणीय अवस्था चिसो छ।

करिब बिहान ९ बजेसम्म चिसोको असर देखिइरहेको छ। पोखरामा दिउँसो क्रमशः केही गर्मी चढ्दो अवस्थामा भए पनि अपरान्ह ढल्किदाँ नढल्किदै वर्षा भइरहेको छ। रातको समयमा सिरक छोड्न सकिने अवस्था छैन। गर्मी मौसम भए पनि रातमा सिरक ओढ्नुपर्छ भन्दा ताजूब लाग्न सक्छ। तर वास्तविकता यही हो, पोखरा केही ठण्डी छ। तसर्थ पोखरा भ्रमणमा निस्कनेहरुले बिहान बेलुकीको लागि पाताला ज्याकेट वा सुइटरको जोहो गर्नु राम्रो हुन्छ।

पोखराको वातावरणीय अवस्था यो वर्ष अघिल्ला वर्षमा भन्दा पृथक छ। गत साल हाफ पाइन्ट र टिसर्ट लगाएर हिंडनेहरु बग्रेल्ती भेटिन्थें भने यो वर्ष त्यसो हुन सकिरहेको छैन। बिहान अधिकांश न्यानो लुगामै यत्रतत्र देख्न सकिन्छ। प्रातः स्नान गर्न समेत गाह्रो छ। जेठमासा पनि जाडो पलाएको छ। गर्मीको सुरुआत दक्षिण पूर्वी एशियामा लगभग एकै समयमा सुरु हुन्छ र खेतीपाती लगाउने समय पनि केही हेरफेर मात्र हुन्छ, दिनको हिसाबले या महिनाको। तर विश्व परिवेशमा हेर्ने हो भने जहाँतहीँ यही अवस्था छैन। पृथ्वी हरेक भागमा एकै समयमा जाडो या गर्मी मौसम प्रारम्भ हुँदैन। यतिखेर अस्ट्रेलियामा भने जाडो समय सुरु भइसकेको छ। यस अवधिमा मानिसहरुको कोठामै वार्तानुकूलित वातावरणमा बिताउने गर्दछन्। नेपाल, भारतमा लगभग एउटै खालको पर्यावरणीय क्षेत्रमा पर्ने हुँदा केही स्थानमा यही यथार्थता छ। तर कलकत्ता, रावलपिण्डी, राजस्थान जस्ता स्थानमा भने अत्यधिक गर्मी छ। बंगालको खाडी मनसुन चलेपछि नेपालमा मनसुन भित्रने गर्दछ। अहिले नेपालको वातावरणीय स्वरुप केही परिवर्तन देखिनु बंगालबाटै वहने मनसुनको परिणाम हो।

गत वर्षको जत्तिको बिहान बेलुकीको तापक्रममा अहिलेको परिस्थितिमा केही फरक छ। अझ पोखराको हकमा भन्ने हो भने नेपालको अन्य शहरभन्दा यो छुट्टै खालको छ। पोखराको बाह्य वातावरणीय अवस्था सुन्दर मात्र होइन, हावापानी पनि उत्तिकै स्वच्छ छ। वातावरणविद्हरुले समेत यहाँको हावापानी मुक्तकण्ठले प्रशंसा गरेका छन्। पोखराको तापक्रम यतिखेर बढ्दो क्रममा छ।

पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, मौसम तथा जलवायु विज्ञान विभाग, पोखराबाट प्राप्त जानकारी अनुसार जेठ १ गते अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.७ डिग्री सेल्सियस थियो भने १३ गते सोमबार अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रेकर्ड रहेको थियो। यस अनुसार जेठ १ गतेको न्यूनतम तापक्रम १५.७ डिग्री सेल्सियस देखिएको हुँदा सबैभन्दा जाडो रात देखिन्छ।

पोखराको समग्र हावापानी तथा मौसमको अवस्था हेर्ने हो भने वैशाख, जेठ, असार, साउन र भदौ महिनामा औसत ३० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम स्थिर रहने देखिएको छ। असोजबाट तापक्रम घट्दै गएर पुस – माघसम्म जाडोको अनुभूति हुन्छ भने फागुनबाट भदौसम्मको अवधिमा तापक्रम बढ्दै गएर गर्मीको अनुभूति हुन्छ। असार, साउन र भदौसम्मको अवधिमा न्यूनतम औसत तापक्रम २० डिग्री सेल्सियसमा रहने गर्दछ।

नेपालभरका विभिन्न जलवायु मापन केन्द्रमा जेठ १३ गते रेकर्ड गरिएका तापक्रम अनुसार सबैभन्दा गर्मी धनगढी र नेपालगञ्जमा रहेको छ। धनगढीको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस रहेको छ भने नेपालगञ्जको ४२.२ डिग्री सेल्सियस रहेको छ। सामान्यतया दिउँसो हिँडडुल गर्न पनि तातोले गर्दा मुस्किल छ। घरभित्र पनि बिना पंखा बस्नु गाह्रो छ। त्यसरी नै त्यस स्थानका न्यूनतम तापक्रम भने क्रमशः २२ र २०.२ डिग्री सेल्सियस रहेको छ।

मूलतः हिमाली क्षेत्रका भाग चिसो वातावरण भएका क्षेत्र हुन् भने तराई क्षेत्र गर्मी क्षेत्र हुन्। यस अनुसार तराई अन्तर्गत पर्ने स्थानहरु दिपायल (४०.४ डिग्री सेल्सियस), वीरेन्दनगर (३८.७), दाङ (३९.२), सिमरा (३८.६) रेकर्ड भएको छ। काठमाडौं (३२.७), ओखलढुंगा (२७.७), धनकुटा (२९.२) र ताप्लेजुङ (२५.८) पहाडी क्षेत्र अन्तर्गतका यी स्थानहरु अझै पनि बिहानबेलुकी सिरक ओढ्नुपर्ने स्थिति छ। जुम्लामा भने अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ। यो स्थान भने जाडो क्षेत्रमा पर्दछ।

पोखरामा बिहानदेखि छ्याङ्ग भएको आकाश दिउँसो मध्यान्हसम्म वर्षाको कुनै लक्षण नदेखिए पनि ३ बजेपछि भने पानी पर्ने निश्चित दैनिकी बन्न पुगेको छ। यस वर्ष यहाँ अत्यधिक वर्षा हुन थालेको छ। अहिले एक महिना यता वर्षा लगातार जस्तै भइरहेको छ। तर गत वर्ष र यस वर्षको वर्षाको भने तुलना फरक ढंगबाट भइरहेको एक अध्ययनले देखाएको छ। यस वर्ष मौसमी वर्षा सुरु नहुँदै पानी परिरहेको छ। पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका अनुसार गत १५ दिनको वातावरणीय अवस्थालाई विचार गर्ने हो भने जेठ ४, ५ र ६ गते बाहेक अन्य दिन अपरान्ह ३ बजेपछि वर्षा भएको देखिएको छ। सो कार्यालयले एयरपोर्टबाट मौसमको मापन गर्ने गरेको छ।

पोखरामा कुनै बेला एयरपोर्टमा वर्षा हुँदै गर्दा बगर, लामाचौरजस्ता क्षेत्रमा वर्षा नभएको पनि तथ्यांक छ। जेठ १ गतेदेखिको तथ्याँकलाई यसपटक जेठ ८ गते ६३.६ मिलिमिटर पोखरामा वर्षा भएको छ। जेठ १३ गते सोमबार पनि ५८.५ वर्षा मापन गरिएको छ। नेपालको चेरापुञ्जी मानिने पोखरामा साउन महिना धेरै पानी पर्दछ। यस स्थानको भूमि बढी बलौटे माटोको उपस्थिति र ओरालो जमीन भएको हुँदा वर्षा हुँदा भूमि हिलो हुँदैन। परेको पानी सबै बगेर सेती र फुस्रेखोलामा मिल्दछ। पानी जमिरहने अवस्था पोखराको भूमिमा देखिँदैन।

हाल दैनिकजसो वर्षा परे पनि गत वर्षको तुलना कम वर्षा भएको देखिएको छ किनकि अहिलेको वर्षा छोटो अवधिमा भइरहेको छ भने गत वर्ष अल्लि लामो अवधिमा भइरहेको देखिएको थियो। नेपालमा सामान्यतया मनसुनी वर्षा असार ८ गतेबाट सुरु भइ असोज ६ गते समाप्त हुने गर्दछ। तसर्थ अहिले भइरहेको वर्षा मनसुनी वर्षा अघिको मौसम भएकोले यसलाई अंग्रेजीमा प्रिमनसुन भन्ने गरिन्छ।

स्मरण गर्नुपर्ने कुरा के छ भने हालसम्मको तथ्यांक नियालेर हेर्ने हो भने २०७३ सालको जुलाई २ मा २४ घण्टाको अवधिमा १९१.४ मिलिमिटर वर्षा भएको थियो भने २०७४ मा सेप्टेम्बर ११ मा २०७ मिलिमिटर वर्षा भएको थियो। प्रायजसो जेठ – असार महिनामा प्राकृतिक प्रकोप हुने गरेको देखिन्छ। अनावृष्टि, असीनापानी, खडेरी, पहिरो, हिमताल विस्फोटन आदि अचानक जान पनि सक्छन्। तसर्थ वर्षा याममा यी कुरामा सजग रहनु आवश्यक छ।

पोखराको हावापानी अन्य नेपालका स्थान भन्दा बिलकुलै फरक भएको हुँदा यहाँको वातावरण अनुकुल स्थानीय सरकार र प्रदेश सरकारले नमूना हावापानी क्षेत्रका रुपमा लिएर पनि प्रचारप्रसार गर्नु बाञ्छनीय छ। कुनै स्थान जाडो हुन्छ, कुनै स्थान गर्मी। मूल कुरो यही भए पनि यहाँ गर्मीमा पनि बिहान – बेलुकी जाडो छ। दिगो पर्यापर्यटन विकासका लागि वातावरणविद्हरुले यसलाई गम्भीर रुपमा लिनु जरुरी छ।

समशीतोष्ण प्रकारको हावापानी रहेको पोखरामा आन्तरिक पर्यटनका साथै अन्तराष्ट्रिय वातानुकूलित सडकका लागि दायाँबायाँ वटवृक्ष लगाउने र फेवा, वेगनासका आँगनमा रोमाञ्चकारी भूमिका प्रदान गर्नु आजको आवश्यकता हो। यसैमा स्थानीय सरकार हरतवरबाट पोखराको हरियालीलाई संरक्षण र सम्बद्र्धन गरी स्वच्छ, हराभरा पोखरा नारामा मात्र सीमित नराखी एक कदम अघि बढ्नु श्रेयस्कर छ।

Related News

सम्बन्धित समाचार

hero news full width