असार राष्ट्रिय महिना हो ?

आदर्श समाज सम्वाददाता
असार १५, २०७०

असार नेपालको राष्ट्रिय महिना हो। यो महिना सि·ो राष्ट्रका लागि महत्त्वपूर्णको छ। तैपनि यसै महिनालाई केही बर्लुके पण्डितहरू सारहीनको, र्व्यर्थको वा बेकम्माको भन्ने अर्थमा प्रयोग गरिदिन्छन् र प्वाक्क भनिदिन्छन्ः- असारको अर्थ बेसार हो। यो अर्थ लगाइ शब्दहरू अनेकार्थी पनि हुन्छन् भन्ने नबुझ्ने अबुझ पण्डितहरूको हो। तपाइँ भन्नुहोला नेपालीहरूलाई विपरीतार्थक शब्दहरूको प्रयोग गर्ने बानी नै परेको छ। अन्यथा यिनीहरूले एउटा हात नभएको व्यक्तिलाई हस्तबहादुर, दुवै कान नसुन्ने बहिरालाई कर्णबीर र जन्मजात नदेख्ने प्रज्ञाचक्षुक व्यक्तिलाई नेत्रकान्त भन्दैनथे होला। कुरै कुरामा तपाइँले थप्नुहोला? एउटा पुरुषले आफ्नो नाम भवानी हो भन्यो र एउटी नारीले आफ्नो नाम विष्णु हो भनी भने उनीहरूलाई तृतीय लिङ्गी भन्ने त ? अनुहार पुरुषको र नामचाहिँ नारीको, अनि नाम पुरुषको र लि· नारीको भएपछि त्यस्ता व्यक्तिलाई तेस्रो लिङ्गी नभनेर के भन्ने त ? तपाइँका यस्ता असारका कुरामा बहस गर्ने अवसर यो होइन, वास्तवमा भन्न खोजेको त के कुरामात्र हो भने असार सारपूर्णको महिना हो। त्यसैले असार नेपालको राष्ट्रिय महिना हो।

यतिखेर तपाइँको मनमा खेलेको जिज्ञासाको कुरो केमात्र हो भने ‘असार महिना पदावली भएको असार महिनाको ‘असारु शब्दको विशेषण ‘राष्ट्रियु किन भयो। ‘कसारको कुन गुदी कुन बोक्रो भनेझैँ एक वर्षचक्रका बाह्रै महिनाको महिमा समान छ। ऋतुचक्रका आधारमा उसका भूमिकामात्र फरक फरकका हुन सक्छन्। त्यसैले महिनालाई पनि राष्ट्रिय, क्षेत्रीय, नगरीय र भवनीय भनेर वर्गीकरण गर्नु नै असारको कुरो हो। कुरो त त्यसो होइन, वास्तविकता त के हो भने असारलाई राष्ट्रिय महिनाको मान्यता दिउनुमा मूलतः दुइटा कारण छन्। प्रथमतः यो महिना ग्रीष्म ऋतुको दोस्रो महिना हो, जसले वर्षा ऋतुलाई जन्माउने र हर्काउने काम गर्छ। द्वितीयतः राष्ट्रिय बजेटलाई अनिवार्य रूपमा यथा समयमा नै समापन गर्नपर्छ भन्ने मान्यतालाई पूर्ण रूपमा पालना गर्नपर्छ भन्ने हो। किनभने ‘असारु देशको आर्थिकान्त महिना हो। कुनै आर्थिक वर्षको अन्तिम समयसम्ममा बजेट खर्च नगर्ने हो भने सो वर्षको बजेट रकम फ्रिज हुन्छ भन्ने कुरामा ध्यान दिनु हो। कृषिप्रधान देश नेपालको प्रमुख खेती धान रोप्ने महिना र पुरानो बजेट सकेर नयाँ बजेट जन्माउने राष्ट्रिय महत्त्वको महिना भएकाले असारलाई ‘राष्ट्रिय महिना भनिएको हो ? कुरो बुझिएन कि ?

तपाइँले भन्नुहोला देशको प्रमुख अन्न धान रोप्ने खेतमा हिजोआज भकाभक घर फल्न थालेका छन्। स्वस्थकर हावा प्रवाहित गर्ने हिजोका मङ्गलमय जङ्गलको सट्टामा आजकल तपतप पसिना चुहाउने कङ्क्रिटका महलहरू धमाधम बनेका छन्। धान रोप्ने खेतै नभएपछि तपाइँले असारलाई राष्ट्रिय महिना भन्न कसरी सुहाउँछ हँ ?

गासका लागि धान फलाउनु खेतको पहिलो प्राथमिकता हो भने खेतमा फलेको धान खाएर बस्ने ठाउँको नाउँ बास हो। गास र बासको व्यवस्था मिलाएपछि आङ ढाक्नाका लागि खेतकै एक छेउमा फुलाइएको सेतो फूलको नाम कपास हो। यसर्थ गास, बास र कपासको व्यवस्था गर्नु नै खेतको काज हो। २००७ सालको राजनीतिक क्रान्तिले राणा शासनको अन्त्य गरेपछि खुलेरै के भन्न थालियो भने अब राजनीतिमा सदा सदाका लागि राणाको र बस्तीका लागि डाँडाका दिन गए। डाँडाका दिन गएपछि सम्म गरा भएका खेतका दिन आउनै पर्‍यो। हिजोसम्म खेतको दायित्व केवल खुवाउनुमात्र थियो भने अहिले आएर बासको र कपासको समेत दायित्व थपियो, कुरो यत्ति हो।

ए साँच्चै ! तपाइँलाई पोखराको कुँडहर फाँटका बारेमा केही थाहा छ कि छैन त्यो कुरा त मलाई थाहा छैन। थाहा नभएको भए थाहा पाइराख्नुहोस्, त, कुनै समयमा कुँडहर फाँटमा ‘जेठो बूढो र पहेले नामका धान झुल्थे। झन्डै झन्डै एक फुट लामा लामा बालामा झुलेका सुनजस्तै दाना देख्ता मैले भन्ने गर्थें? नेपाललाई कृषिप्रधान देश भन्नु साँचो साँचो मूल्याङ्कन हुनु हो। आजको मैले त्यही ठाउँलाई औंल्याएर तपाइँलाई यो कुँडहर फाँट हो भनेँ म भने ढाँट हुन्छु-‘तपाइँले घरैघरको कङ्क्रिटलाई फाँट भन्ने फटाहा भनेर मप्रति चोर औंलो ठड्याउनुभयो भने म नतमस्तक भएर सहन्छु। थोरै समय अगाडिमात्रको कुरो हो यसै फाँटलाई अझै उर्वर बनाउनुपर्‍यो भनेर सेती नदीमा बाँध बाँधेर पानीको नहरै झारियो तर ‘काँक्रालाई झिक्रो हालेर झिक्रै धनी भनेजस्तै भयो- सेतीको पानीले विजयपुर खोलोमात्र धनी भयो। अरुलाई त ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात् भने जस्तै भयो। यथार्थमा सेतीमा बाँध बाँध्नुको प्रयोजन नै सकियो। अब तपाइँले मलाई प्रश्न गर्नुहोला धान फल्ने ठाउँमा घर फलाउने काम के राष्ट्रिय योजनाभित्रको काम हो। राष्ट्रिय योजना आयोगले उर्बर धान खेतमा ‘घर नबनाऊु भन्न सकेन – यस्ता प्रश्न तपाइँले मलाई सोध्ने होइन, सिंहदरबारलाई औंलो ठड्याउने हो।

तपाइँले भन्नुहोला- हिजोआज राष्ट्रिय योजना आयोगमा दलका मान्छे नियुक्त हुन्छन्, राष्ट्रका मान्छेले नियुक्ति पाउन्नन् क्यारे। उनीहरूको टाउको भनेकै दलबाट छानिने प्रधानमन्त्री हो। पीपलपाते राजनीतिमा प्रधानमन्त्री बदलिनु भनेको छ महीने शिशुले पेटे भोटो बदलेजस्तै हो छिनछिनमै फेरिएको फेरियै। हुन त फेरिनु नराम्रो होइन, तैपनि राजनीतिमा फेरिनुको असर ठूलो हुन्छ। हृवाइट हाउसमा राष्ट्रपति फेरिनासाथ आधाजसो कर्मचारीहरू फेरिन्छन् रे। तर ‘त्यहाँ मा र ‘यहाँ मा फरक के छ भने अमेरिकी सरकार बदलिँदैमा त्यहाँ खासै अन्तर पर्दैन रे। यहाँको सरकारको परिवर्तनले त ठूलै असर पर्छ। सिङ्गै व्यवस्था सिसा चर्किएझैँ चर्किन्छ। त्यसैले हाम्रो राष्ट्रिय योजना आयोगले राष्ट्रका लागि दिगोसँग सोचेर दूरदर्शी योजना लागू गर्ला भन्नु त ‘आकाशको फल आँखा तरी मरु, भनेजस्तै हो।

यहीनेर एउटा प्रसङ्ग मिसाऊँ न? हिजोआज हाम्रो मुलुकमा ‘जग्गाको प्लटिङु नाम गरेको अर्को महामारी फैलिएको छ। यस रोगले राष्ट्रकै सौर्न्दर्यलाई असर पार्ने गरी कृषियोग्य, उद्योगयोग्यजस्ता जग्गामा आफूखुशी आँठो लगाएको छ। घडेरी बनाएको छ। राष्ट्रिय योजना आयोग अहिले मौन छ, टुलुटुलु हेरिरहेको मात्र छ। अहिलेको व्यवस्थाले बाटो चक्ल्याउने भनेर व्यक्तिगत सम्पत्तिमा बुल्डोजर लगाएजस्तै कालान्तरको कुनै न कुनै सरकारले कुनै न कुनै बहानामा यी नयाँ बस्तीहरूमा पनि शक्तिशाली बुल्डोजर नलगाउला भन्ने के ग्यारेन्टी छ ? यस असाध्य रोगको औषधी कसले गर्ने, राष्ट्रले ? योजना आयोगले ?

राष्ट्रिय महिना असारले कृषकको भलो गरेजस्तै सरकारको पनि भलो गर्छ। सरकारले प्रस्ताव गरेका अरू कतिपय योजनाहरू कार्यान्वित नभए तापनि यसले असार मसान्तसम्ममा छुट्टयाइएको बजेटको समापन गर्नै पर्छ भन्ने आदेशात्मक वाक्यलाई कहिल्यै बिर्सिन्न। आर्थिक वर्षको अन्त्यमा बजेट समापन गर्नपर्छ भन्ने कुरामा सरकारले आलेटाले गर्‍यो भनेर कसैले आरोप लगाउँछ भने म आफैले त्यस अरोपको खण्डन गर्छु। कुरो बुझ्नुभयो होला।

असारको महिना झरझर गरेर पानी परिरहेको छ, खहरे खोलाहरू बढेका बढ्यै छन्। सडकै ढाकेर भल बगेको छ। आकाशै छोपेर कालो बादल मडारिएको छ। सातोपुत्लो उडाउने गरी चड्कने परेको पर्‍यै छ। आँखाको ज्योति नै मार्ने गरी बिजुली चम्केकै छ। मौसमविद्हरूले अझै केही दिनसम्मन् झरी लम्बिने सम्भावना बताएकै छन्, तर हाम्रो विकास भने कुनै पनि प्रतिकूल परिस्थितिसँग भीड्न तयार भएर बसेको छ। सायद यसै परिस्थितिलाई ‘जब पर्‍यो राती, अनि बूढी ताती भनिन्छ क्यारे। विकासलाई सहयोग गर्न भनेर सडक छेउमा छाता ओढेर केही मानिसहरुले अलकत्रा पगाल्दै छन्। बस्तीभरि धुवाँ मडारिएको छ। मजबुत पिच गर्ने हौसला लिएर युद्धस्तरमा काम भएकै छ। बाटोमुनिका बस्तीहरू नै बगाउलान् कि झैँ गरेर ढुङ्गा र माटो फालिएकै छ। विकासप्रेमी सरकारले व्यक्तिलाई मर्का पर्ला कि भनेर सोच्ने कुरा भएन। सरकारले त मुलुक हेर्ने हो, व्यक्ति हेर्ने होइन नि। कसैलाई मर्का परोस् कि नपरोस् सरकारले आफ्नो काम आँखा चिम्लिएर गर्छ। त्यसैले बाटो बनाउन भनेर बुल्डोजरले डाँडो भत्काएको भत्काएकै छ। अब तपाइँ नै भन्नुहोस् न हाम्रो विकासको अभियान नमूनाको छैन त ? यस महिनामा मिलनको कुन लग्न परेको हुन्छ कुन्नि ? पिउने पानीअड्डा र सडकनाली अड्डाको बीचमा मिलापत्र भएको हुन्छ। यस मिलापत्रको आयु कति लामो छ कुन्नि। न त साउन १ गतेबाट नै सम्बन्धविच्छेद पो हुँदै आएको छ कि ? के जानिसकिएको छ र झैँझगडाका कुरा, मुद्दामामिलाका विषयहरू।

यो असारको महिना विकासे अड्डाका लागिमात्र नभएर रैथाने अड्डाका लागि पनि उत्तिकै फलदायी भएर आउँछ। रैथाने अड्डामा सुकिला मुकिला कारिन्दाहरू बढी हुन्छन्, तर सबै कारिन्दाको मन सेतै हुन्छ भन्न सकिन्न। कालामान्छेहरू सेतो मनका र सेतो मनका मान्छेहरू काला मनका पनि हुनसक्छन्, त्यसैले रैथाने अड्डामा पनि सबै कारिन्दाहरू एकै खालका हुँदैनन्। मान्छेहरू जस्ता रङका र ढङ्गका भए तापनि असार मसान्तभित्र समापन गर्नु पर्ने गरी बजेट आउँछ। तोकिएको मितिसम्ममा बजेट समापन नभए फ्रिज हुने भय यिनीहरूलाई पनि उत्तिकै हुन्छ। असार मसान्तभित्रमा बजेटको सदुपयोग गर्ने शुभअवसर आइरहने हुनाले रैथाने अड्डाका कारिन्दाहरूलाई पनि तालुमा आलु कम फलेका भने भन्नुहुँदैन।

तपाइँले कुरै कुरामा आफूले चिताएको कुरा पूरा गरिदिने कल्पवृक्ष, सम्पूर्ण इच्छा पूरा गरिदिने कामधेनु गाई र मनले चिताएको कुरा तुरुन्त झिक्न सकिने ‘मनचिन्ते झोली नामका मिथकहरू धेरैपटक सुन्नुभएको छ, तर तपाइँले प्रत्यक्ष रूपमा भोगेको राष्ट्रिय महिना असार महिनाको बारेमा भने कमै चर्चा गर्नुभएको छ। जसलाई तपाइँको कमजोर पक्ष नै भन्नपर्छ। आर्थिक वर्षभित्रै बजेट सक्नपर्ने बाध्यताले तपाइँ असार मसान्तसम्ममा नै काममा तल्लीन हुनुहुन्छ। बाहृय रूपमा त्यस तल्लीनताभित्र तपाइँको कर्तव्यपरायणता देखिन्छ, तर तपाइँले कर्तव्य पूरा गर्ने क्रममा नै कति अकर्तव्य पनि गर्नुभयो होला। अपशोच ! अझसम्म त्यस विषयको लेखाजोखा गरिदिने निकाय नै बनेको छैन। जसले तपाइँलाई प्रत्यक्ष घाटा भएको छ, किनभने तपाइँले सुध्रिने मौका नै पाउनु भएको छैन। अनुभवीहरूका आँखाले मात्र तपाइँले गरेको काम देखेको छ र ‘मह काढ्नेले मात्र हात चाट्छु भन्ने कुरो बुझेको छ। तपाइँले असारभरि तहसनहस हुने गरी पसिनै पसिना बगाएर काम गर्नुहुन्छ, तर तपाईको वैरी भएर जन्मिएको झरी पापीले काम गरेको नगर्‍यै पारिदिन्छ। उसले त तपाइँको टाउकोभरि अपजसको भारी बोकाइदिन्छ। अब फेरि तपाइँले बर्साभरि गरेको काम हिउँद लाग्नासाथ गर्नपर्छ। एकपटक गरेको काम अर्कोपटक पनि गर्नुपर्दा तपाइँलाई कति धेरै झिँजो लाग्छ होला त्यो त अनुभवीलेमात्र बुझ्ने कुरा हो। फेरि तपाइँलाई उल्टै एउटै काम धेरैपटक गरेर पैसा कमाएको आरोप पनि लाग्न सक्छ, तपाइँले त्यस आरोपलाई पचाउनै पर्छ। प्रत्येक काममा साना ठूला आरोपहरू लागिरहन्छन्, त्यस किसिमका आरोपलाई धीरतापूर्वक सामना गर्नपर्छ, सहनै पर्छ।

मानो खाएर मुरी उमार्ने नेपालको असार, आदिकवि भानुभक्त आचार्यलाई जन्माएर नेपाली भाषालाई संसारभर फैलाउने नेपालको असार, सारै सारको छ। यस असारको बयान जति गरे पनि पुगिदैन पार। प्रकृतिको आँखाले हेर्नुहोस्, तपाइँले असारलाई राष्ट्रिय महिनाकै रूपमा देख्नुहुन्छ। सङ्गीतका रूपले हेर्नुहोस् असारे गीतले राष्ट्रको हृदय पगालेरै छाड्छ। दही चिउरा खाएर हिलो खेल्ने संस्कृतिको असार, भानुजयन्ती मनाएर प्रभातफेरि गरी साहित्यिक कार्य गर्ने नेपालको असार। सबै अपूरा राष्ट्रिय कार्य पूरा गरेर हिसाब किताब राफसाफ गरेर हिलो पखालेर सुकिलो भइने नेपालको असार। त्यसैले त भनिन्छ नि सारै सारको छ यो असार।

अब तपाइँ नै भन्नुहोस् त नेपालले असार महिनालाई राष्ट्रिय महिना घोषणा गरेकामा अन्यथा भयो कि भनेर तर्क वितर्क गर्ने ठाउँ रहन्छ र ?

Related News

सम्बन्धित समाचार

hero news full width